Successfully Copied

जाडो मौसम अनुकूल इन्टेरियर

जाडो मौसममा गर्मी समयको इन्टेरियर डिजाइन त्यति उपयुक्त हुँदैन त्यसैले जाडोका लागि घरमा केही फरक इन्टेरियर गराउनु उपयुक्त हुन्छ ।

जाडो मौसममा गर्मी समयको इन्टेरियर डिजाइन त्यति उपयुक्त हुँदैन  त्यसैले जाडोका लागि घरमा केही फरक इन्टेरियर गराउनु उपयुक्त हुन्छ । इन्टेरियरमा अलिकति मात्र फेरबदल गरेर पनि घरलाई जाडो मौसमअनुकूल एवं सुखद् बनाउन सकिन्छ ।

फायर प्लेस : जाडो मौसममा आगो ताप्नुको मज्जा अवर्णनीय हुनेमा कसको विमति होला ? जाडोका लागि बैठक कोठाको कुनै कुनामा दुई-तीन वा चार वर्ग फिटको फायर प्लेस बनाउन सकिन्छ । त्यसको वरिपरि भित्तामा ढुंगा, टायर आदि राख्नुपर्छ वा माटोको बाक्लो पत्र आकर्षक देखिने गरी राख्न सकिन्छ । त्यसमाथि उपयुक्त आकारको धूवाँ तान्ने चिम्नी सेट गर्नुपर्छ ।

झ्याल : कोठामा घाम छिर्छ भने दिउँसो झ्याल खोलेर राख्नुपर्छ  र बेलुका झ्याल लगाएर बाक्लो पर्दा लगाउने व्यवस्था गर्नुपर्छ । दिउँसो पातलो पर्दा लगाउने र राति बाक्लो पर्दासहित डब्बल पर्दा राख्दा कोठा न्यानो हुन्छ ।

कार्पेट तथा टेबलपोस :  बैठकको भुइँमा जाडो मौसमअनुकूल कार्पेट बिछ्याउनुपर्छ । कफी टेबल तथा स्टडी टेबलमा पनि टेबलपोस राख्न सकिन्छ । जुट तथा बाँसका चकटीको प्रयोग पनि उपयुक्त हुन्छ ।

स्काइ लाइट : सम्भव भए बैठक कोठामा स्काइ लाइट राख्नुपर्छ । चार वर्ग फिटको स्काइ लाइटबाट पर्याप्त प्रकाश एवं ताप प्राप्त गर्न सकिन्छ । गर्मी भएको अवस्थामा यसमा ब्लाइन्ड्स राख्न सकिन्छ । बजारमा रिमोटबाट चल्ने ब्लाइन्ड्स पाइने भएकाले मौसमको आवश्यकताअनुसार यसको प्रयोग गर्न सकिन्छ ।

फरक उपाय : पुरानो स्वीटर वा सलबाट मल्टिकलर कुसनको खोल बनाउन सकिन्छ र त्यसलाई सोफा वा बेडमा सजाउन सकिन्छ । यसले जाडोमा फरक प्रकारको न्यानो अनुभूति प्रदान गर्छ । फरक देखिनुका साथै यसले केही मात्रामा भए पनि घरको तापक्रम नियन्त्रण गर्छ । यसका लागि उज्यालो रंगको ऊनी कपडा उपयुक्त हुन्छ ।

फ्लोरिङ : चिसो मौसममा काठको फ्लोरिङ राम्रो विकल्प हो । यो टायल वा मार्बलजस्तो चिसो हुँदैन साथै यसले सम्भ्रान्त देखिन सहयोग गर्छ । केही महँगो भए पनि काठको फ्लोरिङ जाडो तथा गर्मी दुवै महिनाका लागि उपयुक्त हुने भएकाले यो बढी उपयोगी हुन्छ ।

विन्टर होम डेकोर

जसरी मौसम परिवर्तनसँगै आफ्नो वार्डरोव तथा मेकअप किट परिवर्तन गर्नु बुद्धिमानी हुन्छ, त्यसरी नै घरको मेकओभर पनि उत्तिकै आवश्यक हुन्छ । सामान्य उपायबाट विन्टर सिजनमा पनि आफ्नो सपनाको घरलाई वार्म एवं कोजी लुक प्रदान गर्न सकिन्छ ।  

-    विन्टर सिजनमा आफ्नो डि्रम होमलाई चिसो हावाबाट जोगाउन सबैभन्दा पहिले घरको पर्दा बदल्नुपर्छ । सिल्क, साटन, भेल्भेट आदि फेबि्रकका पर्दाले घरलाई रिच, रोयल तथा वार्म लुक प्रदान गर्छन् ।

-    यसैगरी बेडसिट, पिलो कभर, कुसन कभर आदि परिवर्तन गरी घरलाई नयाँ लुक दिन सकिन्छ । त्यसका लागि सिल्क, भेल्भेटजस्ता सफ्ट एवं साइनी फेबि्रक प्रयोग गर्नु उपयुक्त हुन्छ ।

-    विन्टर सिजनको विशेष आवश्यकता हुन्छन् कार्पेट र रग्स । यिनले खुट्टालाई चिसो फ्लोरिङको सीधा सम्पर्कबाट जोगाउँछन् । त्यसैले यिनको प्रयोग बढी गर्नुपर्छ । स्टोन, उड आदिबाट बनेका डेकोरेटिभ आइटम्स बढी उपयुक्त हुन्छन् ।

-    यसैगरी डार्क कलरले पेन्ट गरिएका सुख्खा फूल तथा पातहरू सजाएर घरलाई विन्टर लुक दिन सकिन्छ । त्यस क्रममा पेवल्स, स्टोन आदिलाई पनि सेन्टर टेबल वा मनपर्ने ठाउँमा डेकोरेट गर्न सकिन्छ ।

