डा. लक्ष्मी मानन्धर पौडेल
भिभान्ता डेन्टल हस्पिटल
दाँतको स्केलिङ के हो ?
दाँतमा भएको फोहोर जसलाई क्यालकुलस वा टार्टर भनिन्छ, त्यसलाई डेन्टिस्ट तथा हाइजेनिस्टहरूले मेसिनको सहायताले सफा गर्नु नै स्केलिङ हो ।
सबैले दाँत स्केलिङ गर्नु जरुरी छ ?
दाँत स्केलिङ गर्नु जरुरी छ । गिजा तथा दाँतको बीचमा भएको फोहोर ब्रस गर्दा पनि निस्कदैन । यो फोहोर लगातार जम्दै गएपछि गिजा सुन्निने तथा गिजाबाट रगत आउने क्रम सुरु हुन्छ । जसले गर्दा हड्डी खिइन्छ र दाँत हल्लिन्छ भने झर्ने सम्भावना पनि उत्तिकै हुन्छ । नियमित स्केलिङ गरेपछि दाँत पनि बलियो हुन्छ ।
दाँत स्केलिङ गर्न उमेरको हदबन्दी हुन्छ कि हुदैन ?
बालबालिकाको दाँत त्यति फोहोर नहुने भएकाले स्केलिङको आवश्यकता पर्दैन । साधारणतया १२ वर्षको उमेरपछि दाँतको स्केलिङ गर्न सकिन्छ ।
तस्बिर:महेश प्रधान
दाँत स्केलिङ गरेपछि कुनै साइड इफेक्ट हुन्छ कि ?
फोहोर कुरा सफा गर्दा कुनै साइड इफेक्ट हुँदैन । कतिपय मानिसमा स्केलिङ गराउँदा दाँत हल्लिन्छ भन्ने भ्रम पाइन्छ तर त्यो गलत हो । यसैगरी कतिपयलाई दाँत सफा गरेपछि एक–दुई दिन धेरै चिसो र तातो खाँदा दाँत सिरिङ–सिरिङ हुन्छ, जुन पछि आफैं ठीक हुन्छ । ठीक नभए डेन्टिस्टको सहयोगमा विशेष पेस्ट प्रयोग गर्न सकिन्छ ।
कति समयको अन्तरमा दाँत स्केलिङ गराउनुपर्छ ?
एकपटक दाँत स्केलिङ गरेपछि ६ महिनामा नियमित उपचारका लागि आउनुपर्छ । त्यसपछि डेन्टिस्टको सल्लाह लिई वर्षको एकपटक गराउँदा हुन्छ ।
गर्भवती महिलाले स्केलिङ गराउनु हुन्छ कि हुँदैन ?
गर्भवती महिलाले दाँत स्केलिङ गर्नु आवश्यक छ । यो समयमा हार्मोनल परिवर्तनले गर्दा गिजाबाट रगत आउँछ । दाँत स्केलिङ नगर्दा समय अगावै शिशुको जन्म हुने सम्भावना हुन्छ । त्यसैले पनि गिजा तथा दाँतलाई स्वस्थ राख्न गर्भवती महिलाले गर्भ रहेको ४ देखि ६ महिनाको बीचमा स्केलिङ गराउँदा स्वस्थ तथा सुरक्षित रहन सकिन्छ ।