Successfully Copied

परिवर्तनले चाडपर्व र महिलामा पारेको प्रभाव

समय परिवर्तनशील छ । परिवर्तनसँगै समाजमा हरेक कुराको विकास धु्रवसत्य हो ।

समय परिवर्तनशील छ । परिवर्तनसँगै समाजमा हरेक कुराको विकास धु्रवसत्य हो । हिजो हामीले प्रयोग गर्ने हावा, पानी तथा दैनिक जीवनका अन्य उपभोग्य वस्तुमा समेत परिवर्तन आइरहेको छ । यस्तो परिवर्तनले मानिसको जीवनशैलीमाथि पनि ठूलो प्रभाव पार्छ । यो कुरा चाडपर्व मनाउने सन्दर्भमा पनि लागू हुन्छ । यही सन्दर्भमा यसपटकको बहस आधुनिकीकरण तथा समग्र परिवर्तन एवं विकासले महिलामा पारेको असर एवं त्यसको प्रभावका विषयमा केन्दि्रत छ ।

सरिता ज्ञवाली, व्यवस्थापक, सदर चिडियाखाना, जावलाखेल

चाहे जुनसुकै क्षेत्रमा रहौं आखिर हामी यही वातावरणसँग जोडिएका छौं । वातावरण कसरी प्रदूषित र विकसित हुँदैछ भन्ने कुरा पनि हामीले थाहा पाउन जरुरी छ । यसैसँग जोडिएर आउँछ हामी महिलाको जीवन र हामीले मनाउने संस्कृति पनि । चाडवाड र महिला अनि हाम्रो संस्कृति सबै कुरा हेरेर नै समाज अगाडि बढ्छ । मुख्यत: स्वास्थ्यलाई प्राथमिकता दिँदै आधुनिक उपकरणको प्रयोग हुनुपर्छ । त्यसैले दीर्घकालीन स्रोत प्रयोग गर्नु जरुरी छ । संस्कार र परम्परालाई अघि बढाउँदै आधुनिकता एवं पुरानो संस्कृतिलाई फ्युजन गराएर अगाडि बढ्नुपर्छ । परिवर्तनका कारण महिला पनि परिवारका आर्थिक हिस्सा बनिरहेका छन् जुन कुनै पनि महिलाका लागि स्ट्याटस र आत्मसन्तुष्टिको कारक हुनसक्छ ।

सूचिता जोशी, उप-महाप्रबन्धक, ग्यालिलियो नेपाल

समाज आधुनिक हुँदैछ । बलि प्रथा कम हुँदैछ । विवाहको दस वर्षसम्म पनि मैले परिवारका सबै सदस्यलाई एकैपटक एकै ठाउँमा भेट्न सकेकी छैन । आधुनिकताले उपकरणहरू बढिरहेका छन्  त्यसले केही सहज त बनाएको छ तर कतिपय कुराको अभाव पनि खड्किन थालेको छ । मेरी अमेरिकामा बस्ने जेठानी दिदी लामो समयको अन्तरालमा नेपाल आउनुहुन्छ । चाडपर्वको धपेडीमा उहाँ सधैं सँगै भए काम बाँडिन्थ्यो भन्ने लाग्छ । अहिले बालबालिकाहरू पनि आमा र बुवाबाट छुट्टाछुट्टै लुगा चाहन्छन् । खर्च बाँड्दा एकजनालाई मात्र भार पर्दैन । मानिसहरू वर्षभरि काम गर्दा-गर्दा दिक्क भएका हुन्छन् । त्यसैले सबैसँग भेटघाट गर्दै दसैं मनाउँदा निकै रमाइलो हुन्छ ।

