गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर वि.सं. २०७२ साल वैशाख १२ गते दिउँसो ११ बजेर ५६ मिनेटमा गएको शक्तिशाली भूकम्पले धन–जनको ठूलो क्षति गरायो भने कतिपय आमाका काख रित्तिए, कतिपय मानिस घरबारविहीन भए भने कतिपय बेसहारा बन्न पुगे।
विशेषत: महिला तथा बालबालिका विनाशकारी भूकम्पबाट बढी प्रभावित देखिए। महिलाहरू मुख्यत: घरभित्रको काममा व्यस्त हुनुपर्ने र यस्तो महाविपत्तिका बेला तीव्र रूपमा भागदौड गर्न नसक्ने हुँदा बढी जोखिममा परेका हुन्। त्यस्तै यो समयमा गर्भवती, सुत्केरी, वृद्धवृद्धा तथा साना नानीहरूको पनि चरम दुरावस्था देखियो। प्रसव पीडा सहँदै अस्पतालको शैयामा छटपटाइरहेका गर्भवती हुन् वा भर्खरै सुत्केरी भएकी आमा र तिनका नवजात शिशु, ती सबैको पीडा भूकम्पका कारण अझ चुलियो। लैङ्गिक विभेद र हिंसाका कुरा तीव्र रूपमा उठिरहेको सन्दर्भमा प्रकृतिको यो प्रलयले कसैलाई छोडेन न महिला न पुरुष, न धनी न गरिब, न उँच न निच हरेकसँग उसको युद्ध बराबरी नै रह्यो।
रिपोर्टिङका सिलसिलामा काठमाडौं पश्चिममा रहेको विशेष प्रभावित क्षेत्र रामकोट भीमढुंगादेखि करिब १ घन्टा उकालो हिँडेर पुगिने गिरी र तामाङ बस्तीमा पुग्दा त्यहाँका महिलाको आँखामा त्रास र आश मात्र देखिन्थ्यो। डराइरहेका थुप्रै महिला केही खानेकुराको अपेक्षामा चुपचाप उभिइरहे। एक ७८ वर्षीया महिला मैना दामी गहभरि आँसु पार्दै दिनभरि यताउताका मानिससँग कुरा गर्दा मन भुले पनि जब साँझ पर्दै जान्छ अनि डर लाग्दै जाने बताउन थालिन्, ‘दिनभरि अरूसँग बोलिरहँदा बास उजाडिएको कुरा पनि बिर्सन्छु तर जब साँझ ढल्दै जान्छ भक्कानो छुटेर आउँछ। अब कहाँ सुत्ने र के खाने भन्ने कुराले पिरोल्न थाल्छ। मन डराइरहन्छ अनि त्यसै रुन मन लाग्छ। यसै त उमेर घर्कदै गएपछि परिवारको बोझ भइयो भन्ने चिन्ताले सताइरहेका बेला अझ यो महाविपद् आइलाग्यो। बरु त्यही भुइँचालोमा मर्न पाएको भए पनि हुने।’ मैनाको घर भत्किएर खण्डहरबाहेक केही छैन। भएका अन्नपात भित्रै पुरिए। लगाएको एकसरोबाहेक लुगाफाटाका नाममा टालो बचेको छैन। मैना भन्छिन्, ‘वृद्धावस्थामा रात छिप्पिदै जाँदा आँखा धमिलो हुँदै जान्छ। त्यसमा पनि भोको पेट खुला आकाशमुनिको बास कीरा, फट्यांग्रा र लामखुट्टेले सताउँछन्।
चापागाउँकी ३३ वर्षीया श्रद्धा श्रेष्ठ भुइँचालो गएको दिन घाँस काट्न गएकी थिइन्। घाँस काट्दाकाट्दै संसारै हल्लिने गरी जमिन काम्यो। उनी जंगलमै लम्पसार परिन्। केही क्षणमै ३ वटा बालबच्चा तिनतिर अनि श्रीमान् अर्कातिर भएको कुरा झसङ्ग हुँदै सम्झिइन् तर उठेर हिँड्ने साहस थिएन उनमा। कम्पन केही मत्थर भएपछि रुँदै–कराउँदै घर पुगिन् तर उनको घर अब घर रहेनछ त्यहाँ त ढुंगा र माटोको थुप्रो मात्र थियो। त्यही बेला श्रीमान् र बालबच्चा मरेको खबर आउने हो कि भन्ने त्रास र चिन्ताले सताउन थाल्यो अनि उनी अचेतजस्तै भइन्। जब बालबच्चा र श्रीमान् पनि हतारिँदै आए, उनमा केही साहस आयो। श्रद्धा भन्छिन्, ‘त्यो क्षण मलाई एउटी आमा, श्रीमती र घरमुली हुनुको बोध यसरी भयो कि म शब्दमा भन्न सक्दिन।’
