भर्खरै बितेको साउनमा शिवजीको जयजयकार गुञ्जियो जुन आवाज सेलाउन नपाउँदै फेरि तीजको अवसरमा महादेवको पूजा-आराधना सुरु हुँदैछ। देवाधिदेव महादेवका नामले चिनिने भगवान् शंकरलाई आशुतोष, शिवजी, भोलेनाथ, भूतेश्वर, महाकाल, सोमेश्वर, महेश आदि नामले चिनिन्छ। सबैभन्दा पहिले शिवजीलाई नाम दिने ब्रह्मा हुन् भन्ने मान्यता छ। त्यतिबेला उनले शिवलाई रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान एवं महादेव गरी ८ नामले सम्बोधन गरेका थिए।
शिव त्यत्तिकै देवाधिदेव भएका होइनन्, हाम्रा वेदपुराणहरूमा शिवलाई कल्याणणकारी ईश्वरको स्थान दिइएको छ। आइन्स्टाइनभन्दा अघि शिवले नै भनेका थिए कि कल्पना ज्ञानभन्दा बढी महत्वपूर्ण कुरा हो। हामी जस्तो कल्पना र विचार गर्छौं आफू पनि हुन्छौं। शिवले यही आधारमा ध्यानका थुप्रै विधि विकास गरेका थिए। यो धर्तीमा सर्वप्रथम शिवले नै जीवनको प्रचारप्रसार गरेका हुनाले उनलाई आदिदेव, आदिनाथ वा आदीश पनि भनिन्छ।
शिवको प्रमुख अस्त्र त्रिशूल हो जसले आध्यात्मिक, आधिदैविक एवं आधिभौतिकजस्ता तीन प्रकारका दुखको विनाश गर्छ। यसमा सत्व, रज र तम वा इलेक्ट्रो, प्रोटोन र न्यूट्रनजस्ता तीन शक्ति भएको विश्वास गरिन्छ। शिवलाई आदिगुरु एवं योगका प्रवर्तक मानिन्छ। शिवका प्रमुख शिक्षा सूत्रात्मक रूपमा विज्ञान भैरव तन्त्र नामक ग्रन्थमा पाइन्छ जुन ग्रन्थको सूत्र शिवद्वारा पार्वतीलाई प्रदान गरिएको शिक्षाको संकलन हो। यसबाहेक उनको शिव संहिता नामक महत्वपूर्ण ग्रन्थ पनि छ भने तन्त्रका अनेकौं ग्रन्थमा उनको शिक्षा विस्तार भएको छ। यस्ता शिवलाई ज्योतिर्लिङ्गका रूपमा पूजा गर्नु कुनै नौलो कुरा होइन। नेपाललाई शक्तिभूमि भनिन्छ र नेपालका हरेक शक्तिपीठमा शक्तिसँगै शिवको पनि पूजा हुन्छ। शक्ति सदैव शिवसँगै रहने भएकाले शिवपूजाबिना शक्तिपूजा पूर्ण हुँदैन। त्यसैले नेपालमा असंख्य शिवमन्दिर छन्। ती हरेकका आ-आफ्नै विशेषता छन् र हरेकसित छुट्टाछुट्टै रोचक किंवदन्तीहरू पनि गाँसिएका छन्। तीजको पावन अवसरमा नेपालका केही शिवमन्दिरको जानकारी :
पशुपतिनाथ मन्दिर
पशुपतिनाथ नेपालका राष्ट्रदेव एवं आराध्यदेवका रूपमा चिनिन्छन्। पशुपतिनाथ नेपाल मात्र नभै विश्वभरका हिन्दूहरूबाट उत्तिकै श्रद्धा एवं आस्थाका साथ पुजिने महादेव हुन्। तीजका अवसरमा यहाँ महिलाहरूको ठूलो भीड लाग्छ। यहाँ बर्सेनि विश्वभरका लाखौं श्रद्धालु आउँछन्। पशुपतिनाथ मन्दिर क्षेत्र युनेस्कोको विश्वसम्पदा सूचीमा पनि सूचीकृत छ। साउने सोमबार, बाला चतुर्दशी, शिवरात्रि, तीजजस्ता पर्वमा श्रद्धालुहरू ओइरने यो मन्दिरमा हरेक सोमबार भक्तजनको घुइँचो हुन्छ। काठमाडौंको