Successfully Copied

भूकम्पपछि कसले के लेखे ?

हाल सहयोगी हातहरूको अभाव देखिँदैन तर राजनीतिक असमझदारी कम हुन नसके सहयोगको व्यवस्थापन गरी पुनर्निर्माण गर्ने कुरा सजिलो छैन।

हाल सहयोगी हातहरूको अभाव देखिँदैन तर राजनीतिक असमझदारी कम हुन नसके सहयोगको व्यवस्थापन गरी पुनर्निर्माण गर्ने कुरा सजिलो छैन। सन् २००६ मा शान्ति सम्झौता गरेको ९ वर्ष हुँदैछ, पुनर्निर्माण मुस्किलले एक चौथाइ हुन सकेको देखिन्छ। के यो कार्यका लागि पुँजीको समस्या थियो त ? त्यसैले अहिले सहयोगको खोला बगे पनि राजनीतिक मानचित्रमा आर्थिक मुद्दाको नक्सा कोर्न नसके अनि खर्च गर्ने क्षमता अभिवृद्धि नगरेसम्म त्यति आशावादी हुन सक्ने ठाउँ छैन।

प्रा. विश्वम्भर प्याकुर्‍याल,

कान्तिपुर दैनिक (वैशाख २१)

हामी अत्यन्तै अव्यवस्थाबीच बाँच्दै आएका छौं भन्ने कुरा अरू टड्कारो भएको छ। परिवर्तनहरू धेरै भए तर सोच र व्यवहारमा परिवर्तन आएन। अहिले राहत व्यवस्थापनमै पनि सत्तारुढ तथा विपक्षी दलहरू सबैमा एक–अर्काको खोट र कमी औंल्याउने प्रवृत्ति बढ्दैछ। सेना, प्रहरी एवं प्रशासनका बीचमा पनि जस–अपजसका औंला तन्किन थालेका छन्। नेपालको यही हालतमा जो सरकारमा, प्रशासनमा भए पनि हुने कुरा यही हो।

प्रा. कृष्ण खनाल,

कान्तिपुर दैनिक (वैशाख २०)

सरकारले सहायताको पहिलो चरण र पछिल्ला चरणहरूबीच भेद गर्न जानेन। यसैले राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवैतिरबाट आलोचना सुन्नुपरेको हो। आफन्तहरूलाई मात्र सहयोग गर्दा अप्ठेरो होला भनेर काठमाडौंमा मात्र सहायता सामग्री सीमित गरी गाउँ लान रोक्नु अमानवीय कुरा हो। सरकारी अधिकारीले यस्ता कुरामा विवेक पुर्‍याउनुपर्छ।

गोविन्द अधिकारी,

नागरिक (वैशाख २१)

उद्धार टोलीबाट खाना, पिउने पानी, पाल एवं आर्थिक सहयोग वितरणका सन्दर्भमा मृतक, घरबारविहीन परिवार एवं क्षतिग्रस्त घरहरूसम्म के–कस्तो प्रभाव परेको छ यथाशीघ्र अनुगमन हुनुपर्छ। यो महान् कार्यमा राजनीतिक दलले आफू अनुकूल फाइदा लिने काम गर्नु हँुदैन।

प्रा.डा. गणेशमान गुरुङ,

नागरिक (वैशाख २१)

भूकम्पपछिको उद्धारको काम दुर्गम ठाँउहरूमा अझ चुनौतीपूर्ण छ। यस्तो प्राकृतिक विपत्तिमा प्रविधिको प्रयोग विषेश गरेर भौगोलिक सूचना प्रविधि(जोग्राफिकल इन्फरमेसन सिस्टम) को प्रयोग उद्धार र सहायता वितरणमा धेरै उपयोगी साबित हुन्छ। यस्ता प्रविधि प्रयोग गरेर बनाइएका नक्सा, तथ्यांक र सूचना पछि त्यस्ता प्रभावित ठाँउको पुनर्निर्माणमा पनि सहयोगी हुन्छ। भौगोलिक सूचना प्रविधिका अतिरिक्त, ड्ररोन भनिने मानवरहित स–साना विमान तथा क्वार्डकप्टरको प्रयोग एवं इन्फ्रारेड तथा थर्मल क्यामेराको उपयोग पुरिएका व्यक्तिको खोजी गर्न सहयोगी हुन्छ।

उत्तमबाबु श्रेष्ठ,

नागरिक (वैशाख १६)

हामी विस्मयकारी भूकम्पभित्रै छौं। भूकम्पन र पराकम्पनका झट्काहरूबाट अहिले पनि त्रसित छौं। भूकम्पका बारेमा गरिने त्रासदीको चित्रणलाई विज्ञापनका रूपमा बजाउन थालिएको धेरै भैसकेको छ। यद्यपि त्यो  सैद्धान्तिक ज्ञानको मात्र कुरा रहेछ, हामी सचेत भएका त पक्कै रहेछौं तर सतर्क भएका रहेनछौं। कतै कुनै तयारी रहेनछ। सरकारी, गैरसरकारी तथा  जनस्तरबाट कतै पनि भूकम्प आउने कुरामा सतर्क हुन सकेका रहेनछौं।

हरिविनोद अधिकारी,

गोरखापत्र दैनिक (वैशाख २१)