कपनकी ३७ वर्षीया पूजा शाह पहिलो ठूलो भूकम्प आउँदा ४ तल्ला माथिको भान्सा सफा गर्दै थिइन्। शनिबार भएकाले ढिलो खाना खाएको उनको परिवार तल टिभी हेर्दै थियो। एक्कासि आएको विशाल कम्पनले उनी भान्सामै चिप्लिएर भुइँमा बजारिन पुगिन्। उनको खुट्टामा गहिरो चोट लाग्यो धन्न घर चर्किए पनि नढलेकाले ज्यान जोखिममा परेन।
सिन्धुपाल्चोककी गीता थापा (३६) घरमै सपरिवार पूजामा सामेल थिइन्। पूजा सकेर सबैलाई खाना ख्वाइवरी वस्तुभाउका लागि घाँस लिन जंगल गएकी थापा भूकम्पले जंगलमै अड्किइन्। ठूलो कम्पन रोकिए पनि लर्खराउँदै घर आइपुग्दा परिवारको एकै चिहान भएको देखेपछि सिन्धुपाल्चोकदेखि हिँडेर काठमाडौं आइपुगिन्। यहाँका चिनेजानेकाहरूसँग हारगुहार गरी केही राहत सामग्री जुटाएपछि अहिले उनी सिन्धुपाल्चोक फर्किएर बचेका गाउँलेहरूको उद्धारमा लागिपरेकी छिन्।
रामकोटकी १० वर्षीया सुनीता दामीलाई पनि यसपटकको भूकम्पको ठूलो धक्का लागेको छ। कच्चीघरको दलिन खस्दा मुस्किलले बाँचेकी सुनिता तीन रातसम्म सुत्न सकिनन्। अझ त्यसमाथि बुवालाई ढलेको घरले थिच्दा बुवा अब यो संसारमा रहनुभएन भन्ने त्रास र पीडाले सुनीतालाई चेतशून्य बनायो। चार घन्टापछि बुवाको घाइते अवस्थामा उद्धार गरेपछि उनी बल्ल बोल्न सक्ने भइन्। अझैसम्म सुनीताको बालमस्तिष्कमा त्यही कुराले डर उत्पन्न गरिरहेको छ। अहिले पनि उनलाई महामारी आएर सबैलाई लैजान्छ भन्ने डरले पिरोलिरहन्छ। भीमढुंगा, तामाङ बस्तीका विशाल तामाङकी ३५ वर्षीया श्रीमतीको सुन भत्किएको घरभित्रै पुरियो। खाइनखाई जोडेको सुन माटोमा मिल्दा उनी अझैसम्म त्यसको पीडाबाट उम्कन सकेकी छैनन्। उनी अहिले पनि मेरो सुन खोई भन्दै पटक–पटक दोहोर्याइरहन्छिन्।
ढुंगेधारा काठमाडौंकी पुष्पलता श्रेष्ठको कथा पनि कहालीलाग्दो नै छ। शनिबारका दिन दुई छोरी र श्रीमान् लिएर शोभाभगवतीस्थित माइतीघरको पूजामा सामेल हुन पुगेकी पुष्पलता त्यतिबेला घरमा आएका पाहुना सत्कारमा घरबाहिर रुमलिँदै थिइन्। भित्र पण्डितजी पाठ गर्दै थिए। एक्कासि ठूलो गर्जनसहित सारा पृथ्वी नै काम्न थाल्यो। खाना खाएर जानू भन्ने आग्रह नमानी उनका श्रीमान् साइडको कामका लागि कालीमाटी पुगेका थिए। पुष्पलतालाई श्रीमान्को भन्दा पनि घरभित्र भएका दुई छोरीको चिन्ता हुन थाल्यो तर उनी भित्र पस्ने अवस्था थिएन। हेर्दाहेर्दै उनकै आँखाअगाडि चार तल्ले घर एकमाथि अर्को तल्ला गर्दै थचक्कै बस्यो भित्र भएका १८ जनाको एउटै चिहान बनाउँदै। उद्धार टोलीलाई पटक–पटक फोन गर्दा पनि नआएपछि करिब दुई घन्टापछि आफै उद्धार कार्यमा खटिएका उनका श्रीमान्ले घाइते जेठी छोरीसम्म निकाल्न सफल भए तर अत्यन्तै हँसमुख र सदा सक्रिय उनकी चार वर्षीया छोरी