Successfully Copied

जोखिमको सहारा बिमा

मानिसको भविष्य अनिश्चित छ । प्रकृतिको नियम तथा यसबाट आइपर्ने भवितव्य हाम्रो हातमा छैन।

मानिसको भविष्य अनिश्चित छ । प्रकृतिको नियम तथा यसबाट आइपर्ने भवितव्य हाम्रो हातमा छैन। जतिसुकै बेला जुनसुकै घटना घट्नसक्छ। यस्ता घटनाले सबैतिर त्रास तथा कोलाहलमय वातावरण सिर्जना गर्नसक्छ। यो धर्तीमा प्राकृतिक प्रकोपबाट उम्कने सामथ्र्य कसैमा छैन र कोही सुरक्षित छैनन्। प्रकृतिका अगाडि मानिसको कुनै जोड चल्दैन। त्यसैले आज सुरक्षित हुँदैमा भविष्य सुरक्षित हुन्छ भन्नु मूर्खता हो। आज करोडौं खर्चेर निर्माण गरिएको घर भोलि भुइँचालोको विपत्तिमा नपर्ला भनेर कसैले ग्यारेन्टी दिन सक्दैन। तसर्थ करोडौं खर्चेर निर्माण गरिएको भौतिक सम्पत्ति क्षणभरमै माटोमा विलीन हुनसक्ने जोखिमप्रति समयमै सजग हुनुपर्छ। त्यसबाट जोगिने एउटै प्रभावकारी उपाय बिमा हो। बिमाले हाम्रा कुनै पनि सम्पत्तिको हानी–नोक्सानीको भर्पाइ दिन सहयोग गर्छ। जसबाट विपत्तिमा ठूलो राहत प्राप्त गर्न सकिन्छ। बिमाले जीवनमा आइपर्ने विभिन्न भवितव्यबाट हुने हानी–नोक्सानीमा राहत प्रदान गर्छ।

२०७२ साल वैशाख १२ गते गएको अधिकांश नेपालीको जीवनमा उथलपुथल मच्चायो। विशाल संरचनाहरू क्षणभरमै धराशायी बने। धन–जनको ठूलो क्षति भयो। करोडपतिहरू भूकम्पको एक धक्कामै रोडपति भए भने धेरैको जीवनलीला समाप्त भयो र आफन्तहरू असहाय भए। उक्त घर–सम्पत्तिको बिमा गरिएको छ भने बिमा कम्पनीहरूले बिमांकअनुसार क्षतिपूर्ति रकम प्रदान गर्छन्। यसले पीडितलाई ठूलो सहयोग हुन्छ। कपन राम मन्दिरस्थित सरोजा पण्डितको घर पनि महाभूकम्पले चर्किएको छ। यसलाई मर्मत गर्दा करिब ५ लाख जति लाग्ने अनुमान छ। समयमै बुद्धि पुर्‍याएर घरको बिमा गरेको भए अहिले उनले क्षतिपूर्ति प्राप्त गर्न सक्थिन् तर उनले अनावश्यक झमेला भनेर घरको बिमा गराइनन्। अहिले उनी निकै पछुताइरहेकी छिन्। पण्डित भन्छिन्, ‘हाम्रो जस्तो भूसंरचना भएको देशमा दैवीप्रकोपको कुनै ठेगान छैन। त्यसैले समयमै विचार पुर्‍याएर आफ्नो सम्पत्तिको बिमा गराउनुपर्ने रहेछ।’

