Successfully Copied

दसैंका दस दिन

दसैं अधिकांश नेपालीको प्रमुख पर्व हो । शरद ऋतुको आश्विन शुक्ल प्रतिपदादेखि पूणिर्मासम्म चले पनि दसैं मुख्यत: दस दिन मनाइन्छ

दसैं अधिकांश नेपालीको प्रमुख पर्व हो । शरद ऋतुको आश्विन शुक्ल प्रतिपदादेखि पूणिर्मासम्म चले पनि दसैं मुख्यत: दस दिन मनाइन्छ, जसमध्ये विशेष महत्त्वका साथ पूजाआजा गरिने अवधिलाई नौरथा भनिन्छ । नौरथाभित्र गरिने विविध क्रियापलापले नै दसैंको सार रूप इङ्गति गर्छ । जनस्तरमा हर्ष र उमङ्गको वर्षा गराउने दसैंले धार्मिक, सांस्कृतिक एवं सामाजिक रूपमा उत्तिकै महत्त्वपूर्ण प्रभाव पार्ने भएकाले नेपालीहरूका लागि यो पर्व प्रतीक्षाको विषय भएको पाइन्छ ।

दसैंका अवसरमा गरिने पूजा वा साधनाले विशेष फल दिलाउने जनविश्वास रहिआएको छ । त्यसैले पनि दसैंको नौ दिनसम्म भगवतीको विशेष पूजाआजा गर्ने तथा दसौं दिन प्रसादस्वरूप टीका एवं जमरा ग्रहण गर्ने चलन चलेको हो । दशमी अर्थात् टीका लगाउने दिन आफूभन्दा ठूला मानिसका हातबाट टीका र जमरा लगाई आशीर्वाद ग्रहण गरिन्छ । त्रेता युगमा यही दिन श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेका थिए । यसका लागि रामले नारदको उपदेशअनुरूप नौ दिनसम्म दुर्गा देवीको आराधना गरेको र दसौं दिन रावणमाथि विजय पाएको कथा प्रचलित छ । रावणमाथि रामले विजय पाएको हुनाले उक्त दिनलाई विजयादशमी अर्थात् बडादसैं भनिएको हो । महाकाली, महालक्ष्मी एवं महासरस्वतीको पूजा-आराधना गरेर जन्मजन्मान्तरका लागि शक्ति आर्जन गर्न सकिने सद्विश्वासकै कारण दसैंलाई शक्ति र साधनाको पर्वका रूपमा मनाउन थालिएको हो । सबै शक्तिपीठमा प्रतिपदादेखि देवीको पूजा हुने भए पनि कतिपयमा दशमीका दिन त कतिपयमा कोजाग्रत पूणिर्माका दिनसम्म पूजा विसर्जन गर्ने परम्परा छ । अधिराज्यका कतिपय भागमा विजयादशमीका दिन मात्र टीका लगाउने चलन देखिए पनि धेरैजसो भागमा दशमीदेखि पूणिर्मासम्म टीका लगाउने चलन छ ।

दसैं आर्थिक क्रियाकलापका दृष्टिले पनि निकै महत्त्वपूर्ण पर्वका रूपमा परिचित छ । नेपालका सरकारी तथा गैरसरकारी कार्यालयहरू यो अवधिमा लामो समयसम्म बिदा हुन्छन् । दसैंमा सबैजसो कार्यालयले कर्मचारीलाई बोनस पनि वितरण गर्छन् । दसैंका अवसरमा खाद्यान्न, वस्त्र आदि उपभोग्य सामग्रीको व्यापार पनि उल्लेख्य रूपमा वृद्धि हुन्छ । वर्ष दिनसम्म गरिएको दु:ख भुल्न मानिसहरूले दसैंका अवसरमा कत्ति पनि नडराई खर्च गर्छन् । सामान्यभन्दा सामान्य मानिसले पनि औसतभन्दा बढी खर्च गर्छन् । अझ हिजोआज त यही अवसर पारेर स्वदेश एवं विदेशको भ्रमणमा निस्कने चलन पनि बढ्दो छ । त्यसको कारण पर्यटकीय दृष्टिले पनि दसैंको समय उपयुक्त हुनु पनि हो । यी र यस्ता विविध कारणले गर्दा दसैं आर्थिक पक्षबाट पनि उल्लेख्य छ ।