पूर्वानी श्रेष्ठको लास मात्र भेटियो भने पुष्पलताकी आमा, सासू, नन्द, दाजुलगायत अन्य १७ जना भित्रै पुरिए। यो पीडाले पुष्पलतालाई कल्पनै गर्न नसक्ने झट्का लागेको छ। अझैसम्म उनी आफ्ना ती आफन्त र छोरी आफ्नै वरिपरि भएको बताउँदै भन्छिन्–मेरी पूर्वानी मामु भन्दै एकछिनपछि आउँछे। मेरो अगाडि लुगा फेरी–फेरी नाच्छे, गीत गाउँछे। दिदीको कुरा लगाउँछे। पुष्पलतामा आक्रोश र पीडा एकसाथ झल्किन्छ। भगवान्कै पूजा गरिरहेका बेला यस्तो घटना घटेपछि अब उनलाई भगवान्प्रति पनि विश्वास छैन।
भक्तपुर लेले निवासी गौमती बम्जनको अनुभव पनि कम पीडादायी छैन। गाई चराउन गएकी गौमती रुखको छहारीमुनी शीतल ताप्दै थिइन्। रजस्वला भएकाले पेट दुखिरहेको थियो। अचानक सारा जमिनै हल्लिन थालेपछि उनलाई गाईवस्तु भागेर यस्तो भएको हो कि भन्ने लाग्यो। जुरुक्क उठ्न खोज्दा उठ्न सकिनन्। फेरि थचक्कै यथास्थानमै बसिन्। अझ पृथ्वी नै हल्लिन थाले पनि लौ अब प्रलय हुने भो भन्ने डरले आँखा चिम्लिएर घोप्टो परिन्। त्यही बेला एक हूल गाइवस्तु दौडदै आएर कतिले उनलाई नाघ्दै गए त कतिले कुल्चिएर सुइँकुच्चा ठोके। घाइते गौमतीको माटोको घर भत्किएको छ। अन्नपानी र लत्ताकपडा सबै पुरिएका छन्। महिनावारी भएकी बम्जनलाई खुला चौरमा दिनरात कटाउन कम मुस्किल भएन। त्यसमाथि पनि घाइते हुँदा त आफू बाँचेकोमा पछुतो लागिरहेको उनी बताउँछिन्। नुवाकोटकी ७४ वर्षीया वृद्धा चरिमाया दनुवार बालाजुस्थित टेन्टमा भेटिएकी महिला हुन्। दनुवार न त समयमा खान पाउँछिन् न उपलब्ध भएको चिउरा नै चपाउन सक्छिन् जसले गर्दा उनमा रोग थपिँदैछ। चिसो भुइँमा सुत्नुपर्दा उनी थला परिसकेकी छिन्।
भूकम्पमा कति नेपाली महिला र बालबालिकाको ज्यान गयो तथा कति घाइते भए यकिन छैन। यस्ता प्राकृतिक विपद्मा विशेषत: महिला तथा बालबालिका नै बढी प्रभावित देखिँदै आएका छन्। उनीहरूमा भिन्नै प्रकारको रिस, त्रास, आक्रोश, मानसिक विचलन, निस्क्रियता जस्ता समस्या देखा परेका छन्। घरभित्रको हरेक व्यवस्थापनमा महिलाको जिम्मेवारी रहेको र बालबालिकाको स्याहार तथा रेखदेख महिलाले नै गर्नुपर्ने भएकाले उनीहरू अहिलेको यो अभावमा बढी बोझ महसुस गरिरहेका छन्। त्यसो त यो भूकम्प पछि थुप्रै रात टेन्टमा गुजार्नुपर्दा आफूलाई निक्कै असुरक्षित गरेको अनुभव पनि धेरै महिलाले सुनाए। ललितपुरको दक्षिणी भेगमा टेन्टभित्रै एक महिला बलात्कृत भएको खबर पनि बाहिर आयो। संसारका जुनसुकै मुलुकमा किन नहोस् यस्ता प्राकृतिक विपत्तिपछि महिलामा यौन तथा लैङ्गिक हिंसा बढेको पाइन्छ। अधिकारकर्मी वन्दना राणा भन्छिन्, ‘यस्तो अवस्थामा महिलाहरू शारीरिक तथा मानसिक रूपमा अझ कमजोर हुने र मौकाको फाइदा उठाउन खोज्नेहरूका कारण यस्ता घटना बढ्ने सम्भावना हुन्छ। राहतकै विषयमा कुरा गर्दा पनि यदि श्रीमान् बिदेसिएका वा कामका सिलसिलामा घरबाहिर रहेको अवस्थामा महिलाको मात्र पहलमा त्यो हूलमूलमा राहतबाट समेत वञ्चित हुनुपर्ने अवस्था आउन सक्छ जसले सिंगो परिवारमै असर पार्छ।’