चाबहिल-गौशालाबाट नजिक बाग्मती नदी किनारमा अवस्थित यो मन्दिर पुग्ने अनेकौं मार्ग छन्। यो मन्दिरसँग अनेकौं किंवदन्ती पनि जोडिएका छन्। यहाँको पञ्चमुखी शिवलिङ्ग विश्वमै दुर्लभ मानिन्छ। द्वादश ज्योतिर्लिङ्गमध्ये एक यो मन्दिर भारतका प्रसिद्ध मन्दिर सोमनाथ एवं विश्वनाथजत्तिकै विश्वचर्चित छ। दक्षिण भारतीय भट्टहरू मूलपुजारीका रूपमा रहने यो मन्दिरमा दैनिक शास्त्रोक्त विधिले पूजा एवं रुद्राभिषेक हुन्छ। पशुपतिनाथको महिमा प्रत्येक हिन्दूले जीवनमा एकपटक दर्शन गर्नैपर्ने मन्दिरका रूपमा स्थापित छ।
डोलेश्वर महादेव मन्दिर
यो महादेव मन्दिरलाई भारतको प्रसिद्ध मन्दिर केदारनाथको शिर मानिन्छ। महाभारतको कथासँग जोडिएको किंवदन्तीलाई आधार मान्दा करिब चार हजार वर्षअघिदेखि हिन्दूहरूले केदारनाथको शिर कहाँ हो भनेर खोजी गरिरहको थिए। एक वर्षअघि मात्र केदारनाथको शिर भक्तपुरको सिपाडोल गाविसस्थित डोलेश्वर महादेव भएको कुरा विभिन्न प्रमाणका आधारमा पुष्टि भयो। त्यो कुरा पुष्टि नहुँदा पनि प्रसिद्ध नै रहेको उक्त मन्दिरले त्यसपछि अन्तर्राष्ट्रिय स्तरमै विशेष चर्चा पायो।
गोकर्णेश्वर महादेव मन्दिर
गोकर्णेश्वर महादेवको मन्दिर काठमाडौंको बौद्धनाथबाट ४ किलोमिटर पर सुन्दरीजल जाने बाटोमा बाग्मती नदीको किनारमा छ। पगोडा शैलीमा निर्मित यो मन्दिर निकै प्राचीन एवं प्रसिद्ध मन्दिर हो। स्वस्थानी व्रतकथामा समेत वणिर्त गोकर्णेश्वर महादेव नेपालमा निकै प्रसिद्ध छ। हरेक दिनजसो भक्तजन खाली नहुने यो मन्दिरमा विशेष अवसरहरूमा दर्शनार्थीको भीड हुन्छ। यो मन्दिरसँगैको विष्णुपादुकामा गोकर्णे औंसीका दिन श्राद्ध गर्नेहरूको ओइरो लाग्छ।
कुम्भेश्वर महादेव मन्दिर
पाटनस्थित कुम्भेश्वर मन्दिर उपत्यकाको प्राचीन एवं प्रसिद्ध मन्दिर हो। जनैपूणिर्माका दिन यहाँ गोसाइँकुण्डको पानी आउने जनविश्वास छ। यसबाहेक काठमाडौं उपत्यकामा सन्तानेश्वर महादेव, कोटेश्वर महादेव, वरुणेश्वर महादेव, किराँतेश्वर महादेव, दत्तात्रेय महादेव, यक्षेश्वर महादेव, ज्ञानेश्वर महादेव आदि अनेकौं प्रसिद्ध महादेव मन्दिर छन् जहाँ तीज, शिवरात्रि, बालाचतुर्दशी, जनैपूणिर्मा आदि पर्वहरूमा भक्तजनको अपार भीड लाग्छ।
कैलाशनाथ महादेव मन्दिर
काठमाडौं उपत्यकाको भक्तपुर जिल्ला तथा काभ्रे जिल्लाको सीमा साँगास्थित कैलाशनाथ महादेवको मूर्ति विश्वकै अग्लो शिवमूर्ति हो जुन १ सय ४३ फिट अग्लो छ। काठमाडौंबाट २० किलोमिटर पूर्वमा पर्ने यो मूर्तिको निर्माण कार्य सन् २००४ मा सुरु भएर २०११ मा सम्पन्न भएको हो। तामा, सिमेन्ट, जिंक एवं स्टिलद्वारा निर्मित उक्त मूर्ति व्यापारी कमल जैनले बनाएका हुन्। यो मन्दिर क्षेत्रमा प्रवेश गर्न शुल्क तिर्नुपर्छ।
