पहिलेको तुलनामा केही वर्षयतादेखि मानिसहरू भूकम्पप्रतिरोधात्मक घर निर्माण गर्ने कुरामा सचेत देखिँदै आएका छन्। यद्यपि २०७२ वैशाख १२ गते आएको शक्तिशाली भूकम्पले नेपालका धरोहर, पुराना बस्ती एवं सहरका कतिपय घर भत्किएका वा भास्सिएका देखेर मानिसहरू डराएका छन्। आर्किटेक्ट साकार श्रेष्ठका अनुसार नेपालमा गएको यसपटकको भूकम्पमा काठमाडौं, ललितपुर, भक्तपुरलगायत विभिन्न जिल्लामा भत्किएका घरहरूमा पुराना, माटाले बनाइएका र समय सकिएका घरहरू बढी छन्। नेपालका पुरातात्विक महत्वका धरोहर नष्ट हुनु, भत्किनुमा त्यसको समयमै उचित मर्मत–सम्भार नगरिनु प्रमुख कारण हो। विदेशमा २५–३० वर्षमा एकपटक यस्ता धरोहरहरूको मर्मत–सम्भार गराइन्छ। पाटन दरबारस्क्वायरमा जुन–जुन मन्दिर मर्मत–सम्भार तथा पुनर्निर्माण गरिएको छ तिनमा खासै क्षति भएको छैन। उपत्यकाका तीनवटै दरबार स्क्वायरका मर्मत–सम्भार नभएका मठ–मन्दिर, पाटी, सत्तलहरू भत्किएका छन्। यो उदाहरणले पनि जसरी मानिसहरू बिरामी हुन्छन्, उपचार गर्नुपर्छ, उमेर भएपछि मर्छन्, त्यसरी नै घर तथा मठ–मन्दिरको पुनर्निर्माण तथा मर्मत–सम्भार गराउनुपर्छ भन्ने कुरा प्रमाणित गरेको छ। गोंगबु तथा बालाजु क्षेत्रमा भत्किएका नयाँ घरहरूको सन्दर्भमा साकार भन्छन्– कालो माटो भएकाले उक्त क्षेत्रको जमिन खेती योग्य छ। त्यहाँ थोरै मात्र जग खनेर घर बनाइएका कारण कतिपय घर ढलेका वा भास्सिएका हुन्। प्राय: ठूल्ठूला भवन माटो परीक्षण गराएर बनाइएकाले सिमेन्ट चर्किएका वा बाहिरी भाग मात्र बिग्रिएका छन्। पिल्लर बाङ्गिएको, भत्किएको त्यति पाइँदैन। मानिसले भूकम्पपछि डराएर अब भुइँतल्ला वा दुई तल्लासम्मको मात्र घर बनाउनुपर्छ भनेर व्यक्त गरेको धारणाप्रति स्ट्रक्चर इन्जिनियर डा. रेखा श्रेष्ठ सहमत छैनन्। घर जति ठूलो बनाए पनि जग, पिल्लर आदिमा गुणस्तरीय सामग्री प्रयोग गरी आर्किटेक्ट तथा इन्जिनियरसँग सल्लाह गरेर भूकम्पप्रतिरोधात्मक बनाउनुपर्छ। डा. श्रेष्ठका अनुसार घर बनाउनुअघि जग्गाको माटो परीक्षण गराउनुपर्छ। किफायत गरेर कमसल सामग्रीहरू प्रयोग गर्नु नै जोखिम बढाउनु हो। बस्नका लागिबनाइएको भवनलाई गोदाम बनाइदिँदा क्षमताले धान्न नसक्दा पनि घर भत्कन्छ। नक्सामा २ तल्लाको डिजाइन गराउने र पछि आफ्नै हिसाबले थप्ने, जमिनमुनिबाट पानी बोरिङ गर्ने आदि कारणले पनि घर भत्किएका हुन्। कुन भवन कुन प्रयोजनका लागि बनाउन लागिएको हो सोहीअनुसार स्ट्रक्चर डिजाइन गरेर, घर निर्माण गर्ने सामग्रीहरू सिमेन्ट, इँटा, बालुवा, गिट्टी, डण्डी आदिको क्वालिटी जाँच गराएर मात्र बनाउनुपर्छ। पुराना माटाका घरमा एक तल्लामाथि सिमेन्टले थप्ने आदि कारणले पनि घरहरू भत्कन्छन्। अब घर बनाउँदा निम्न कुरामा ध्यान पुर्याउन सकिन्छ :
१. माटो परीक्षण गराउने।
२. जग बलियो बनाउने।
३. निर्माण सामग्रीमा कुनै सम्झौता नगर्ने।
४. भवन कुन प्रयोजनका लागि बनाउन लागिएको हो त्यसैअनुरूप स्ट्रक्चर डिजाइन गराउने र त्यसैअनुरूप भवनको उपयोग गर्ने।
