कुमुद भट्ट छत्कुली, प्रिन्सिपल, हाइड एण्ड सिक स्कुल
डा. चन्डिका प्रसाद भट्ट, प्रबन्ध निर्देशक , नेपाल आयल निगम
आमाहरूले तीज मनाएको देख्दा कुमुदलाई निकै रमाइलो लाग्थ्यो। उनी आमाहरू बिहानै उठेर सोर्ह शृंगार गरी रमाइलो गरेको देख्दा खुबै खुसी हुन्थिन्। हुन त उनलाई आमाले तीजमा राता नाना तथा हातभरि चुरा लगाइदिन्थिन्। जब तीजको इतिहास थाहा भयो उनको तीजप्रतिको श्रद्धा पनि उच्च हुँदै गयो। विवाहअघि कहिल्यै व्रत नबसेकी कुमुद किनमेल गर्न भनेपछि निकै हौसिन्थिन्। उनले विवाहपछि यसरी तीज मनाउँछु भनेर एक प्रकारको योजना नै बनाएकी थिइन्। चन्डिका भट्टसँग वैवाहिक जीवनमा बाँधिएपछि उनको तीज मनाउने क्रम सुरु भएको हो। उदार स्वभावका चन्डिकाले पनि आफ्नी आमाले तीज मनाएको तथा दिदी बहिनीहरू माइती आएर रमाइलो गरेको देखेका थिए। उनी यसलाई नेपालीहरूको राम्रो संस्कारका रूपमा लिन्छन्। यसलाई राम्रो चाड मान्ने चन्डिका श्रीमती सकेसम्म भोकै नबसून् भन्छन्। दिनभरि निराहार व्रत बस्दा स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्नसक्ने उनी बताउँछन् तर पनि श्रीमती सोर्ह श्रृंगार गरी आफ्नो माइती जाने र रमाइलो गर्ने पक्ष उनलाई निकै मन पर्छ। कुमुद भने हरेक तीजमा व्रत बस्छिन्। उनी तीजमा किनमेल गरी आफ्ना गरगहना लगाएर बिहानैदेखि तयार हुन्छिन्। कुमुद भन्छिन्, 'यो हामी महिला दिदीबहिनीकै चाड हो। त्यसैले म यसलाई दिल खोलेर मनाउँछु। श्रीमान्हरूको आफ्नो राय हो व्रत नबस भन्नु तर निर्णय त हाम्रो हो। तीजमा व्रत बस्दा मलाई एक प्रकारको सन्तुष्टि मिल्छ। केही समय विदेश बस्दा खुलेर तीज मनाउन सकिन तर नेपालमा मनाउँछु। मलाई श्रीमान्का लागि भन्दा पनि व्रत बस्नु संस्कारको निरन्तरता हो जस्तो लाग्छ।' हाइड एण्ड सिक स्कुलकी प्रिन्सिपल कुमुद तीजका बेला आफ्नो स्कुलमा पनि कार्यक्रम राख्छिन्। चन्डिका पनि तीजका विषयमा सकारात्मक छन् तर व्यस्त जीवनमा एक महिनाअघिदेखि तीज मनाउँदा समय खेर जाने बताउँदै यसलाई हामीले राम्रो संस्कारका रूपमा लिनुपर्छ भन्छन्। चन्डिकाका अनुसार 'तीजमा श्रीमतीले रातो साडी लगाऊन् भन्ने मेरो चाहना हुन्छ। मलाईर् हरेक तीजमा कुमुदलाई देख्दा विवाहको दिन सम्झना आउँछ।' कुमुदको व्रत चन्डिकाले पानी ख्वाएर भंग गर्छन् अनि रातो फूल दिएर ह्याप्पी तीज भन्छन्। कुमुद पनि यो अगाध मायाप्रति नतमस्तक हुन्छिन्।
तीजको राम्रो पक्ष चन्डिकाको नजरमा
तीज महिलाहरूको एकल चाड हो। यसले महिलाहरूलाईर् एक सूत्रमा बाँध्ने काम गरेको छ।
टाढा-टाढाबाट दिदीबहिनीहरू जम्मा भएर तीज मनाउँदाको क्षण निकै रमाइलो हुन्छ।
दिदीबहिनीहरू तीजमा मनको बह साटासाट गर्छन्। तीजलाईर् खुसी साटासाट गर्ने चाडका रूपमा मनाएर महिला सशक्तीकरणको माध्यम बनाउनुपर्छ।
उपहार
आफूलाईर् जीवनभर उपहार नै उपहार दिने मेरी जीवन संगीनीलाईर् म कदरस्वरूप फूल दिन्छु। उनलाईर् पनि अरू उपहार भन्दा फूल नै राम्रो लाग्छ। यसैका माध्यमबाट म आफ्ना अनगिन्ती भाव व्यक्त गर्छु।
झरना नहर्की
कल्पना खड्का, संस्थापक प्रिन्सिपल, विद्या विकास बोर्डिङ हाइस्कुल
कर्नेल मीनध्वज खड्का