उपत्यकाबाहिर
हलेसी महादेव, खोटाङ
नेपालका प्राचीन एवं पवित्र तीर्थस्थलमध्ये हलेसी महादेव पनि एक हो जसलाई पूर्वको पशुपतिका रूपमा चिनिन्छ। यो मन्दिर खोटाङ जिल्लामा दूधकोशी र सुनकोशी नदीको बीचमा पर्छ। पहाडी भेगमा पर्ने यो मन्दिर प्राकृतिक गुफाभित्र छ। यो मन्दिर करिव ६ हजार वर्ष पुरानो भएको विश्वास गरिन्छ। हलेसी महादेवप्रति हिन्दू एवं बौद्ध धर्मावलम्बीहरूको उत्तिकै विश्वास रहेको पाइन्छ। यो स्थान प्राकृतिक रहस्यले भरिपूर्ण छ। यहाँ तीनवटा रहस्यमय गुफा छन् जसलाई शिवका तीन नेत्र मानिन्छ। यहाँ सर्वप्रथम सत्ययुगमा भगवान् विष्णुले तथा द्वापर युगमा बलराम आएर शिवजीको आराधना गरेको जनविश्वास छ। सदैव भक्तजनको घुइँचो रहने यो मन्दिरमा विशेष गरी तीज, बालाचतुर्दशी, शिवरात्रि एवं रामनवमीमा ठूलो भीड लाग्छ। हलेसी महादेव प्राकृतिक सौन्दर्य रसपान गर्दै पुण्य प्राप्तिको कामना गर्नेहरूका लागि अद्वितीय स्थान हो।
हलेसी महादेव नेपालको पूर्वी जिल्ला खोटाङमा पर्छ। त्यहाँ पुग्न काठमाडौंदेखि लामिडाँडासम्म हवाईजहाजमा जान सकिन्छ तर हवाई सेवा हप्तामा ३ दिन मात्र छ। लामिडाँडाबाट करिब ६ घन्टाको पैदल यात्रामा महादेवस्थान पुग्न सकिन्छ। त्यस्तै काठमाडौंबाट कटारी हुँदै घुर्मीसम्म बस वा अन्य निजी बाहनमा जान सकिन्छ। घुर्मीबाट भने पैदल यात्रा गरी हलेसी पुग्न सकिन्छ।
जलेश्वर महादेव, महोत्तरी
महोत्तरी जिल्लाको जलेश्वरस्थित जलेश्वर महादेवकै नामबाट यो स्थानको नाम जलेश्वर रहन गएको हो। जलभित्र रहेका यी महादेवको दर्शन गर्नाले हरेक मनोकांक्षा पूरा हुने जनविश्वास छ। महादेवको पूजा हुने शिवरात्रि, तीज, साउने सोमबारजस्ता विशेष दिनहरूमा यहाँ भक्तजनको ठूलो भीड हुन्छ। चर्चित स्थान भएकाले त्यहाँसम्म पुग्न निकै सजिलो छ।
गोसाइँकुण्ड महादेव, रसुवा
रसुवा जिल्लामा लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने गोसाइँकुण्डलाई पवित्र स्थान मानिन्छ। हिन्दू, बौद्ध एवं बोन्पो धर्मका मानिसहरूका लागि उत्तिकै पूजनीय यो स्थलमा ढूलो तलाउभित्र नीलकण्ठ महादेवको निवास भएको जनविश्वास छ। यहाँका महादेवसँग पौराणिक कालको समुद्र मन्थनको प्रसङ्ग जोडिएको छ। त्यस्तै अर्को प्रसङ्गअनुसार गोसाइँकुण्डको उत्पत्ति सतीदेवीको मृत्युसँग पनि जोडिएको छ। समुद्री सतहभन्दा चार हजार तीन सय पचास मिटर उचाइमा अवस्थित यो स्थानमा सबै समय जान सकिँदैन। यो स्थानमा विशेष गरी जनैपूणिर्मा एवं दशैंमा विशेष मेला लाग्छ। गोसाइँकुण्ड त्रिशूली नदीको उद्गमस्थल हो। शिवले त्रिशूल गाड्दा निस्किएको पानी भएकै कारण उक्त नदीको नाम त्रिशूली राखिएको हो। त्यहाँसम्म पुग्ने अनेकौं बाटा भए पनि काठमाडौंबाट रसुवाको सदरमुकाम धुन्चेसम्म सार्वजनिक वा निजी यातायातमा गएर त्यहाँबाट एक दिनको पैदल यात्रापश्चात गोसाइँकुण्ड पुग्न सकिन्छ।
