Successfully Copied

बालमनोविज्ञानमा परेको प्रभाव र त्यसको व्यवस्थापन

२०७२ साल वैशाख १२ गते गएको शक्तिशाली भूकम्प नेपालीहरूको यो पुस्ताका लागि अकल्पनीय एवं त्रासदीपूर्ण रह्यो ।

डा. गंगा पाठक, मनोवैज्ञानिक

२०७२ साल वैशाख १२ गते गएको शक्तिशाली भूकम्प नेपालीहरूको यो पुस्ताका लागि अकल्पनीय एवं त्रासदीपूर्ण रह्यो । दुई हप्ता बितिसक्दा पनि धेरै नेपालीको खुट्टा हल्लिन, शरीर काम्न एवं मन अत्तालिन छाडेको छैन । केटाकेटीदेखि वृद्धवृद्धा सबैको मनमा डर, त्रास, चिन्ता एवं छटपटी छ । अनाहकमा हल्ला एवं शंकाले मन अझ कमजोर बनाउँदै लगेको छ ।

बाह्र वर्षे एक बालक वैशाख १२ गते भुइँचालो जाँदा घरको तेस्रो तल्लामा बसेर टेलिभिजन हेरिरहेका रहेछन् । त्यसपछि के भयो उनी सम्झन र भन्न सक्दैनन् । उनको अनुहारको रंग उडेको छ । टोलाइरहन्छन् र बोल्न चाहँदैनन् । आज यतिका दिन बितिसक्दा पनि उनी कुनै घर भित्र पस्न मान्दैनन् । जुन घर देखेपनि खस्छ, हल्लिन्छ, नजाने भन्दै घर नजिकको खुल्ला चौरमा बनाइएको टहरोमा बसेका छन् । छिनछिनमा घर हल्लिएको हो ? भन्ने प्रश्न मात्र गर्छन् । त्यस्तै अर्की एक बालिका अचानक गएको भूकम्पमा आफ्नी आमाले छोडेर तल ओर्लिएपछि एक्लै कोठामा बस्दा मूर्छा परेकी थिइन् । होसमा आएपछि उनी आफ्नी आमालाई देख्नासाथ पिट्ने, चिथोर्ने तथा केही नबोल्ने व्यवहार देखाइरहेकी छिन् । यी दुई बालबालिकाजस्तै धेरै केटाकेटी आत्तिएका छन्, डराएका छन् । टाउको दुखेको, रिंगटा लागेको, वाकवाकी वा ज्वरो आएको जस्तो भएर सिथिल भएका छन् । यो एक पीडादायक परिस्थिति हो, जसलाई ट्रमा भनिन्छ । यो भूकम्पजस्ता ठूला त्रासदीले जन्माउने मनोवैज्ञानिक असर हो ।

केटाकेटी सबैभन्दा बढी विश्वास आफ्ना संरक्षक तथा आमाबुवाप्रति गर्छन् तर ती आमाबुवा नै आत्तिने, कराउने, रुनेजस्ता विचलित अवस्था देखेपछि केटाकेटी डराउनु वा उनीहरूको सातो नै गएको जस्तो हुनु स्वाभाविक हो । केटाकेटीले न त वस्तुस्थितिलाई बुझ्न सक्छन्, न त सहज तरिकाबाट बुझाउन नै सकिन्छ । धेरै साना केटाकेटीलाई त कुरा बुझाउन अझ गाह्रो हुन्छ । सात वर्षमाथिका केटाकेटीले आफ्नै तरिकाबाट वस्तुस्थिति मूल्यांकन तथा व्याख्या गर्छन् । जुन सत्य अर्थात तथ्य फरक नहुन सक्छ । तसर्थ अहिले धेरै केटाकेटीको मनोविज्ञान शंका, त्रास, जिज्ञासा, भय तथा चिन्ताले बोझिलो बनेको पाइन्छ । उनीहरूको सामान्य जीवनशैली बिथोलिएको छ । विद्यालय बन्द छ, साथीभाइहरूसँग भेट गर्न पाएका छैनन् । मनको कुरा मनमै गुम्सिएको छ, घरबाहिर बस्नुपरेको छ । विभिन्न हल्ला एवं चिन्तासँग जुधिरहनुपरेको छ, जसले उनीहरूलाई ट्रम्याटाइज्ड बनाएको छ । यस्तो परिस्थितिमा मनोवैज्ञानिक सहयोग लिएर उनीहरूको आत्मबल बढाउने काम गर्नु सबै अभिभावकको दायित्व हो । यस्तो अवस्थामा अभिभावकले निम्न कुरामा ध्यान दिए बालबालिकाको मनोविज्ञानमा परेको असरलाई केही हदसम्म कम गर्न सकिन्छ ।

