Successfully Copied

घरको सरसफाइ

घरको सरसफाइ विशेष तरिकाले गरिन्छ । वर्ष दिनमा एकपटक घरको भित्री, बाहिरी एवं घर वरिपरिको भाग पनि निकै मेहनतका

घरको सरसफाइ विशेष तरिकाले गरिन्छ । वर्ष दिनमा एकपटक घरको भित्री, बाहिरी एवं घर वरिपरिको भाग पनि निकै मेहनतका साथ सफा गरिने बैंककी कर्मचारी अनु पन्त बताउँछिन् । पन्तका अनुसार अरु बेला घर पूर्णरूपमा सफा गर्न सकिँदैन । समय अभावका कारण अरु बेला हुन नसकेको सरसफाइ चाडपर्वको लामो बिदामा मज्जाले गरिने पन्तको धारणामा धेरैको सहमति हुनसक्छ ।

भान्सालाई कसरी बनाउने कीटाणुमुक्त ?

भान्सा जीवनको अभिन्न हिस्सा हो । भान्सा र हाम्रो स्वास्थ्यको सम्बन्ध पनि अन्योन्याश्रति छ । भान्सा सफा भए मात्र खानेकुरा पनि सफा हुन्छन् अनि त्यसपछि मात्र हामी स्वस्थ रहन सक्छौं । भान्सामा प्रयोग गरिने सामान पनि सफा तथा चम्किलो हुनु आवश्यक छ । यसबाट रोगमुक्त रहन पनि मद्दत मिल्छ ।  

पकाउने भाँडाको सफाइ

अहिले धेरैजसोकहाँ ग्यास चुल्हो तथा माइक्रोवेभमा खाना बनाउने चलन छ । यस्ता साधनमा खाना पकाउँदा खानेकुरा खसे तुरुन्त सफा गर्नुपर्छ । ग्यास चुल्होमा दूध वा चिया पकाउँदा उम्लिएर खस्ने सम्भावना हुन्छ । तरकारी वा दाल पनि पोखिन्छ । खाना पकाएपछि खानेकुरा खसे पनि नखसे पनि ग्यास चुल्हो सफा गरिहाल्नुपर्छ । त्यसैगरी तरकारी काट्ने भाँडा, चक्कु आदि पनि प्रयोग गरेपछि तुरुन्त सफा गर्नुपर्छ ।

भाँडाको सफाइ

पकाउने वा खाने भाँडा राम्रोसँग सफा गर्नुपर्छ । फलामको ताबा, तामाको फिल्टर, कराही आदि सफा गर्न पीताम्बरी प्रयोग गर्नुपर्छ । यसैगरी पित्तलका भाँडा कागतीको रसमा पीताम्बरी मिसाएर सफा गर्न सकिन्छ । स्टिलका भाँडालाई लिक्विड सोप वा पाउडर प्रयोग गरी स्पन्जको सहायताले सफा गर्नुपर्छ ।

आल्मुनियमको प्यान वा अन्य भाँडा सफा गर्न सिरकाको पेस्ट, थोरै डिटर्जेन्ट मिसाएर सफा गर्नुपर्छ । प्रेसर कुकरमा तरकारी पकाउँदा बेसारको दाग लाग्छ । खाना पकाउँदा-पकाउँदा कुकरको भित्री भाग कालो हुने सम्भावना हुन्छ । कुकर सफा गर्न त्यसमा इमली, कागतीको बोक्रा वा सोडा हालेर पानी तताउनुपर्छ । कागती वा सिरका र पानी भरेर एक सिठी लगाउँदा पनि कुकर चम्कन्छ । हिजोआज धेरैजसो घरमा मेलामाइनका भाँडा प्रयोग गर्ने चलन छ । हेर्दा राम्रो र आकर्षक देखिने मेलामाइनका भाँडामा दाग पनि छिट्टै बस्छ । त्यसबाट छुटकारा पाउन कागतीको रस, सिरका वा इमली पानीले सफा गर्नुपर्छ । नेलपालिस रिमुभरमा कपास भिजाएर सफा गर्दा पनि मेलामाइनका भाँडामा लागेको दाग हटाउन सकिन्छ । यसैगरी ननस्टिक भाँडामा लागेको दाग थोरै पानी, सिरका तथा सोडा मिसाएर दस मिनेटसम्म उमालेपछि सजिलै हट्छ ।

