Successfully Copied

नयाँ वर्ष संकल्प

यो नयाँ कामको सुरुवात गर्ने सुनौलो दिन हो । यो दिनको बिहानीसँगै मनमा अर्कै ऊर्जा प्राप्त हुन्छ ।

लक्ष्मी मगर, क्विन अफ द हिमालय (माउन्टेन बाइकर) 

नयाँ वर्ष कसरी मनाउने सोचमा हुनुहुन्छ ? 

यो नयाँ कामको सुरुवात गर्ने सुनौलो दिन हो । यो दिनको बिहानीसँगै मनमा अर्कै ऊर्जा प्राप्त हुन्छ । नयाँ वर्षको दिन गोदावरी तथा नगरकोटमा साइक्लिङ गर्ने योजना छ । नयाँ सालको सुरुवात गर्ने दिन भएकाले यसको आगमनले मलाई खुसी तुल्याउँछ । त्यसैले साथीभाइसँग गेटटुगेदर गर्ने योजना पनि छ । 

यो वर्ष आफ्नो क्षेत्रमा तपाईंको योगदान के रहला ?  

विगतका वर्षमा जस्तै साइक्लिङलाई नै प्राथमिकता दिन्छु । साउथ एसियामा हुने गेममा भाग लिन्छु । जीवनसम्बन्धी पेन्टिङ गर्ने योजनामा पनि छु । विदेशी पर्यटकहरूलाई घुमाउने योजना पनि छ । म नेपाल साइक्लिस्ट राइड टु रेस्क्यु संस्थासँग आबद्ध छु । यही संस्थाको माध्यमबाट विदेशी सहयोगमा नुवाकोटमा सातवटा स्कुल बनाउने कार्यक्रम छ ।   

नयाँ वर्षमा संकल्प लिनुहुन्छ ? 

नयाँ वर्षको आगमनसँगै मनमा अलग खालको उत्साह आउँछ तैपनि नयाँ वर्ष पारेर संकल्प भने लिने गरेकी छैन । संकल्प लिनका लागि मात्र लिनुहुँदैन । त्यसलाई पूरा पनि गर्न सक्नुपर्छ । प्रत्येक दिनलाई नयाँ दिनका रूपमा लिनुपर्छ । प्रत्येक क्षण खुसी भएर रम्न सके त्यही नयाँ दिन हो । 

यो वर्षका व्यक्तिगत योजना के छन् ? 

हिमालय ट्रान्स (हिमालै हिमालको बाटो) साइक्लिङको माध्यमबाट पूरा गर्ने । साइक्लिङको प्राक्टिस गर्दा थकित भएर धेरै पटक एमए इन फाइन आर्टका कक्षा मिस गरेकी छु । अब नियमित कलेज जान्छु । वैशाखको अन्तिममा हुने परीक्षाका लागि तयारी गर्छु । समाजसेवामा सक्रिय हुन्छु । साइक्लिङको क्षेत्रमा अन्य महिलालाई आउन उत्प्रेरित गर्छु । 

 

 Image