    बालबालिकासँग सामीप्य बढाउनुपर्छ जसले गर्दा असुरक्षाको भावना कम हुन्छ ।

    केटाकेटीका अगाडि रुने, कराउने तथा विचलित हुने व्यवहार देखाउनु हुँदैन । यसले उनीहरूमा अझ बढी चिन्ता र त्रास पैदा गर्छ जुन पछि गएर मानसिक रोगका रूपमा विकसित हुनसक्छ ।

    केटाकेटीहरूसँग निरन्तर कुरा गर्नुपर्छ । उनीहरूको मनमा दबिएको डर र चिन्तालाई अभिव्यक्त गर्ने वातावरण बनाउन सक्नुपर्छ । जसले गर्दा मनोविज्ञानमा नकारात्मक दबाब (स्ट्रेस) रहँदैन ।

    केटाकेटीको दैनिकी सामान्य बनाउन मद्दत गर्नुपर्छ । खेल्ने एवं साथीभाइहरूसँग अन्तरक्रिया गर्ने अवसरबाट वञ्चित गर्नुहँुदैन ।

    केटाकेटीले मूर्छा पर्ने, टोलाइरहने, धेरै टाउको दुखेको अथवा शरीर दुखेको गुनासो गर्छन् वा निद्रामा झस्किने, चिच्याउने, रुने, खाना नखाने हुन्छन् र वान्ता गरिरहन्छन् भने बालमनोविज्ञसँग सल्लाह लिनुपर्छ ।

    नकारात्मक सोचको संचार गर्नुहुँँदैन ।सकारात्मक सोच र आत्मबतल बढाउने किसिमको व्यवहार गर्नुपर्छ ।

बालमस्तिष्कमा असर

– युवराजगौतम

विनाशकारी महाभूकम्पको त्रास हरेक नेपालीमा अझै जीवित छ । सामान्य आवाज आउँदा पनि मानिसहरूको मुटुको धड्कन तीव्र हुन्छ । वैशाख १२ गतेको मध्यान्ह सम्झदा धेरैको मन काम्छ । किशोर–किशोरी, युवायुवती, वृद्धवृद्धा सबैमा भूकम्पले मानसिक त्रास जन्माएको छ । यसले बालमस्तिष्कमासबैभन्दा बढी असर पुर्‍याएको छ । भूकम्पले घरबास गुमाएका, परिवार र आफन्त गुमाएका बालबालिकाहरूमा सबैभन्दा बढी मनोवैज्ञानिक असर पुगेको छ । काठमाडौं, चण्डोलका एघार वर्षीय उत्सव तिमिल्सिना भूकम्पपछिको एकसाता बित्दा पनि पटक–पटक झस्किरहन्छन् । भूकम्प आएको समयमा मामासँग रहेका तिमिल्सिनालाई तत्काल आमाबाबुसँग भेट्ने इच्छा थियो । ‘सबै हल्लिएपछि मलाई बाबा–मामुकहाँ पुग्न मन लाग्यो,’ उनले बताए–‘धेरै डर लाग्यो अनि केहीबेर रोएँ ।’

भूकम्पको त्रासले चिच्याउने, झस्किने र टोलाउने बालकालिकाहरूको संख्या बढेको छ । भूकम्प के हो र कसरी आउँछ भन्ने कुरा नबुझेका बालबालिकाहरूलाई एक्कासि भूकम्प आउँदा अभिभावकहरू हल्लीखल्ली गर्दै दौडिएको दृश्यले धेरै नै असर पुर्‍याएको छ । काठमाडौं, घट्टेकुलोका दश वर्षीय उन्नत सापकोटा घरभित्र खेल्दै थिए । उन्नत भन्छन्, ‘भुइँहल्लियो र घरमा राखिएका सबै सामान ढले, त्यसपछि मम्मी दौडिनुभयो, अनी मलाई रुन मन लाग्यो,’ उनले भने, ‘भुइँचालो आएका दिनदेखि सबैले अबमरिन्छ भनिरहनुभएको छ ।’