-    फायरप्लेस नजिक सिटिङ एरिया बनाउनुपर्छ । चिसोमा यसको विकल्प पनि हुँदैन । फायर प्लेसमा कफी टेबल तथा केही कुर्सी राख्नुपर्छ ।

-    फायरप्लेस उपलब्ध छैन भने घरमा धेरै भन्दा धेरै क्यान्डल जलाएर पनि आफ्नो चाहना पूरा गर्न सकिन्छ । घरलाई रोमान्टिक लुक दिन फ्लोटिङ क्यान्डल पनि प्रयोग गर्न सकिन्छ ।

-    विन्टर सिजनमा ऊनीका पहिरन लगाउँदा तथा घरमा मोटो फेबि्रकयुक्त पर्दा, बेडसिट, कुसन आदि प्रयोग गर्दा राम्रो खालको फ्रेगरेन्सको आवश्यकता महसुस हुन्छ । यस्तोमा भेनिला, दालचिनीजस्ता फ्रेगरेन्सयुक्त सेन्ट प्रयोग गर्नु उपयुक्त हुन्छ । इच्छा अनुसार सेन्टको साटो सेन्टेन्ड क्यान्डल्स वा रोजाइअनुसार अगरबत्ती पनि बाल्न सकिन्छ ।

-    विन्टर सिजनमा लाइट कलर उपयुक्त हुँदैन । घरमा वार्म कलर्सका डेकोरेटिभ आइटम प्रयोग गर्नुपर्छ ।

-    घरलाई कोजी तथा रोमान्टिक लुक दिन लो वाट लाइट्स तथा बल्ब प्रयोग गर्न सकिन्छ ।

सुगन्धित घर

घरभित्र पस्नेबित्तिकै सुगन्ध महसुस भयो भने विशेष आनन्द प्राप्त हुन्छ । सुगन्धले दिनभरिको थकान कम गर्छ । दिनभरिको व्यस्त जीवनबाट घर पस्दा मीठो वासना नआए मन पनि त्यति प्रसन्न हुँदैन । मानिस र सुगन्धबीच गहिरो सम्बन्ध छ । सुगन्धले हामीलाई आनन्द मात्र प्रदान गर्दैन सकारात्मक सोचको विकास पनि गराउँछ । सुगन्ध स्वास्थ्यका दृष्टिले पनि महत्वपूर्ण छ । हरेक उत्सवमा फूल सजाइनु पछाडिको प्रमुख कारण सुगन्ध पनि हो । अहिले घरका लागि अरोमा मैनबत्ती पनि बजारमा उपलब्ध छ । यस्तो मैनबत्ती बाल्दा घरमा एक प्रकारको सुगन्ध फैलन्छ । अरोमा मैनबत्ती फूल, चन्दन आदि फ्लेवरयुक्त हुन्छ । अहिले जस्मिन तथा मोगराको फ्लेवरयुक्त अरोमा पनि पाइन्छ । घरमा आफैले पनि फरक किसिमको अरोमा तयार गर्न सकिन्छ । घरमै अरोमा तयार गर्न फरक-फरक किसिमको फल खरिद गरेर त्यसको मिश्रणबाट नयाँ सुगन्ध तयार गरी घरमा मगमगाउन सकिन्छ । अलग-अलग किसिमको वासनाले विशिष्ट ऊर्जा प्राप्त हुन्छ । अझ व्यापारिक प्रतिष्ठानमा त सुवासयुक्त वातावरणको ठूलो भूमिका रहन्छ । वासनाले घरमा पवित्र वातावरण सिर्जना गर्छ । बिहान पूजा गर्दा बालिएको धूपको सुगन्धले घर दिनभरि मगमगाइरहन्छ ।

वासनाको प्रभाव

अलग-अलग समयमा वासनाको प्रभाव पनि फरक-फरक हुन्छ । बिहान चन्दन र गुलाबको मन्द-मन्द वासना उपयुक्त मानिन्छ भने रातको समयमा मोगरा, चमेली आदि आनन्ददायक हुन्छ । फूलकोे वासनाले मानिसको रोग कम गर्न सहयोग गर्छ । कहिलेकाहीँ यसको प्रभाव नकारात्मक पनि हुनसक्छ किनभने कसैकसैलाई सुगन्धको एलर्जी हुनसक्छ । बढी वासनाले टाउको दुख्छ तथा बान्ता आउँछ । विशेष गरी अरोमाको वासनाभन्दा तेज गन्ध भएको परफ्युम, सेन्ट तथा रुम फ्रेसनरले एलर्जी तथा टाउको दुख्ने समस्या उत्पन्न गर्न सक्छ । अरोमाको सुगन्धले आनन्द महसुस गराउँछ । अरोमाको वासना बाथरुम, पूजा कोठा तथा शयनकक्षका लागि अझ लाभदायक मानिन्छ ।

टिप्स

- बिहान मीठो वासना तथा राति मन्द सुवासले मनै रमाइलो बनाउँछ ।

- आफ्नो बेडरुम, डाइनिङ रुम तथा बाथरुममा अरोमा मैनबत्ती बाल्नुपर्छ जसले जीवनमा नयाँ फुर्ती जगाउँछ ।

- सिट्रस फ्रेगरेन्स बाथरुम वा कारका लागि उपयोगी मानिन्छ ।

- दालचिनी, अदुवा तथा अरु वासनादार मसलाले वातावरण न्यानो बनाउँछन् ।

- घरमा ताजा फूल उपलब्ध छैन भने बजारमा पाइने रुम स्प्रे प्रयोग गर्न सकिन्छ ।

 Image