स्वतन्त्रताका पक्षधरहरूले सधैं एकात्मक परिवार रोजे। एकात्मक परिवार संयुक्त परिवारको तुलनामा शान्त हुन्छ र मानिस कुनै पनि काम गर्न स्वतन्त्र हुन्छ। विकसित देशमा एकात्मक परिवार बढी र संयुक्त परिवार कम छन् तर विकसित देशहरूमा संयुक्त परिवार बढी र एकल परिवार कम छन्। एकल परिवार राम्रो कि संयुक्त परिवार भन्ने विषयमा केही समाजशास्त्रीले लामो अध्ययन गरेका छन्। उक्त अध्ययनले एकातिर एकात्मक परिवार राम्रो भन्ने धारणालाई समाजशास्त्रीय दृष्टिकोणले गलत प्रमाणित गरेको छ भने संयुक्त परिवारको विश्लेषण पनि गरेको छ।
सुख–दु:ख साट्न संयुक्त परिवार निकै राम्रो मानिन्छ। एकजनालाई परेको जस्तोसुकै दु:ख पनि सजिलै पार लगाउन सकिन्छ। उदाहरणका रूपमा उक्त सर्वेक्षणमा भारतको एउटा संयुक्त परिवारको विवरण दिइएको छ। विवरणअनुसार उक्त परिवारमा ५ जना छोरा, उनीहरूका एक–एक श्रीमती, प्रत्येकका ३ देखि ५ जनासम्म छोराछोरी, जेठा छोराका केही नाति–नातिना। उक्त परिवारमा कुनै पनि सदस्यको विवाह गर्नुपर्यो भने प्रत्येक व्यक्तिले २० हजार निकाल्छन् र विवाह सकिन्छ। कामको बाँडफाँड गर्दा पनि कसैले बजारमा सामग्री किन्ने काम छान्छन्, कसैले आन्तरिक सजावटको जिम्मा लिन्छन्। कोही भान्सामा छिर्छन्। हरेकले एकजना सहायक राख्छन् र ती सहायक घरका केटाकेटीहरू हुन्छन्। संयुक्त परिवारको मर्म ती केटाकेटीले पनि उत्तिकै बुझेका छन्। आफूभन्दा ठूलाले भनेको मान्ने, सानाको समस्या ठूलाले बुझ्ने हुनाले कुनै पनि काम सजिलै फत्ते हुन्छ। यस्ता उदाहरण हरेक संयुक्त परिवारमा फेला पार्न सकिन्छ।
कतै हिँड्नुपर्यो भने घर बन्द गरेर हिँड्नु पर्दैन। लामो समयका लागि घर छाड्दा पनि मेरो व्यवहार बिग्रियो भन्नु पर्दैन। ठूलो तनाव र छिन्नै नसकिने समस्या आइलाग्दैन। यद्यपि यसका लागि आपसी समझदारी, विश्वास एवं प्रेम अत्यावश्यक हुन्छ।
यस्तो घरमा एकजना मुली हुनुपर्छ। मुली स्वार्थी, लोभी, अव्यावहारिक र एकपक्षमा लाग्ने हुनु हुँदैन। घरमुलीलाई कसैले उसका कमी–कमजोरी देखाए त्यसलाई त्याग गर्ने क्षमता हुनुपर्छ। मुलीले बोलेपछि त्यो कुरा लागू हुन्छ। अरूमा भएका कमी–कमजोरी समात्न सक्ने हुनुपर्छ। यसबाट एक प्रकारको नियम बन्छ। यही नियमअनुसार परिवार चल्ने हुँदा परिवारमा झैझगडा हुँदैन। कुनै पनि समस्या मुलीकहाँ पुगेपछि त्यसमा छलफल भएर टुंगो लाग्छ।
संयुक्त परिवार बूढाबूढी र केटाकेटीका लागि निकै राम्रो मानिन्छ। जवान छोरा–बुहारी पनि केटाकेटीलाई घरमा छाडेर काममा निस्कन पाउँछन् भने केटाकेटीको रेखदेख पनि राम्रो हुन्छ। अर्कातिर घरका जेठा नागरिकलाई पनि केटाकेटीसँग खेलेर समय बिताउन सजिलो हुन्छ।
संयुक्त परिवारमा केही अप्ठ्यारा पनि उत्पन्न हुन्छन्। यद्यपि श्रीमान्–श्रीमती मिलेर ती समस्यामा छलफल गर्ने हो भने सकारात्मक निष्कर्ष निकान्न सकिन्छ। आर्थिक तथा सामाजिक प्रगतिका लागि एकल भन्दा संयुक्त परिवार नै प्रभावकारी हुन्छ। त्यसका लागि संयुक्त परिवारमा हरेकले बराबर खर्च बेहोर्ने नियम बनाउनुपर्छ।