पूर्वानुमान गर्न नसकिने प्राकृतिक विपत्ति भूकम्प गैसकेपछि चलेको अनावश्यक र त्रासदीपूर्ण हल्लाका कारण बालमनोविज्ञानमा प्रत्यक्ष असर परेको विज्ञहरूले बताएका छन् । मनोविद्हरूकाअनुसार सामान्यतया प्राकृतिकप्रकोप, हिंसाजन्य क्रियाकलाप, मान्छेले बनाएका संरचना भत्किँदा तथा सवारी साधन दुर्घटनाग्रस्त हुँदा मानिसलाई ठूलो आघात पर्छ । प्राकृतिक विपत्तिका बेला मानिसमा ठूलो तनाव तथा त्रास हुन्छ । त्यसैले यस्तो प्राकृतिक विपत्ति आइपरेका बेला बालबालिकाहरू अभिभावकलाई छोड्न नमानी उनीहरूसँगै टाँस्सिएर बस्छन् । यस्तो प्राकृतिक विपद्मा ठूला व्यक्तिलाई तीन दिनसम्म मानसिक आघात पर्छ भने बालबालिकाहरू एकहप्तासम्म डराउन सक्छन् ।एकहप्तापछि पनि स–सानानानीहरू सामान्य अवस्थामा फर्किएनन् भने उनीहरूलाई परामर्श दिनुपर्ने सुझाव मनोविद्हरूको छ । बेलैमा परामर्श दिइएनभने बालबालिकाहरूमा मानसिक समस्या देखिन सक्ने उनीहरूको धारणा छ ।

संयुक्त राष्ट्रसंघीय बालअधिकार महासन्धि १९८९ लगायतका अन्तर्राष्ट्रिय महासन्धिहरूले १८ वर्षमुनिका व्यक्तिलाई बालबालिकाका रूपमा परिभाषित गरेका छन् । यता नेपालको कानुनले १६ वर्षमुनिकालाई मात्र बालबालिका भनेको छ । जुन उमेरका बालबालिका नेपालको कुल जनसंख्याको झन्डै ४० प्रतिशत छन् । यसमध्ये अधिकांश बालबालिका महाभूकम्पको त्रासदी भोगिरहेका छन् भने केहीको मृत्यु भएको छ । कतिपय बालबालिकालाई महाभूकम्पले मनोवैज्ञानिक रूपमा असर पुर्‍याएको छ भने कति बालबालिकाको मृत्यु भयो भन्ने तथ्यांक सार्वजनिक नभए पनि अधिकांश प्रभावित भएको बालबालिकाको क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधिहरू बताउँछन् । बालबालिकाको क्षेत्रमाकार्यरत निश्चल खरेल भन्छन्, यो महाभूकम्पको असर बालबालिकामा दीर्घकालीन रूपमा पर्न सक्छ, त्यसैले यतिबेलादेखि नै काम थालिहाल्नुपर्छ ।’ प्रमुखजिम्मेवारी अभिभावकहरूकै हो, खरेलले भने,–‘महाभूकम्पका वीभत्स दृश्यबाट टाढा राख्नु र भूकम्पका बारेमा धेरै चर्चा नगर्नु नै उपयुक्त हुन्छ ।’ भूकम्पको त्रासबाट मुत्ति दिलाउन नसके पनि केही साम्य भने पार्न सकिने र आशावादी बनाउन सकिने मनोविद्हरू बताउँछन् । अभिभावकहरू आफ्नो काममा व्यस्त रहने वा सामान्य अवस्था आउन प्रयास गर्दा पनि बालबालिका भुलिन सक्छन् । त्यतिमात्र नभई उनीहरूलाई सान्त्वना दिने काम गर्नु पनि अभिभावकहरूको जिम्मेवारी हो । बालबालिकाहरू त्रसित भए भने उनीहरूको मस्तिष्कमा सधैंका लागि असर पर्ने मनोविद्हरूको भनाइ छ ।

 Image