Successfully Copied

आइटी तथा गायनका जोशी दम्पती

विवाह भएको १९ वर्ष बितिसक्दा पनि आइटी विशेषज्ञ शैलेन्द्रमान र सुनी जोशीबीच भर्खरै गाँसिएको पिरती बिर्साउने प्रगाढ माया छ ।

विवाह भएको १९ वर्ष बितिसक्दा पनि आइटी विशेषज्ञ शैलेन्द्रमान र सुनी जोशीबीच भर्खरै गाँसिएको पिरती बिर्साउने प्रगाढ माया छ । व्यस्त जीवनयात्रामा अघि बढिरहेका  जोशी दम्पती अहिले पनि कम्प्युटर तथा ल्यापटप मर्मत तालिम प्रदान गर्न दिनरात व्यस्त छन् । शैलेन्द्रमान र सुनी दिनको २०-२१ घन्टा सँगै हुन्छन् तर पनि उनीहरूको धीत मर्दैन । राति आफ्नो अफिस कुपन्डोलस्थित माइक्रोल्यान्डमा काम सकेपछि उनीहरू ४-५ पटक भद्रकालीको परिक्रमा गरेर मात्र घर पुग्छन् ।

मध्यम वर्गीय परिवारमा जन्मिए पनि पि्रन्सिपल बुवा तथा बैंकर आमाका छोरा शैलेन्द्र संस्कारी थिए । उनका बुवा, नारायण गोपाल तथा प्रेमध्वज सँगै गाउँथे । बुवाले राग अलापेको देखेर नै शैलेन्द्रमा संगीतप्रति रुचि बढेको हो । एसएलसीपछिको फुर्सदमा उनी घर छेउको रञ्जना हलमा चलचित्र हेर्न पुग्थे । चलचित्र जमिर हेर्न जाँदा शैलेन्द्रले पहिलो पटक सुनीलाई देखेका थिए । उनले सुनी आफ्ना बुवाकी मिल्ने साथीकी छोरी भएको कुरा पनि त्यतिबेलै थाहा पाए । त्यतिबेला हलमा टिकट लिन निकै गार्‍हो थियो । शैलेन्द्रले उनीहरूलाई टिकट लिन सघाए । सुनीले भने उनलाई ब्ल्याकमा टिकट बेच्ने व्यक्ति मानिन् ।

सुनी निकै राम्री थिइन् । त्यसैले बुवाले एसएलसीको तयारीमा रहेकी छोरीलाई ग्रुपमा ट्युसन पढाउन चाहेनन् र आफ्नो मिल्ने साथी शक्तिमान जोशीकहाँ प्राइभेट सिंगल ट्युसन पढ्न पठाए । सुनी पढ्न आएको कुरा शैलेन्द्रले पहिलो दिनमै थाहा पाए । सुनी पढ्ने टेबुलमा हरेक दिन विभिन्न पोजका शैलेन्द्रका तस्बिर छाउन थाले । सुनीलाई ती तस्बिर किन राखिएको होला भन्ने लाग्थ्यो तर कहिल्यै सरसँग सोध्ने आँट गरिनन् । गितार बजाएर मीठा गीत गाउने शैलेन्द्र सरकै छोरा भएको कुरा सुनीले पछि मात्र थाहा पाइन् । एकदिन सर घर नभएको मौकामा शैलेन्द्र नै सरको कोठामा पसेर सुनीलाई पढाउन थाले । सुनीले कुनै नाइँनास्ती गर्न सकिनन् । त्यसपछि उनीहरूको फ्रेन्डसिप अघि बढ्यो । केही समयपछि शैलेन्द्रले प्रेम प्रस्ताव राखे । सुनीले कलेज टपर, धेरै पढ्ने, ह्यान्डसम, राम्रो गाउने, बजाउने, खेलकुदमा पनि अब्बल शैलेन्द्रलाई नाइँ भन्नुपर्ने कुनै एंगल देखिनन् । उनले शैलेन्द्रको प्रेम प्रस्ताव सहर्ष स्वीकार गरिन् ।

त्यसपछि उनीहरूको भेटघाट हुन थाल्यो । पारिवारिक सम्बन्ध भएकाले उनीहरूको भेटघाटमा कुनै बन्देज थिएन । माया प्रेम त थियो नै उनीहरूबीच गायन र इलेक्ट्रोनिक्ससम्बन्धी रुचि पनि मिल्थ्यो । शैलेन्द्रका भाइ सुरेन्द्रमान जोशी नौलो यात्रा शीर्षकको एल्बम निकाल्ने तयारी गर्दै थिए । जसमा म नौलो यात्रा थाल्दैछु गीतका लागि महिला स्वर चाहिएकाले सुनीले चान्स पाइन् । त्यसको केही समयपछि नै यो जोडीले निहारिका शीर्षकको युगल एल्बम बजारमा ल्यायो ।