कल्पनालाई तीज निकै मनपर्छ। शिवजीलाई मन पराउने कल्पना हिजोआज भक्तपुरका डोलेश्वर महादेवप्रति निकै श्रद्धा बढेको बताउँछिन्। जीवनसाथी तथा छोराछोरीको दीर्घायुका लागि बसिने व्रत भएकाले उनलाई तीज विशेष मन परेको हो। श्रीमान् मीनध्वजलाई भने आफ्नो शरीरको ख्याल नगरी भोकै व्रत बसेको पटक्कै मन पर्दैन। पहिले आमा छँदै निराहार व्रत बस्दा श्रीमान्ले केही नभने पनि अहिले मेरा लागि भोकै व्रत नबस भनेपछि उनी जुस तथा पानी पिएर व्रत लिन्छिन्। मीनध्वजलाई लामो पूजापाठ गरेको पनि मन पर्दैन। खड्का भन्छन्-निराहार मेरो पूजा गर भनेर कुनै शास्त्रमा उल्लेख गरिएको छैन। सफा मनले पूजा गरे पुग्छ।
कल्पना स्कुलका सबै महिला अभिभावकलाई बोलाएर तीज कार्यक्रम गर्छिन् भने स्कुलका महिला सहकर्मीहरूका लागि पनि छुट्टै तीज कार्यक्रम आयोजित हुन्छ। अहिले तडक-भडकपूर्वक मनाइने तीज खड्का दम्पतीलाई मन पर्दैन। पहिले चेलीहरू माइती जाने, दर खाने, ख्वाउने तथा आपसमा भेटघाट गरेर सुख-दु:ख साटासाट गर्थे तर अहिले त्यसमा धैरै परिवर्तन आइसकेको छ। अहिले तीजको मर्म नै मेटिन लागेको बताउँदै कल्पना भन्छिन्, 'अहिले तीज नसक्नेहरूका लागि दसाजस्तै भएको छ।'
श्रीमान् सेनामा भएकाले सबै तीजमा उनीहरू सँगै हुँदैनन् तर नेपालका कुनै जिल्लामा हुँदा कल्पना आफै त्यहाँ पुगेर व्रत बस्छिन्। यसपटक पनि श्रीमान्को बिदा मिलेन भने कल्पना आफै नेपालगञ्ज पुगेर व्रत लिने सोचमा छिन्। खड्काका अनुसार यस्ता चाडलाई विकृतिबाट बचाएर निरन्तरता दिँदै अघि बढाउनुपर्छ। उनलाई श्रीमान्ले हरेक तीजमा थप पैसा दिने गरेका छन्। उनी असल श्रीमान् पाएकोमा भगवान् शिवप्रति कृतज्ञ छिन्। कल्पनाले श्रीमान् काठमाडौंमा हुँदा उनी सँगै इन्द्रचोकमा गएर साडी किन्ने गरेको बताइन्। कतिपय तीजमा श्रीमान्ले नै साडी तथा गहनासमेत उपहार ल्याइदिएको रमाइलो अनुभव उनीसित छ। ५ जना आमाजू, स्कुलका मिसहरू तथा जेसिजका साथीहरूलाई दर ख्वाउने कल्पनाले तीजलाई महिलाहरूको उत्सवकै रूपमा लिने गरेकी छिन्।
सिर्जना दुवाल श्रेष्ठ
अर्चना शर्मा, सिइओ, सेन्टर फर साइकोलोजिकल हेल्थ एण्ड इमोसनल वेलबिइङ
सुवास चन्द्र शर्मा, असिस्टेन्ट प्रोफेसर, काठमाडौं मेडिकल कलेज
सानैदेखि तीजको महत्वका सम्बन्धमा जानकार अर्चना शर्माले विवाहपछि मात्र नियमित रूपमा तीजको व्रत बस्न थालेकी हुन्। काठमाडौं मेडिकल कलेज सिनामंगलका असिस्टेन्ट प्रोफेसर सुवासचन्द्र शर्मासँग विवाह भएपछिको पहिलो वर्षको तीज उनले घरमै मनाइन्। साधारणतया महिलाहरू श्रीमान्को दीर्घायुका लागि तीजको व्रत बस्छन्। यसो गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्ने शर्मा बताउँछन्। शर्माका अनुसार तीजमा एक दिन मात्र व्रत बसेर श्रीमान्को आयु लामो हँुदैन। त्यसैले हरेक तीजमा श्रीमतीका लागि शर्मा आफैंले फलफूल काटेर दिने गरेका छन्। अर्चना पनि श्रीमान्ले व्रत तोडाउनु अगावै मन्दिर गएर बत्ती बाल्छिन्। तीजका दिन शर्मा श्रीमतीलाई आफैं मन्दिर पुर्याइदिन्छन्।