बिमा व्यवसाय अनिश्चितता एवं हानी–नोक्सानीसँग सम्बन्धित व्यवसाय हो। त्यसैले बिमाका बारेमा जानकारी लिनुअघि जोखिमलाई विशेष ध्यानमा राखिन्छ। यही सत्यतालाई ध्यानमा राखेर विद्वान्हरूले बिमाको परिभाषा दिँदा खतरा नै बिमाको केन्द्र विन्दु हो भनेका छन्। बिमा जोखिमपूर्ण धन–जनको भरपर्दो र विश्वासिलो मित्र हो। बिमाले भवितव्य रोक्न सक्दैन। बिमालेखले जोखिमलाई निर्मूल पार्ने पनि होइन तर यसले विभिन्न जोखिमपूर्ण संकटबाट व्यक्ति, परिवार, समाज तथा उसको सम्पत्तिमा हुने आर्थिक क्षतिलाई भरथेग गर्छ।  जीवनमा आइपर्न सक्ने विभिन्न आर्थिक संकटसँग सजिलैसित जुध्न सक्ने आत्मविश्वासको विकास गराउँछ तसर्थ जोखिम र बिमाको सम्बन्ध अन्योन्याश्रित हुन्छ। जोखिम र बिमा एकै सिक्काका दुई पाटा हुन्। बिमाको मूल आधार नै जोखिम हो। जोखिमको मात्रा जति बढी हुन्छ बिमा मूल्य वा दर उति नै बढी हुन्छ भने जोखिमको मात्रा जति कम हुन्छ बिमा दर पनि उति कम हुन्छ। बिमा गर्नुअघि बिमा कम्पनीहरूले बिमा गरिने वस्तुमा निहित जोखिमका बारेमा पूर्ण जानकारी लिन्छन्। सोहीअनुरूप बिमा दरसमेत कायम गरिएको पाइन्छ। बिमा व्यवसायमा खास गरी बिमा कम्पनी (बीमक) बिमा–ग्राहक (बीमित) एवं बिमा अभिकर्ताहरूले विशेष ध्यान पुर्‍याउनुपर्ने हुन्छ अन्यथा दुर्घटना घटेका बखत बिमा दाबिमा खिचलो र झन्झट हुनुका साथै बिमाको उद्देश्य पनि पूरा हुन सक्दैन।  बिमा गर्दा पनि ग्राहकहरू ठगिने सम्भावना प्रशस्त हुन्छ। त्यसकारण बिमा गर्नुअघि ग्राहकले आफूले गर्न लागेको सम्पत्तिको बिमा गर्नुअघि त्यस्तो जिउधन वा सम्पत्तिमा पर्नसक्ने सम्भाव्य जोखिम वा खतराका बारेमा पूर्ण जानकारी हासिल गर्नुपर्छ । त्यसैगरी बिमा अभिकर्ताले पनि सम्पत्तिमा पर्नसक्ने जोखिमका लागि लाग्ने बिमा शुल्क र बहन गर्नुपर्ने जोखिमहरूका बारेमा ग्राहकलाई स्पष्ट जानकारी दिनुपर्छ। जसले गर्दा ग्राहकहरूले दाबी गरेका बखत दाबी रकम सहज रूपमा प्राप्त गर्न सक्छन्।

नेपालमा बिमा  गर्ने चलन विकास नभएको भन्न मिल्दैन। नेपालमा बिमा संस्था तथा बिमा अभिकर्ताहरूको संख्या निरन्तर बढिरहेको छ। हरेक बैंकले आफूले फाइनान्स गरेको सम्पत्तिको बिमा अनिवार्य गरेका छन्। बैंकले लगानी गरेका शतप्रतिशत घर बिमा गरिएको हुन्छ तर व्यक्तिगत रूपमा निर्माण गरिएका घरको बिमा गरिएको पाइँदैन। यद्यपि आफ्नो सम्पत्तिको बिमा गर्नु निकै आवश्यक छ। अहिले बंैकले लगानी गरेका घरहरूमा पनि क्षति पुगेकाले बिमा कम्पनीहरूमा भीड लागेको छ। बिमा कम्पनीहरू पनि यो जोखिमबाट आफ्ना ग्राहकहरूलाई सहयोग गर्न तम्तयार छन्। प्रुडेन्सियल बिमा कम्पनीकी राज्य प्रधान महाभूकम्पबाट भएको क्षतिबाट आफ्ना ग्राहकहरूलाई सहयोग गर्न आफ्नो टिम खटिसकेको बताउँछिन्। प्रधान यस्तो विपत्बाट आफ्ना ग्राहकहरूलाई सघाउन साइट भिजिटलाई तीब्र बनाएको बताउँछिन्। यो बिमा कम्पनीले जुनसुकै सम्पत्ति हेरेर क्षतिपूर्ति दिन्छ। साइट भ्रमण गरी डिप्रिसियसन काटेर आफ्नो पोलिसीअनुसार क्षतिपूर्ति प्रदान गरिन्छ। अहिलेको परिस्थितिलाई हेरेर भुक्तानी छिटोभन्दा छिटो दिने प्रयास गरिरहेको प्रधान बताउँछिन्। उनी नेपाल जस्तो मुलुकका लागि बिमा निकै आवश्यक भएको बताउँछिन्। बिमा भनेको दु:खको बेलाको सहारा भएको प्रधानको दाबी छ। भूकम्पबाट भएको क्षति अग्नि बिमा वा गार्हस्थ्य बिमाअन्तर्गत पर्छ।

