Successfully Copied

गीतले मिलायो जोडी

प्रवासमा बसेपछि देश तथा भाषाको माया कति हुन्छ भन्ने कुरा अवगत हुने आसाममा जन्मिएकी गायिका

प्रवासमा बसेपछि देश तथा भाषाको माया कति हुन्छ भन्ने कुरा अवगत हुने आसाममा जन्मिएकी गायिका, साहित्यकार तथा नेपाली भाषा आन्दोलनकी अग्रणी चन्द्रकला नेवार बताउँछिन्। मल्लराजाको पतनपछि भक्तपुरबाट दार्जीलिङ हुँदै आसाम पुगेका चन्द्रकलाका पुर्खाहरूले नेपाल र्फकने सोच राखेनन्। त्यसैले चन्द्रकला प्रधान उतै हुर्किइन्।

बुबा गाउने र आमा लेख्ने हुनाले सानैदेखि क्लासिकल म्युजिकमा रमेकी चन्द्रकला कथा-कविता पनि सानैदेखि लेख्थिन्। गाउन र लेख्नै जन्मिएको अनुभव गर्ने चन्द्रकलाको विवाह १९ वर्षको उमेरमा डाक्टर डी.बी. श्रेष्ठसँग भयो। काठमाडौंका रैथाने श्रेष्ठ दार्जीलिङमा पढ्दै थिए। परिवारका कुनै सदस्य संगीतमा नभए पनि उनमा संगीतप्रति रुचि थियो। उनी दिनभरि रेडियोमा गीत सुनेर बस्न सक्थे। उनीहरूको विवाहको पनि एउटा मीठो संयोग छ। जनकेशरी धर्मराज थापाको आसाम भ्रमणका क्रममा आयोजित स्वागत कार्यक्रममा चन्द्रकला मञ्चमा गीत गाउँदै थिइन्। ७ कक्षामा पढ्ने चन्द्रकलाले गाएको गीत सुनेर दर्शक डी.बी. श्रेष्ठ दङ्ग परे। चन्द्रकलाको बुबासँग डी.बी. र उनको परिवारको राम्रै परिचय थियो। चन्द्रकलाको घरमा ३ जना दिदीबहिनी गीत गाउँथे।  आमा कुमारी प्रधानले लेखेको मै छोरी सुन्दरी बहिनी भारतीले गाएकी हुन्। डी.बी. त्यो घरको सांगीतिक वातावरणबाट प्रभावित भए। डी.बी.का दाजुहरू तथा चन्द्रकलाका बुबाले उनको विवाह चन्द्रकलाकी दिदीसँग गरिदिने सोच बनाएका थिए तर जे लेखिएको छ त्यही हुन्छ भनेजस्तै डी.बी.सँग उनको विवाह भयो। चन्द्रकलाको १० कक्षामा पढ्दा नै इंगेजमेन्ट भयो। यद्यपि डी.बी.ले एमबीबीएस गरेपछि इन्गेजमेन्ट भएको ५ वर्षपछि मात्र उनीहरूले विवाह गरे।

इंगेजमेन्टपछिका ५ वर्ष आपसी भेटघाट एवं पारिवारिक जमघटमै बित्यो भने चन्द्रकला त्यो ५ वर्षमा करिअरमा राम्रोसँग फड्को मारेर अल इन्डिया रेडियोको क श्रेणीकी गायिका भइन्। विवाहपछि चन्द्रकलालाई केही समय अप्ठ्यारो पर्‍यो। सानो परिवारमा जन्मिएकी प्रधानलाई विवाहपछि ४० जनाको परिवारमा खाना पकाउन गार्‍हो भएको थियो। श्रीमान् डाक्टरी पेसामा दिनरात व्यस्त हुँदा चन्द्रकलामाथि घर-परिवार र छोराछोरी हुर्काउने जिम्मा थियो। २८ वर्ष अल इन्डिया रेडियोमा गाएकी चन्द्रकलालाई जेठी छोरी इन्भिलेट हुँदा निकै गार्‍हो भयो जसका कारण उनले सुख-सुविधा भएर पनि मानसिक सुख भोग्न पाइनन्। एचएमजी भ्वाइस कोलकाताबाट एल्बम रेकर्डका लागि आग्रह आउँदा र श्रीमान्ले स्वीकृति एवं सपोर्ट दिँदा पनि बिरामी छोरी छोडेर जान सकिनन्। श्रीमान्को सहयोग एवं प्रेरणा पाएर पनि परिवेशले बाधा दिएको उनी बताउँछिन्। ती छोरी ३५ वर्षसम्म बाँचिन् तर एक शब्द नबोली गइन् । चन्द्रकलाले  संगीतमा ल्याउने सोचका साथ ती छोरीको नाम नै संगीता राखेकी थिइन्।

