गत महिना नारीमा प्रकाशित 'पुख्र्यौली सम्पत्तिमा अंश : एउटा नयाँ बहस' सान्दर्भिक लाग्यो । सरकारले पुख्र्यौली सम्पत्तिमा छोरा-नाति स्वत : अंशियार हुने कानुनी व्यवस्था अन्त्य गर्ने प्रक्रिया प्रारम्भ गरेको कुरा पढेर अब नेपालमा परिवर्तन आउला कि भन्ने लाग्यो । मन्त्रिपरिषद्ले पारित गरी व्यवस्थापिका संसद्मा छलफल भैरहेको मस्यौदाअनुसार स्वामित्ववालाले इच्छाएको व्यक्तिले सम्पत्ति पाउँछ जो छोरा वा छोरी वा उनीहरूलाई रिझाउने जोकोही हुन सक्छन् । यस्तो कानुन पारित भैहाल्यो भने नेपालमा पनि इच्छापत्रसम्बन्धी व्यवस्था लागू हुनेछ जुन नेपाली समाजका लागि नयाँ अभ्यास त हुनेछ नै यसले केही अन्योल पनि सिर्जना गर्नेछ । यसलाई राज्यले कार्यान्वयनमा ल्याउन पनि निकै गार्हो छ । जबसम्म महिलाहरू स्वयं चेतनशील हुँदैनन् तबसम्म महिलालाई सम्पत्ति दिए पनि के अर्थ ? बरु सामाजिक संरचनामा ठूलो हलचल भने निम्तिनेछ । अविकसित देश, अचेतन समाज एवं आर्थिक स्वतन्त्रताविहीन व्यक्तिहरूको बाहुल्य रहुन्जेलसम्म उक्त कानुनले महिलाको त्यति हित गर्लाजस्तो लाग्दैन । महिला वा पुरुषले भन्दा पनि व्यक्तिले सम्पत्ति पाउनुपर्छ भन्ने कुरा यसको सकारात्मक पक्ष हो । मेरो विचारमा यो विधेयकले महिलाका पक्षमा त्यति सकारात्मक प्रभाव पार्ने छैन किनभने छोरीलाई सम्पत्ति दिनैपर्छ भन्दा त कार्यान्वयन फितलो छ भने भोलि तिम्रो इच्छा हो जोसुकैलाई देऊ भन्दा छोरीले के नै पाउँछे र ? जे भए पनि नारीमा यस किसिमको बहसलाई स्थान दिनु सकारात्मक कुरा हो ।
जानुका भण्डारी, सिन्धुपाल्चोक
हिंसामुक्त वातावरण आवश्यक
नेपालका महिलाहरूले विभिन्न प्रकारका हिंसा सहिरहेका छन् । जुनसुकै बहानामा वा जुनसुकै तरिकाको भए पनि हिंसा सभ्य समाजका लागि कलंक हो । हिंसाको वातावरणले राष्ट्रकै छविमा समेत गम्भीर आघात पुर्याउँछ तसर्थ महिला हिंसा तथा अन्य कुनै पनि प्रकारका हिंसा रोक्नु मुलुकका प्रत्येक नागरिकको कर्तव्य हो । सामूहिक प्रतिबद्धता एवं जागरण अभियानका माध्यमबाट यस्ता समस्या समाधान हुनसक्छन् । त्यसैले सरोकारवाला सबैले चेतनामूलक कार्यक्रम अघि सार्नु आवश्यक छ । जबसम्म चेतनाको बिस्तार हुँदैन तबसम्म महिलाहरू पीडित नै रहनेछन् । महिलाहरू पीडित भए भावी पुस्ताले समेत त्यसको नकारात्मक परिणाम बेहोर्नुपर्ने हुन्छ । यो कुरा बुझेर हिंसामुक्त वातावरण निर्माण गर्नु हरेक सचेत नागरिकको कर्तव्य हो ।
पवित्रा आचार्य, मनमैजु
नारीलाई नहोच्याऔं