प्रीति सिंह,  शाखा प्रमुख, सानीमा बैंक, टेकु

हाम्रा चाडसँग धार्मिक, सामाजिक एवं ऐतिहासिक मूल्य-मान्यताहरू जोडिएका छन् । आधुनिकताले ल्याएका उपकरणले पनि हामी महिलालाई सचेत र सहज बनाएका छन् । कामको प्राथमिकता महिलामा बढी आइपर्छ किनभने घर चलाउने तथा अन्य व्यवस्थापकीय पक्ष महिलाको जिम्मामा हुन्छ । आजको दिनमा हामी परिवारसँगै बसेर खान सक्ने भयौं यो सबै आधुनिकीकरणले ल्याएको प्रभाव हो । भान्सामा धेरै समय बिताउनु परेन । सामाजिकीकरण तथा परिवारमा आफ्नो सहभागिता देखियो । अहिले पुरुषहरू पनि भान्सामा जानसक्ने भएका छन् भने हामी महिलाले किन आर्थिक सहयोग नगर्ने ? मलाई त यसमा गर्व छ । यसमा मलाई आफ्नो परिवारभित्रको स्वामित्व महसुस हुन्छ तर हामी महिलाले परिवारमा आर्थिक सहयोग गर्दा त्यसको सदुपयोग गर्नुपर्छ । चाडपर्वका अवसरमा केही समय समाजसेवामा पनि लगाउने पो हो कि ? हामी महिला अल्टरनेट सोर्स अफ इनकम हौं, यसले जनजीवन एकदमै सहज बनाउँदै लगेको छ ।

जगमग प्रधाना·,  पूर्व शिक्षिका तथा समाजसेवी

परम्परा र संस्कृति हाम्रो पहिचान हो । यसलाई हामीले गच्छेअनुसार सहज ढंगले मनाउँदै लानुपर्छ । आफन्तहरूको जमघटका लागि भए पनि हामीले यसलाई निरन्तरता दिनैपर्छ । वर्षाको पानीले फोहोर भएका घरहरू सफा हुन्छन् । हाम्रो समयमा दसैंको टीका लगाउन जाँदा पूरै दिन माया मार्नुपथ्र्यो तर अहिले त्यस्तो छैन । आर्थिक रूपले सशक्त महिलालाई घरमा श्रीमान्को मात्र खर्च गरून् भन्ने कुरा मनले मान्दैन किनभने अहिलेका हामी महिला सबै दृष्टिले सशक्त छौं । त्यसैले घरमा आर्थिक कन्टि्रब्युसन गर्दा आत्मसन्तुष्टिको अनुभूति हुन्छ ।

कला सुब्बा, सञ्चारकर्मी

दसैं मेरा लागि सेलिबे्रसन हो । अत्याधुनिक सुविधाले हाम्रो एनर्जी बच्छ, हामी सेलिब्रेसनमा सहभागी हुन पाउँछौं । आधुनिकताले गर्दा पुरुषहरू पनि भान्सामा काम गर्ने भएका छन् । आधुनिकीकरणको बेफाइदा घर छोडेर बिदेसिएकाहरूको घरपरिवारसँगको दूरी बढेको हो कि ? म पुरानो समयमा देखिने घरपरिवारसँगको निकटता मिस गर्छु । आधुनिकताका कारण हामी रोबर्टजस्ता भैसक्यौं कि ? उहिले दसैंमा दिदीबहिनी एकै ठाउँ जम्मा भएर सुख-दु:खका कुरा गर्नुको मज्जा आजको फेसबुक र भाइबरमा गरिएका वार्तालापले पक्कै दिँदैनन् । आधुनिकताले भित्र्याएका कतिपय विकासले हाम्रा कतिपय संस्कृति लोप र कम हुँदै गएका पो हुन् कि ? शुभ साइतमा टीका लगाएपछि अलिकति दाम दिनुको अर्थ पैसाको महत्व छ है यसले ठूलो भूमिका खेल्छ भनिएको हो कि जस्तो लाग्छ तर आज दक्षिणामा कति पैसा दिइएको छ भन्नेमा अल्झिन थालेको छ समाज । महिलाले परिवारमा गर्ने आर्थिक सहयोगले उनको स्थान र महत्व उँचो हुन्छ । अर्थले महिलालाई सशक्त बनाउँछ । ग्याजेट हाम्रो सुविधाका लागि हो हामी ग्याजेटको सुविधाका लागि होइन । यसले सुविधा दिन्छ संस्कृति दिँदैन ।

सौजन्य : गीताञ्जली ज्वेल्स, दरबारमार्ग

 Image