Successfully Copied

स्मार्ट खेलौनाको छनोट

खेलौना बालबालिकाका लागि मनोरञ्जनको साधन मात्र होइन, यसले बालबालिकाको शारीरिक, मानसिक एवं सामाजिक विकासमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।

खेलौना बालबालिकाका लागि मनोरञ्जनको साधन मात्र होइन, यसले बालबालिकाको शारीरिक, मानसिक एवं सामाजिक विकासमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । बालबालिकाको सम्पूर्ण विकासका लागि उपयुक्त खेलौना छनोट गर्नु आवश्यक छ ।

० देखि १ वर्ष : यो उमेरका बाल-बालिकाहरूमा स्पर्श गर्ने र सुन्ने उत्सुकता हुन्छ । अत: उनीहरूका लागि यस्तो खेलौना खरिद गर्नुपर्छ, जसले श्रवणशक्तिलाई विकसित गर्न मद्दत गर्छ । यो उमेरका शिशुका लागि खेलौना खरिद गर्दा के कुरामा ध्यान पुर्‍याउनुपर्छ भने खरिद गरिएको खेलौनाले शिशुको स्पर्श गर्ने उत्सुकतालाई पूरा गरोस् ।

कस्तो खेलौना खरिद गर्ने ?

आवाज निकाल्ने : बालबालिकाको सुन्ने क्षमता विकासका लागि त्यस्ता खेलौना खरिद गर्नुपर्छ, जसबाट आवाज आउँछ ।

सफ्ट टोइज : स्पर्श गर्ने उत्सुकतालाई शान्त पार्न सफ्ट टोइज खरिद गर्नुपर्छ । जस्तै डेटी बियर आदि । त्यस्ता खालका सफ्ट टोइज खरिद गर्नुपर्छ, जसलाई शिशुले आफ्नो हातमा समातेर खेल्न सकोस् । शिशुलाई उसको हाइटभन्दा ठूलो सफ्ट टोइज दिनु ठीक होइन ।

डेन्जर जोन : यो उमेरका बालबालिकालाई मार्बल, कोइन्स, स-साना बलहरू दिनु हुँदैन । अबोध शिशुले तिनलाई खाने प्रयासमा मुखमा हाल्न सक्छन् जसका कारण दुर्घटनाको सम्भावना हुन्छ ।

सेफ्टी रुल्स : बालबालिकाको खेलौना बीचबीचमा जाँच गरिरहनुपर्छ । टुटे-फुटेका खेलौना घातक हुन सक्छन् तसर्थ  तिनलाई फ्याँक्नु वा रिपेयर गराउनुपर्छ ।

२ देखि ३ वर्ष : यो उमेरका बालबालिका अत्यन्त इनर्जेटिक एवं सबै कुरा गर्न अति उत्साहित हुन्छन् । जस्तै-चल्नु, दौडनु, उफ्रनु, कुद्नु, फ्याँक्नु वा क्याच गर्नु आदि । यो उमेरका बालबालिकालाई त्यस्ता खेलौना दिनुपर्छ, जसले उनीहरूको शारीरिक विकासमा मद्दत पुर्‍याओस् ।

मुविङ टोइज : यो उमेरका बाल-बालिकालाई मुविङ टोइज अर्थात् ब्याट्रीबाट चल्ने खेलौना दिनु उपयुक्त हुन्छ । यसरी चल्ने खेलौना देखेर शिशुले त्यसको नक्कल गर्ने प्रयास गर्छ । जसले गर्दा उसले अरु बालबालिकाको तुलनामा चाँडै हिँडडुल गर्न सिक्छ ।

बल : यो उमेरका बालबालिकाको शारीरिक विकासका लागि बल बेस्ट अप्सन हो । बलको माध्यमबाट बालबालिकाहरू उफ्रन-दौडन, बल फ्याँक्न, क्याच गर्न आदि सिक्छन् ।

डेन्जर जोन : खेलौनालाई पानीबाट टाढा राख्न सिकाउनुपर्छ । बालबालिकाहरूमा खेलौनालाई पानीमा हाल्ने वा भुइँमा बजार्ने बानी हुन्छ । यस्तोमा ब्याट्रीयुक्त खेलौना विस्फोटक हुन सक्छ ।

