महिलाहरूको महान् चाड तीज नजिकिँदै छ। महिलाहरूको दसैं मानिने यो चाडमा नाचगान गरेर मीठा-मीठा परिकार खाने चलन बढ्दो छ। पहिले एक महिनाअघिदेखि तीजको चहलपहल सुरु हुन्थ्यो। अहिले त्यसमा केही कमी आएको छ।
महिलाहरू तीजका दिन आफ्नो स्वास्थ्यको ख्याल नगरी भोकभोकै व्रत बस्छन्। यसले स्वास्थ्यमा हानि पुर्याउने क्रिस्ट हस्पिटलकी न्युटि्रसनिस्ट रश्मि बजिमय श्रेष्ठ बताउँछिन्। तीजको एकदिनअघि दरमा मीठा-मीठा परिकार, मासु तथा मिठाईं खाने चलन छ। एकदिन क्यालोरीयुक्त खाना खाएर भोलिपल्ट खाना नखाँदा भोक लाग्दैन। अघिल्लो दिन खाएको खानाले ८-९ घन्टा कभर गर्छ। तैपनि ग्यास्टि्रकका रोगीले भोकै बस्दा स्वास्थ्यमा नकारात्मक असर पर्छ।
महिलाहरू तीजका दिन पानी पनि नपिई व्रत बसेर नाचगान गर्छन्। यसरी नाचगान गर्दा शरीरबाट पसिना निस्कन्छ। जसले गर्दा शरीरमा पानीको मात्रा कम भएर डिहाइड्रेसन हुन्छ र कतिपय महिला मन्दिरमा लाइन बस्दाबस्दै बेहोस हुन्छन्। धर्मका नाममा आफ्नो शरीरलाई दु:ख दिनुहुँदैन। मधुमेहका बिरामीले पनि व्रत बस्नुहुँदैन। यस्ता बिरामीले व्रत बस्दा रगतमा सुगरको मात्रा कम हुन गै हाइपोग्ल्यासिमिया हुन सक्छ। बिरामी अचेत भएर कोमामा समेत जान सक्छन्। त्यसैले मधुमेहका बिरामीले पटक-पटक खाइरहनुपर्छ। यस्ता बिरामी लामो समय भोकै बस्दा स्वास्थ्यमा असर पर्छ। यसैगरी उच्च रक्तचाप भएकाहरूले पनि पानी नपिई व्रत बस्दा डिहाइडे्रसन हुन्छ। शरीरमा एक किसिमको हार्मोन रिलिज भएर रिस उठ्छ। यस्ता बिरामीले भरसक व्रत बस्नुहुँदैन। व्रत बसे पनि समय-समयमा ग्लुकोज पानी, जीवनजल तथा फलफूल आदि खानुपर्छ।
अघिल्लो दिन निराहार व्रत बसेपछि भोलिपल्ट हल्का खाना खानुपर्छ। भोको पेटमा गह्रौं खाना खाँदा शरीरलाई हानि पुग्नसक्छ। २४ घन्टासम्म खाना नखाँदा शरीरमा शक्ति हुँदैन अनि खाएको खाना पनि राम्रोसँग पचाउन सकिँदैन। त्यसैले भोलिपल्ट सुरुमा कालो चिया, जुस आदि पिएर मात्र अरू खाना खानु उपयुक्त हुन्छ।
स्वस्थ मानिसले आफ्नो वजनअनुसार पानी पिउनुपर्छ। ५० किलोग्राम भएकाहरूले दिनभरमा साढे दुई लिटर पानी पिउनु उपयुक्त हुन्छ। तीजका बेलामा नाचगान गर्दा पसिना बग्ने भएकाले अझ बढी पानी पिउनुपर्छ। व्रत बसे पनि आफ्नो स्वास्थ्यको ख्याल राख्दै बेलाबेलामा फलफूल खानुका साथै जुस एवं पानी पिउनुपर्छ। दूध हालिएको चिया, कफी आदि भन्दा कालो चिया पिउनुपर्छ। दूध हालिएको चिया-कफी पनि दिनमा दुईपटक पिउनुपर्छ। बढी चिया पिउँदा एसिडिटी हुनसक्छ। दूध पनि सेलाएर मात्र पिउनुपर्छ। तीज खुसीका साथ मनाउनुपर्छ। शास्त्रमा निराहार व्रत बस्नुपर्ने कुरा कतै उल्लेख छैन। त्यसैले फलाहार गरेर तीजको व्रत बस्नु उपयुक्त हुन्छ।