त्यसैगरी अर्किट केयरकी यमुना कटवाल भन्छिन्, ‘मैले नेपालमा यस्तो भयावह भूकम्प आउँछ भनेर आँकलन पनि गरेकी थिइन। यद्यपि मैले भाग्यवश आफ्नो सबै सम्पत्तिको बिमा गराएकी छु। केही टुटफुट भए त्यसको क्षतिपूर्ति बिमा कम्पनीबाट लिने योजना छ। कम्पनीले दिएको पैसा मेरा लागि ठूलो सहयोग हुनेछ।’ समयमा बिमा गरेर आफ्नो सम्पत्तिको सुरक्षा गर्न उनी सबैलाई सुझाव दिन्छिन्। यसमा आफै सजग हुनुपर्छ। नेपालमा अहिले ३३ बिमा कम्पनी संचालनमा छन् जसले विभिन्न स्तरमा आफ्नो कामकारबाही गरिरहेका छन्।

बिमा तथा जोखिमको सम्बन्ध

बिमा तथा जोखिमको सम्बन्ध निकै घनिष्ट छ। जब जोखिम सुरु हुन्छ तब बिमाको अवधारणा अघि आउँछ। जोखिम तथा चुनौतीका कारण बिमाको अवधारणा सुरु भएको हो। बिमा जोखिमबाट राहत प्राप्त गर्ने सबैभन्दा उपयोगी बाटो हो। बिमालाई जोखिम हस्तान्तरण गर्ने संयन्त्रका रूपमा लिइन्छ। बिमा करारमा पनि अन्य करारमा झै प्रस्ताव र स्वीकृति सक्षम पक्ष, कानूनी प्रतिफल, बैधानिक उद्देश्यहरू समाहित छन्। विभिन्न क्षेत्रमा जोखिम शब्दको प्रयोग गरिन्छ। बिमाको क्षेत्रमा प्रयोग गरिने जोखिम शब्दको आफ्नै परिभाषा छ। बिमाको क्षेत्रमा ‘आर्थिक क्षतिको अनिश्चिततालाई जोखिम भनिन्छ।’ यो परिभाषाअनुसार ‘जोखिम’ शब्दले त्यस्ता घटनाहरूलाई जनाउँछ जुन घट्छ वा घट्दैन भन्ने अनिश्चित छ र कुनै घटना घट्यो भने आर्थिक क्षति हुन्छ। आर्थिक क्षति हुने कुरा निश्चित छ (घटना घट्छ भन्ने निश्चित छ) भने त्यसलाई जोखिम मानिँदैन त्यस्तै आर्थिक क्षति नहुने कुरा निश्चित छ (घटना घट्दैन भन्ने निश्चित छ) भने त्यसलाई पनि जोखिम मानिँदैन।

