बैंकका ऋण विभिन्न प्रकारका हुन्छन् । आफ्नो सहुलियतअनुसार विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लिन सकिन्छ । अहिलेका मानिसहरू पहिले–पहिलेजस्तो ऋण लिन डराउँदैनन् । ऋण जीवनको अभिन्न पाटो बनिसकेको छ । हिजोआज ऋण दिने संस्थाहरू प्रशस्त छन् भने मन खोलेर ऋण लिनेहरूको जमात पनि बढिरहेको छ । अहिले वित्तीय संस्थाहरूले विविध अफरका साथ ऋण प्रदान गरिरहेका छन् । जसबाट आफ्नो आवश्यकता तथा रुचिअनुसार ऋण लिन सकिन्छ ।
होम लोन
ठूला सहरका मध्यम वर्गीय जोडीहरू आफ्नो घरको जोहोका लागि बैंकको ऋण लिन बाध्य हुन्छन् । यसका लागि उनीहरू इएमआईको सहारा लिन्छन् । कतिपयको त विवाहपूर्व नै घर हुन्छ । यसमा उनीहरूलाई कुनै प्रकारको समस्या हँुदैन । ऋणमा घर लिएपछि त्यसको इएमआई तिर्नु निकै कठिन कार्य हो । यसमा आफ्नो तलबको बढी भाग ऋण तिर्नमा खर्च हुन्छ । भर्खर–भर्खर विवाह भएको अवस्थामा हरेक महिना इमएआईको चटारो निकै कष्टकर कुरा हो । घर ऋण त लिनुपर्छ तर त्यसले आफ्नो जीवनस्तरमा कुनै प्रकारको असुविधा निम्त्याउनु हुँदैन । हाउजिङ ऋण त लिनुपर्छ तर त्यसले आफ्नो दाम्पत्य जीवनमा कुनै प्रकारको नकारात्मक प्रभाव पार्नु हुँदैन । हाउजिङ ऋण लिँदा बुझाउनुपर्ने कागजपत्र बुझाएर आफूले कति वर्षसम्म ऋण तिर्न सकिन्छ सोहीअनुसार ऋण लिनुपर्छ । ऋण तिर्ने समय जति वर्ष बढायो तिर्नुपर्ने इएमआई त्यति नै कम हुन्छ । आफ्नो आय तथा गरिने खर्च पुग्ने गरी हाउजिङ ऋणको इमएमआई भुक्तान गर्न आफू तयार हुनुपर्छ । हतारमा अधिक इएमआई तिर्ने गरी हाउजिङ ऋण लिँदा यसले महिनावारी बजेटमा समस्या ल्याउँछ । बजेट बिग्रँदा दाम्पत्य जीवनमा समस्या उत्पन्न हुनसक्छ । त्यसैले हाउजिङ ऋण लिँदा आफ्नो महिनावारी आय, घरायसी कागजात तथा आफ्नो कुनै अचल सम्पत्तिको धितो राख्नुअघि निकै विचार पुर्याउनुपर्छ ।
व्यक्तिगत ऋण
कतिपय विवाहित दम्पतीसँग खर्च गर्ने पैसा हुँदैन । उनीहरूलाई कतै घुम्न जान वा कुनै सामानको जोहो गर्न आर्थिक अभाव हुनसक्छ । आफूसँग प्रशस्त पैसा नहुँदा आफूले गरेको योजना पूरा गर्न समस्या हुन्छ । यो समस्याबाट छुटकारा पाउन नवविवाहितहरूले व्यक्तिगत वा बैंकको ऋण लिन्छन् । व्यक्तिगत ऋणको राशि अरू ऋणजस्तो बढी हुँदैन । यसरी लिइएको ऋणको इएमआई तिर्न गार्हो हुन्छ । यो ऋण अत्यावश्यक परेका बेलाबाहेक यस्तो ऋण लिनु हुँदैन ।
अफिस ऋण
आफ्नो आवश्यकता पूरा गर्न कतिपय जोडीहरू जुन अफिसमा काम गर्छन् त्यहीबाट केही समयका लागि विशेष ऋण लिन्छन् । कुनै पनि कार्यालयले ऋण दिँदा उसको मासिक तलबका आधारमा दिन्छ । कार्यालयबाट लिइने ऋण अरुले दिनेभन्दा कम व्याजमा पाइन्छ । यसलाई आफ्नो मासिक तलबबाट नियमित रूपमा भुक्तानी गर्न सजिलो हुन्छ ।
अटो ऋण
गाडी तथा स्कुुटर अहिलेको समयको माग हो । अहिलेको व्यस्त जीवनशैलीमा आफ्नो सवारी साधनबिना समयसँग चल्न सकिँदैन तसर्थ के महिला के पुरुष सबैका लागि सवारी साधन आवश्यक भएको छ । अहिले यसलाई मध्यनजर गरी नेपालका धेरैजसो वित्तीय संस्थाले अटो ऋण प्रदान गर्छन् । कतिपय मानिसको रुचि गाडी चलाउने हुन्छ । मानिसहरू आफ्नो जीवनसाथी वा परिवारसँग गाडीमा घुम्न रमाउँछन् । आफ्नो परिवारसँग बाहिर जाँदा सार्वजनिक सवारी साधनमा आवत–जावत गर्न कठिन हुन्छ । यस्तो अवस्थामा आफ्नो सवारी साधन भए निकै सहज हुन्छ । यस्तो अवस्थामा अटो ऋणका माध्यमबाट गाडी लिएर आफ्नो जीवनलाई रमाइलो बनाउन सकिन्छ । आफूसँग सवारी साधन हुँदा कसैको सहयोगको अपेक्षा गर्नु पर्दैन ।
घरायसी सामानहरूको ऋण
ठूल्ठूला ऋणका अतिरिक्त अहिले घरायसी सामानहरू पनि किस्ताबन्दीमा खरिद गर्न सकिन्छ । फ्रिज, टिभी, वासिङ मेसिन, कम्प्युटर तथा फर्निचरजस्ता सामग्रीहरू किस्ताबन्दीमा पाइन्छन् । यस्ता सामग्री खरिद गरेपछि त्यसको मासिक किस्ता हरेक महिना बुझाउनुपर्छ । यस्तो ऋण लिएर आफूसँग एकमुष्ट रकम नभए पनि सजिलै आवश्यक सामग्रीहरू जोहो गर्न सकिन्छ ।
कसरी तालमेल मिलाउने ?