किचेन क्याबिनेटको सफाइ

यसको सफाइ प्रत्येक हप्ता गर्नुपर्छ । क्याबिनेटमा प्रयोग गरिएको कागज पनि महिनाको एकपटक परिवर्तन गर्नुपर्छ । कमिला तथा साङ्लाको समस्या छ भने पहिले क्याबिनेटमा लक्ष्मणरेखा कोर्नुपर्छ अनि त्यसमाथि कागज बिछ्याएर सामान राख्नुपर्छ ।

चिम्नी तथा एडजस्ट फ्यान

इलेक्ट्रोनिक चिम्नी निर्देशनअनुसार सफा गर्नुपर्छ । स्पन्जमा साबुन लगाएर चिम्नीको जालीमा जमेको चिल्लो हटाउन सकिन्छ । एडजस्ट फ्यानलाई पनि महिनाको एकपटक झिकेर तातोपानी, सोडा आदिका साथ सफा गर्नुपर्छ । कपडामा मट्टीतेल भिजाएर पंखा पुछी ४-५ घन्टापछि सफा गर्दा एडजस्ट फ्यानको सफाइ राम्रोसँग हुनसक्छ ।

सिंक

भान्सा कोठामा धेरै फोहोर हुने ठाउँ सिंक पनि हो । त्यसैले भाँडा सफा गरेपछि सिंकमा पाउडर तथा डिटर्जेन्ट राखेर मस्कोले सफा गर्नुपर्छ । भाँडा माझ्ने तथा अन्य काम सकिएपछि सिंकलाई सुख्खा राख्नुपर्छ । यसो गर्दा कीटाणुले बास गर्न पाउँदैन ।

भुइँ

भान्साको भुइँ प्रत्येक दिन फिनेल तथा डिटर्जेन्टले सफा गर्नुपर्छ । हप्ताको एकपटक नीमको पात भिजाइएको पानीले पुछ्दा पनि भान्सा कीटाणु मुक्त हुन्छ । भान्सामा खानेकुरा पाक्ने भएकाले झिंगा तथा लामखुट्टे धेरै बस्छन् । त्यसैले भान्सा सफा राख्नुपर्छ । साङ्लाले सताएको छ भने पुछ्ने पानीमा थोरै फिनेल तथा मट्टीतेल हाल्न सकिन्छ । भान्सालाई सुगन्धित एवं चम्किलो बनाउन फ्रेसनर प्रयोग गर्न सकिन्छ । भान्सा कोठामा व्यवस्थित रूपमा सागसब्जी राख्नुपर्छ । सामान पनि उचित ठाउँमा व्यवस्थित ढंगले राखे आकर्षक देखिन्छ ।

डस्टबिन

साधारणतया डस्टबिनलाई सिंकमुनि राखिन्छ । डस्टबिन ढक्कन भएको हुनुपर्छ । डस्टबिनमा सीधै फोहोर हाल्नुभन्दा पनि पहिले थोरै बोरेक्स पाउडर छर्की डस्टविनलाई प्लास्टिकको झोलाले बेरेर फोहोर हाल्नुपर्छ । डस्टबिन नियमित रूपमा सफा गर्नुपर्छ । डस्टबिनमा प्लास्टिकको थैलो राखेर भरिएपछि उक्त थैलीको व्यवस्थापन गर्नुपर्छ ।  