जोखिम व्यवस्थापन गर्ने विभिन्न तरिका छन्। तीमध्ये जोखिम हस्तान्तरण पनि एक हो। बिमालाई जोखिम हस्तान्तरण गर्ने प्रभावशाली संयन्त्रका रूपमा लिइन्छ। बिमाको जन्मदाता जोखिम हो। बिमा हुन जोखिमको उपस्थिति अनिवार्य छ तर सबै जोखिमको बिमा हुन सक्दैन। करारसम्बन्धी दृष्टिकोणबाट हेर्दा ‘बिमा भनेको एउटा करार हो, जसको एक पक्ष बीमकले अर्को पक्ष बीमितसँग बिमा शुल्क लिएको आधारमा बीमितको बिमायोग्य जोखिमलाई ग्रहण गर्छ र भविष्यमा कुनै उल्लिखित घटना घटे पर्न जाने आर्थिक नोक्सानीविरुद्धको क्षतिपूर्ति गर्न मञ्जुर गर्छ।’ यति हुँदाहुँदै पनि जोखिम यही नै हो भनेर कसैले पनि ठोस रूपमा भन्न सकेको पाइँदैन। यही मर्मलाई विचार गर्दा बिमा क्षेत्रमा जोखिमको परिभाषा बिमासँग सम्बन्धित भएर गरिएको पाइन्छ।

बिमा गर्दा दुई पक्ष बीमक र बीमितको सहमतिबाट जोखिम वहन गरिन्छ। उक्त जोखिम वहन गरेवापत (बिमा ग्राहकले) बिमा शुल्क बीमक (बिमा कम्पनी) लाई भुक्तान गर्नुपर्ने हुन्छ। त्यस्तो अवस्थामा निर्दिष्ट जोखिमहरू कुनै दुर्घटनाका कारणबाट हानी–नोक्सानी भए सो क्षतिपूर्ति लिन–दिन स्वीकार गरेको हुन्छ। त्यसकारण बिमा एक मात्र उपाय हो, जसबाट बीमितले आफ्नो आर्थिक क्षतिको सुरक्षा प्राप्त हुने ग्यारेन्टी प्राप्त गर्छ। बीमित र बीमकको हित र चाहनाअनुसारको कानुनी करार नै बिमा हो। बिमा शब्दले सबै ढंगको जोखिमलाई जनाउँछ  र सम्पत्ति तथा जीवनको अंग–भंगदेखि मृत्युसम्मको जोखिम वहन गर्नु नै बिमा हो।

-    बिमा भविष्यमा घट्न सक्ने दुर्घटनाबाट हुने आर्थिक संकटबाट पार पाउने माध्यम हो।

-    जोखिमको हस्तान्तरण नै बिमा हो।

-    आर्थिक हानी–नोक्सानीबाट निपटारा गर्ने माध्यम नै बिमा हो।

-    बिमा पुँजी संकलन गर्ने माध्यम हो यसले राष्ट्रका लागि आवश्यक पर्ने पुँजी निर्माण गर्छ।

-    बिमा एक करार हो जहाँ दुई पक्षको वीचमा सम्झौता हुन्छ  र यो पक्ष केही रकम निश्चित अवधिभर तिर्न मञ्जुर हुन्छ भने अर्को पक्ष पहिलो पक्षबाट केही रकम लिएवापत तोकिएको सर्त सुविधाका आधारमा क्षतिग्रस्त सम्पत्ति तथा जिउधनको क्षतिपूर्ति प्रदान गर्न बाध्य हुन्छ।

-    बिमा सामूहिक बचतको माध्यमबाट आर्थिक सुरक्षा गर्ने संयन्त्र हो।

जेहोस् बिमा एक व्यवसाय वा उद्योग हो जहाँ सेवाको व्यापार हुन्छ। सेवा किनबेच गरिन्छ। सेवा खरिद गर्न निश्चित अवधिसम्म निश्चित सर्त तथा सुविधाको अधीनमा रही ग्राहक पक्ष केही रकम भुक्तानी गरी ठूलो रकम बराबरको जिउधन र सम्पत्तिको आर्थिक सुरक्षाको प्रत्याभूति प्राप्त गर्छ भने अर्को पक्ष उक्त कारणले भएको क्षतिवापतको रकम ग्राहकलाई भविष्यमा दिन्छु भनी कबुल गर्छ अर्थात् जोखिमले उब्जाएको आर्थिक समस्याबाट छुटकारा पाउने माध्यम नै बिमा हो।

