Successfully Copied

सरुको नमन

गायिका सरु पराजुलीको तेस्रो एल्बम नमन भर्खरै श्रोतामाझ आएको छ । यसअघि मनन र सुरभी बजारमा ल्याइसकेकी सरुले नमनमा

गायिका सरु पराजुलीको तेस्रो एल्बम नमन भर्खरै श्रोतामाझ आएको छ । यसअघि मनन र सुरभी बजारमा ल्याइसकेकी सरुले नमनमा सन्देशमूलक तथा मनोरञ्जक आधुनिक गीतहरू समावेश गरेकी छिन् । आधुनिक गीतहरूमा रमाउने सरु एक दशक लामो सांगीतिक यात्रामा अघि बढिरहेकी छिन् । यो एल्बममा शिव चौलागाईं, भगवती बस्नेत र विष्णु ढकालको शब्द तथा युवराज चौलागाईं, अम्बर सुब्बा र राम सिटौलाको संगीत सुन्न सकिन्छ । सुरभी क्रियसनले बजारमा ल्याएको यो एल्बमको मूल्य २ सय ५० रुपैंयाँ छ ।   

झमकको समय बिम्ब

झमक घिमिरे आफैमा एउटा पुस्तक हुन् । आत्म जीवनीपरक निबन्ध जीवन काँडा कि फूलबाट सुपरिचित घिमिरेको नवीनतम कृति समय बिम्ब प्रकाशित भएको छ । डायरीका रूपमा प्रस्तुत यो कृति झमकको सिर्जनकर्मको महत्वपूर्ण पाटो हो । यसमा उनका नितान्त व्यक्तिगत प्रसंग मात्र छैनन्, उनी बाँचेको समयको बिम्ब, प्रतिबिम्बहरू पनि सजीव रूपमा उतारिएका छन् । यसबाट उनको जीवनका मनोविज्ञान पक्षलाई सजिलै खोतल्न सकिन्छ । २०६० वैशाख १ गतेदेखि २०६१ चैत्र २० सम्मको उनको दैनिक डायरी यो पुस्तकमा पढ्न पाइन्छ । घिमिरेको डायरी पुस्तकप्रेमी पाठकहरूका लागि एउटा उत्कृष्ट उपहार हुनसक्छ । डायरी पढ्ने क्रममा झमक कहिले शिक्षिकाजस्ती लाग्छिन् भने कहिले आध्यात्मिक गुरु त कहिले विद्रोही देखिन्छिन् । दर्शन, साहित्य, मनमा फुरेका भावना तथा जीवनका पीडादायी सन्दर्भले पाठकलाई जीवनमा अघि बढ्न सिकाउँछ । शब्दहार क्रियसन्सले बजारमा ल्याएको यो पुस्तकको मूल्य ३ सय ५० रुपैंयाँ छ ।

नीलम रोजुको हरपल

गीतकार, संगीतकार तथा गायिका नीलम रोजु राईको हरपल शीर्षकको एल्बममा नौ वटा गीत समावेश छन् । यो एल्बममा नीलमलाई राजेश पायल राई, भीमबहादुर बुढाथोकी, विजय राई, पदम राई तथा स्वरूपराज आचार्यले गायनमा साथ दिएका  छन् । आधुनिक गीतको यो एल्बमका सबै गीतमा प्रेमका भाव समावेश छन् । यो मनमा र यो मायामा बोलका दुईवटा गीत भने युगल गीत हुन् । यो एल्बमलाई भाइब्स क्रियसनले बजारमा ल्याएको हो ।

पूजाको काँचुली

कलाकार पूजाले गत महिना नेवा छें पाटनमा आफ्नो कला प्रदर्शनी गरिन् । जसमा समाविष्ट काँचुली शीर्षकको यो पेन्टिङमा पूजाले धागोबाट निस्किएकी नारीलाई देखाएकी छिन् । मान्छे समय अनुसार परिवर्तन हुनुपर्छ । जसरी सर्पले नयाँ छालाका लागि काँचुली फेर्छ त्यसरी नै पुराना नराम्रा कुराहरू छोडेर नयाँमा परिवर्तित हुनुपर्छ भन्ने मान्यता यो चित्रमार्फत प्रकट गर्न खोजिएको छ । यसमा रुढिवादी परम्पराका कारण महिलामाथि हुने हिंसालाई संकेतका रूपमा देखाइएको छ ।

 Image