५. मापदण्डमा रहेर घर बनाउने।
६.पछि पिल्लर थपेर घरको तल्ला नबढाउने।
भूकम्पप्रतिरोधक घर
विमला तुलाधर, आर्किटेक्ट
अहिले घर बनाउने होड बढ्दो छ। आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरको सल्लाहअनुसार घर बनाउने चलन पनि त्यत्तिकै छ। घर बनाउँदा सुन्दरताका साथमा भूकम्पबाट बचाउने कुरालाई पनि उत्तिकै प्राथमिकता दिन थालिएको छ। भूकम्पप्रतिरोधक घर बनाउँदा दायाँ–बायाँ तथा तल–माथि जाने भूकम्पलाई ध्यान दिनुपर्छ। भूकम्पप्रतिरोधक घर बनाउन बिल्डिङको मास गोल्डेन रेस्युमा हुनुपर्छ। गोल्डेन रेसियो भन्नाले बिल्डिङ सिलिन्डर सेपमा नबनाई बिल्डिङ बढाउने हो भने त्यही रेसियोमा एरिया पनि बढाउनुपर्छ। घरको पूरै भाग एकआपसमा टाइअप हुनुपर्छ। एकअर्कामा राम्रोसँग कनेक्ट भयो भने भूकम्पबाट त्यति डराउनुपर्दैन। रेक्ट्यांगल, राउन्ड तथा स्कायर सेपका घर भूकम्पप्रतिरोधकका दृष्टिले उत्तम मानिन्छन्। यसबाहेक अरू सेप भने ज्वाइन छुटाएर बनाउन सकिन्छ जसले घरलाई प्रोटेक्ट गर्छ।
घरको तल्ला थपिँदा बिल्डिङ कर्नरहरू टाइअप हुनुपर्छ। मासलाई पिरामिड स्टाइलबाट तलको भागमा लोड बढी र माथिल्लो भागमा लोड घटाउँदै लानुपर्छ। वाल सिस्टमका घरमा कर्नरबाट कम्तीमा पनि २ फिट छोडेकै हुनुपर्छ। ओपनिङ सकभर २५ देखि ५० प्रतिशत राख्दा राम्रो हुन्छ। ५० प्रतिशतभन्दा बढाउनु उपयुक्त हुँदैन। कर्नर वालमा टाइअप गर्नुपर्छ। वाल लामो भयो भने बीचमा अर्काे वालले सपोर्ट गरेको हुनुपर्छ। घर बढाउन खोज्दा फरक–फरक घर छ भने अग्लो र सानो घरको टाइअप छुट्टै गर्नुपर्छ अन्यथा भूकम्पले हल्लियो भने ठूलोको धक्का सानोमा पर्न सक्छ।
भूकम्पप्रतिरोधात्मक घरका दृष्टिले हाम्रा पुराना मल्लकालीन घर उदाहरणीय मानिन्छन्। ती घर भूकम्पबाट बचाउने गरी डिजाइन गरिएको पाइन्छ। पहिलेका घर तथा मन्दिर मुनिको वाल ठूलो हुँदै माथि सानो अर्थात् पिरामिड सेपका हुन्छन् भने घरको बीचमा चोक पनि यसैलाई मध्यनजर गरी बनाइएको देखिन्छ। घरमा टुँडाल राखिनुको कारण पनि भूकम्पबाट बचाउनु हो। ठाउँ–ठाउँमा टाइअपका लागि चुकुलहरू राखिएको हुन्छ। झ्यालको माथि काठका टाइ बिम राख्नु पनि भूकम्पबाट जोगिने उपाय हो।
रेक्टिफिकेसन
पहिले नै तयार भैसकेका घरलाई नभत्काई भूकम्पप्रतिरोधक बनाउने हो भने सानो पिल्लरलाई छेउछेउमा बढाएर थप्दै पिल्लरमा पनि फुटाउँदै लिंक गर्दै लोड थाम्ने क्षमता बढाएर ज्याकेटिङ सिस्टमले बनाउन सकिन्छ। अरू देशमा जस्तै नेपालमा पनि भूकम्पलाई ध्यानमा राखेर भवन निर्माण गर्न थालिएको छ। १ सेकेन्डमै सबै सखाप हुन सक्ने डरलाग्दो प्राकृतिक प्रकोप भूकम्पबाट जोगिन घरलाई सुरक्षित बनाउनुपर्छ। आम मानिसले भूकम्प प्रतिरोधात्मक घर बनाउँदा धेरै खर्च लाग्छ भन्ने धारणा बनाएको पाइन्छ तर त्यो गलत हो। यसरी डिजाइन गर्दा खर्च बढ्ने होइन बरू नचाहिने ठाउँमा खर्च घट्ने र चाहिने ठाउँमा खर्च बढ्ने हो। त्यसैले सबैले नयाँ घर बनाउँदा भूकम्पप्रतिरोधक उपाय अपनाउनु उपयुक्त हुन्छ।