परिवर्तन त्यो चीज हो जहाँ पुराना मूल्य-मान्यता गौण मानिने मात्र होइन त्यसभित्रका अप्ठ्याराहरूलाई फेरबदल गर्न खोजिन्छ। चलिरहेको रीतिस्थितिलाई नयाँ ढर्रामा ढाल्न खोजिन्छ। समाजद्वारा अस्वीकार गरिएका कतिपय कुरा र विषयलाई समावेश गर्ने प्रयास गरिन्छ। तसर्थ परिवर्तन चाहनेहरू चुनौती सामना गर्न हरदम तयार हुन्छन्। उनीहरूलाई अरू कुराको भन्दा पनि आफ्नो गन्तव्यको बढी चिन्ता हुन्छ।
इतिहास सुन्दा र पढ्दा रमाइलो लाग्छ। यस्तो पनि थियो र ? अर्थात् यस्तो पनि हुन्छ र ? भन्ने लाग्छ तर ती तत्कालीन सत्य हुन्। इतिहासले जति मनोरञ्जन दिन्छ त्यसको निर्माण त्यति सहज भने हुँदैन। इतिहास बनाउनेहरू प्रत्येक पलको संघर्ष, तिरस्कार, लाञ्छना एवं अनेकौं चुनौतीपछि मात्र सफल भएका पाइन्छन्। प्रसिद्ध रुसी साहित्यकार चिंगिघ आइतमातभ लेख्छन्-ँम त्यो संस्कार विरोधी हुँ जसले मानिसलाई दास बनाउँछ। म मानवले मानव भएर बाँचून् भन्ने चाहना राख्छु भलै मेरो अभियान कसैलाई चित्त नबुझोस् तर म इतिहास लेख्न चाहन्छु।’ यी प्रसिद्ध लेखकको ँबूढो र घोडा’ शीर्षकको पुस्तक तत्कालीन रुसीहरूको दर्दनाक व्यथा, पीडा तथा भोकमरीमा रुमल्लिएको छ। उनले मानवलाई मानव बनाउन निकै प्रयास गरेका छन्। उनको उक्त संघर्षपूर्ण अभियान आज विश्वसमुदायका लागि दह्रो पाठ भएको छ।
जर्मन लेखिका तथा महिलावादी सिमोन द बउअर त्यस्ती महिलामध्ये एक हुन्-जसले जीवनभर अविवाहित (सामाजिक रूपमा) रहेर पनि महिलाहरू सफल हुन सक्छन् भन्ने चुनौतीको सामना गरिन्। सिमोनका प्रेमी थिए तर उनले विवाह गर्न चाहिनन् किनभने उनी आफूलाई आवश्यक स्वतन्त्रता उपभोग गरिरहन चाहन्थिन्। उनका पुस्तकहरू महिला मुद्दामा केन्दि्रत छन्।
नेपालमा पनि त्यस्ता थुप्रै नारी छन् जो आफू हुनुको महत्वलाई सर्वोपरि मान्दै आफ्नो अभियानमा एक्लै दौडिरहे। त्यति मात्र नभएर पारिवारिक जीवन बिताए पनि निश्चित मुद्दालाई आफ्नो लक्ष्य बनाएर त्यसमै संघर्ष गरिरहे। हिजोका योगमाया, साधना अधिकारी, मंगलादेवी सिंह, शैलजा आचार्यहरूदेखि आजका चाँदनी जोशी, कञ्चन बर्मा, लिली थापा, सपना मल्ल प्रधान, मीना सिंह खड्का, मेनुका थापा, अनुराधा कोइराला, सुनीता दनुवार, वन्दना राणा, आरजु देउवा राणा, ज्ञानीशोभा तुलाधर आदि आ-आफ्नो क्षेत्रमा इतिहास बनाउन संघर्ष गर्दैछन्।
बंगाली मूलकी लेखिका तसलिमा नसरिनले मुसलमान विरोधी मुद्दामा कलम चलाएबापत निर्वासित जीवन बिताउनुपरेको छ। महिला विरोधी मूल्य-मान्यता एवं कुरीतिविरुद्ध कलम चलाउने तसलिमालाई देशनिकाला गरिएको छ। कुरानले महिलालाई विभेद गरेकोलगायत महिला स्वतन्त्रता एवं यौनेच्छाका विषयमा लेख्ने नसरिनलाई कट्टरपन्थीहरूले फाँसी दिनुपर्नेसम्म जिकिर गरेका छन् तर उनी जहाँ छिन्, जस्तो अवस्थामा छिन् उनको कलम रोकिएको छैन। उनका तर्कपूर्ण विचार एवं कलमले विश्व इतिहासमा कीर्तिमानी छाप छाड्दै गएको छ।
सपना मल्ल प्रधान
