Successfully Copied

मौसमी फूलहरू

असोज-कात्तिकलाई चाडपर्वको महिना भने पनि फरक पर्दैन । हाम्रा चाडपर्व फूलबिना पूरा हुँदैनन् ।

असोज-कात्तिकलाई चाडपर्वको महिना भने पनि फरक पर्दैन । हाम्रा चाडपर्व फूलबिना पूरा हुँदैनन् । यो मौसम पनि अन्य मौसमजस्तै विभिन्न प्रकारका फूलका लागि प्रख्यात छ । शरद ऋतु विभिन्न जात, विशेषता एवं आकार-प्रकारका फूलका कारण पनि चिनिन्छ । न गर्मी न जाडो हुने भएकाले यो मौसममा फूल स्वतन्त्र रूपमा फुल्न सक्छ । अजिमा नर्सरीका कुमार कार्कीका अनुसार यो मौसम फूलका लागि अनुकुल छ । सकारात्मक वातावरणका कारण पारिजात, रातकी रानी, सयपत्री, मखमली, गोदावरीजस्ता फूलले यो मौसममा राम्रोसँग फक्रने अवसर पाउँछन् ।

पारिजात

चाडपर्वको आगमनसँगै धेरैका घर-आँगनमा पारिजातले वासना छर्छ । शीतको थोपाजस्तो देखिने यो फूलको माथिको भाग सेतो र डाँठ सुन्तला रंगको हुन्छ । आफैं झर्ने यो सानो आकारको फूलले घर-आँगनलाई आकर्षक तथा ढकमक्क बनाउँछ । झरेको फूल टिपेर पूजामा चढाइने यो फूल बोटबाटै टिपे पाप लाग्छ भन्ने मान्यता छ ।

पारिजातको वासना १० मिटर परसम्म फैलन्छ । यो फूल रोपेको दुईदेखि साढे दुई वर्षसम्ममा फुलिसक्छ । एकपटक रोपेपछि यो फूलको बोट लामो समय रहन्छ र अर्को वर्ष उही मौसममा फेरि फुल्छ । यो फूलको बोट ठूलो हुने भएकाले गमलामा भन्दा पनि जमिनमै रोप्नु उपयुक्त हुन्छ ।

रातकी रानी

लहराजस्तो बोटको यो फूलले दिउँसोभन्दा राति बढी वासना फ्याँक्छ । इट्टा रंगको यो फूल खुर्सानी फूलजस्तो हुन्छ । दिउँसोको तुलनामा राति बढी वासना आउने भएकाले यसलाई रातकी रानी भनिएको हो । यो फूलका कारण वातावरण नै मगमगाउँछ । यो फूल पनि गमलाभन्दा जमिनमै रोप्नु उपयुक्त हुन्छ । जमिनमै रोपे यो फूल ह्याङगिङ भएर बारमा जान्छ । यसलाई अंग्रेजीमा ज्यासमिन भनिन्छ । जेठमा रोपिने यो फूल असोज-कात्तिकमा फुल्छ ।

गोदावरी

 गोदावरी फूलको सिजन पनि असोज-कात्तिक हो । पाँच सय भेराइटीमा उपलब्ध यो फूल विशेषगरी रातो, सेतो, पहेंलो तथा गुलाबी रंगमा पाइन्छ । साउनमा रोपिएको यो फूल असोज-कात्तिकमा फुल्छ । अरु फूलको तुलनामा यसलाई हुर्काउन केही गाह्रो हुन्छ । यो फूललाई गमलामा भन्दा पनि जमिनमै माटो खनेर रोप्नु उपयुक्त हुन्छ । हाँगा छोपेर ढकमक्क फुल्ने यो फूलले घरको वातावरण नै रमणीय बनाउँछ । यसलाई राम्रो मल दिनुका साथै बेला-बेलामा गोडमेल गरिहनु पर्छ । यति गरे फूल ठूलो आकारमा फुल्छ । यसको बोटमा कीरा लागे कीटनाशक औषधि प्रयोग गर्नुपर्छ । तिहारका बेला माला बनाउनुका साथै कटफ्लावर बुकेमा पनि गोदावरी फूल प्रयोग गरिन्छ । यो फूल रोपेपछि अर्को मौसममा पनि फुल्छ । यो फूललाई समय-समयमा गोडमेल गर्नुका साथै मल पनि हालिरहनुपर्छ ।

सयपत्री

 सयपत्री नेपालमा प्रचलित फूल हो । यसलाई सरलताको प्रतीकका रूपमा लिइन्छ । साउन १५ मा रोपिएको यो फूल ५०-६० दिनमा फुलिसक्छ । दसैं-तिहारका बेला यो फूलले प्रत्येकको घर-आँगन ढकमक्क पारेको हुन्छ । पहेंलो, रातो तथा सुन्तला रंगमा पाइने यो फूल गमला तथा जमिन दुवैमा रोप्न सकिन्छ । यो फूल रोप्दा बोनमिल, पिना तथा गाईको गोबर राखे अझ राम्रोसँग फस्टाएर ठूलो आकारमा फुल्छ । रोपेको एक महिनापछि पुन: मल थप्दा अझ राम्रो हुन्छ । यो फूललाई जति ठूलो पटमा रोप्यो त्यति राम्रोसँग फुल्छ । स्थानीय फूलको तुलनामा यसको विकासे बीउ पनि ठूलो हुन्छ । अमेरिकाबाट ल्याइने यो फूलको बीउ एक सिजनका लागि मात्र हुन्छ । यो फूल एकपटक फुलेपछि १५-२० दिनसम्म रहन्छ ।

मखमली

तिहारमा मखमली फूलको विशेष महत्व हुन्छ । हेर्दा सुपारीको दानाजस्तो देखिने भएकाले यसलाई सुपारी फूल पनि भनिन्छ । कहिल्यै नओइलाउने भएकाले भाइटीकामा दाजुभाइको दीर्घायुको कामना गर्दै यो फूलको माला लगाइदिने चलन छ । रोपिएको दुई महिनामा फुल्ने मखमली फूल असोज-कात्तिकमा फुल्छ । यो फूल पनि मलजल गर्दा अलि ठूलो आकारमा तथा धेरै फुल्छ । यो फूल मंसिर-पुससम्म रहन्छ । यो फूल पनि गमलाभन्दा जमिनमै माटो खनेर रोप्दा रमाउँछ । यसको बेाट दुई फिटसम्म अग्लो हुन्छ ।

 Image