घुमिफिरी फेरि विवाहको सिजन आएको छ । यो सिजनमा धेरैको प्रणयसूत्र गाँसिनेछ भने कतिपय परिवार विवाहको तयारीमा जुटेको अवस्था छ । यति हुँदाहुँदै पनि एउटी नारीका लागि विवाहको तयारी भनेको कस्तो अवस्था हो ? धेरैको ध्यान नपुग्न सक्छ । विवाहका लागि तयार हुन के-कस्ता कुरामा विशेष ध्यान पुर्याउनुपर्छ वा कस्ता तत्वको आवश्यकता हुन्छ, जसले वैवाहिक सम्बन्ध दिगो राख्न सहयोग पुर्याउँछ ? यसपटकको बहस यही विषयमा केन्दि्रत छ ।
सुनीता श्रेष्ठ, मनोवैज्ञानिक, अन्तरंग
साईकोसोसियल काउन्सिलिङ सेन्टर
म त नेपालको कानुनले तोकेको विवाहको उमेरको हदम्यादसँग पटक्कै सहमत छैन । विवाहका लागि मानसिक रूपमा परिपक्व हुनुपर्छ । साइकोसोसियल सिद्धान्तले २४ देखि ३४ वर्षलाई परिपक्वताको उमेर मानेको छ । आफ्ना लागि आफैंले निर्णय गर्न सक्ने र करकाप परेका बेला नाइँ भन्न सक्ने स्थितिलाई परिपक्वता मानिन्छ । हामी विवाहको पार्टी, गरहगना, पहिरन तथा पाहुनाको स्वागत-सत्कारको तयारी त गर्छौं तर वैवाहिक जीवनको तयारी गर्दैन्ाौं । महिलाले विवाहपछि सन्तान र सन्तानपछि करिअर बनाउँछु भनेर कहिल्यै बन्दैन तसर्थ करिअरलाई नरोकी निरन्तरता दिँदै जानुपर्छ । सफल विवाहका लागि अहिलेका महिलाले व्यक्तिगत एवं व्यावसायिक जीवनलाई सँगै लान सक्नुपर्छ । महिला-पुरुष दुवैले प्रकृतिप्रदत्त स्वभाव स्वीकार गर्नुपर्छ र समयले दिएको सुविधाअनुरूप त्यसलाई अनुकूल बनाउँदै उपभोग गर्नुपर्छ । त्यसैले विवाहका लागि आवश्यक प्रमुख कुरा नै परिपक्वता हो ।
रजनी खड्का
कार्यक्रम संयोजक, सुनौलो परिवार, नेपाल
प्रेम विवाह गर्दा सम्बन्ध बढी स्थायी हुन्छ । कुनै पनि सम्बन्धमा डर, त्रास एवं संकोच हुनु हुँदैन । आपसी सञ्चार मुख्य कुरा भएकाले विवाहपूर्व केटीले केटाको र केटाले केटीका बारेमा पूर्ण जानकारी लिनु आवश्यक छ । परिवार नियोजन, बालबच्चा कहिले पाउने, कति ग्यापमा पाउनेजस्ता कुरामा समेत सचेत हुनुपर्छ । किनभने यिनै कारणले डिभोर्स हुने अवस्थासम्म पुगेका कतिपय जोडी परामर्शका लागि हामीकहाँ आउँछन् । हिजोआजका युवतीहरू विवाहपछि पनि अध्ययन र करिअर चाहन्छन् । त्यसैले यी कुरामा पहिले नै योजना बनाउनुपर्छ ।
शिला शाक्य
सिइओ, मिडिया टु मिडिया
विवाहका लागि उमेरको हदभन्दा पनि मानसिक तयारी आवश्यक छ जसका लागि शैक्षिक, आर्थिक, मानसिक सबै रूपमा सबल हुनुपर्छ । प्रेम विवाहभन्दा मागी विवाह ठीक हुन्छ किनभने मागी विवाहमा अभिभावक संरक्षक रहन्छन् । एउटी नारी विवाहका लागि आत्मविश्वासी, शिक्षित एवं सचेत हुनु जरुरी छ । भविष्यमा आइपर्ने चुनौती सामना गर्न सक्ने हैसियत बनाएपछि मात्र विवाह गरे वैवाहिक सम्बन्ध सफल हुन्छ ।