नवलपरासीमा जन्मिएकी सपना मल्ल प्रधान आज नेपाली महिलाको भाग्य परिवर्तनको संवाहक बनेकी छिन्। ५ कक्षासम्मको अध्ययन पूरा गरी काठमाडौं प्रवेश गरेकी मल्लले नेपाल आदर्श माध्यमिक विद्यालयबाट एसएलसी तथा नेपाल ल क्याम्पसबाट कानुन पढेकी हुन्। सानैदेखि नक्सा बनाउन रुचाउने सपनालाई इन्जिनियरिङ पढ्ने मन थियो तर लेखापढी गर्ने बुबाको आग्रहमा कानुन पढ्न पुगिन्। वकालत पेसा त्यति लोकप्रिय भैनसकेको त्यतिबेलाको समयमा एलएलएम पढ्न भारत जानुपथ्र्यो। सपना भन्छिन्-अध्ययनको संवेदनशीलता र प्रतिस्पर्धाको अनुभूति भारतको दिल्ली विश्वविद्यालय पढ्दा भयो।
पढाइ सिध्याएपछि नेपाल र्फकिएर वकालत सुरु गर्दा महिला वकिलप्रतिको नकारात्मक धारणा ठूलै चुनौती थियो तर त्यसलाई सपनाले गम्भीरताका साथ चिर्दै अघि बढिन्। विकास वकिलका रूपमा काम गर्दा आफू सहजकर्ता भएर न्याय माग्ने पक्षलाई बढी सक्रिय बनाइन्। विभेदपूर्ण कानुनको अध्ययन गरी संशोधनका लागि आवाज उठाउने, वैकल्पिक विधेयक बनाउने, नीति निर्माताहरूसँग छलफल गर्ने, कानुन कार्यान्वयनको निरीक्षण तथा अनुगमन गर्ने कार्यमा उनी बढी संलग्न भइन्। सपनाका अनुसार कुल जनसंख्यामध्ये नेपालका २० प्रतिशत महिलाले मात्र न्यायिक संयन्त्र प्रयोग गरेको देखिन्छ। नेपालको कानुनले महिलाको स्वतन्त्र अस्तित्वलाई मानेको छैन। सपना भन्छिन्-नेपालमा महिला हिंसा र कार्यस्थलमा हुने यौनशोषणविरुद्ध पनि कानुन नभएको स्थिति छ। यद्यपि कानुन र त्यसका पूर्वाधार नभएका भने होइनन्। सामाजिक तथा सांस्कृतिक मूल्य-मान्यताले नेपाली महिला आफ्नो अधिकारबाट वञ्चित भएका छन्।
सपना न्यायबाट वञ्चित, राज्यको कानुनद्वारा उपेक्षित तथा भेदभावबाट पीडित नेपालका ग्रामीणदेखि सहरी महिलाका संवाहक हुन्। कालो कोट लगाएर अदालतमा बहस गर्ने व्यवसायमा मात्र सीमित नरही सपना न्यायको खोजीमा हिँडेका कतिपय महिलालाई कानुनको पहुँच दिलाउन देशकै कानुन तथा नीति संशोधन गर्न लागिपरिन्। महिला भएकै कारण कानुनद्वारा भेदभाव र असमानताको व्यवहार सहनुपर्ने स्थितिमा सपनाले नेपाली नारीको जीवनमा कानुनको अर्थ पुरुषसरह समान न्यायको भागिदार हुन पाउनुपर्छ भन्ने विषयमा बहस चलाएर समाजमा हलचल ल्याइन्।
न्यायका लागि अदालत धाउँदा र वकिलकहाँ जाँदा न्यायको साटो अन्याय र उल्टै सजायको भागिदार बनाउने नेपालको न्यायिक विसंगतिले सपनालाई राज्यद्वारा महिलामाथि जाति र लिङ्गका आधारमा गरिने भेदभावविरुद्ध सशक्त आवाज उठाउन बल पुर्यायो। बिनाइच्छा श्रीमान्बाट गरिने करणीलाई बलात्कार मान्ने कानुनी मान्यताका लागि लड्नु उनको विशेष योगदान हो। उनकै कारण सरकार वैवाहिक बलात्कारविरुद्धको नीति अपनाउन बाध्य भयो।
लिली थापा
५५ वसन्त पार गरेकी लिली थापाको जीवनमा आएका उतारचढाव सुन्दा जो कसैको आँखामा रसाउँछ। आरोह-अवरोह हरेकको जीनवमा आउँछ तर लिलीको जीवनमा यस्तो आँधीबेहरी आयो कि त्यही नै उनका निम्ति समाज परिवर्तनको गोरेटो बन्यो।