आसाममा चलेको नेपाली भाषा आन्दोलनमा अग्रणी भएर लागेकी चन्द्रकला आन्दोलनकै कारण सन् १९९० मा स-परिवार नेपाल आएकी हुन्। नेपालमा आएर उनले रेडियोमा दुई वटा गीत रेकर्ड गराइन्। श्रीमान् पनि यतै अस्पतालमा काम गर्न थाले। चन्द्रकलालाई नेपालमा संगीतको सम्मान नभएको महसुस भयो जसका कारण उनी गायन रोकेर लेखनमा मात्र सक्रिय भइन्।

अहिले चन्द्रकला दम्पतीका तीन जना छोराछोरी विदेशमा छन्। उनीहरू समाजमा प्रतिष्ठित पेसा डाक्टर, इन्जिनियर भएर आ-आफ्नो खुट्टामा उभिएका छन्। उनीहरूको सफल जीवन र करिअर देखेर बाबुआमा खुसी छन्। ८० वर्षका डा.श्रेष्ठ अहिले पनि उत्तिकै व्यस्त छन्। केही समय अघिसम्म ३ वटा अस्पतालमा काम गर्ने डा.श्रेष्ठ अहिले श्रीमती बिरामी भएका कारण एउटा मात्र अस्पतालमा काम गर्छन्। उता श्रीमती चन्द्रकला पनि ७३ वर्षकी भइन्। वृद्धावस्थामा रोगले च्याप्न थालेको छ। यो उमेरमा श्रीमान्-श्रीमतीबीच माया एवं आत्मीयता अझ बढी हुने डा. श्रेष्ठको अनुभव छ।

वृद्धावस्थामा रेखदेख गर्न अहिले छोराछोरी नेपालमा छैनन्। अहिलेका धेरैजसो नेपाली आमाबुबाको यथार्थ यही नै हो। यस्तै कुराको बीचमा उनले थपिन्, जिन्दगीभर सपनामा बाँच्यौं तर सपना त शून्यमा पुगेर समाप्त हुँदो रहेछ। श्रीमतीको अप्रेसन गरेपछि सुन्निएको हातमा डा. श्रीमान्ले नियमित फिजियोथेरापी  गरिदिन्छन्। बेडसिट चेन्ज गरिदिने, चिया-नास्ता बनाएर दिने आदि काम गरेर श्रीमतीलाई सहयोग गर्छन्। चन्द्रकला कहिलेकाहीँ आफूभन्दा जेठा श्रीमान्ले रातदिन आफ्नो सेवा गरेको देख्दा आँखा रसाउने बताउँछिन् र श्रीमान्लाई म अर्काे जुनीमा ऋण तिरौंला भनेर मन हलुका पार्छिन्। चन्द्रकलाले त्यसो भन्दा श्रीमान् नमज्जा मान्दै जवाफ फर्काउँछन्, 'तिमीले मलाई स्याहार्दा त मैले कहिल्यै त्यसो भनिन, किन म अरु हो र ?'

आपसमा मिल्ने कुरा

चन्द्रकला संगीतमै हुर्किएकी हुन्। श्रीमान् पनि संगीत बुझ्थे, संगीतलाई सम्मान गर्थे र माउथ हार्माेनियम राम्रोसँग बजाउँथे। गीत सुनेरै उनले चन्द्रकलालाई मन पराएका हुन्। डा. श्रेष्ठ सधैं उनकै गीत सुनेर सुत्थे। उनीहरूबीच आपसमा सबैभन्दा मिल्ने कुरा नै संगीतप्रतिको समान प्रेम हो।

श्रीमान्को मन नपर्ने कुरा

कुनै कुरामा नाइँ भन्नुहुन्न। मैले कथा-कविता केही लेखेपछि सुनिदिनुहोस् भन्छु। ल भन्नुहुन्छ तर बीचमै सुतिदिनुहुन्छ।

पछुतो

सानो छोरा इन्जिनियर सुजय अहिले विदेशमा छन्। ठूलो छोरालाई तबलावादन तथा छोरीलाई गायन सिकायौं। कान्छो छोरालाई संगीतबाट टाढा राख्ने सोचमा संगीत सिकाएनौं तर ५ वर्षको उमेरमा कसैले नसिकाउँदा पनि उसले मसँग स्टेजमा तबला बजायो तर पनि हामीले उसलाई पढाइमै केन्दि्रत गर्‍यौं। नेपाल आएपछि त्रिकाल ब्यान्डको गितारिस्ट भएर उसले नाचघरमा कार्यक्रम दिँदा हामी दुवैलाई धेरै नै पछुतो लागेको थियो। कान्छो छोरा संगीतकै लागि जन्मिएको रहेछ तर हामीले इन्जिनियर बनाएर गलत निर्णय गरेजस्तो लाग्छ।

 Image