भक्तपुरका घरहरू परम्परागत शैलीका तेलीय इँटाका लागि परिचित छन् । सहरीकरणका कारण यस्ता परम्परागत घरलाई सलाइका बट्टाका आकारका सिमेन्टका घरले विस्थापित गर्दै गएको अवस्थामा कतिपयमा आफ्नो मौलिकता जोगाउनुपर्छ भन्ने सोच बढ्दै गएको छ । जति-जति विकासको क्रम बढ्छ त्यति नै मानिस सुविधा सम्पन्न घरमा बस्न रुचाउँछ । यो घर यी दुवै कुरालाई ध्यानमा राखेर बनाइएको एउटा नमुना घर हो । यो घरले बाहिरबाट हेर्दा तेलीय इँटा, परम्परागत बार्दली एवं टुँडालहरू, टायलको छाना आदिका कारण दुरुस्त परम्परागत घरको झझल्को दिन्छ भने भित्रका कोठा, भान्सा, बाथरुम आदिले पूरै आधुनिकताको अनुभूति गराउँछ ।
करिब १२ आनामा बनेको र एउटै तल्लामा झन्डै ११ सय स्क्वायर फिटमा फैलिएको यो घर झन्डै साढे दुई तल्लामाथिसम्म त्यही अनुपातमा डाइनिङ, भान्सा, ट्वाइलेट आदि मिलाएर बनाइएको छ । लिभिङ डाइनिङलाई छुट्याउन पनि तेलीय इँटाको बार लगाइएको छ । लिभिङबाट बाहिर जाने ठूलो ढोका छ त्यहाँ सानो सिटिङ रुम छ जहाँबाट बगैंचामा जान मिल्ने गरी सजिलो खुल्ला ठाउँ छुट्याइएको छ । मुख्य ढोकाबाट माथिल्लो तल्ला जाने भर्याङ भुइँ तल्ला छिर्ने ढोकाभन्दा बाहिर पर्ने हुनाले तल्लो तल्लाबाट एकदम अलग छ । भर्याङ काठको भएकाले परम्परागत शैलीकै देखिन्छ । माथिल्लो तल्लामा मुख्य कोठा, बैठक कोठा, बालबालिकाहरूको कोठा आफ्नै रुचिअनुसार सजाइएको छ । बैठक कोठाका साथै अरू कोठाबाट पनि बार्दलीमा निस्केर बाहिरको दृश्य हेर्न सकिन्छ । त्यसभन्दा माथिल्लो तल्लामा प्राय: पुराना घरहरूमा जस्तै भान्सा, पूजा कोठा, पाहुना कोठा, बसेर भोज खान मिल्ने बैठक कोठा र ठूलो कौसी छ ।
प्रत्येक तल्लाका ट्वाइलेट, बाथरुमहरू आकर्षक टायलले सजिएका छन् । भान्सामा पनि सोहीअनुरूपको सजावटले आधुनिक शैलीमा कुनै कमी ल्याएको देखिँदैन । प्रत्येक तल्लाका बैठक कोठालाई वाल पेपरले आकर्षक बनाएको छ । प्रत्येक तल्लाका कोठाहरूका भुइँमा नेमोपार्केट गरिएकाले न्यानोपन महसुस हुन्छ । यहाँका फरक-फरक बैठक कोठा फरक-फरक ढंगले सजाइएका छन्- कुनैमा सोफा राखेर त कुनैमा चकटी राखेर । भर्याङ फराकिलो छ भने भर्याङ सकिनासाथ आराम गरेर बस्न मिल्ने गरी तेलीय इँटाकै बस्ने ठाउँ छ जुन हामी पुराना घर तथा दरबारहरूमा देख्न पाउँछौं । बाहिरबाट हेर्दा बार्दलीहरू खुबै आकर्षक देखिन्छन्, जुन तेलीय इँटालाई सुहाउने गरी रंग्याइएको छ । त्यस्तै स्लोप र छाना परम्परागत नेपाली घरको स्वरूपमा देखिन्छ । माथिल्लो बुइँगल भण्डारन गर्ने गरी बनाइएको छ । मयूर जडित आँखीझ्यालले यो घरको शोभा बढाएको छ ।
घरमा सुहाउँदो बगैंचा, गाडी पार्किङ गर्ने ठाउँ र सानो पोखरी, सानो करेसाबारी, स-साना रुख सबै मिलाएर डिजाइन गरिएकाले घरको शोभा अझ बढेको देखिन्छ । यो घर वास्तु तथा आपत्कालीन अवस्थालाई ध्यानमा राखी निर्माण गरिएको छ ।
अहिले घर बनाउने भनेर मात्र हुँदैन, बलियो जगदेखि लिएर, बलियो स्ट्रक्चर, राम्रो लुक, वास्तु मिलेको, आकर्षक इन्टेरियर, बस्न तथा काम गर्न सहज, रङ्गरोगन, फर्निचर, आधुनिक सुविधा सम्पन्न मौलिक परम्परा झल्कने आदि कुरालाई उत्तिकै महत्व दिनुपर्छ जुन कुरा यो घरमा लागू भएको देखिन्छ ।
सुष्मा खत्री रञ्जित
इन्जिनियर