योजना पुरी, गायिका तथा सञ्चारकर्मी
म हाम्रो गायन क्षेत्रमा कतिपयको सम्बन्ध टुटेको देख्छु । त्यसैले मलाई विवाह गर्न डर लाग्छ । कतिले मसँग तिमीहरू यो क्षेत्रका मान्छे विवाह गर्छौ, २-४ वर्ष सँगै बस्छौ अनि छुट्टन्िछौ भन्छन् । यस्ता कुराले ममा अझ हलचल ल्याउँछ तसर्थ मैले विवाहपूर्व थुप्रै तयारी गर्नुपर्ने आवश्यकता महसुस गरेकी छु । शिक्षा, समझदारी, एक-अर्कालाई दिने समय आदिका बारेमा अघि नै सचेत हुनुपर्ने रहेछ । विवाहका लागि प्रमुख कुरा सचेतना एवं समझदारी हो । त्यसपछि आर्थिक पक्षले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
राज्यलक्ष्मी बज्राचार्य
अधिवक्ता तथा केन्द्रीय सदस्य, नेपाल बार एसोसियसन
पहिले विवाहका लागि उमेरको हद केटाको २१ तथा केटीको १८ वर्ष थियो । अहिले आमाबुवाको स्वीकृतिमा केटाकेटी दुवै १८ वर्ष पुगेको हुनुपर्ने र आफूखुसी विवाह गर्नुपरे २० वर्षको हदबन्दी छ । ऐनमा पनि १६ वर्ष मुनिकालाई नाबालक मानिएको छ । २० वर्ष नाघेपछि संरक्षकको मञ्जुरी चाहिँदैन भनिएको छ । त्यतिबेलासम्म ऊ केही सोच्न र बुझ्न सक्ने भैसकेको हुन्छ । यदि हदम्याद नपुगेकाहरूले विवाह गरे भने उजुरीका आधारमा सजाय हुन्छ । अहिले कोर्टमा १८ देखि २५ अथवा ४० कटेकाहरूको डिभोर्सका उजुरी धेरै छन् । मेरै कुरा गर्नुपर्दा गर्भावस्थामा १० महिना बेड रेस्ट र ४ वर्ष बच्चा हुर्काउँदैमा गयो । मेरो ४-५ वर्ष त्यसै बित्यो । त्यसपछि मलाई काममा र्फकन कठिन भयो । महिलाले घरको काम होस् वा बच्चा जन्माउने काम त्यसलाई उत्पादनमूलक हिसाबले हेर्नुपर्छ । महिलामाथि हुने मानसिक, आर्थिक एवं शारीरिक यातनालाई घरेलु हिंसा भनिन्छ । यी पनि परिवार बिगार्ने तत्व हुन् । विवाहपूर्व यस्ता विषयमा सचेतना एवं सशक्तता आवश्यक हुन्छ ।
सुनीता पाण्डे
सचिव, लायन्स क्लब अफ काठमाडौं, उत्तरबाहिनी
नेपालको कानुन विवाहको उमेरमा मात्र केन्दि्रत छ । यद्यपि कानुनले तोकेको उमेरमा युवा-युवती आर्थिक, शारीरिक तथा मानसिक रूपमा परिपक्व भैसकेका हुँदैनन् । अन्तरजातीय विवाह नटिकेका उदाहरण धेरै छन् तसर्थ सर्वप्रथम शिक्षा एवं सचेतना आवश्यक छ । श्रीमान्-श्रीमती हुनुअघि नै शिक्षा, आर्थिक सशक्तता एवं जीवनका विषयमा योजना बनाउन सक्ने क्षमता राख्नुपर्छ । विवाहपूर्व नै महिलाले आफ्नो पहिचान बनाउने उद्देश्य राख्नुपर्छ जसले विवाहपछि सम्बन्ध दिगो बनाउन सहयोग पुग्छ ।
प्रस्तुति : लक्ष्मी भण्डारी थापा
सौजन्य : गीताञ्जलि ज्वेल्स, दरबारमार्ग