दसैं सामाजिक गतिविधिका हिसाबले पनि महत्त्वपूर्ण छ । टाढाटाढा गएकाहरू समेत दसैंमा घर र्फकने र परिवार, गाउँ, टोल एवं छरछिमेकीसित भेटघाट गर्ने परम्पराका कारण दसैंले सामाजिक सम्बन्धलाई बढावा दिन उल्लेख्य भूमिका निर्वाह गर्दै आएको छ । त्यसैगरी बहुजातीय, बहुधार्मिक एवं बहुभाषिक नेपालमा सबैजसोले आपसी सद्भाव नबिथोली रमाइलो गर्ने हुनाले दसैंको महत्त्व अझ बढ्दै गएको छ ।

पहिलो दिन : दसैंको पहिलो दिनलाई घटस्थापना भनिन्छ । त्यसै दिन दीप, कलश र गणेशको पूजा गरी देवीको स्थापना गरेर जमरा राख्ने काम हुन्छ । उक्त दिन व्यक्तिगत रूपमा घरैमा तथा सामूहिक रूपमा विभिन्न देवी मन्दिर एवं कोटघरहरूमा जमरा राखिन्छ । सम्पूर्ण विधि पुर्‍याएर जमरा राख्ने कार्यसँगै दुर्गा शप्तशतीको पाठ पनि गरिन्छ । बिहान नुहाएर शुद्ध भएपछि पूजापाठ  गर्ने र बेलुका आरती गर्ने काम हुन्छ । पहिलो दिन देवीलाई खुसी पार्न विशेष प्रसादका रूपमा पट्टवस्त्र (सुन्दर चोलाको कपडा), केशरज्जु (धागो), कंकतिका (काइँयो) तथा घिउ आदि चढाइन्छ । शैलपुत्री नाम गरेकी देवीको पूजा हुने यो दिनदेखि नै दसैंको विधिवत् शुभारम्भ हुन्छ । सामान्यतया स्कुल तथा कलेजहरू यसै दिनदेखि बिदा हुन्छन् ।

दोस्रो दिन : दोस्रो दिन पनि पहिलो दिनजस्तै पूजाआजा गरिन्छ । यो दिन पूजा गरिने ब्रह्मचारिणीलाई विशेष गरी दर्पण (ऐना), सिन्दूर, गाजल तथा सख्खर चढाइन्छ ।

तेस्रो दिन : तेस्रो दिन पूजा गरिने देवी चन्द्रघण्टालाई गाईको दूध चढाएर प्रसन्न तुल्याइन्छ ।

चौथो दिन : चौथो दिन कूष्माण्डा नाम गरेकी देवीको विशेष पूजाआजा गरिन्छ । कूष्माण्डालाई खुसी बनाउन काँसको कचौरामा मधुपर्क (मह, सखर र दहीको मिश्रण) चढाइन्छ भने नैवेद्यका रूपमा पुवा अर्पण गरिन्छ ।

पाँचौं दिन : पाँचौं दिनमा पूजा गरिने देवी हुन्-स्कन्दमाता । यो दिन देवीलाई खुसी तुल्याउन साडी र ओढ्ने चढाइन्छ भने विशेष नैवेद्यका रूपमा केरा चढाइन्छ ।

छैटौं दिन : छैटौं दिन विल्वपत्र निमन्त्रणा अर्थात् वेलको पातको पूजा गरिने भएकाले यो दिनलाई बेलपाती पनि भनिन्छ । यो दिन पूजा गरिने देवी कात्यायनीलाई प्रसन्न राख्न नानाथरिका अलंकार (गहना) हरू चढाइन्छ । नैवेद्यका रूमा देवी कात्यायनीलाई मह चढाउने चलन छ ।

सातौं दिन : सातौं वा सप्तमीदेखि सबैजसो कार्यालय बिदा हुन्छन् । अत्यावश्यक बाहेकका सबै काम रोकिने हुँदा सहर-बजार पनि सुनसान हुन्छन् । सहरमा विभिन्न काम गरेर बसेका मानिसहरूको पनि घर र्फकने लर्को लाग्छ । यो दिन फूलपाती भित्र्याइन्छ । फूलपाती भित्र्याउन केरा, दाडिम, धान, हलेदो, वेलपत्र, अशोक, जयन्ती, उखु र मानेजस्ता नौवटा लहरापात एवं जातजातिका फूल प्रयोग गरिन्छ । यो दिन कालरात्रि देवीका साथै सरस्वतीको पनि पूजा गर्ने चलन छ । यो दिन छत्र तथा पुष्पमालाका साथ नैवेद्यमा चिनी चढाइन्छ । सप्तमीमा कसैकसैले हवन पनि गर्छन् ।