तीजमा श्रीमती नहुँदा खल्लो हुने भएकाले सुवास श्रीमतीलाई माइत नजान आग्रह गर्छन्। श्रीमान्को आग्रह स्वीकार गर्दै अर्चना पनि पञ्चमीका दिन मात्र माइत जान्छिन्। घरमा श्रीमान् र आफ्ना सन्तानलाई भोकै राखी बिचल्ली पारेर माइत तथा मन्दिर जान आफ्नो मनले नमान्ने अर्चनाले बताइन् ।
महिलाहरूको महान् चाड तीजमा शर्माले अर्चनाका लागि उपहार किनिदिने गरेका छन्। कहिले साडी, कहिले कुर्ता-सलवार त, कहिले पैसा उनका उपहार हुन्छन्। अर्चना पनि तीजको उपहारस्वरूप चुरा-पोते एवं टीका साथीहरूलाई बाँड्छिन्।
हिजोआज सबै व्यस्त हुने भएकाले एक महिनाअघिदेखि नै जसलाई जहिले मिल्छ त्यसै दिन तीजको दर खाने चलन हावी भएको छ। पार्टी प्यालेसमा दर खाने चलन पनि बढ्दो छ। चाडपर्व मनाउनु, संस्कृति जोगाउनु वा त्यसलाई निरन्तरता दिनु राम्रो भए पनि चाडपर्वलाई भड्किलो बनाउनु भने गलत भएको अर्चनाले बताइन्। दर खाने दिनको महत्व त्यही दिन मात्र हुने उनको तर्क छ। उनी दर खाने दिन माइती जान्छिन्। तीजको दिन घरै बसे पनि पञ्चमीका दिन भने फेरि माइती पुग्छिन्। अर्चना भन्छिन्-तीजको व्रत बस्नु संस्कृतिलाई निरन्तरता दिनु हो तर पनि संस्कृतिको नाममा भोकभोकै बसेर स्वास्थ्यलाई हानि हुने काम गर्नु हुँदैन।'
सकारात्मक पक्ष : पहिलेदेखि चलिआएको संस्कृति जोगाउनुपर्छ। हर्षोल्लास तथा खुसी साथ मनाइने यो चाड मलाई असाध्यै मन पर्छ। यो दिन महिलाहरू राता, पहेंला एवं रंगीबिरंगी हुने हुँदा वातावरण नै रमणीय हुन्छ।
नकारात्मक पक्ष : महिनौं दिनअघिदेखि नै तडक-भडक देखाउँदै तीज मनाउनु राम्रो होइन। पानी पनि नपिई भोकै बस्दा आफ्नै स्वास्थ्यलाई हानि पुग्छ।
उपासना पाण्डे
ब्लेसी ढकाल, अध्यक्ष विश्व शान्ति महिला संघ, नेपाल शाखा
एकनाथ ढकाल, सभासद तथा पूर्व मन्त्री
नेपाल परिवार दलका संस्थापक, पूर्व सहकारी तथा गरिबी निवारण मन्त्री तथा पहिलो र हालको संविधान सभाका सभासद् एकनाथ ढकाल परिवारलाई त्यति समय दिन भ्याउँदैनन् तर उनकी श्रीमती ब्लेसी ढकाल भने परिवार एवं छोराछोरीका लागि श्रीमान्को समय चाहन्छिन्। चाडपर्व आउन थालेपछि ब्लेसीलाई खुसी लाग्छ। किनभने यही अवसर पारेर उनका श्रीमान् छोराछोरी र उनका लागि समय व्यवस्थापन गर्न सक्छन्।
सन् १९९८ मा चिनजान भएका उनीहरूबीच दुई वर्षको प्रेम सम्बन्धपछि सन् २००० मा गोर्खाको भोर्लाङमा विवाह भयो। एकनाथ भन्छन्, 'अन्तरसांस्कृतिक अन्तर्राष्ट्रिय विवाह हो हाम्रो।' ब्लेसी क्याथोलिक हुन् भने एकनाथ हिन्दू। उनीहरू भन्छन्, 'हामीले पहिले फिलिपिन्समा विवाह गर्यौं त्यसपछि नेपालमा। यद्यपि हामीले यो विवाहलाई एउटा केटा र केटीको मिलन मात्र होइन एउटा अभियानका रूपमा लिएका छौं। बुझाइको कमीका कारण द्वन्द्व हुने हो हामीले त्यसबाट सिक्दै विश्वशान्तिको सन्देश दिने र नयाँ संस्कारको विकास गर्ने मिसनलाई आफ्नो जीवनको लक्ष्य बनाएका छौं।'
ब्लेसी १४ वर्षदेखि नेपालमै बसिरहेकीले उनी हरेक चाडपर्व उत्सुकताका साथ मनाउँछिन्। हरेक तीजमा उनी आफ्नै ढंगले व्रत बस्छिन्। यसबाट उनलाई श्रीमान् र छोराछोरीको भविष्य राम्रो हुन्छ भन्ने लाग्छ किनभने उनले यसलाई सदियौंदेखि चलिआएको नेपाली परम्पराका रूपमा बुझेकी छिन्। विश्वशान्ति महिला संघ नेपाल शाखाकी अध्यक्ष तथा नेप्लिज फिलिपिनो एसोसियसनकी अध्यक्ष ब्लेसीले तीजमा सामाजिक सेवाका विभिन्न काम पनि गर्दै आएकी छिन्। यही अवसरमा उनी श्रीमान्सँग गोरखकाली, मनकाना, पशुपति आदि मन्दिरको दर्शन गर्न भ्याउँछिन्।
