गत महिना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सशस्त्र प्रहरी बल प्रधान कार्यालयको संयुक्त आयोजनामा सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा लैङ्गिक हिंसाविरुद्धको सरकारका नीति तथा कार्यक्रमहरू, कार्यान्वयन अवस्था र चुनौतीसम्बन्धी एकदिवसीय छलफल सम्पन्न भयो। मुख्यसचिव लीलामणि पौड्यालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा लैङ्गिक हिंसाविरुद्धको राष्ट्रिय कार्ययोजना तथा नेपाल सरकारको प्रयास एवं लैङ्गिक हिंसाविरुद्ध सशस्त्र प्रहरी बलले गरेका कामकारबाहीका बारेमा जानकारी गराइएको थियो। उक्त अवसरमा सशस्त्र प्रहरी बलले लैङ्गिक हिंसाविरुद्ध सचेतना अभिवृद्धि गर्ने अभिप्रायले एपीएफ इकाईहरूमा प्रशिक्षण कार्य संचालन गर्दै आएको र हालसम्म १८ हजार भन्दा बढी सशस्त्र प्रहरी कर्मचारीलाई लैङ्गिक हिंसा सचेतना प्रशिक्षण कार्यक्रममा सहभागी गराइएको जानकारी पनि दिइएको थियो।
देशभरका घटना एकैपटक हेर्न सकिने
गत महिना महिला तथा बालबालिका कार्यालय कास्की र युनिसेफको सहयोगमा पोखरामा सूचना व्यवस्थापन तथा अनुगमन प्रणाली कार्यक्रम सम्पन्न भयो। समाजमा हुने लैङ्गिक हिंसा कम गर्न एवं जिल्लामा भएका हिंसालाई सूचना प्रविधिका माध्यमबाट मन्त्रालयदेखि जिल्लासम्मका महिला तथा बालबालिका कार्यालयमा एकसाथ हेर्न सकिने बनाउने उद्देश्यले आयोजित कार्यक्रममा मध्यमाञ्चलका १९ जिल्लाका साथै पश्चिमाञ्चलका १६ जिल्लाका महिला अधिकृत तथा सूचना व्यवस्थापक गरी ४५ जनाको सहभागिता थियो।
सशस्त्र प्रहरी परिवार महिला संघको वाषिर्कोत्सव
गत महिना सशस्त्र प्रहरी परिवार महिला संघको तेह्रौं वाषिर्कोत्सव सम्पन्न भयो। प्रधान कार्यालय हल्चोकमा आयोजित उक्त विशेष समारोहका प्रमुख अतिथि महिला बालबालिका तथा समाज कल्याण मन्त्री नीलम के.सी. (खड्का) ले संघका विविध सामाजिक क्रियाकलाप तथा समाजसेवाको क्षेत्रमा सहयोग पुर्याउने विभिन्न संघसंस्थामा आबद्ध महानुभावहरूलाई सम्मान गर्नुका साथै सशस्त्र प्रहरी बलका विभिन्न इकाईमा रहेर वर्षभरिमा उत्कृष्ट कार्य गर्ने महिला सशस्त्र प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र प्रदान गरिन्। उक्त अवसरमा संघकी अध्यक्ष श्रीमती रमा वन्त (राजभण्डारी) ले शान्ति सुरक्षाको क्षेत्रमा सशस्त्र प्रहरी कर्मचारीहरूको त्याग, तपस्या र बलिदानलाई आत्मसात् गर्दै उनीहरूका श्रीमतीहरूले सेवा नै धर्म हो भन्ने मूलमन्त्र लिएर समाजसेवाको क्षेत्रमा निःस्वार्थ भावनाका साथ स्थापना गरेको संघले राम्रो काम गरिरहेको उल्लेख गरिन्।
पौरखी नेपालद्वारा सरकारको ध्यानाकर्षण