हाम्रो सामाजिक व्यवस्थाले महिलालाई होच्याएको छ, संस्कार र परम्पराले आदर्शका जति कुरा गरे पनि व्यवहारमा भने पुरुषको पिछलग्गु बनाएको छ । लामो समयदेखि यस्तो क्रम चलिआएकाले महिलाहरू पुरुषमाथि निर्भर हुन विवश छन् । महिलालाई होच्याउने अनेकौं शब्द-शब्दावली एवं उखानटुक्काहरू प्रचलनमा छन् जुन सुन्दा भर्खरै फक्रन लागेका महिला सपनामाथि तुषारापात हुने गरेको छ । यसले महिलाको मात्र होइन समग्र समाजकै विकासमा अवरोध पुर्याउने निश्चित छ । महिलालाई होच्याउने काममा पुरुषको मात्र होइन महिलाहरूको पनि उत्तिकै भूमिका देखिन्छ । यस्ता कुराको अन्त्य हुनु जरुरी छ । महिलालाई देवीका रूपमा पुज्ने समाजले महिलालाई नै होच्याउनु उपयुक्त होइन ।
पृथा शर्मा, पुल्चोक
महिलाको कदर गरौं
संसारमा महिलाहरूले आ-आफ्नै इतिहास बनाएका छन् । त्यसमा नेपाली महिलाहरूको आफ्नै इतिहास छ । संसारको जुनसुकै कुनामा रहेर पनि हिम्मत र साहस देखाउन पछि परेका छैनन् नेपाली महिलाहरू । उनीहरूले आफ्नो परिश्रम खेर जान दिएका छैनन् । बिदेसिँदा पनि आफूभित्रको ममता एवं साहस प्रदर्शन गरी नेपालको विकासमा टेवा पुर्याउँदै आएका छन् । सामाजिक, राजनीतिक, आर्थिक आदि जुनसुकै क्षेत्रमा पनि उनीहरूले दिएको योगदानको कदर गर्नु सबैको कर्तव्य हो । अघि बढ्न खोज्ने महिलाका पाइला सम्मान पाउँदा अझ गौरवका साथ अघि बढ्ने हुनाले महिलालाई सम्मान दिएर हौसला प्रदान गरौं । स्वयंले पनि अरूको राम्रो कुरा गर्न पछि नहटौं, नकारात्मक कुराहरूलाई मात्र अघि नसारौं ।
सुजाता थापा
बालाजु
घरपालुवा जनावरको स्याहारसम्बन्धी स्तम्भमा कुकुरबिरालाको स्याहारका विषयमा मात्र नभै अन्य पशु तथा सुगा आदि पन्छीको हेरचाहका विषयमा पनि जानकारी दिन मिल्दैन ?
गुञ्जन शाक्य, न्युरोड, काठमाडौं
छतमा तरकारी फलाउनु काठमाडौंबासीको हितमा छ । यस्तो चलनलाई बढावा दिन सके काठमाडौंमा हरित क्रान्ति नै आउँथ्यो कि ? (छतमा तरकारी बारी, नारी पुस)
लक्ष्मी महर्जन, सामाखुसी
एकल महिलालाई यातायातमा छुट दिने महाकाली यातायात व्यवसायी संघको पहल देशका सबै यातायात व्यवसायी संघसंस्थाले गरे कति राम्रो हुने थियो ।
गीता धौभडेल, भक्तपुर
सामाजिक काममा लागेर उदाहरणीय बनेका नेपाली महिलालाई नारीले पर्याप्त स्थान दिनुपर्छ ।
श्रुति अधिकारी, स्वयम्भू
कुनै-कुनै महिनाको नारी समयमा आइपुग्दैन । नारी हरेक महिना १ गते नै हात पर्ने व्यवस्था मिलाउनुपर्यो ।
कल्याणी पौडेल, चितवन
नारी फेसनमा व्यावसायिक मोडलहरूलाई मात्र राखिन्छ कि हामीजस्ता नयाँ अनुहारहरूलाई पनि अवसर प्रदान गरिन्छ ?
रुकु कार्की, फेसबुक कमेन्ट
नारीमा प्रकाशन हुने हिंसासम्बन्धी सामग्रीले समाजलाई सकारात्मक बाटोतर्फ अघि बढाउने आशा गरौं ।
सरु राई, हेटौंडा
नारीको आवरणमा प्रकाशित साम्राज्ञी राज्यलक्ष्मी शाहको तस्बिर सार्है आकर्षक थियो ।
विजिता थापा, हाँडीगाउँ
नारीको परिकार स्तम्भ निकै उपयोगी छ । यसलाई अझै घरायसी ढंगको बनाउनुपर्यो ।
विनीता भुजेल, कपन
नारीले उदाहरणीय काम गर्ने नेपाली महिलाका विषयमा अझ बढी जानकारी प्रदान गरोस् ।
कृपा भट्टराई, भीमढुंगा