एकनाथ हरेक तीजमा श्रीमतीलाई रातो साडी किनिदिन्छन्। ब्लेसी आफ्ना श्रीमान्को सुस्वास्थ्य, प्रगति एवं सफलताको कामना गर्छिन् र उत्सवलाई अझ रमणीय बनाउने वातावरण तयार गर्छिन्। उनी आफ्ना श्रीमान् उच्च ओहोदामा पुगेको देख्न चाहन्छिन् भने श्रीमान् एकनाथ आफ्नी श्रीमती असल श्रीमती, असल आमा र असल सामाजिक कार्यकर्ता बनिदिए हुन्थ्यो भन्न्ो चाहन्छन्।
एकनाथ भन्छन्, 'कुनै पनि संस्कृति बिनाकारण हुँदैन। हिन्दू धर्म विश्वकै सबैभन्दा पुरानो धर्म हो। हाम्रो धर्मले तीजलाई हाम्रो पुरानो संस्कृति भनेर चिनाएको छ । हुन त तीजलाई विकृति भन्नेहरू पनि नभएका होइनन्। मेरो विचारमा यसमा दुवैतर्फको फाइदा छ। तीजमा नारीले स्वतन्त्रताको अनुभूति गर्न पाउँछन्। यही अवसरमा पारिवारिक भेटघाट एवं खुसी व्यक्त गर्ने वातावरण तयार हुन्छ।'
एकनाथका अनुसार संस्कृति राष्ट्रकै गहना हो। तीजको मौलिकता नगुमाई यसलाई आधुनिकीकरण गर्दै लानुपर्छ भन्ने मान्यताका साथ एकनाथले तीजमा सामाजिक कार्यक्रमहरू आयोजना गर्ने गरेका छन्। हरेक राजनीतिक दलले घरभित्रै बसिरहने महिलाहरू बाहिर निस्किएको अवसरमा उनीहरूका लागि उपयोगी हुने काम गर्नुपर्छ भन्ने लाग्छ उनलाई। सांस्कृतिक कुरामा राज्यले बन्देज वा रोक लगाउन नमिल्ने ढकालको भनाइ छ। उनका अनुसार हिजो चाडपर्व पनि संभ्रान्तहरूका लागि मात्र आउँथ्यो तर आज नक्कली गहना लगाएरै भए पनि साधारणदेखि उच्चवर्गका मानिसहरू तीजको कार्यक्रममा सहभागी हुन पाउनु खुसीको कुरा हो। तीज सिंगो परिवारलाई मजबुत बनाउने पर्वका रूपमा विकसित हुनुपर्छ भन्ने ढकालको तर्क छ।
ब्लेसी तीजका अवसरमा आफैं दर पकाउँछिन्। दरमा भिजाएको चामलमा घिउ, काजु आदि मिसाएर स्वादिष्ट परिकार तथा अचार र तरकारी पकाउन छुटाउँदिनन्। आफ्नो देश फिलिपिन्समा महिला दिवस यसैगरी मनाइने ब्लेसीले बताइन्। ब्लेसी यो चाडलाई महिलाहरू खुसी र सशक्त हुने दिनका रूपमा लिन्छिन्। तीजमा आफन्त, साथीभाइ एवं राजनीतिक, सामाजिक व्यक्तित्व जम्मा गरेर मीठा परिकारको स्वादसँगै नाचगान गर्ने ब्लेसी यो अवसरलाई असल सामाजिक कामका लागि समर्पित गर्नुपर्ने धारणा व्यक्त गर्छिन्।
लक्ष्मी भण्डारी थापा
डा. शुभेच्छा कार्की थापा, अर्थोडेन्टल क्लिनिक, जावलाखेल
डा. नारायण थापा, कन्सल्टेन्ट सर्जन तथा युरोलोजिस्ट, वीरेन्द्र सैनिक अस्पताल
सानै उमेरमा तीजका बारेमा थाहा पाए पनि विवाहपछि मात्र डा. शुभेच्छाले तीजको व्रत बस्न थालेकी हुन्। डा. शुभेच्छाले विवाहपछिका केही वर्ष पानी पनि नपिई व्रत बसिन्, छोराछोरी जन्मिएपछि भने मन्दिर गएर पूजाआजा गरी बेलुका फलफूल मात्र खाने गरेकी छिन्। विवाहअघि तीजको व्रत बस्दा असल श्रीमान् पाइने किम्वदन्ती भए पनि आफूले व्रत नबस्दा पनि राम्रो र असल श्रीमान् पाएको उनी बताउँछिन्। उनका श्रीमान् डा. नारायण थापा पनि यस्ता कुरामा विश्वास गर्दैनन्। थापा-कार्की दम्पती तीज तथा अन्य जुनसुकै चाडपर्व भए पनि आफ्नो संस्कृतिलाईर् निरन्तरता दिनुपर्छ भन्ने कुरामा जोड दिन्छ।