सैनिक परिवारको अनुशासन र रमझममा बितेको लिलीको बाल्यकाल अत्यन्त सुखद थियो। विजय मेमोरियल स्कुल डिल्लीबजारबाट एसएलसी उत्तीर्ण लिलीले पद्मकन्या कलेजबाट स्नातक गरेकी हुन्। दिल्ली युनिभर्सिटी पढ्न जाने कुरा हुँदाहुँदै ०३५ सालमा काठमाडौंकै अमिर थापा (जो प्राविधिक समूहका आर्मी अफिसर थिए) सँग उनको विवाह भयो। वास्तवमा राम्रो खानदान र सैनिक सेवाका चिकित्सकलाई लिलीका अभिभावकले पनि नकार्न सकेनन्। विवाहपछि लगत्तै ३ जना छोरा जन्मिए। उनीहरूलाई हुर्काएर पढाउँदै लिलीले त्रिविविबाट समाजशास्त्रमा स्नातकोत्तर सिध्याइन्। चाहेजति सम्पत्ति, श्रीमान्, छोराहरू र बेलाबेलामा हुने आर्मीका पार्टीहरू उनलाई यत्ति नै हो जिन्दगी भन्ने लाग्थ्यो। सम्पन्नता र वैभव अनि अभावरहित जिन्दगी स्वर्गसमान थियो। १४ वर्षे यस्तो जीवन भोगेपछि अचानक बज्रपात आइलाग्यो। खाडीयुद्धका समयमा संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा इराक पुगेका अमिरको ०४९ सालमा इराकमै निधन भयो। अब लिलीका संघर्षका दिन सुरु भए। स्कुले छोराहरूको लालनपालन र पढाइ उनको एक्लो काँधमा आयो। उनले रोजवड नामक प्राथमिक स्तरको विद्यालय खोलिन्। श्रीमान् स्वर्गारोहण भएको ४५ दिनदेखि नै घरबाहिर काम गर्न थालेकी लिलीले एकल महिला समूह गठन गर्नुको पनि अनौठो कथा छ।
सेन्ट जेभियर्स गोदावरीमा पढिरहेका छोरालाई लिन जाने क्रममा एकदिन स्कुलका पालेले नजिकैको घर देखाउँदै त्यहाँ भर्खरकी युवती विधवा भएको र घरपरिवारले असाध्यै मानसिक यातना दिएको कुरा लिलीलाई सुनाए। त्यतिबेला उनले आफू एक्लै हुँदाको पीडा सम्झिन्। त्यसमाथि पनि परिवारको सहानुभूति नपाउँदा कस्तो हुन्छ भन्ने प्रश्न उनमा आयो। पालेमार्फत उक्त युवतीलाई भेट्न सफल लिलीले विधवा महिलाले भोग्नुपर्ने मानसिक पीडा एवं सामाजिक दबाबको स्थिति बुझेर आफ्नो सामाजिक दायित्व महसुस गरिन्। फलस्वरूप संस्था दर्ताको बाटो खुल्यो। ती युवतीलाई सिलाइकटाइको तालिम दिने व्यवस्था पनि मिलाइन्। हाल ती युवती आफ्नो सीपमार्फत राम्रो आयआर्जन गरिरहेकी छिन्। उनकै व्यथा सुनेर सुरु भएको लिलीको यात्रा अहिले धेरै अघि बढिसकेको छ। त्यसपछि स्कुलमा चिनजान भएका एकल महिला भेला पारेर छलफल गर्न थालेकी लिलीले ०५२ सालमा संस्था दर्ता गरिन्। संस्था चलाउने अनुभव नभएकाले लिली टेवा नामक सामाजिक संस्थामा आधा दिन काम गर्न थालिन्। टेवाकी रीता थापाबाट संस्थागत ज्ञान हासिल गरेको बताउने लिलीका दिन सामाजिक कार्यमा बित्न थाले। २१ जना एकल महिला संस्थापक रहेको संस्थामा बढीभन्दा बढी प्रभावकारी काम कसरी गर्न सकिन्छ भन्ने विषयमा घन्टौं छलफल हुन्थ्यो। यसबीच लिलीले स्वीडेनको लेलियो विश्वविद्यालयमा महिला विषयमा अध्ययन गर्ने अवसरको पनि उपयोग गरिन्। उक्त अवसरले उनलाई महिलाका विषयमा योजना तर्जुमा गर्ने, समस्या पहिचान गर्ने तथा त्यसको सही किसिमले निवारण गर्ने विषयमा प्रशस्त अनुभव प्रदान गर्यो। उनको संस्थाले राष्ट्रिय स्तरको कार्यशाला सम्पन्न गरेपछि देशभित्र सदस्य संख्या ह्वात्तै बढ्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा समेत संथाले पहिचान पायो। केन्द्रबाहेक ३० वटाभन्दा बढी जिल्लामा संस्थाका शाखा बिस्तार भए। ती शाखाहरू अहिले एकल महिला मात्र भेला भएर मनका कुरा साटासाट गर्ने उपयुक्त थलो बनेका छन्।
