Successfully Copied

लोक गायिकाहरूको दसैं-तीज

हिजोआज जेठको अन्तिम सातादेखि नै तीज गीत गाउने गायिकाहरू व्यस्त हुन्छन्। सीडीका लागि गीत रेकर्ड, म्युजिक भिडियोको सुटिङ तथा देश-विदेशमा

हिजोआज जेठको अन्तिम सातादेखि नै तीज गीत गाउने गायिकाहरू व्यस्त हुन्छन्। सीडीका लागि गीत रेकर्ड, म्युजिक भिडियोको सुटिङ तथा देश-विदेशमा हुने कार्यक्रमहरूमा तीज गीत गाउने गायिकाहरूको व्यस्तता हेर्न लायक हुन्छ। एक दशकअघिसम्म पनि लोक एवं तीज गीत गाउने गायिकाहरूलाई त्यति महत्व दिइँदैनथ्यो तर केही वर्षयता नाम र दामको हिसाबमा उनीहरू धेरै अघि बढिसकेका छन्। केही वर्षअघिसम्म कोमल वली मात्र तीज गीत गायिकाका रूपमा परिचित थिइन्। उनकै म्युजिक भिडियो, विदेश प्रोग्राम, नेपाली स्टेज शो आदि हुन्थे तर अहिले तीज गीत गाउने गायिकाहरू धेरै छन्, एल्बम निकाल्ने, स्टेज तताउने एवं विदेशमा कार्यक्रमहरू गर्न पुग्ने गायिकाहरू दर्जनौं हुनुले पनि महिलाहरूमा तीज गीतप्रतिको मोहलाई झल्काउँछ।

गायिका राधिका हमाल त्यस्ती गायिका हुन् जो तीजको समयमा आफ्नो एल्बमबाहेक ४ दर्जन गीत गाउन भ्याउँछिन्। हमालका अनुसार उनलाई यसपटक जेठको सुरुका दिनदेखि नै तीजको आभाष भैसकेको थियो। पोहोरभन्दा कम तीज गीत गाएकी राधिकाले यसपटक २४ वटा तीज गीत गाएकी छिन्। हमालले एउटा गीत रेकर्ड गराएवापत ७ देखि १० हजार पारिश्रमिक लिन्छिन्। यो तीजमा दुबई र जापान जान लागेकी हमाल पोखरा, पर्वत र नवलपरासीका तीज कार्यक्रममा पनि पुग्दैछिन्। राधिकाले विदेशमा गाउन जाँदा एउटा कार्यक्रमवापत एक लाखदेखि डेढ लाखसम्म लिने गरेको बताइन्। स्टेज शोमा नेपालका अरु गायिका भन्दा बढी पारिश्रमिक लिने हमालले भनिन्- नेपालमा एउटा कार्यक्रमवापत ४० हजार लिने गरेकी छु। गायिका हमालका अनुसार ४ महिनाको तीज दौडधूपले उनलाई वर्ष दिन खान पुग्छ।

अर्की लोक गायिका देविका केसी ८ वर्षदेखि तीज गीत गाइरहेकी छिन्। आफूलाई स्टेज गायिका भन्न रुचाउने देविकाले यसपटक दुई वटा एल्बम बजारमा ल्याएकी छिन्। जातीय शब्दका कारण एउटा एल्बमको टिभी प्रोमो नबजे पनि अर्को एल्बमले अहिले उनलाई चर्चा दिलाइरहेको छ।

केसीको 'बिहे नगरून्जेल छोरा, बिहे गरेपछि बूढीको पोइ' गीत अहिले धेरैको मुखमा झुन्डिएको छ। उनी यसपटक तीजको कार्यक्रम लिएर यूरोप टुरमा निस्कदै छिन्। यस क्रममा केसीले जर्मन, फ्रान्स, बेल्जियम, स्पेन, पोर्चुगल आदि देशमा हुने तीज कार्यक्रमलाई संगीतमय बनाउने छिन्। नेपाली भूमिमा हुने तीज कार्यक्रममा तीस हजारसम्म लिने देविका विदेशमा असी हजारदेखि डेढ लाखसम्म लिन्छन्।

विगत ७ वर्षदेखि तीजको समयमा निकै व्यस्त रहने गायिका हुन्- सुनीता दुलाल। लोकगायिकाहरूको चार्म एवं प्रशंसकहरूको ठूलो जमात सुनीता दुलालको फ्यान पेज लाइकबाट पनि अनुमान गर्न सकिन्छ। उनको फेसबुक लाइक झन्डै ५ लाख नाघिसकेको छ। त्यसैले उनको फेसबुक पेजलाई फेसबुकले भेरिफाइ गरिदिएको छ। तीज एल्बम तथा म्युजिक भिडियो तयार पारिसकेकी सुनीतालाई तीजका दुई महिना पटक्कै फुर्सद हुँदैन। यसपटकको तीजमा उनी दिल्ली, लन्डन, क्यानाडा तथा अमेरिका पुग्दैछिन्। एउटै समय जुधेकाले अस्ट्रेलिया र बेल्जियमको तीज कार्यक्रम छोड्नुपरेको दुलालले बताइन्। यतिबेला वर्षभरि पुग्ने कमाइ हुने कुरा सुनीता पनि स्वीकार गर्छिन्।