सेफ्टी रुल्स : जब बालबालिका बल आदिसित उफ्रन्छन् वा खेल्छन् तब उनीहरूको साथमा रहनुपर्छ । किनभने उत्सुकताका कारण बालबालिकालाई चोटपटक लाग्न सक्छ ।

४ देखि ५ वर्ष : बाल-बालिकाको मानसिक विकासका लागि यो राम्रो समय हो । यतिबेला बालबालिकालाई धेरै कुरा बताउनुपर्छ । जस्तै-हरेक वस्तुको नाम के हो ? त्यसको रंगलाई के भनिन्छ ? आदि । यो उमेरमा बालबालिकाको बौद्धिक विकास हुन्छ । तिनले वस्तुको पहिचान गर्न थाल्छन् ।

जानकारी दिने खेलौना : यो उमेरका केटाकेटीलाई त्यस्ता खेलौना दिनुपर्छ जसले उनीहरूलाई जानकारी प्रदान गर्छन् । जस्तै-कलरफुल फ्रुट्स, भेजिटेबल, एनिमल्स आदि । फ्रुट्स केलाई भनिन्छ ? भेजिटेबल के हो ? एनिमल कसलाई भनिन्छ ? त्यसको जानकारी दिनुपर्छ । आकार-प्रकार सिकाउन हरेक आकारका बल र खेलौना दिनुपर्छ । जस्तै-सर्कल, स्क्वायर, ट्रयाङ्गल आदि ।

वर्ड म्याचिङ : बालबालिकालाई ए, बी, सी, डी वा वन, टु, थ्री सिकाउन वर्ड म्याचिङ खेलौना खरिद गरिदिनुपर्छ । उनीहरूलाई वर्डस् र नम्बरलाई सिरियलअनुसार मिलाउन दिनुपर्छ । यसबाट बालबालिकाले खेल्दै सिक्छन् ।

डेन्जर जोन : बालबालिकालाई सही जानकारी प्रदान गर्नुपर्छ । सबै कुरा एकैपटक सिकाउने उद्देश्यले एकै दिनमा आवश्यकताभन्दा बढी जानकारी दिनु ठीक होइन । त्यसबाट उनीहरू कन्फ्युज हुन सक्छन् ।

सेफ्टी रुल्स : बालबालिकाको स्मरणशक्ति बढाउन फल, तरकारी, जनावर आदिको जानकारी दिएपछि बीचबीचमा प्रश्न सोध्नुपर्छ । जस्तै यसलाई के भनिन्छ ? आफूले भनेका कुरा दोहोर्‍याउँदा उनीहरूले चाँडै सिक्छन् ।

६ देखि ८ वर्ष : यो उमेरका बालबालिका आउटडोर गेम्सतर्फ बढी आकषिर्त हुन्छन् । यो समय बालबालिकाहरूको सामाजिक विकासका लागि पनि उपयुक्त हुन्छ । यस्तोमा उनीहरूलाई त्यस्ता खेलौना दिनुपर्छ जसले सोसाइटी र सोसल भ्यालुजको जानकारी प्रदान गर्छन् ।

हल्का गाडीहरू : यो उमेरका बाल-बालिकालाई हल्का साइकल वा स्कुटर आदि दिनुपर्छ । यसबाट बालबालिकाले तिनलाई ह्यान्डल गर्न सिक्छन् भने उनीहरूलाई जिम्मेवारीको अनुभूति पनि हुन्छ ।

ग्रुप टोयज : बालबालिकालाई ग्रुप टोयज प्रदान गर्नुपर्छ । जस्तै-लुडो, क्याराम, क्रिकेट, फुटबल आदि दिएर समूहमा खेल्ने र बस्ने कुरा सिकाउन सकिन्छ । यसबाट उनीहरूले समूहमा  उठबस गर्न सिक्छन् ।

डेन्जर जोन : सामूहिक गेम्सका बेला बालबालिकाको संगत राम्रो होस् भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ । कतिपय अवस्थामा नराम्रो संगतका कारण उनीहरू बिग्रन्छन् ।

सेफ्टी रुल्स : बालबालिकालाई महँगा तथा गह्रौं खेलौना दिनुहुँदैन । बालबालिकाको शारीरिक क्षमता विचार गरी खेलौना तय गर्नु उपयुक्त हुन्छ ।

 Image