लिली एकल महिलाको सुरक्षा राज्यले नै गरिदिनुपर्छ भन्ने कुरामा जोड दिन्छिन्। कुनै कार्यालयमा रहँदै श्रीमान्को मृत्यु भए श्रीमती सक्षम छिन् भने श्रीमान्को ठाउँमा पुनस्र्थापना हुनुपर्ने उनको माग छ। यस्तो नियम भारत, बेलायत, अमेरिका, युरोप आदि राष्ट्रमा छ। नेपालमा पनि यस्तै नीति बनाउनुपर्छ भनेर राज्यलाई दबाब दिइरहेको समूहमा आयआर्जनका सीपहरू सिकाइन्छन्। निजी क्षेत्रबाट सञ्चालित कतिपय उद्योगले एकल महिलाको भर्ना आग्रहलाई स्वीकार पनि गरेका छन्।
लिलीका सन्तानहरू शिक्षित छन्। कसले के भन्छन् भन्नेतर्फ नलागी आफ्नो बाटोमा अघि बढिरहेकाले आजको अवस्थासम्म आइपुगेको लिलीको ठहर छ। लिलीकै प्रयासमा अहिले विधवालाई एकल महिला भनिन्छ। एकल महिलालाई पुनर्विवाह गर्न जोड नगर्ने धारणा व्यक्त गर्दै लिली भन्छिन्- एकल महिलाले पुनर्विवाह गर्न चाहे पनि श्रीमतीको मृत्यु भैसकेका, श्रीमतीले छोडेका पुरुषले मात्र उनीहरूलाई रुचाएको देखिन्छ। एकल महिलालाई कुमार केटाले विवाह गर्न किन नहुने ?
संघर्ष नै जिन्दगी हो भन्ने लिली कामप्रतिको निरन्तरता र श्रद्धा नै सफलताको कडी हो भन्ने कुरामा विश्वास गर्छिन्। थापा भन्छिन्-जीवनका हरेक मोडमा लोग्नेमान्छेप्रति भर पर्नुपर्ने संस्कार सिकाइएका नेपाली नारी उनीहरूको भर नपाउनासाथ अपाङ्गजस्तै हुन्छन्। म चाहन्छु आफ्नो भर आफैं परौं।
समाजमा एकल महिलाको ससम्मान बाँच्न पाउने अधिकार स्थापित गरेकी लिली एकल महिला अभियानकी ऐतिहासिक योद्धा हुन्।
कञ्चन बर्मा लामा
अत्यन्तै सुखमय बाल्यकाल बिताएकी कञ्चन बर्मा लामा (६५) सानैदेखि सितार बजाउने, नाच्ने, गाउने कलामा अब्बल थिइन्। हरेक कोणबाट उचित शिक्षा प्राप्त गरेकी लामाले विभिन्न भाषा सिक्ने अवसर पाइन्। यो चौतर्फी ज्ञानले उनमा एउटा बलियो व्यक्तित्व खडा गर्यो।
सन् १९५० मा सल्यानमा जन्मिएकी कञ्चन आसाममा हुर्किएकी हुन्। दुई दाजु र एक बहिनीमध्येकी लामाले डिब्रुगढ युनिभर्सिटी आसाम, भारतबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी छिन्। शिक्षण पेसामा आबद्ध पारिवारिक पृष्ठभूमिकी कञ्चनका बुबा आसामको चियाबगानका व्यवस्थापक थिए भने आमा शिक्षिका थिइन्। अध्ययन सकेलगत्तै वैवाहिक जीवनमा प्रवेश गरेकी लामा श्रीमान्सँगै पुन: सल्यान र्फकिन्। वि. सं. २०२८ सालमा सल्यानको शंखमूल (हाल घोप्टेअम्रई) को शारदा मा.वि. मा प्रधानाध्यापकका रूपमा शिक्षण पेसा प्रारम्भ गरिन्। शिक्षा नै जीवन हो भन्ने मूल मन्त्रका साथ उनले असल शिक्षिका भएर आफ्नो जीवन समपर्ण गरिन्। उनलाई त्यो ग्रामीण बस्ती र गरिबीले आक्रान्त समुदायका मानिसलाई शिक्षा प्रदान गर्नुमै आनन्द लाग्न थाल्यो।