साधारण बोलीचालीमा जोखिम शब्दको सोझो अर्थ हो हानी हुने आशंका वा खतरा जोखिमको परिभाषा गर्ने क्रममा विद्वान्हरू एक हुन सकेको पाइँदैन। जोखिमको परिभाषा गर्दा देहायका आधारलाई प्राथमिकता दिइन्छ।

-    कुनै निश्चित अवस्थामा कुनै उद्देश्य प्राप्त हुनुअघि मुख्य रूपमा शंका गरिने क्रिया।

-    अनिश्चित आर्थिक संकट निम्त्याउने काम।

-    अनुमानित अप्रिय नतिजाभन्दा फरक नतिजा देखाउने।

-    दुर्भाग्यवश हुने सम्भाव्य र अप्रिय घटना।

-    हानी–नोक्सानी हुने सम्भावना।

-    खतरापूर्ण क्रियाकलापको संयोजन। .

सम्पत्ति क्षतिपूर्तिका लागि बिमा

श्रीमान् कार्की,  निर्देशक,  बिमा समिति  

भौतिक तथा मानवीय क्षतिको आर्थिक क्षतिपूर्ति दिने व्यवस्था नै बिमा हो। बिमा विभिन्न प्रकारका हुन्छन्। भूकम्प बिमा गार्हस्थ्य तथा अग्नि बिमाअन्तर्गत पर्छ। यसमा आफ्नो सम्पत्तिको मूल्याकंनअनुसार बिमाको रकम तय गरिन्छ। नेपालमा यो अवधारणा २००४ सालमा प्रारम्भ भएको हो। नेपाल ट्रान्सफर कम्पनीअन्तर्गत सुरु भएको यो बिमा कम्पनी संशोधन भएर नेपाल इन्स्योरेन्स कम्पनीका रूपमा हालसम्म कार्यरत छ। २०२४ सालदेखि राष्ट्रिय बिमा संस्थाले रामशाह पथबाट आफ्नो काम सुरु गरेको हो। नेपालमा बिमाको अवस्था सन्तोषजनक छ। संकटकालका बेला अरू व्यवसायलाई निकै असर पुर्‍याए पनि बिमा कम्पनीहरूलाई यसले खासै असर गरेको थिएन। आफ्नो सम्पत्तिको मूल्यांकन निर्माणकर्ताले आफैं गर्छ। त्यसमा पनि भ्यालुवेटरले त्यो सम्पत्तिको आफै मूल्याकंन गर्छ। यसको अवधि १ वर्ष हुन्छ। प्रत्येक वर्ष यसको नवीकरण गर्नुपर्छ।

आफ्नो सम्पत्तिको मूल्यांकनका आधारमा बिमा कम्पनीहरूले बिमा राशि तय गर्छन्। क्षतिपूर्तिका लागि  सुरुमा क्षतिका विषयमा सूचना दिइन्छ। त्यसपछि सर्भेयरले चर्किएको वा भत्किएको ठाउँको निरीक्षण गर्छ। क्षतिको रिपोर्ट बनाएपछि त्यसको ३५ दिनभित्रमा बीमितले आफ्नो क्षतिपूर्ति पाउनुपर्छ। यसमा मिडिया तथा बिमा समिति व्यवस्थापनको समान जिम्मेवारी रहन्छ। बिमा भनेको आफ्नो सम्पत्तिको सुरक्षा तथा क्षतिका हिसाबले आवश्यक छ। भरसक थोरै लगानी गरेर आफ्नो तथा आफ्नो सम्पत्तिको सुनिश्चितता गर्नु बुद्धिमत्ता हो।

अहिले आएको महाभूकम्पछि बिमाको महत्व अझ उजागर भएको छ। केही नहुनुभन्दा केही हुनु नै राम्रो हो। बिमा गरिएको सम्पत्तिले केही न केही क्षतिपूर्ति प्राप्त गर्छ। आफ्नो हरेक सम्पत्तिको बिमा गरेर आफ्नो भविष्य सुरक्षित गर्नु उत्तम हो।

 Image