आफ्नो आवश्यकता पूरा गर्नु राम्रो कुरा हो तर आफ्नो आय तथा आफ्नो क्षमताभन्दा बढी ऋण लिनु घातक हुनसक्छ । यसले आफ्नो जीवन बोझिलो बनाउँछ । बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण समयमा चुक्ता नगर्दा व्याज तथा जरिवानाले निकै दिक्क बनाउँछ । त्यसैले उचित मात्रामा ऋण लिनुपर्छ ।
स्मार्ट टिप्स
एकसाथ बढी ऋण लिनु हुँदैन ।
घरायसी सामानहरूका लागि सकेसम्म ऋण लिनु हुँदैन ।
आवश्यकता भए मात्र व्यक्तिगत ऋण लिनुपर्छ । व्यक्तिगत रूपमा लिइएको ऋणको व्याज बढी हुन्छ ।
होम लोन सकेसम्म सरकारी बैंकबाट लिनुपर्छ ।
इएमआईको समय बढाउनुपर्छ
ऋण लिँदा ऋण तिर्ने अवधि कति राख्ने यकिन गर्नुपर्छ । जति यसको समय बढी बनायो इएमआई त्यहीअनुसार कम तिर्नुपर्ने हुन्छ । इएमआई सकेसम्म आफ्नो आयको ५० प्रतिशत भाग बच्ने हिसाबले राख्नुपर्छ । बढी ऋण लिनेबित्तिकै इमएमआईको तनाव बढ्छ । त्यसैले यसमा निकै ध्यान पुर्याउनुपर्छ ।
अधिक पैसा जम्मा
आफूसँग पैसा जम्मा भएको छ भने लिइएको भुक्तानी गर्दै जानुपर्छ । यसले आफ्नो साँवा घट्दै जान्छ । यसले अर्को महिनालाई सजिलो तुल्याउँछ । त्यसैले पैसा हँुदा आफ्नो दायित्व घटाउँदै जानुपर्छ । यसका लागि योजना पनि बनाउन सकिन्छ । कतैबाट अतिरिक्त पैसा आउने सम्भावना छ भने त्यो पैसा लगेर बैंकमा बुझाउनुपर्छ । बीचमा कतैबाट पैसा जम्मा भए त्यो पनि बैंकमा बुझाएर तनाव कम गर्न सकिन्छ ।
मिति निश्चित गर्ने
महिनामा आफ्नो ऋण खाताको पैसा भुक्तानी गर्ने मिति तय गर्नुपर्छ । आफ्नो नियमित तलब आउने समय पारेर आफ्नो इएमआईको मिति तय गर्न सकिन्छ । यसो गर्दा आफूले भनेको समयमा इएमआई तिर्न सकिन्छ । त्यसैले इएमआईको फर्म भर्ने क्रममै यो कुरा निक्र्यौल गर्नुपर्छ । इएमआई समयमा तिर्दा जरिवानाको समस्या हुँदैन । आफ्नो पैसा आउने पक्का भएकाले कसैका सामु पैसा माग्नु पर्दैन ।
उपयुक्त योजना
आफूलाई निक्कै आवश्यक भए मात्र ऋण लिनुपर्छ किनभने ऋण ठूलो दायित्व हो । आफूले कुन–कुन वस्तु, सम्पत्ति वा समस्याका लागि ऋण लिने हो निक्र्योल गरेर योजना बनाएपछि मात्र ऋण लिनुपर्छ । कुन मितिमा इएमआई तिर्ने वा कुन आयबाट कति इएमआई तिर्ने हो निक्र्योल गर्नुपर्छ । आफू हरेक महिना इएमआई तिर्न सक्षम छु भन्ने विश्वास भएपछि मात्र होम लोन लिनुपर्छ अन्यथा अनावश्यक बोझ उठाउनु हुँदैन ।