वैदेशिक रोजगारीबाट फर्किर्एका कामदारहरूको संस्था पौरखी नेपालले घरेलु कामदारको अधिकार संरक्षणका निम्ति बनेको आईएलओ-१८९ महासन्धिलाई तत्काल अनुमोदन गर्न नेपाल सरकारको ध्यानाकर्षण गरेको छ। पौरखी नेपालका १५ वटा जिल्ला शाखाले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री सुशील कोइराला एवं श्रम तथा रोगगार राज्यमन्त्री टेकबहादुर गुरुङलाई फरक-फरक ध्यानाकर्षण पत्र पठाउँदै उक्त महासन्धि अनुमोदन गर्न आग्रह गरेको हो।
नेपाल सरकारसमेत पक्ष राष्ट्र भै अन्तर्राष्ट्रिय श्रम संगठनको सदस्यता प्राप्त १८३ देशका सरकार, कामदार तथा रोजगारदाताहरूको रोहवरमा सन् २०११, जून १६ मा घरेलु कामदारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि-१८९ पारित भएको थियो। अन्तर्राष्ट्रिय श्रम संगठनको कार्यालय जेनेभामा यो महासन्धि पारित हुँदा नेपाल सरकारको समेत सहभागिता रहेकाले यसको कार्यान्वयनका लागि पहल गर्नु नेपाल सरकारको नैतिक दायित्व भएको पौरखी नेपालका अध्यक्ष मञ्जु गुरुङले सञ्चारकर्मीहरूलाई बताइन्। अन्तर्राष्ट्रिय श्रम बजारमा घरेलु कामदारको स्रोत मुलुकमध्ये नेपाल पनि एक भएको र आन्तरिक श्रम बजारमा समेत घरेलु कामदार राख्ने प्रवृत्ति बढ्दै गएको पृष्ठभूमिमा यो महासन्धि कार्यान्वयनमा सरोकारवाला पक्ष संवेदनशील हुनु आवश्यक रहेको उनको भनाइ थियो। एक अध्ययनअनुसार नेपालमा १ लाख ६२ हजार घरेलु कामदार कार्यरत छन्। तीमध्ये करिब ५० प्रतिशतभन्दा बढी महिला भएको बताइन्छ।
हिंसाका घटना बढ्दै
नेपालमा महिलाहरूमाथि हुने हिंसाका घटना दिनप्रतिदिन ब्ाढिरहेको एक अध्ययनले देखाएको छ। ओरेक नेपालको एक अध्ययनअनुसार २०७१ जेठ महिनामा महिला हिंसाका ३ सय ७९ वटा घटना रिपोर्टिङ भए। जसमा २ सय १६ वटा घरेलु हिंसा (जसमा श्रीमान् र परिवारका अन्य सदस्यहरूको कुटपिट, मानसिक यातना, घर निकाला, गालीगलौज, शारीरिक यातना पर्छन्), ४६ वटा सामाजिक हिंसा (जस अन्तर्गत बोक्सीको आरोपमा कुटपिट, बाल विवाह र गालीगलौज छन्), ४३ वटा बलात्कार (आफन्त, छिमेकी, शिक्षक र अन्यबाट), ११ वटा बलात्कारको प्रयास, २० वटा हत्या, ६ वटा हत्या प्रयास, १० वटा यौनिक हिंसा, ६ वटा बेचबिखन, १० वटा बेचबिखनको प्रयासको घटना तथा ७ वटा आत्महत्यालगायत अन्य ४ वटा हिंसाका घटना छन्।
नेपाली महिला पर्वतारोहीको सफलता
गत महिना नेपाली महिला पर्वतारोही टोलीले उत्तर अमेरिकी महादेशको सर्वोच्च टाकुरा माउन्ट डेनालीको सफलतापूर्वक आरोहण गर्यो। विश्वका सातवटै महादेशका सर्वोच्च हिमशिखर आरोहण गर्ने अभियानका क्रममा प्रथम समावेशी महिला पर्वतारोही टोलीले ६ हजार १ सय ९५ मिटर अग्लो उक्त हिमशिखरमा पुगी नेपालको झण्डा फहराएको थियो। शिखर चुम्नेहरूमा चुनु श्रेष्ठ, पेमाडिकी शेर्पा, आशाकुमारी सिंह एवं निम्डोमा शेर्पाका साथ फोटोग्राफर आङछिरिङ लामा छिन्।