उनी सबै विषय एकसाथ पढाउँथिन्। सल्यानमा जन्म मात्र भएकी लामालाई ग्रामीण जीवनका बारेमा केही जानकारी थिएन र पनि उनी त्यहीँ भिजिन्। १९ वर्षकी प्रधानाध्यापिका, विद्यार्थी भने २२-२५ वर्षका। छोरीलाई पढाए बोक्सी हुन्छन् भन्ने समाजमा उनी रोल मोडल बनिन्। ६ वर्ष सल्यान बसाइको अवधिमा एक वर्ष जाजरकोटको सरकारी हाइस्कुलमा समेत पढाइन्। जिल्लाका विभिन्न निकायमा कञ्चनलाई बुद्धिजीवीका हैसियतले पदेन सदस्य राखिन्थ्यो। उनी जन्डिसले सिकिस्त हुँदा जिल्लाका प्रमुख व्यक्तिहरूले मास्टर्नी नानी यत्तिकै मर्नु हुँदैन भनी दाङ तुल्सीपुरको महेन्द्र हाइस्कुलमा सरुवा गराए। अञ्चलाधीशको आसपासमा उनलाई सुरक्षित सरकारी क्वार्टर दिइयो। त्यहाँ १ वर्ष पढाइन्। त्यही बेला श्रीमान्बाट यति वीभत्स हिंसा भयो कि उनले थाम्नै सकिनन् र बालबच्चा त्यहीँ छाडेर भागिन्। श्रीमान्को घर आसाम पुगेकी कञ्चनलाई त्यहीँ छाडेर श्रीमान्का परिवार तुल्सीपुर आई बाबु र छोराछोरी लिएर आसाम र्फकिए। घरका मान्छेले जिम्मा लिएपछि सम्झाइबुझाइ गरी पुन: मिलाएर राखे।
तत्काल कञ्चनलाई आसामस्थित हिन्दी विद्यापीठमा प्रिन्सिपलका रूपमा निम्त्याइयो भने श्रीमान् प्लाइउड फ्याक्ट्रीमा इन्चार्जका रूपमा काम गर्न थाले। ५ महिना ठीक थियो तर त्यसपछि पुन: पुरानै घटना सुरु भयो। उनी फेरि आफ्ना सन्तानलाई त्यहीँ छोडी काठमाडौं आइन्। शिक्षा मन्त्रालयमा अनुरोध गरेर पुन: शिक्षण पेसाका लागि दाङ र्फकने उनको सुर थियो। जब पहिलो पटक उनी सुन्धारा वरपर पुगिन् आफू स्वतन्त्र भएको अनुभूति गरिन्। सँगैको होटलमा बसेका बंगाली परिवारले स्वयम्भूको दर्शन गर्न जाने इच्छा राखे। उनीहरूको पछि लागी गाडीमा सँगै गइन्। पहिलो पटक स्वयम्भू पुगेकी कञ्चन घुम्दै जाँदा आनन्दकुटी विहार पुगिन्। त्यहाँ रत्नबहादुर बज्राचार्यले कहाँबाट किन आएको भनेर सोधे। उनले आफ्नो परिचय र सल्यानमा पढाएको अनुभव सुनाएपछि तत्काल आनन्दकुटीमा पढाउन प्रस्ताव राखियो। कञ्चनले भनिन्-मलाई जागिर मात्र होइन सुरक्षित वासस्थान पनि चाहिन्छ। यो कुराले बज्राचार्य अझ प्रभावित भएर उनलाई तत्कालै आनन्दकुटीमा प्रवेश गराए। ३ वर्ष आनन्दकुटी विद्यापीठमा पढाएपछि मोर्डन इन्डियन स्कुलमा प्रवेश गरिन्। सन् १९८५ मा एक्सनएडले उनलाई विज्ञका रूपमा आमन्त्रण गर्यो। उनले सिन्धुपाल्चोक जिल्ला हेर्नुपथ्र्यो। कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, बचत आदि कार्यक्रममा उनलाई महिला मुद्दाको अनुगमनकर्ता बनाइयो। चाँदनी जोशीबाट धेरै कुरा सिकेको बताउने बर्माले क्यानेडियनको अपरेसनलगायत लुथरन विश्व सेवा, फिनिडा, एसएनभी, जिटिजेड, एसिया प्यासिफिक युनिफेमजस्ता थुप्रै संस्थासँग काम गरिन्।