भूकम्पमा जम्मा तीन किसिमका तरंग उठ्छन्। पी–वेभ (ध्वनि तरंग जस्तो तरंग) सुरुमा निस्कन्छ र त्यसले कुनै क्षतिगर्दैन तर एस–वेभ  (जमिन तल–माथि गरेर आउने तरंग) र सतही तरंगले क्षति गर्छ। सतही तरंग पनि दुई किसिमका हुन्छन्। ती हुन्– लभ वेभ (जमिनको माथिल्लो पत्र दायाँ–बायाँ हल्लिने तरंग) र रेलेज वेभ (माथिल्लो पत्र घुमेर हल्लिने तरंग)। यी तरंगले गर्दा जमिनमा खतरनाक कम्पन्न उत्पन्न हुन्छ। इपिसेन्टर (भूकम्म उत्पन्न भएको केन्द्रबिन्दु)को दूरीअनुसार ती तरंगको आगमन समय पनि फरक–फरक हुन्छ।

डा. रञ्जनकुमार दाहाल,

गोरखापत्र दैनिक (वैशाख २१)

विशेषज्ञहरूले नेपाललाई जहिले पनि भूकम्पको सम्भावना भएको देशका रूपमा राखेका छन्। यो कुरा सडक विस्तारको योजना बनाउने विशेषज्ञहरूले कसरी नजरअन्दाज गरेको ? विस्तार गरिएको सडक किनारका धेरैजसो घर भित्रबाट चर्किएका छन्। ती घरको त्यस्तो अवस्थाको जिम्मा कसले लिने ?

नम्रता शर्मा,

अन्नपूर्ण पोस्ट (वैशाख २०)

यो सरकारको आलोचना गर्ने समय होइन। सरकार भनेको समाज र जनताको ‘रिफ्लेक्सन’ हो। नागरिक, समाज, प्राविधिक, विज्ञ सबै सरकार हुन्। सरकारसँग प्रविधि, नीति–नियम र विज्ञ हुन्छन्। नागरिकसँग भने नपरी नचेत्ने मनोविज्ञान हुन्छ।

प्रा.डा. सूर्यराज आचार्य,

अन्नपूर्ण पोस्ट (वैशाख १९)

भूकम्पले ल्याएको विपत्तिले आर्थिक एवं सामाजिक विषमता अझ बढेको र भूकम्पको चपेटामा पर्ने धेरै जनता निम्न आय भएका वर्गमा पर्छन् कि त गाउँंका निमुखा छन्। सहरका पुराना घर, गाउँका कमजोर घर वा पाखाभित्तामा बसोबास गर्ने सबैथरीका मानिस गरिब छन्।

लोकराज बराल,

कान्तिपुर (वैशाख, २५)

यो भूकम्पले पनि नेपाली जातिको भविष्यमा एउटा पानीढलोको काम गर्नेछ, भविष्यमा लेखिने नेपाली इतिहासमा ‘भूकम्पअघि र भूकम्पपछि’ भन्ने शीर्षकहरू महत्वका साथ उल्लेख गरिनेछ। मानव पुर्खाले यस्तै विपत्तिहरूमा शोकलाई शक्तिमा बदल्दै जुन घटना प्रक्रिया बनाए त्यो नै मान्छेको इतिहास हो। तिनै पुर्खाका हामी नेपाली सन्तान आज आइपरेको शोकलाई शक्तिमा बदल्छौं कि शोकलाई अझ बढी शोकमा बदल्छौं भन्ने परीक्षामा छौं।

घनश्याम भुसाल,

कान्तिपुर (वैशाख, २४)

सुन्दर एकीकृत बस्ती भूकम्प प्रतिरोधक होस्। फेरि आमाको काख तथा श्रीमतीको सिउँदो नरित्तियोस्। नाबालक र युवाले अकालमा मर्नु नपरोस्। मापदण्ड विपरीत बनाइएका घर भत्काइयोस्। भए–रहेका नीति कार्यान्वयन गरियोस्। कार्यान्वयन योग्य नीति बनोस्।

कल्पना नेपाल (आचार्य),

गोरखापत्र (वैशाख २५)

जापानीहरूले जसरी दोस्रो विश्वयुद्धपछि आणविक बमले ध्वस्त भएको देशलाई संसारकै एक आर्थिक सम्पन्न देश बनाउन सफल भए त्यसैगरी हामी पनि एक सकारात्मक सोचाइका साथ थप मेहनती, अनुशासित, लगनशील एवं इमानदार भएर काम गर्न सक्यौं भने यो देशलाई महाभूकम्पको विपत्तिबाट जोगाउने मात्र होइन थप उन्नत राष्ट्र बनाउन पनि सक्छौं।

डा. कपिलमणि केसी,

कान्तिपुर (वैशाख, २७)

बालबालिका हरेक समय सिक्न तयार हुन्छन् र सिकिरहेका पनि हुन्छन्। उनीहरूको यो स्वस्फुर्त सिकाइलाई बिस्तारै विषयवस्तु केन्द्रित गरी पाठ्यक्रमसँग समन्वय गर्न सकिन्छ। उनीहरूलाई सुरक्षित छौं भन्ने कुराको निश्चित नगरी अन्य क्रियाकलापमा संलग्न हुन सक्दैनन्। तसर्थ पहिलो कार्य भनेको बालबालिकालाई खेल तथा क्रियाकलापको माध्यमबाट सुरक्षित महसुस गराउनु हो।

मीनाक्षी दाहाल,

कान्तिपुर (वैशाख, २६)

 Image