आठौं दिन : आठौं दिन महागौरी देवीको पूजा हुन्छ । यो दिनको राति कालरात्रि देवीको विशेष पूजा हुन्छ भने बलि दिने तथा होमहोमादि गर्ने कार्य हुन्छ । अष्टमीमा पायसको हवन गर्नाले लाभ हुने बताइन्छ । कसैकसैले अष्टमीका दिन रातभरि भजन-कीर्तन गर्छन् । यो दिन विशेष प्रसादका रूपमा नरिवल चढाउने विधान छ ।

नवौं दिन : नवौं दिन देवी सिद्धिदात्रीको पूजा हुन्छ । यो दिन देवीलाई बोका, कुखुरा, हाँस, परेवा, राँगा, पाठी आदि भोग चढाइन्छ । पशुबलि नदिनेहरूलेे कुभिन्डो, नरिवल, उखु वा अन्य कुनै फल, पायस तथा मासको पिठोबाट पशुको आकृति बनाएर बलि दिन्छन् । देवी सबैकी माता भएकीले काटमार गरेर बलि दिनैपर्छ भन्ने छैन । बलि दिने कार्यमा तान्त्रिक परम्पराको प्रभाव गाँसिएकाले तथा नेपालमा पहिले तन्त्रको बढी प्रचलन भएकाले पनि हुनसक्छ, नेपाली शक्तिपीठहरूमा असंख्य पशुपन्छीको बलि चढाइन्छ । नवमीकै दिन नवदुर्गा देवीको स्वरूप मानेर नौवटी कन्याको पूजा गरी भोजन, वस्त्र एवं भेटी चढाइन्छ । यो दिन देवीलाई खुसी पार्न विशेष नैवेद्यका रूपमा लाबा अर्पण गरिन्छ ।

दसौं दिन : दसौं दिन विसर्जन गरेर प्रसाद ग्रहण गरिसकेपछि सामान्यत: दसैंको पनि अन्त्य हुन्छ । दसौं दिन अर्थात् विजयादशमीको दिन भगवतीको प्रसादस्वरूप रातो टीका लगाउने चलन छ । कतिपय समुदायमा तथा कसैकसैले सेतो वा पहेंलो टीका पनि ग्रहण गरेको पाइन्छ ।

दसैं विशेष गरी नारी जातिको महिमा वर्णन गर्ने पर्व हो । 'यत्र नार्यस्तु पूज्यन्ते, रमन्ते तत्र देवता' अर्थात् मानव सभ्यताको सुरुदेखि नै जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता पनि रमाउँछन् भन्दै आएको सनातन संस्कृतिले समग्र नारी जातिलाई मातृशक्तिका रूपमा आदर गर्दै आएको छ । महिषासुर, शुम्भ-निशुम्भ, रक्तबीज, चण्डमुण्डजस्ता असुरहरूलाई ठेगान लगाउन देवताहरू नारीशक्तिकै आश्रयमा गएको देखिन्छ । नारीविनाको पुरुष अधूरो हुने भएकाले नारीशक्तिको उपासना गर्नुपर्छ भन्ने भावना जगाउन अहम् भूमिका निर्वाह गर्छ-दसैंले । यो महिला हिंसाविरुद्ध सशक्तीकरण जगाउने पर्व हो । महिला शक्तिको वर्णन गरिने यो पर्वले महिलालाई सम्मान गर्न सके मनोरथ सिद्ध हुने बताएर महिलामाथि हुने हिंसालाई परोक्ष रूपमा निस्तेज पार्न खोजेको देखिन्छ । यसबाट दसैंले सामाजिक व्यवहारको सञ्चालनमा महिला वा नारी शक्तिको अतुलनीय पक्षलाई अङ्गीकार गरेको कुरा सजिलै बुझ्न सकिन्छ ।

 Image