सन् १९९१ मा एफएओ रोमको छनोटमा ६ वटा एसियाली मुलुकका १२ जनामध्ये जेन्डर एनालिसिस एन्ड फरेस्ट्री डेभलपमेन्ट नामक विश्वव्यापी परियोजनामा नेपालबाट छानिएका दुई जनामध्ये एक हुन् कञ्चन। सन् १९९९ मा नेपाल सरकार तथा आइफाड (इन्टरनेसनल फण्ड फर एगि्रकल्चरल डेभलपमेन्ट) को कबुलियती वन परियोजनामा एफएओका तर्फबाट सल्लाहकार नियुक्त भइन्। कबुलियत वनमा ग्रामीण महिलाको पहुँच, नियन्त्रण तथा फाइदाका क्षेत्रमा विशेष योगदान पुर्याइन्। दुई जिल्लाबाट सुरु भएको यो अभियानले आज सरकारी मान्यता प्राप्त गरेको छ भने गरिब निमुखा जनताको बाँच्ने आधार बनेको छ। ४० वर्षका लागि पुर्जा पाइने कबुलियत वनमा अहिले महिलाहरूको स्वामित्व बढेको छ। यो कार्यमा कञ्चनलाई सघाउने जमुनाकृष्ण ताम्राकार, मुना र गीता आदिको पनि उत्तिकै महत्वपूर्ण योगदान छ।
हाल कञ्चन वुमन अर्गनाइजिङ फर चेन्ज इन एगि्रकल्चर एन्ड नेचुरल रिसोर्सेस म्यानेजमेन्ट (ओकन) को निर्वाचित कार्यकारी सदस्य हुन्। ८० मुलुकमा यसका ७ सयभन्दा बढी सदस्य छन्। यसले प्राकृतिक स्रोत, साधन र कृषिमा महिला हक-हित एवं अधिकारको प्रवर्द्धन गर्छ। नीतिगत परिवर्तनका लागि काम गर्ने कञ्चन यी क्षेत्रमा महिला नेतृत्व बढाउन निरन्तर लागिपरेकी छिन्। हाल ओकनले कञ्चनकै नेतृत्वमा विश्वभर सञ्चालित रेड प्लस कार्यक्रमअन्तर्गत वृक्षरोपणद्वारा कार्बन उत्पादन र बिक्री-वितरणमा समेत महिलाको लाभांशका विषयमा काम गरिरहेको छ।
ज्ञानीशोभा तुलाधर
एक जमानामा जाति विशेषको काम भनेर चिनिने लुगा सिलाइको कामबाट नाम कमाउनुका साथै नयाँ इतिहास रचिएला भनेर उनले सायदै सोचेकी थिइन्। ज्ञानीशोभा तुलाधर ती महिला हुन् जसका अगाडि बढ्न अनेकौं बाधा-अड्चन पहाड बनेर उभिएका थिए। तुलाधर चार कक्षामा पढ्दाताका नै घरको सामान्य आर्थिक अवस्था एवं बुबाका धेरै सन्तान भएकाले आफैं केही गरेर कमाउन पाए घरमा सहयोग हुने सोच राख्थिन्। त्यतिबेलाको खिचापोखरी अहिले जस्तो थिएन, घरघरमा धारा हुँदैनथे। सार्वजनिक धारा सबैको पानीको गन्तव्य बन्थ्यो। टोलका महिला एकसाथ पानी लिन आउने भएकाले धारामा लाइन बस्नुपथ्र्यो। आडैमा थियो जुजुभाइ एन्ड प्रोडक्टको पसल जहाँ सिलाइको काम हुन्थ्यो। धारामा पानी भर्न जाने ज्ञानी आफ्नो पालो पर्खाइको सदुपयोग गर्दै जुजुभाइकहाँ गएर आइरन तताइदिने काम गर्थिन्। त्यसो गरिदिएबापत चार-आठ आना प्राप्त हुन्थ्यो। र्फकंदा धारामा पालो पनि आइसकेको हुन्थ्यो। गर्दागर्दै उनको रुचि सिलाइतर्फ मोडियो। प्रवेशिका परीक्षाको फाराम भर्न आवश्यक पाँच मोहोरका लागि बुबाले लक्ष्मीपूजा गरेको पैसा दिएपछि उनको मनमस्तिष्क नै फेरियो। मैले केही गर्नैपर्छ भन्ने दृढ संकल्प मनमा आयो। प्रवेशिका उत्तीर्ण गर्दासम्म उनलाई सामान्य किसिमका लुगा सिलाउन आउँथ्यो। उनी शंकरदेव क्याम्पसमा पढ्दाताका पद्मकन्यामा साडी-ब्लाउज अनिवार्य लगाउनुपर्ने नियम लागू भयो। ज्ञानीले अरुले लिनेभन्दा कम मूल्यमा टोलछिमेकका साथीहरूलाई ब्लाउज बनाइदिइन्। साथीहरूले उनको डिजाइन मन मात्र पराएनन् लगाउँदा अत्यन्तै सहज भएको धारणा पनि व्यक्त गरे। जसले गर्दा उनका ग्राहक बढ्दै गए। ज्ञानी भन्छिन्-सिक्ने क्रममै राम्रो परिणाम दिन सकेकाले आफू पहिरन डिजाइनकै लागि जन्मिएजस्तो लाग्न थाल्यो।