शैलेन्द्र इन्जिनियरिङको उच्च शिक्षा लिन मद्रास गए । सुनीलाई नेपालमा एक्लै बस्न मन लागेन । त्यसैले घरमा आफू पनि अध्ययनका लागि मद्रास जाने जिद्दी गर्न थालिन् । उनको जिद्दीका अघि परिवारको केही लागेन । सुनी पनि उतै पढ्न गइन् । अध्ययन पूरा भएपछि दुवैले मिलेर काम गर्न सकिन्छ भन्ने निष्कर्ष निकाले । मद्रासबाट र्फकेर उनीहरूले माइक्रोल्यान्ड नामक नेपालकै पहिलो कम्प्युटर प्राविधिक तालिम केन्द्र सुरु गरे जहाँ कम्प्युटर प्राविधिकका रूपमा १० हजार जनालाई स्वरोजगार बनाइसकेको उनीहरूको दाबी छ । उनीहरूले वाषिर्क ५ जना अपाङ्गलाई  नि:शुल्क कम्प्युटर हार्डवेयर सिकाइरहेका छन् । २०४० सालमा भेट भएको यो जोडीको विवाह २०५१ सालमा भएको हो ।

आफ्नो सफलता आपसी समझदारी, विश्वास एवं मायाकै कारण सम्भव भएको उनीहरूको ठहर छ । आफ्नो गायन यात्रालाई पुनर्जीवित गर्नेतर्फ पनि उनीहरूको पहल जारी छ । रोटरी क्लबमार्फत संगीतप्रेमलाई केही हदसम्म जोगाइराखे पनि जोशी दम्पतीको व्यावसायिक गायन भने शैलेन्द्रले दुई दशकदेखि ठप्प छ । केही गीत रेकर्ड गराइसकेका छन् भने गत महिना मात्र सार्क राष्ट्रको कल्चरल इभेन्टमा नेपालको प्रतिनिधित्व गर्दै दुई वटा गीत गाइसकेका छन् । आइएस्सी पढ्दा नै गुरु नरराज ढकालसँग शास्त्रीय संगीत सिकेका जोशी दम्पती अहिले आफ्नो एल्बम निकाल्ने तयारीमा जुटेका छन् ।

हाम्रो च्वाइस

              शैलेन्द्र                                                                                 सुनी

खाना : शाकाहारी, साधारण दाल, भात, तरकारी ।          पिरो, च्वास्स  मासुका परिकारहरू ।

रंग : सेतो, रातो, गुलाबी, नीलो ।                                    गुलाबी, नीलो ।

पहिरन : सेतोमा चेक लाइन सर्ट र पाइन्ट ।                   कुर्ता र साडी ।

नायक-नायिका : राजेश हमाल, तृप्ति ।                          राजेश हमाल, गौरी मल्ल  ।  

ग्याजेट : ल्यापटप ।                                                      ल्यापटप ।

पुस्तक :  स्वामी बोधानन्द ।                                          बायोग्राफीहरू ।

गायक : नारायण गोपाल, किशोरकुमार ।                        नारायण गोपाल तथा अरुणा लामा ।

रेस्टुराँ, होटल : बेकरी क्याफे तथा धुलिखेल लज  ।          बेकरी क्याफे तथा धुलिखेल लज  ।

फूल : सूर्यमखी तथा बेगमबेली  ।                                     गुलाब ।

टिभी शो : हास्य कार्यक्रम ।                                             हास्य कार्यक्रम ।

सुनीको नजरमा शैलेन्द्र

सिक्न र सिकाउन सधैं तत्पर, अरूलाई नबिगार्ने, उन्नति सोच्ने, सकारात्मक सोच राख्ने इमान्दार व्यक्ति ।

शैलेन्द्रको नजरमा सुनी

मेहनती, अरूलाई सहयोग गर्न हरदम तयार, हिसाबकिताब राम्रो, परिवार, काम तथा हरेक सम्बन्धलाई राम्रोसँग निर्वाह गर्ने ।

अविस्मरणीय क्षण

शैलेन्द्रले घरमै रहेका काठ-काँटी आदि जोडेर आफैले रेडियो बनाई उपहार दिएको क्षण सनी कहिल्यै बिर्सन्नन् । त्यही रेडियोका कारण घरमा सुनीलाई माग्न आउँदा उनकी आमाले मेरो हुनेवाला ज्वाइँले दिएको रेडियो भनेर देखाएकी थिइन् । आमाले यस्तो मेहनत गरी आफैले रेडियो बनाएर उपहार दिने व्यक्तिले मेरी छोरीलाई कहिल्यै भोकै राख्दैन र दु:ख दिँदैन भनेर पठाएको सुनीलाई आजैजस्तो लाग्छ ।

 Image