पुस महिनाको राशिफल
मेष : सोचेजस्तै सफलता पाउन काममा अलिक बढी खट्नुपर्नेछ । काम सकियो भन्ने बेलामा आकस्मिक बाधा आउँदा काममा समस्या हुनसक्छ । सकेसम्म महत्वपूर्ण कामलाई निर्धारित समयमै गर्दा ढुक्क भइनेछ ।
कुकुरहरूमा लाग्ने सबैभन्दा घातक भाइरल सरुवा रोगमध्ये एक हो-पार्भो भाइरस। यो रोग साना छाउरा-छाउरीमा देखा पर्छ। सुरुमै रोगको पहिचान गरी सही तरिकाले उपचार नगरे कुकुर मर्ने लगभग निश्चित हुन्छ।
कसरी सर्छ ?
यो एउटा खतरनाक सरुवा रोग हो जुन प्राय: रोग लागेका कुकुरको दिसाबाट अरू स्वस्थ कुकुरका छाउरा-छाउरीमा सर्छ। रोग लागेका कुकुर बस्ने ठाउँका कपडा एवं खाने भाँडाहरूबाट पनि यो भाइरस सर्छ। रोगले आक्रमण गरेको ७ देखि १४ दिनमा यसको लक्षण देखा पर्छ।
लक्षणहरू
खासगरी कम उमेरका छाउरा-छाउरीमा लाग्ने यो रोगमा पातलो दिसा हुनु, (रगत मिसिएको वा नमिसिएको) बान्ता गर्नु, झोक्राउनु मुख्य लक्षण हुन्। त्यसमा पनि छाउराको दिसा एकदमै गन्हाउने (कुखुराको सुली जस्तो) छ भने पार्भोको सम्भावना बढी हुन्छ।
रोगको पहिचान
छाउरा-छाउरीले पातलो दिसा र बान्ता गर्दैमा पार्भाे हो भन्न मिल्दैन। अहिले पार्भाे टेस्ट कीट बजारमा उपलब्ध छ जसबाट केही मिनेटभित्रै यो रोग पत्ता लगाउन सकिन्छ।
उपचार
रोगको लक्षण देखिनेबित्तिकै पशु चिकित्सकसँग सल्लाह गरी उपचार सुरु गरिहाल्नुपर्छ। ५ देखि ७ दिनसम्म स्लाइन, बान्ता रोक्ने औषधि एवं एन्टिवायोटिकहरू दिए कुकुर ठीक हुन सक्छ।
बच्न सकिन्छ ?
यो रोग विशेष गरी ८ हप्ताभन्दा कम उमेरका छाउरा-छाउरीमा बढी देखिन्छ। खासगरी कुकुरका छाउरा-छाउरी बेचबिखन गर्ने ठाउँ, केनल क्लबहरू जहाँ यो रोग लागेर पहिले पनि छाउरा-छाउरी मरेका छन्, त्यस्ता ठाउँमा स्वस्थ छाउरा-छाउरीमा सजिलै सर्छ। कुनै पनि ठाउँमा यो रोेग लागेका छाउरा-छाउरी राखिएको छ अथवा रोग लागेर मरेका छन् भने त्यस्ता ठाउँमा भ्याक्सिन नलगाएका छाउरा-छाउरी कम्तीमा ५-६ महिना पाल्नु वा राख्नुहुँदैन। आफ्नो घरमा उक्त रोग लागेर कुकुर मरेका छन् भने ६ महिना नयाँ छाउरा-छाउरी नल्याउनु नै उपयुक्त हुन्छ। यसको भाइरस हाम्रो वातावरणमा करिब ५ महिनासम्म रहने सम्भावना हुन्छ। यो रोगबाट पूर्णरूपमा बच्न खोप मात्र प्रभावकारी हुन्छ। ४० दिनमा डिस्टेम्पर, पार्भोसँगै अन्य भ्याक्सिन लगाउनुपर्छ जुन एक महिनाको फरकमा तीन पटक लगाउनुपर्छ। त्यसपछि बर्सेनि लगाउनुपर्छ।
सकेसम्म स्वस्थ छाउरा-छाउरी किनौं। पशुचिकित्सकसँग सल्लाह लिएर मात्र छाउरा-छाउरीलाई घरमा ल्याऊँ। छाउरा-छाउरी निरोगी भएपछि मात्र हामी आफू पनि रोगबाट बच्न सक्छौं।
डा.शरद सिंह यादव
एडभान्स पेट हस्पिटल, विशालनगर