दुप्चेश्वर महादेव, नुवाकोट
दुप्चेश्वर महादेव नुवाकोट जिल्लाको सदरमुकाम विदुरबाट पूर्वतिर करिब २५ किलोमिटरको दूरीमा राउतवेसी गाविसमा अवस्थित छ। भक्तजनको जुनसुकै शुभ मनोकांक्षा पूरा गरिदिने महादेवका रूपमा परिचित दुप्चेश्वर महादेवस्थानमा धान्यपूणिर्मा, तीज, शिवरात्रि, बालाचतुर्दशीजस्ता पर्वहरूमा निकै ठूलो भीड लाग्छ। तादी नामले चिनिने सूर्यमती नदीको किनारमा प्राकृतिक रूपमा निर्मित यो महादेव मन्दिर पहराको बीचमा पर्छ। यो मन्दिरसित अनेकौं किंवदन्ती एवं प्रसङ्ग जोडिन्छ। काठमाडौंबाट त्रिशूली हुँदै वा अझ छोटो हुने छहरे टोखाको बाटोबाट निजी सवारी साधनमा जाने हो भने एकै दिनमा त्यहाँ पुगेर दर्शन गरी काठमाडौं बास बस्न आइपुगिन्छ।
कुशेश्वर महादेव, दुम्जा
कुशेश्वर महादेव सिन्धुली जिल्लास्थित निकै प्रसिद्ध मन्दिर हो। केही पौराणिक ग्रन्थहरूमा ब्रह्माले यहीँबाट संसार सृष्टि गरेको कुरा उल्लेख छ। महादेव मन्दिरनजिकै विश्वामित्र गुफा छ जहाँ प्राचीन समयमा विश्वामित्र ऋषिले तपस्या गरेका थिए। त्यसबाट डराएर इन्द्रले उनको तपस्या भङ्ग गर्न मेनकालाई पठाएका थिए। सुनकोशी नदीको नजिकै पर्ने यो महादेव मन्दिरमा बार्है महिना भक्तजनको घुइँचो लाग्छ। शिवको विशेष पूजा गरिने तीज आदि पर्वहरूमा त यहाँ पाइला राख्ने ठाउँ पनि हुँदैन। बनेपा-बर्दिबास सडकको नजिकै पर्ने यो महादेव मन्दिर काठमाडौंबाट ८४ किलोमिटर दक्षिणपूर्वमा छ।
वक्रकुण्ड महादेव, धनकुटा
धनकुटाको हिले बजारस्थित उत्तरपानी प्रस्थान गर्ने खेलमैदान नजिकै झ्यालढुंगामा अवस्थित वक्रकुण्ड पञ्चेश्वर महादेवको महत्व धार्मिक एवं पर्यटकीय दृष्टिकोणले उच्च छ। उक्त स्थानमा रहेका ढुंगाहरूमा गाईका दाँत, गाईका खुट्टाको छाप, सर्पको आकार, विष्णु भगवान्लगायत एक सयभन्दा बढी आकृति भेट्न सकिन्छ। ढुंगामा भएका आकृतिका आधारमा विभिन्न प्रकारका देवी-देवताहरू एवं धार्मिक क्षेत्रको
नामकरण गरिएको मन्दिर परिसर छिर्ने क्रममा देख्न सकिन्छ। २०६७ श्रावण २९ गते नागपञ्चमीका दिन विधिवत् रूपमा वक्रकुण्ड महादेवस्थान भनेर घोषणा गरिएको यो स्थल धार्मिक गन्तव्यका रूपमा विकसित हुँदैछ। पवित्र तीर्थस्थल छिन्ताङ पनि यही बाटो भएर गइन्छ। यसबाहेक नेपालमा थुप्रै प्रसिद्ध महादेव मन्दिर छन्। हरेक गाउँ, जिल्ला एवं भेकमा महादेवस्थान देखिन्छन्। ती सबैसित एक न एक किंवदन्ती जोडिएका छन् र सबैमा भक्तजनको उत्तिकै घुइँचो रहन्छ।