११ वर्षअघि विवाह बन्धनमा बाँधिएको यो चिकित्सक दम्पती तीजको दिन भने सँगै मन्दिर जान्छ। महिलाहरूको महान् चाड तीज आउनु महिना दिनअघिदेखि तीजको चहलपहल सुरु हुन्छ। यी सब कुरालाईर् होडवाजी बताउने डा. शुभेच्छाले देखासिकीले चाडपर्वलाईर् महँगो बनाउन थालेको बताइन्। चाडपर्वलाईर् आफ्नो गच्छेअनुसार रमाइलो ढंगमा मनाए मात्र त्यसको वास्तविक मज्जा लिन सकिन्छ भन्ने उनको धारणा छ।
काममा व्यस्त हुने भएकीले तीजको एक-दुई दिनअघि मात्र उनको तीजको रमझम सुरु हुन्छ। तीजका समयमा साथीभाइ एवं घर तथा माइतीका आफन्तलाईर् चुरा, टीका, पोते उपहारस्वरूप बाँड्छिन्। दर खाने दिन भाइ लिन आउँछन् र उनी माइती जान्छिन्। माइतीमा दर खाएर रमाइलोसँग नाचगान गरी तीज मनाउँछिन्। तीजका दिन उनी श्रीमान्का साथ मन्दिर गएर पूजाआजा गरेपछि बेलुकातिर फलफूल खान्छिन्। डा. शुभेच्छा पहिलेदेखि चलिआएको संस्कृतिलाईर् निरन्तरता दिनुपर्छ भन्छिन्। तीजको भोलिपल्ट व्रत समाप्तिको पूजा गरी श्रीमान्लाईर् ढोग्छिन्। डा. नारायणले तीजकै लागि भनेर आफ्नी श्रीमतीलाईर् उपहार दिएका छैनन्। प्रत्येक क्षण रमाइलो गरी जीवन बिताइरहेका उनीहरू तीजका अवसरमा उपहार दिँदैमा मात्र सम्बन्ध प्रगाढ हुने कुरामा विश्वास गर्दैनन्। डा. नारायणले तीजको दर खाने दिन श्रीमतीलाईर् मन पर्ने मिठाईं भने ल्याउने गरेका छन्। तीजका लागि भनेर नयाँ पहिरन खरिद नगरे पनि डा. शुभेच्छा विवाहकै दिन लगाएको रातो साडी लगाउँछिन्। चाडपर्वलाईर् खुसीसाथ अस्वस्थ प्रतिस्पर्धा नगरी स्वस्थ र रमाइलो ढंगमा तीज मनाउनुपर्छ भन्नेमा दुवै एकमत छन्।
सकारात्मक पक्ष : महान् चाड तीजमा महिलाहरू सबै कुरा बिर्सेर रमाइलो गर्न व्यस्त हुन्छन्। महिलाहरूले रातै भएर रमाइलो गर्दा वातावरण नै रमाउँछ।
नकारात्मक पक्ष : साउन लाग्न नपाउँदै तीजको चहलपहल सुरु हुन्छ। जे कुरा पनि जुन दिन मनाउने हो त्यही दिन मनाउनुपर्छ। आफ्नो ज्यानै मारेर संस्कृतिका नाममा भोकै बस्नु हुँदैन।
गीता भण्डारी, लेखा अधिकृत, जेभिएर इन्टरनेशनल कलेज
लोकबहादुर भण्डारी, सिईओ, जेभिएर इन्टरनेशनल कलेज
झापाको महारानीझोडाका लोकबहादुर भण्डारी तथा अमरदह मोरङकी गीताको विवाह भएको १२ वर्ष पूरा भएको छ। विवाहपछिका हरेक तीजमा श्रीमान्को दीर्घायुका लागि व्रत बस्दै आएकी गीतालाई उनका श्रीमान् लोकबहादुर भने व्रत नबस्न आग्रह गर्छन्। लोकबहादुर भने श्रीमतीकै लागि भनेर हरेक साउने सोमबार व्रत बस्दै आएका छन्। लोकबहादुर भन्छन्, 'तीजको व्रतका दिन बेलुकी व्रत समापन गर्न हरेक श्रीमतीले आफ्ना श्रीमान् खोजिरहेका हुन्छन् जसले फरक उल्लास ल्याउँछ। त्यतिबेला बाहिरी वातावरण पनि हर्षोल्लासमय हुन्छ, यो हाम्रो संस्कृतिको बलियो पक्ष हो।'
दरका लागि आवश्यक सामान जुटाइदिने काम लोकले गर्छन् भने दर गीता आफैंं पकाउँछिन्। यो पर्वमा घरमा कुनै पनि कुराको कमी नहोस् भनेर हरसम्भव प्रयास गर्छन्-लोकबहादुर। पञ्चमीको पूजा गर्न ब्राह्मण जुटाउने, दतिवन खोजेर ल्याइदिने काम पनि भण्डारी आफै गर्छन्।