अब ज्ञानीलाई व्यक्तिगत खर्चको चिन्ता रहेन। टोलछिमेकका महिला मात्र नभएर किशोरीहरूसमेत उनीकहाँ फ्रक सिलाइमाग्न आउँथे। त्यो समयका समाजसेवी तुलसीमेहर श्रेष्ठले खिचापोखरीमा सुनीता सिलाइ केन्द्र खोलिदिएका थिए। ज्ञानी त्यहाँबाट कपडा ल्याएर घरमै सिउने काम गर्थिन्। तुलसीमेहरले एकदिनको भेटघाटमा उनको हातको कला देखेर पढ्ने हौसला दिए। समाजसेवी तुल्सीमेहरकै सहयोग एवं सल्लाहअनुसार उनी भारतको महाराष्ट्रस्थित जरापकर टेलरिङ इन्स्टिच्युट पुगिन्। त्यहाँबाट र्फकिएपछि उनले स्नातक गरिन्। कामसँगै नाम कमाउँदै जाँदा उनी पुन: सोही इन्स्िटच्युटमा फेसन डिजाइनिङमा डिप्लोमा गर्न पुगिन्, जहाँ उनी उत्कृष्ट विद्यार्थीमा दरिएकी थिइन्। अध्ययन सकेर र्फकिएपछि ज्ञानीलाई तुलसीमेहर गुठीको कार्यकारी सदस्य नियुक्त गरियो। पहिले घरमा मात्र अर्डर लिएर पहिरन सिलाउने ज्ञानीशोभा ग्राहकको चापले गर्दा पसल खोल्न बाध्य भइन्। पसलको नाम के राख्ने द्विविधा हँुदाहुँदै श्रीमान्ले छानिदिएको नमुना नाम पारित भयो। जुन नाम आज ज्ञानीशोभा तुलाधरको पर्याय भएको छ। सन् १९७० ताका काठमाडौंमा बुटिक गएर पहिरन अर्डर गर्ने चलन थिएन। दरबार र राणा परिवारका सीमित सम्भ्रान्तहरू कोलकाता तथा मुम्बईबाट बुटिकका पहिरन झिकाउँथे। ज्ञानीको कामले उनीहरूलाई भारतसम्म पुग्नु नपर्ने बनाउँदै गयो।
बलिउड र फेसनसँग साक्षात्कार गरेका स्व. प्रकाश थापाद्वारा निर्देशित चलचित्र सिन्दूरमा गरेको पहिरन डिजाइनपछि उनको सीपको सर्वत्र चर्चा हुन थाल्यो। विदेशी चलचित्रका साथै नेपाल, बंगलादेश तथा पाकिस्तानको संयुक्त लगानीमा निर्माण गरिएका चलचित्रमा समेत उनको डिजाइनले प्रशंसा बटुल्यो। दर्जनौं फेसन शोका अतिरिक्त नेपालका धेरैजसो एयरलाइन्समा उनको डिजाइनिङ कलाले स्थान पाएको छ।
ज्ञानीले ०५४ मा नमुना फेसन इन्स्िटच्युट स्थापना गरिन्। त्यहाँबाट शिक्षा पाएका हजारौं विद्यार्थी आज यही पेसामार्फत देश-विदेशमा नाम, दाम र प्रतिष्ठा कमाइरहेका छन्। उनी महाराष्ट्र पढ्न जानुअघि तुलसीमेहरले भनेका थिए-तिमी पढेर र्फकिएपछि काठमाडौंमा फेसनको कलेज खोलौंला जसको प्रिन्सिपल तिमी नै हुनुपर्छ। तुलसीमेहर जिउँदो छँदा त्यो देख्न नपाए पनि मैले यो काम पूरा गर्नुपर्छ भन्ने हेतुले उनले ०५९ मा नमुना कलेज अफ फेसन टेक्नोलोजीको स्थापना गरिन्-आफैं संस्थापक प्रिन्सिपल भएर।
लुगा सिलाउने दर्जीको काम भनेर नाक खुम्च्याउने, छोएको पानी नखानेहरू आज ज्ञानीको सफलता देखेर आफ्ना सन्तानलाई उनकै पथमा हिँडाउन चाहन्छन्। आज उनको परिचयको दायरा फराकिलो भएको छ। उनी लुगा सिलाउने महिलाका अतिरिक्त प्रतिष्ठित कलेजकी संस्थापक प्रिन्सिपल, इन्स्टिच्युटकी प्रोप्राइटर तथा हजारौं युवाकी आत्मनिर्भरताकी स्रोत भएकी छिन्।