मिडिया पर्सनालिटीका रूपमा आफ्नो पहिचान बनाइरहेकी मञ्जु पौडेलले ५ वर्षअघिदेखि तीज गीत गाउन थालेकी हुन्। उनी ३ वर्षदेखि विदेशका कार्यक्रममा निरन्तर सहभागी हुँदै आएकी छिन्। यो वर्षको तीजमा उनी दुबई र जापान जाँदैंछिन्। तीजको दुई महिनाको दौडधूप र कार्यक्रमले एक जनालाई वर्ष दिनभरि मज्जाले पुग्छ। अहिले उनले वेस्ट अफ मञ्जु शीर्षकको भीसीडी पनि बजारमा ल्याएकी छिन्। विदेशका तीज कार्यक्रमहरूमा गायिकाहरूको बाक्लो सहभागितालाई मञ्जु सकारात्मक रूपमा लिन्छिन्।

लोकगायिका टीका पुनका लागि हरेक समय दसैंजस्तै छ तर पनि तीजको मौकामा उनको व्यस्तता अलि बढी नै हुन्छ। रेकर्डिङ, सुटिङ र स्टेज शोहरूका कारण उनी असार, साउन एवं भदौमा बढी व्यस्त हुन्छिन्। यसपटक १५ वटा तीज गीत गाएकी टीकाले हाम्रो बाबाले दिएको दाइजो शीर्षकको तीज एल्बम बजारमा ल्याएकी छिन्। एउटा गीत गाउन ७ हजार लिने पुन यसपटक तीज कार्यक्रम लिएर जापान र दिल्ली पुग्दैछिन्।

अर्की गायिका रमिला न्यौपानेलाई आफू तीज गीतबाटै चिनिएकाले तीज उनलाई दसैंभन्दा ठूलो लाग्छ। एक त धेरै व्यस्त हुने, पैसा र नाम पनि कमाइने हुँदा रमिला तीजको पर्खाइमा हुन्छिन्। रमिला एल्बमबाट भन्दा स्वदेश तथा विदेशका कार्यक्रमबाट बढी आम्दानी हुने कुरा बताउँछिन्। रमिला स्वदेशमा २० देखि २५ हजारसम्म पारिश्रमिक लिन्छिन्।

तीज क्विन कोमल वलीको भनाइ भने अरू गायिकाहरूको भन्दा भिन्न छ। हल्ला भो शिवजी, तिम्रो मेरो पिरिमको तीज गीत बजारमा ल्याएकी वली यसपटक तीजकै दिन जापान जाँदैंछिन्। काठमाडौं, दाङ तथा वीरगञ्जका तीज कार्यक्रममा सहभागी हुने तयारीमा रहेकी वलीले तीजमा कमाइभन्दा खर्च बढी हुने बताइन्। गीत रेकर्ड, म्युजिक भिडियो, ड्रेस, प्रोमो आदिमा २-३ लाख खर्च हुने उनको तर्क छ। उनले विदेशमा एक देखि डेढ लाखसम्म लिने गरेको बताइन् भने स्वदेशमा कति ठाउँमा च्यारिटी त कति ठाउँमा जति दिएको त्यति स्वीकार गर्ने जानकारी दिइन्।

मुना थापा मगर मार्मिक गीत बढी गाउँछिन्। यद्यपि उनले गाएका रमाइला, ठट्याउला गीत पनि त्यत्तिकै लोकप्रिय छन्। अहिले लोकदोहोरीमा उनको उपस्थिति निकै माथि पुगिसकेको छ। सुनीता सँगै उनको फेसबुक फ्यान पेजलाई पनि फेसबुकले भेरिफाइ गरेको छ। देश-विदेशका कार्यक्रममा पुगिरहने मुना विदेशमा एउटा शोको एक लाखभन्दा बढी पारिश्रमिक लिन्छिन्। तीजमा लोकदोहोरी गायिकाहरूको माग विदेशमा बढी हुने कारणले अहिले अरू गायिकाहरूभन्दा हरेक हिसाबमा लोकगायिकाहरू अघि रहेको थापा मगरको दाबी छ। उनका अनुसार विगत ६-७ वर्षयता लोकगीत त्यसमा पनि तीज गीत गाउनेहरूका लागि तीज एक किसिमले दसैं नै सावित हुँदै आएको छ।

यी सबै गायिकाको कुरा सुनेपछि लाकेगायिकाहरूका लागि तीज र्ऊवर समय नै भएको कुरा छर्लङ्ग हुन्छ। अहिले तीज गीत गाउने सबै लोकगायिकालाई भ्याइनभ्याइ छ। किनभने जतिसक्दो छिटो एल्बम सकेर विदेशमा रहेका नेपालीहरूले आयोजना गर्ने तीज कार्यक्रममा जान सबैलाई हतार छ। यसबाट पनि समाज जति आधुनिकतातर्फ ढल्कँदै गए पनि आफ्नो परम्परागत संस्कृतिप्रति नेपालीहरूको मोह उत्तिकै रहेको कुरा पुष्टि हुन्छ।

 

 Image