जेभियर इन्टरनेसनलका सिईओ लोकबहादुर भन्छन्, 'तीज नेपाली संस्कार र संस्कृतिको एउटा सुन्दर परम्परा हो। तीजलाई महिलाको मात्र व्रत भनिएपनि पर्वका अवसरमा दिदीबहिनीप्रतिको दायित्व दाजुभाइसँग जोडिएको छ तसर्थ यो महिला-पुरुष दुवैको पर्व हो।' तीजका अवसरमा आवश्यक हरेक सामान जुटाइदिने कार्य गर्ने भण्डारी यो पर्वलाई श्रीमान्-श्रीमतीबीचको सम्बन्ध अझ प्रगाढ हुने अवसरका रूपमा लिन्छन्। हरेक तीजमा श्रीमतीलाई अनिवार्य रूपमा कुनै न कुनै उपहार किनिदिने भण्डारीले एकपटकको तीजमा भने गहना किनिदिएका थिए।
तीजलाई सुन्दर संस्कृतिका रूपमा लिने गीता यसलाई माइतीसँग भेट्ने, मीठो-मसिनो खाने, दिदीबहिनीहरूसँग भेटघाट एवं रमाइलो गर्ने पर्वका रूपमा लिन्छिन्। जेभियर इन्टरनेसनल कलेजको लेखा शाखाको नेतृत्व गरिरहेकी गीता विवाहअघि असल श्रीमान् प्राप्त गर्ने उद्देश्यले व्रत बसे पनि विवाहपछि भने श्रीमान्को सफलता, सुस्वास्थ्य एवं दीर्घायुका लागि व्रत बस्ने गरेको बताउँछिन्। उच्च माध्यमिक विद्यालय संघका सचिव तथा स्काउटका केन्द्रीय सदस्य लोकबहादुर हरसमय व्यस्त हुन्छन्। गीतालाई श्रीमान् आफूसँगै सपिङ गइदिए हुन्थ्यो, केही समय सँगै बिताइदिए हुन्थ्यो जस्तो लाग्छ। लोकबहादुर पनि गीताको उक्त भावना बुझ्छन्। त्यसैले त उनी मन्दिर जाँदा श्रीमतीसँगै रहन रुचाउँछन्।
रश्मिला श्रेष्ठ, सौन्दर्यकर्मी तथा सञ्चालिका रस्मिलाज फेसियल हाउस एण्ड ब्युटिकेयर
प्रकाशकुमार श्रेष्ठ, समाजसेवी तथा व्यवसायी
पेसाले सौन्दर्यकर्मी रश्मिला तथा समाजसेवी एवं व्यवसायी प्रकाशकुमार श्रेष्ठको विवाह वि.सं. २०५८ सालमा भएको हो। धादिङमा जन्मिएका यी दुईको १३ वर्ष लामो वैवाहिक जीवन सुमधुर ढंगले अघि बढिरहेको छ।
तीजलाई नारीको विशेष पर्व मान्ने प्रकाश हरेक तीजमा श्रीमतीका लागि नयाँ साडी किन्न छुटाउँदैनन्। संस्कृति जगेर्ना गर्ने उद्देश्यले तीजलाई उल्लासका रूपमा मनाउँदै आएको बताउने रश्मिलालाई केही क्षणका लागि भए पनि महिलाहरू स्वतन्त्र हुने, जमघट र रमाइलो गर्न पाइने तथा व्यस्तताले वर्षौं भेट नभएका दिदीबहिनीहरू भेला हुने अवसर प्राप्त हुने भएकाले तीज असाध्यै मन पर्छ। शिवभक्त रश्मिला तीजका बखत श्रीमान्ले व्रत नबस भने पनि व्रत बस्छिन्। नाचगानपछि मध्यरातमा दर खाँदा श्रीमान्को सधैं साथ पाउने रश्मिलाका श्रीमान् पनि आस्तिक भएकाले स्वस्थ र शुद्ध दरलाई भगवान्को प्रसादका रूपमा लिन्छन्। काठमाडौं मलमा रश्मिलाज फेसियल हाउस एण्ड ब्युटिकेयर तथा सिभिल मलको फेसियल हाउस एण्ड स्किन केयर चलाएर बसेकी रश्मिला महिलाहरूको महान् पर्व तीजलाई नारीहरू सुन्दर देखिने अवसरका रूपमा लिन्छिन्। श्रीमती तथा परिवारलाई मीठो दर पकाएर ख्वाउन रुचाउने प्रकाश तीजका अवसरमा आफ्नी श्रीमतीलाई शतप्रतिशत खुसी दिन चाहन्छन्। श्रीमान् सँगै रहँदा प्रफुल्ल हुने रश्मिलाको आशय बुझेर नै प्रकाश तीजको सपिङमा श्रीमतीसँग सँगै जाने, खाद्यान्नलगायत श्रीमतीलाई मन पर्ने अन्य सरसामान किनमेल गर्ने र पकाउने काममा सघाउँछन्।