विद्युतीय सामग्रीको सफाइ

घरमा प्रयोग गरिने विद्युतीय सामानको नियमित सरसफाइ तथा हेरचाह आवश्यक छ । यस्ता सामानको हेरचाह एवं सरसफाइ उचित ढंगमा गरिएन भने समयपूर्व नै बिग्रने वा दुर्घटना हुने सम्भावना हुन्छ ।

टिभीको सफाइ

टिभी सफा गर्नुअघि मेन स्वीच बन्द गर्नुपर्छ । यसको सफाइमा ग्लास क्लिनर प्रयोग गर्न सकिन्छ । यसका लागि कटनको कपडा प्रयोग गर्नुपर्छ । एलसिडीजस्ता नयाँ मोडलका टिभी सफा गर्न मलमलको कपडा प्रयोग गर्नुपर्छ । दाग लागेको छ भने पानीमा भेनेगर मिसाएर कटनको कपडाले सफा गर्न सकिन्छ । त्यसपछि तुरुन्तै सुख्खा कपडाले पुछ्नुपर्छ । टिभीको स्क्रिनलाई धेरै रगडेर सफा गर्नुहुँदैन ।

रिमोट कन्ट्रोलको सफाइ

रिमोट कन्ट्रोल रोग फैलाउने माध्यम हो । रिमोट भुइँमा खस्दा, रिमोटमाथि खोक्दा, हाछ्युँ गर्दा विभिन्न रोगका जीवाणु फैलन सक्छन् । कतिपयमा टिभी हेर्दा रिमोट हातमा लिएर टोक्ने बानी हुन्छ । त्यसैले यसलाई बेलाबेलामा सफा गरिरहनुपर्छ ।

कम्प्युटरको सफाइ

टिभीजस्तै कम्प्युटर सफा गर्दा पनि मेन स्वीच बन्द गर्नुपर्छ । हप्ताको एकपटक मनिटरको स्क्रिन सफा गर्नुपर्छ । कम्युटरको पछाडिको भागमा भ्याकुम प्रयोग गर्न सकिन्छ । किबोर्डमा भएको धूलो झार्न किबोर्डलाई उल्टाएर हल्का हातले थपथपाउनुपर्छ । सीपीयुको सफाइ भ्याकुम क्लिनरको ब्लोअरले गर्नुपर्छ ।

टेलिफोनको सफाइ

टेलिफोनको प्रयोग सबैले गर्छन् । यसको प्रयोग धेरै हुने भएकाले पनि विशेष सरसफाइ आवश्यक छ । टेलिफोनलाई थोरै कपासमा डेटोल हालेर सफा गर्न सकिन्छ ।

मोबाइलको हेरचाह

भिजेको हातले मोबाइल चलाउनुहुँदैन । मोबाइल पानीमा भिजे बिग्रने सम्भावना हुन्छ ।

वासिङ मेसिनको हेरचाह

वासिङ मेसिन सफा गर्नुअघि त्यसलाई खाली गरी तातोपानी भर्नुपर्छ र एक कप भेनेगर मिसाएर मेसिन चलाउनुपर्छ । केही बेर मेसिन चलाएपछि बन्द गरी त्यसमा आधा कप बेकिङ सोडा हालेर मेसिनलाई वास मोडमा चलाएर बन्द गर्नुपर्छ । एक घन्टासम्म मेसिनलाई त्यत्तिकै छोड्नुपर्छ ।

वाटर फिल्टरको सफाइ

वाटर फिल्टरलाई हख प्तामा एकपटक सफा गर्नुपर्छ । त्यसका लागि फिल्टरको प्युरिफायर क्यान्डल निकालेर माइल्ड साबनुले धुनुपर्छ । क्यान्डलमा जमेको फोहोर सफा गर्न नरम जाली प्रयोग गर्न सकिन्छ ।  सफा गरिसकेपछि क्यान्डललाई केही बेर सुकाउनुपर्छ ।

 

 Image