दसैंलाई के कारणले दसैं भनिएको हो ?
दस दिन मनाइने भएकाले यसलाई दसैं भनिएको हो । भारतमा यसलाई दसहरा भनिन्छ जसको अर्थ पनि 'दश अह्नानि' अर्थात् दस दिन भन्ने नै हुन्छ । नौ दिनसम्म विधिपूर्वक पूजापाठ गरेर उमारिएको जमरा एवं अन्य फूलप्रसाद दसौं दिन ग्रहण गरिने भएकाले पनि यसलाई दसैं भनिएको हो ।
दसैं कहिलेदेखि प्रारम्भ भएको पर्व हो ?
ठ्याक्कै यतिबेलादेखि नै सुरु भएको हो भन्ने आधार त पाइँदैन तथापि शास्त्रहरूको अध्ययन गर्दा दसैं उत्तर वैदिक कालदेखि नै चलेको पर्व हो भन्न सकिन्छ । यसको आधार हाम्रो समाजको परम्परा, संस्कृति, जीवनशैली, आस्था-विश्वास तथा मनोविज्ञान आदिमा खोज्न सकिन्छ ।
दसैंको सम्बन्ध केसँग छ ?
दसैंको सम्बन्ध सीधै धर्मसँग छ । यो पर्वसँग देवी र महिषासुर तथा शुम्भ-निशुम्भ, राम र रावणयुद्ध एवं राजा रघु आदिका प्रसङ्गहरू जोडिएको पाइन्छ । यो पर्व धार्मिक, सांस्कृतिक एवं सामाजिक पक्षसँग गाँसिए पनि बढी धार्मिक पक्षसित जोडिएको छ ।
दसैंका धार्मिक, सामाजिक एवं सांस्कृतिक पक्षलाई कसरी लिन सकिन्छ ?
दसैंको धार्मिक पक्ष बलि अर्पणसित जोडिएको छ । बलि अर्पणसित मानिसले आफूभित्रका आसुरी प्रवृत्ति हटाउनुपर्ने आशय जोडिएको छ । तथापि मानिसहरूले कुरा नबुझेर राँगा, बोका, हाँस, कुखुरा आदि प्राणीको बलि दिने गरेको पाइन्छ जब कि दिनुपर्ने आफूभित्रको अहम् वा अहंकारको बलि हो । त्यस्तै सामाजिक हिसाबले दसैं एकताको पर्व हो, यसको उद्देश्य समाजमा भाइचारा एवं मेलमिलाप बिस्तार गर्नु हो भने सांस्कृतिक दृष्टिले पनि यो समन्वयवादी पर्वका रूपमा रहेको पाइन्छ । पिता-पुर्खाको आशीर्वाद लिएर आत्मबल प्राप्त गरी कर्ममा उत्रनुपर्छ भन्ने भाव दसैंको सांस्कृतिक पक्षसँग जोडिएको छ ।
दसैं मान्नु किन आवश्यक छ ?
दसैं मनोरञ्जनक पर्व हुनुका साथै यसले आफन्तहरूसित भेट गराउने परम्परा पनि बसालेको छ । दसैंको नौदिने अनुष्ठानलाई ध्यान दिने हो भने यो आफूले आफैंलाई हेर्ने र आफूभित्र के-कस्ता कमी-कमजोरी छन् पत्ता लगाई तिनलाई हटाउने पर्व पनि हो । आफ्ना कमी-कमजोरी हटाएर मानसिक रूपले आफूलाई सुदृढ तुल्याई शक्ति आर्जन गर्ने पर्व भएकाले दसैं मान्नु आवश्यक छ ।
दसैंमा हुने अत्यधिक काटमार एवं जीवहिंसा दसैंको कुन पक्षसित सम्बन्धित छन् ?
मैले अघि नै भनें, बलि दिने नाममा जीवहिंसा गर्नु दसैंको वास्तविक मर्म होइन । त्यो त बलिको वास्तविक मर्म नबुझ्ने र स्वादका पछाडि दौडने अबुझहरूको क्रियाकलाप हो । सबै प्राणी एवं जगत् ईश्वरका सृष्टि हुन् मानिसकेपछि र दुर्गालाई जगतजननी देवी भनिसकेपछि आमालाई उनकै सन्तान मारेर खुसी तुल्याउन सकिएला त ? दसैं त आध्यात्मिक उन्नतिको चाहना राख्नेरूले भने सके निराहार रहेर नसके एकछाक मात्र खाएर साधनामा लाग्ने तथा अन्य सर्वसाधारणले कसैलाई दु:ख नदिई स्वस्थ मनोरञ्जन गरी मनाउनुपर्ने पर्व हो । काटमार एवं जीवहिंसा दसैंका कुनै पनि पक्षसित सम्बन्धित छैनन् ।
दसैंमा मान्यजनबाट लिइने आशीर्वादको कस्तो महत्व छ ?
निकै ठूलो महत्व छ । विशुद्ध भावले विश्वास र श्रद्धाका साथ मान्यजनबाट ग्रहण गरिने आशीर्वादले जीवनका जस्तोसुकै बाधा-व्यवधान पनि हटाइदिन्छ ।
दसैंमा हिजोआज देखापरेका सकारात्मक एवं नकारात्मक पक्ष केही छन् कि ?
केही वर्षयता मन्दिरहरूमा हुने काटमारमा कमी आएजस्तो देखेको छु जुन असाध्यै सकारात्मक कुरा हो तर देखासिकी बढ्नु एवं आशीर्वादमा पनि लेनदेनले प्रश्रय पाउनु अनि विशेष गरी नवधनाढ्य वर्गको प्रभावमा फजुल खर्च तथा आडम्बर वृद्धि हुनु नकारात्मक पक्ष हुन् ।
नेपालीहरूका दसैंका मौलिक कुरा के हुन् ?
टीका, जमरा र आशीर्वाद । निधारमा अक्षताको टीका लगाउने, नौ दिनसम्म पुजिएका पहेंला जमरा प्रसादस्वरूप लगाउने अनि मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने जस्ता कुरा हामी नेपालीहरूको मौलिक परम्परा हो । अझ नेपालमा गुरुङ, मगर आदि जनजातिले त रातो नभै सेतो अक्षताको टीका ग्रहण गर्छन् जुन हाम्रो मौलिक परम्परा हो ।
दसैं कसरी मनाउनुपर्छ ?
सात्विक रुपमा परम्परा एवं जातीय संस्कारअनुसार स्वधर्म नछाडी मनाउनुपर्छ ।
- दिपक दाहाल