दुई वर्षअघिको तीजमा श्रीमान्ले किनिदिएको डायमण्ड सेट प्रकाशले दिएको सबैभन्दा महँगो उपहार भएको रश्मिला बताउँछिन्। प्रकाश भने आपसी माया र समझदारी नै श्रीमान्-श्रीमतीबीचको सम्बन्ध कसिलो बनाउने सबैभन्दा ठूलो उपहार हो भन्छन्। लायन्स क्लबमार्फत निरन्तर रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएका प्रकाश ग्रामीण विद्यालयमा पुस्तकहरू पुर्याउने, वृक्षरोपण गर्ने, वृद्धवृद्धाको सेवामा विविध सेवामूलक काम गर्दै आएकाले तीजलाई पनि सामाजिक सेवासँग जोडेर त्यस्तै गतिविधिका साथ अघि बढाउनुपर्ने सुझाव दिन्छन्। तीजमा श्रीमतीलाई लिएर मन्दिरहरू घुम्न रुचाउने प्रकाश श्रीमतीले बेलुका व्रत समापन गर्दाको क्षण सबैभन्दा सुखद् र उल्लासमय हुने कुरा बताउँदै भन्छन्, 'त्यतिबेला हरेक घरमा श्रीमान्-श्रीमतीबीच अझ प्रगाढ सम्बन्ध विकसित भैरहेको हुन्छ।'
स्मिता घिमिरे, गायिका
नवीन घिमिरे, इन्जिनियर
हिजोआज गायिका स्मिता घिमिरे स्टेज प्रोग्रामहरूमा व्यस्त छिन्। विवाहपछि आफ्नो गायन कलालाई लुकाएर राखेकी स्मिताको नृत्य कलाबाट भने उनका श्रीमान् परिचित थिए। पारिवारिक जमघट तथा साथीभाइमाझ उनको कलाको प्रशंसा हुन्थ्यो। सिभिल इन्जिनियर श्रीमान् नवीन घिमिरेले जब उनको गायकीको जादु थाहा पाए, स्मितालाई गायनमार्फत श्रोतासमक्ष ल्याउन उनैले पहल गरे। कम बोल्ने नवीन र धेरै बोल्ने स्मिताबीच अगाध माया, विश्वास एवं एक-अर्काको प्रेरणा छ। विवाहपछि मात्र तीजको व्रत बस्न थालेकी स्मिताले विवाह गरेपछि नै संस्कृति तथा धर्मप्रति आस्था बढेको बताइन्। विवाहको पहिलो वर्षमै गर्भवती भएकीले स्मितालाई सासू तथा श्रीमान्ले व्रत बस्न दिएनन्। माइतीमा आमा र घरमा सासू दुवै फलफूल तथा पानी खाएर तीजको व्रत बसेको देखेकी स्मिता पनि निराहार व्रत बस्दिनन्। व्रतको दिन श्रीमान् अघिपछि लागेर फलफूल, जुस तथा दूध बोकेर हिँड्ने स्मिताले बताइन्। नवीनका अनुसार संस्कृति जोगाउनुपर्छ तर धर्मका नाममा चलिआएको कुप्रथा तथा विसंगतिहरू हटाउँदै जानुपर्छ। तीजको व्रत बसेर आफ्नो आयु लामो हुने कुरामा उनको विश्वास छैन। व्रत लिनु राम्रो हो तर शरीर एवं आम्दानीले धान्न नसक्ने गरी फेसनका रूपमा तीज मनाएको उनलाई मन पर्दैन।
तीज गीत एवं तीज फेसनमा भैरहेको होडबाजी स्मितालाई पनि राम्रो लाग्दैन। तीज गीतहरूमा तीजको मर्म हराउँदै जानु, रातो-चोखो लगाउने निहुँमा श्रीमान्को ढाडै सेक्ने गरी ३-४ जोर पहिरन बनाउनु र देखावटीका लागि गरिने प्रतिस्पर्धाले समाजमा नकारात्मक सोच वृद्धि हुने नवीन बताउँछन्। आफ्ना लागि भनेर श्रीमतीले व्रत बसेर पूजाआजा गरेको देख्दा आनन्द आए पनि नवीन यसरी एकदिन व्रत बस्दैमा आफ्नो आयु लामो हुने कुरामा पटक्कै विश्वास गर्दैनन्।
स्मिता तीजमा आफ्ना लागि केही लुगा बनाए पनि आमाजू, नन्द तथा मिल्ने साथीहरूकहाँ लुगा, चुरा, पोते एवं टीका आदि उपहार पठाउन बढी व्यस्त हुन्छिन्। सौभाग्यको वस्तु बाँडे सौभाग्य बढ्छ भन्ने विश्वास स्मितामा पनि छ। इन्जिनियर श्रीमती समाजसँग आबद्ध स्मिता हरेक तीजमा नृत्य तथा गायनमा सक्रिय रहन्छिन् जहाँ उनीहरूले पहिलेदेखि नै महँगा गहना लगाएर आउन नपाउने, साडी, चुरा, तिलहरी, पोतेमा मात्र आउनुपर्ने नियम बनाएका छन्।
वन्दना पाण्डे राई, हाउस किपिङ म्यानेजर, केएमसी हस्पिटल