अनुराधा कोइराला
वि..सं. २००९ साल वैशाख १ गते जन्मिएकी अनुराधा बुबा प्रतापसिंह गुरुङ तथा आमा जरिना गुरुङसँग आसाममा हुर्किएकी हुन्। उनी २०२१ सालमा नेपाल आएकी हुन्। काठमाडाैंको बसाइका क्रममा दिनेशप्रसाद कोइरालासँग विवाह गरेकी अनुराधा यहाँ आउँदा अंग्रेजी शिक्षालाई प्राथमिकता दिने ट्रेन्ड भर्खरै सुरु भएको थियो। अंग्रेजी भाषामा दख्खल भएकी अनुराधाले अंग्रेजी शिक्षणबाट करियर प्रारम्भ गरिन्। शिक्षण पेसा पनि एक किसिमको समाजसेवा नै हो भन्ने कोइरालाले शिक्षणमा २० वर्ष बिताइन्। बालबालिकालाई खेलाएर पढाइने मन्टेश्वरी शिक्षण विधि जानेकी कोइरालाले न्यू इंग्लिस स्कुल (अमर आदर्श), मार्टियस, बूढानीलकण्ठ, ग्यालेक्सी, युनिभर्सल साइनजस्ता विद्यालयमा शिक्षिकाको भूमिका निर्वाह गरिन् भने त्रिशक्ति विद्यालयमा संस्थापक प्रधानाध्यापकका रूपमा काम गरिन्।
करिब ५० वर्षअघि पनि गौशालामा बस्ने कोइराला प्राय: बिहान पशुपतिनाथको दर्शन गर्थिन्। पशुपति जाने क्रममा बाटामा बच्चा अगाडि राखेर भिक्षा माग्नेहरू प्रशस्त देखा पर्थे। त्यस्तो देख्दा उनको मनमा प्रश्न उब्जन्थ्यो। यसरी दिनभरी सडकमा मागेर राति आकाशको ओत लाग्नेहरू यौनजन्य हिंसाबाट मुक्त होलान् त ? यही प्रश्नको उत्तर खोज्ने क्रममा एक मगन्ते महिलासँगको वार्तालापबाट थाहा भयो उनको शंका ठीक रहेछ। यौनजन्य हिंसाबाट मुक्त गर्न उनले भेटिएकामध्ये नौजनालाई सहयोगस्वरूप कोठा लिन तथा नाङ्लो पसल थाप्न प्रतिव्यक्ति १ हजार रुपैंयाँ उपलब्ध गराएपछि उनको समाजसेवा प्रारम्भ भयो।
बचतका रूपमा जोगाएर राखेको २३ हजार तथा तलबस्वरूप प्राप्त हुने ७ हजार मिलाएर सुरु भएको सहयोगबाट पसल थापेपछि उनी प्रतिदिन २ रुपैंयाँका दरले ती महिलाहरूबाट उठाउँथिन्। उक्त रकमबाट १० जना बालबालिकालाई सहयोग गर्न थालिन्। तलबले तिनलाई ख्वाउन पुग्ला भन्ने आशा राखेकी अनुराधामा ऋण थपिँदै गयो। मेहनत र दु:ख एकसाथ बढ्दा उनलाई क्षयरोगले समात्यो तर पनि उपचारपछि मुलुकको गम्भीर समस्याका रूपमा फैलिएको चेलीबेटी बेचबिखनविरुद्ध चेतना फैलाउने उद्देश्य राखी पद्मकन्याका विद्यार्थी एवं प्रहरीलाई साथमा लिई बेचबिखनको गढ मानिएका जिल्लाहरू घुम्न थालिन्। सन् १९९३ मा स्थापना भएको माइती नेपालको उद्देश्य बेचिएर र्फकिएका चेलीलाई सहयोग गर्नु थियो।
हाल मुलुकभर शाखा रहेको माइती नेपालले चेलीबेटी बेचबिखन रोकथाम, बेचबिखनमा परेकालाई सहयोग गर्ने, संरक्षण प्रदान गर्ने, रोजगारी दिने, परिवारमा पुनस्र्थापनामा सहयोग पुर्याउने आदि काम गरिरहेको छ। नेपालका सीमामा प्रहरीझैं तैनाथ माइती नेपालका स्वयंसेवकहरूले थुप्रै चेलीबेटीलाई बेचबिखनबाट जोगाएका छन्। नीलो पोसाकमा एक-एक सवारीलाई नियालेर हेर्ने बिनाबर्दीका ती सिपाहीले कैयौं चेलीबेटीका दलाललाई समात्न प्रहरीलाई सहयोग गरिरहेका छन्।