त्यतिबेला मलाई नारीको महाकाली रूपको अनुभव भयो। पृथ्वी सारा प्राणीसँग रिसाएर गर्जिएजस्तो लाग्यो। त्यसबखत मैले मृत्युको अनुभूति गरें। अनामनगरको रेस्टुरेन्ट उद्घाटनमा पुगेकी म बीच सडकमै थचक्क बसें। यताउता हेर्छु बिजुलीका तार, घर, सवारीसाधन सबै एकनासले हल्लिरहेका, नमीठो अत्यासलाग्दो कर्कस आवाजका साथ पृथ्वी कम्पन भैरहेको थियो। यस्तो देखेपछि प्रलय नै हुन लागेको महसुस भयो। एक्कासि मेरो अग्लो घरमा रहेका मेरा दुई छोरी र मेरी सहयोगी भगवती बहिनीलाई सम्झिएँ। हत्तपत्त गाडी लिएर घरतिर हान्निएँ तर चलाउन मिले पो ? बीचैमा गाडी छोडी दौडेर बल्लबल्ल घर आइपुग्दा नानीहरू ओर्लिएर बाटोमा बसिरहेका तर अत्यन्तै त्रसित मुद्रामा।
पूनम क्षेत्री गौतम, निर्मातृ तथा फेसन डिजाइनर
हप्ता दिनसम्म बीबीसीको हेडलाइन न्युज बनेको नेपालको भूकम्पमा पर्नेहरूको भन्दा हामी बिदेसिएका नेपालीहरूको पीडा पनि कम दर्दनाक रहेन। नेपालमा बसेका त प्रभावित छन् नै हामी विदेशमा बस्ने महिलालाई पनि यसको प्रभाव पर्यो। खबर सुन्नेबित्तिकै गर्भवती बुहारी, वृद्ध बाआमा अनि ७६ वर्षका ससुराको स्थिति सम्झेर कहाँ जाऊँ र के गरूँ भयो। फोन सम्पर्क गर्न खोज्दा फोन लागेन। धेरै नेपाली बिदेसिएका छन् अनि घरमा बालबच्चा र महिला मात्र छन्। नेपालले बेहोर्नुपरेको यो मानवीय तथा भौतिक क्षतिले हामी समुद्रपारि बस्ने नेपालीहरूलाई अझ ठूलो धक्का लागेको छ।
संगीता मरहठ्ठा, सदस्य,
एनआरएन आइसीसी वुमन इम्पावरमेन्ट कमिटी तथा व्यवसायी
शनिबार परेकाले बच्चाहरूसँगै बस्नुपर्छ भन्ने लागेर उनीहरूसँगै थिएँ। मेरी ८२ वर्षीया सासू एक्कासि अत्तालिनुभयो। चार हातखुट्टा टेक्दै घिस्रिएर बाहिर भाग्न खोज्दा बल्ल भूकम्प गएछ भन्ने थाहा पाएँ। म भने ढुन्मुनिँदै जमिनमा बस्न पुगें। टेन्टमा बिताएका ती कष्टकर रातहरू त्यसमा पनि भारी वर्षा, त्यो दु:ख र भोगाइको लेखाजोखा छैन। अहिले म एक प्रकारले मानसिक बिचलनमा छु। मेरो विद्यालयका दुई जना कर्मचारीको घरबास गयो। चार वर्षीया मेरी छात्रा पूर्वानी श्रेष्ठको १८ जना परिवारसँगै ज्यान गयो। त्यसैले म साधारण अवस्थामा आउन सकेकी छैन।
कुमुद भट्ट छत्कुली, प्रिन्सिपल हाइड एण्ड सिक किन्डरगार्टेन, सानो भर्याङ
आठ महिनाकी गर्भवती म खाना खाएर आराम गरिरहेकी थिएँ। यसो झकाउन मात्र के लागेकी थिएँ नराम्रो आवाजसहित थरर्र घर हल्लियो। एकछिनपछि अझ जोडले जमिनै हल्लिन थाल्यो। हत्तपत्त भाग्न पनि सकिन। डरले थाम समातेर आमाछोरा बसिरह्यौं। त्यो दिनभरि पटक–पटक हल्लिरहेकाले बाहिर खुला ठाउँमा बस्यौं। राति टेन्टमा बस्दा निक्कै गार्हो भयो। म विशेष अवस्थामा भएकीले मलाई अन्य महिलाको तुलनामा थप पीडा भयो। टेन्टमा बस्दा राति भारी वर्षा भयो। त्यसले अझ मारमा पार्यो।
प्रतिभा भण्डारी, गृहिणी