सुजित राई, इन्जिनियर
वैवाहिक जीवनमा बाँधिएको १४ वर्षको अवधिमा वन्दनाले आफ्ना श्रीमान् सुजितका लागि हरेक वर्ष व्रत लिइरहेकी छिन्। अन्तरजातीय विवाह गरेकी वन्दना पाण्डे परिवारबाट राई परिवारसँग जोडिएकी हुन्। वन्दनासँग बाल्यकालदेखिकै तीजको रमाइलो अनुभवको संगालो छ। विशेष गरी उनलाई राति आमाहरूसँग उठेर दर खाएको सम्झना आउँछ। पाण्डे भन्छिन्- तीज हिन्दू नारीहरूको चाड भएकाले म त्यसलाई रमाइलोसँग मनाउँछु। परिवार ठूलो भएकाले तीजमा राम्रै ग्यादरिङ हुने उनी बताउँछिन्। वन्दना बाहिर भन्दा आफ्नै घरपरिवारका बीच तीज मनाउन मन पराउँछिन्। राईहरूले तीज मनाउने चलन छैन तैपनि उनका श्रीमान्ले यो संस्कारलाई स्वीकार गरेका छन्। पहिले उनी जसरी तीज मनाउँथिन् अहिले पनि त्यही उत्साहका साथमा तीज मनाउँछिन्। सुजितलाई वन्दनाले व्रत बसेको र तीज मनाएकोमा कुनै आपत्ति छैन। सुजित भन्छन्, 'उनलाई आफ्नो संस्कृति जगेर्ना गर्ने अधिकारबाट म वञ्चित गर्न चाहन्न। बिहान रातो पहिरन लगाएर मेरा लागि व्रत बस्छिन् त्यो उनको मप्रतिको श्रद्धा हो। व्रतका कारण श्रीमान्को आयु बढ्छ-बढ्दैन भन्ने कुरा एकातिर छ तर श्रीमतीहरूले श्रीमान्का लागि बस्ने व्रत उनीहरूको समर्पणको प्रतीक हो। उनलाई तीजमा चाहिने फलफूल, मिठाईं तथा कर्कलोको जोहो म आफै गरिदिन्छु भनेे अरू सामग्रीका लागि केही पैसा दिन्छु। मलाई उनको चुराको आकार थाहा छैन। महिलाहरूको साडीमा कुन डिजाइन चलेको छ मलाई थाहा हँुदैन। त्यसैले म यस्ता कुराको निर्णय गर्ने जिम्मा उनलाई नै दिन्छु। तीज्ाका बेला उनी बेलुका पूजाका लागि माइती जान्छिन्। म आफै खाना बनाएर खान्छु जुन मेरा लागि नौलो अनुभव हो। वन्दना तीजका दिन बिहानै उठेर नित्यकर्म सकेपछि सोर्ह शंृगार गर्छिन्। पहिले-पहिले त भोक भगाउन उनी अफिस जान्थिन् तर अहिले बिदा लिन्छिन्। मन्दिर गएर घर फर्किएपछि पूजा गरेर उनी मिस्री काँडा सेवन गर्छिन्। तीजका बेला सबैसँग भेट हुन्छ अनि आफ्ना कुरा शेयर गर्न सकिन्छ। अरु बेला मासु सेवन गरे पनि दरमा उनलाई सात्विक भोजन मन पर्छ। वन्दना आफ्ना नजिकका आफन्तका लागि चुरा खरिद गर्छिन्। वन्दना भन्छिन्- हामीले यस्ता चाडपर्व मनाउनुपर्छ जसले हाम्रो संस्कृतिको अस्तित्व यथावत् राख्छ। एकदिन भए पनिस्वतन्त्र भएर खाने, नाच्ने तथा रमाउने मौका हामीलाई हाम्रो परम्पराले दिएको छ। यसलाई हाम्रा पुर्खाले जसरी मनाए हामीले पनि त्यसरी नै मनाउनुपर्छ। चाडपर्वका कारणले कसैको घरमा समस्या जन्मनु हुँदैन।
सुजितको नजरमा तीज
सहरमा भन्दा ग्रामीण बस्तीमा अझ यो पर्वको महत्व बढी छ। जो विवाह भएर टाढा अन्मिएका हुन्छन् तिनका लागि यो पर्वले ठूलो गुन लगाउँछ। तीजको एकदिन सुख अरू दिन दु:ख हुन्छ भने तीज मनाउनुको कुनै अर्थ हुँदैन। वर्षको यो एकदिनले हामीलाई ३ सय ६४ दिन मिलेर बस्ने धैर्य प्रदान गर्नुपर्छ।
वन्दनाको नजरमा तीज
तीज मलाई एकदम मन पर्ने चाड हो, तर यसलाई भड्किलो किसिमले मनाउन म कसैलाई सल्लाह दिन्न। जुन श्रद्धा तथा चोखो मनले हामी व्रत बस्छांै त्यो यसको सबैभन्दा बलियो पक्ष हो। त्यसलाई निरन्तरता दिन सबैले राम्रो संस्कारको विकास गर्नुपर्छ।