स्वतन्त्रता मानिसको प्रमुख अधिकार हो। यद्यपि स्वतन्त्रता उपभोग गर्दा अरूको अधिकार हनन् हुनुहुँदैन भन्ने कुराको भने ख्याल राख्नुपर्छ। नेपालको अन्तरिम संविधान २०६३ को धारा १२ मा स्वतन्त्रता र धारा १७ मा संस्कृति परम्परा मान्न पाउने अधिकार प्रत्याभूत गरिएको छ। २ वर्षअघि गृह मन्त्रालयद्वारा जारीे सूचनामा तडक-भडक गरेर कुनै पनि चाडपर्व मनाउन नपाइने, विकृति निम्त्याउने कुनै पनि क्रियाकलाप नगर्ने भनिएको छ। हिन्दू महिलाहरूको महान् पर्व तीज नजिकिँदै जाँदा महिला दिदीबहिनी जम्मा भएर कुनै कार्यक्रम गर्दा आफूखुसी नगरी जानकारी गराउनुपर्ने वा पत्र पठाउनुपर्ने, निश्चित संख्याभन्दा बढी भेला हुन नपाइनेजस्ता कुरामा सम्बन्धित निकायद्वारा जारी गरिएको उक्त सूचनाका विषयमा केन्दि्रत छ यसपटकको नारी बहस :
जानुका ढकाल, सञ्चारकर्मी तथा समाजसेवी
पोहोर साल हामीले तीजको कार्यक्रम गर्दा सम्बन्धित निकायका व्यक्तिहरू निरीक्षणमा आएका थिए। हामीले सहभागीहरूलाई भड्किलो गरी नआउनुहोस् भनी पूर्वसूचना जारी गरेका थियौं। ५१ जनाभन्दा बढी सहभागी नगराउने भनिएको थियो। थियौं तर हाम्रो कार्यक्रममा २ सय जना। आफूसक्दो पैसा उठाएर चाहे २ सय, ३ सय, ५ सय जति व्यक्ति जम्मा हून् गृह मन्त्रालय, अख्तियार वा अन्य सरकारी निकायले रोकछेक गर्नुपर्ने जरुरी देख्दिन। गहना र पहिरन अनि दरको साटो अति हुने गरी खाइने वाइनतर्फ भने अख्तियारको आँखा पुग्नुपर्ला। तीजको नाम जोडेर सार्वजनिक स्थानमा बसेर डिं्रक्स गर्ने, तडक-भडकपूर्ण गरगहना लगाउने कुरा भने राम्रो होइन। तीज धेरै भड्किलो हुँदै गएकाले मापदण्ड त तोक्नैपर्छ। संभ्रान्तले मनाउने तीजले अरूलाई असर नपरोस्। महिनौं होइन हप्ता दिनसम्म मनाउनु त ठीकै हो। महिना दिनसम्म बालबच्चा र श्रीमान् तथा परिवारलाई अनावश्यक टेन्सन हुने कुरा त आफ्नो ठाउँमा छँदैछ। आफूले रमाइलो गर्दा अर्कालाई असर नपरोस् भन्ने कुरामा पनि हामी आफै सचेत हुनुपर्छ। हामीले जति पनि तीज कार्यक्रम गर्यौंं ती सबै सामाजिक कार्यका लागि गरिएको छ।
गीता राई, व्यवसायी तथा उद्यमी
मनाउनै नपाउने त नहुनुपर्ने हो तर अर्काको अधिकार हनन् हुने गरी मनाउनु भएन भन्ने कुरा पनि नकारात्मक होइन। तीज भनेको दिदीबहिनी मिलेर रमाइलो गर्ने पर्व हो। विकृति नै आउनेजस्ता कुरा गर्नु त पक्कै पनि राम्रो होइन। हरेक कुरामा निश्चित मापदण्ड जरुरी छ। अरुलाई नकारात्मक असर नपरोस्, आफूले जसरी मनाए पनि भयो। आफ्नो इच्छाअनुसार तर अरूलाई बाधा नपुग्ने गरी संस्कृति एवं परम्परालाई निरन्तरता दिनुपर्छ।
सिर्जना श्रेष्ठ, अध्यक्ष, आयुष अस्पताल
विकृति रोक्नुपर्छ तर पर्व मनाउन रोक लगाउनु राम्रो होइन। यद्यपि महिनौं अघिदेखि तीज मनाउनु पनि उपयुक्त होइन। सांस्कृतिक पर्व त एकदिन मनाउने हो। त्यसको पो छुट्टै महत्व हुन्छ। मापदण्ड जारी गर्न खोज्नु मलाई अनुचित लागेन। माइती र चेलिबेटीबीचको सम्बन्धलाई प्रगाढ पार्ने पर्व हो-तीज। अहिले संस्कृति जोगाउने कुरा भन्दा पनि अन्य क्रियाकलापहरू अलि बढी नै हावी भएको पाइन्छ। सरकारी तवरबाट यत्तिको नोटिस जारी हुनु नकारात्मक होइन। व्यस्त मान्छेले एकदिन मनाउँदा राम्रो। फुर्सद र पैसा हुनेले महिनौं मनाए पनि के फरक पर्छ र ? यो व्यक्तिगत स्वतन्त्रताको कुरा हो। नचाहिने कार्य गरेर मनाउनु भएन, धेरै तडक-भडक गर्नु राम्रो होइन तर रमाइलो गरी साथीभाइ एवं दिदीबहिनीहरूसँग जमघट गरेर मनाउनु संस्कृतिलाई निरन्तरता दिनु हो।
अन्तरा सिंह, अधिवक्ता
हाम्रो मौलिक अधिकारमध्ये स्वतन्त्रताको अधिकार प्रमुख हो। नेपालको संविधान २०६३ को धारा १२ मा स्वतन्त्रता र धारा १७ मा संस्कृति परम्परा मान्न पाउने अधिकार प्रत्याभूत गरिएको छ। धारा २३ मा धर्मसम्बन्धी अधिकार छ। यो व्यक्तिको नितान्त वैयक्तिक कुरा हो। यसमा सरकारले कुनै रोकतोक गर्न पाउँदैन। दर खाने, पर्व मनाउने, रमाउने, खुसी बाँड्ने आदि कुराले संस्कृति जगेर्ना गर्ने हो तर आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार हनन् हुन्छ कि हुँदैन ध्यान पुर्याउनुपर्छ। परम्पराका नाममा नकारात्मक असर पर्ने कुराहरू व्यवहारमा नभएका होइनन्। धर्म-संस्कृति भन्दैमा सती, झुमा, देउकीजस्ता प्रथाले राइट टु लाइफ हनन् भयो। संस्कृतिका नाममा रातभरि पार्टी प्यालेसमा गीत-संगीत घन्काउने व्यवहारले पक्कै सकारात्मक प्रभाव पार्दैन। सरकारले कुरीति घटाउन यस्तो नोटिस जारी गरेको हो। २ वर्षअघिको गृह मन्त्रालयको नोटिसमा तडक-भडक गरेर मनाउन नहुने, विकृति ननिम्त्याउने भनिएको छ। मान्छेको गच्छे र सोचअनुसार संस्कृति अघि बढ्छ र यो उसको स्वतन्त्रता वा अधिकार पनि हो। नेपालको आफ्नै संस्कृति छ, सकेसम्म सकारात्मक सूचना प्रवाह गर्दै सामाजिक हिसाबले पर्व मनाउनु उत्तम हो।
सौजन्य : गीताञ्जली ज्वेल्स