'सासले' पप गायिकाका रूपमा सुपरिचित गायिका नलिना चित्रकारको आठौं एल्बम हो । नयाँ ४ वटा गीत समावेश गरिएको यो एल्बममा नलिनाका पहिले नै चर्चित भैसकेका १३ वटा गीत सुन्न सकिन्छ । एल्बममा धर्मेन्द्र सेवान, दिनेश अधिकारी, महेश राणा एवं उत्तम भौकाजीको शब्द तथा सुगम पोखरेल, मोहित मुनाल, स्वरूपराज आचार्यको संगीत छ । 'सासले' गीतको भिडियो अमेरिकामै तयार पारिएको हो जसमा नलिना स्वयंले अभिनय गरेकी छिन् । यो एल्बममा आधुनिक, पप एवं रक फ्लेबरका गीतहरू समावेश छन् ।
पुस्तक : उन्नतिको तृष्णा
तृष्णा उन्नति बोहराको दोस्रो उपन्यास हो । विभिन्न प्रकारका मानवीय तृष्णाहरूलाई चित्रित गर्ने यो उपन्यासमा प्रेमका विभिन्न रूप-रंग प्रस्तुत गरिएको छ । उपन्यासमा प्रेममा त्यागको महत्व हुँदाहुँदै पनि भौतिकताले मानिसलाई अंकमाल गरिरहने कुरालाई दर्शाइएको छ । उपन्यासमा मानिसको जीवनमा समय एवं नियतिले कसरी र कस्तो खेल खेल्छ भन्ने कुरालाई भावुकता, रोचकता एवं कुशलताका साथ प्रस्तुत गरिएको छ । यो उपन्यासले पात्रमाथि नियतिको विजयगाथालाई प्रस्तुत गर्छ तैपनि यो मानव संघर्षको कथा हो । यसले बालमनोविज्ञानलाई पनि छोएको छ । प्रा.डा.कुमारप्रसाद कोइरालाले सम्पादन गरेको 'तृष्णा' का प्रकाशक प्रज्वल बोहरा हुन् । यो उपन्यासको मूल्य ३ सय ५० रुपैयाँ छ ।
चलचित्र : लभ यू बाबा
आठ वर्षीय बालक सौगात विष्टले निर्देशन गरेको चलचित्र लभ यू बाबा बाल मनोविज्ञानमा आधारित छ । बाबु र छोरीको प्रेममा आधारित यो चलचित्रमा गजित विष्ट, संगम विष्ट, निश्मा घिमिरे, अशिष्मा नकर्मी, वसन्त भट्ट, निर्मल शर्मा आदि कलाकारले अभिनय गरेका छन् । दिव्यराज सुवेदीले छायांकन गरेको चलचित्र लभ यू बाबामा आमाको काखविहीन एउटी सानी छोरीलाई आमाको अभाव हुन नदिन उनका बुवाले गरेको संघर्षको कथा समेटिएको छ । सम्झना पोखरेल तथा रोशनी बज्राचार्य मिलेर निर्माण गरेको लभ यू बाबा अहिले चलेका आम चलचित्रभन्दा भिन्न छ ।
कला : प्रकृति र मानवीय जीवन हेर्दै सम्झना
कलाकार सम्झना राजभण्डारीले गत महिना एकल कला प्रदर्शनी गरिन् । प्रदर्शित चित्रमा मान्छे र प्रकृतिलाई एउटै रूपमा हेरिएको छ । जसरी मान्छेको जीवनमा सुख-दु:ख र संघर्षका घडीहरू आउँछन् त्यसरी नै प्रकृतिमा पनि भूकम्प, बाढी, पहिरो आदि दु:खद् घटनाहरू आइपर्छन्, जुन कसैले रोकेर रोकिँदैन । जीवनमा दु:ख आए आत्तिनु र सुखमा मात्तिनु हुँदैन भन्ने सन्देश प्रदर्शित चित्रले बोलेका छन् । चित्रमा रुख र फूलहरू खुसीको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ । संघर्षपछि खुसी आउँछ भन्ने सकारात्मक सोच राजभण्डारीका चित्रमार्फत व्यक्त गरिएको छ ।