Successfully Copied

जान्न, सिक्न र बुझ्न तत्पर विद्यार्थीहरू

बालबालिकाहरू स्वभावतः चञ्चल, जिज्ञासु एवं सिर्जनशील हुन्छन्। उनीहरू सधैं केही न केही सोचिरहेका, गरिरहेका तथा नयाँ कुरा जान्न

बालबालिकाहरू स्वभावतः चञ्चल, जिज्ञासु एवं सिर्जनशील हुन्छन्। उनीहरू सधैं केही न केही सोचिरहेका, गरिरहेका तथा नयाँ कुरा जान्न, सिक्न र बुझ्न तत्पर हुन्छन्। यो सक्रिय बालबालिकाको पहिचान पनि हो। बालबालिकाको मस्तिष्क काँचो माटोजस्तै हुन्छ। त्यसमा आकार, विचार र पहिचान भरिदिने काम अभिभावक, शिक्षक, समाज एवं धेरै हदसम्म शैक्षिक संस्थाको हुन्छ।

जेभियर इन्टरनेसनल क्याम्पसका कार्यकारी प्रमुख लोक भण्डारी भन्छन्, विद्यार्थीले कति जान्यो होइन कति बुझ्यो भन्ने कुरा महत्वपूर्ण हुन्छ। परीक्षामा विश्लेषणात्मक पक्षलाई बढी समावेश गरिन्छ। प्रश्नहरू क्रियाशील हुन्छन् भने विद्यार्थीहरूको अभिव्यक्ति वस्तुगत हुन्छ। भण्डारीका अनुसार लामा र छोटा उत्तर लेख्ने ढाँचाका प्रश्नहरू समावेश गरेर विद्यार्थीको सम्पूर्ण मूल्यांकन गर्ने प्रयास हुन्छ जसले विद्यार्थीको सिर्जनात्मक सोचका साथै अन्य सीप बढाउन मद्दत गर्छ। पढ्नु भनेको पुस्तक रट्नु मात्र होइन। त्यसैले कुनै पनि विषयको अध्ययन घोकेर होइन बुझेर गर्नुपर्छ।

दबाब होइन हौसला

अझै पनि कतिपय शैक्षिक संस्था विद्यार्थीहरूलाई डर देखाइयो, थर्कमान पारियो, कुटियो वा कक्षा कोठाको अनुशासन कडा गरियो भने उनीहरूले पढ्छन्, गृहकार्य गर्छन् र नियमित उत्तीर्ण हुन्छन् भन्ने सोचका साथ संचालित छन्। त्यसैले कसैलाई लाग्न सक्छ, बालबालिकाहरू उद्दण्ड छन्-उग्र छन्, बदमास छन्, जो आफैले आफैलाई बचाउन अथवा उद्धार गर्न असक्षम छन्। विद्यार्थीहरू उग्र, चञ्चल, बदमास जस्ता भए पनि उनीहरूको मनोविज्ञान बुझेर कुटपिट नगरी सम्मानजनक तरिकाले पढाउन-सिकाउन सकिन्छ। सिकाउने थलो नै उग्र, प्रचण्ड भयो भने त्यसबाट निस्कने निकास (विद्यार्थी) कस्तो होला ? त्यसैले सिकाउने कोठा सबैको मन जित्ने तथा विद्यार्थी वा बालबालिका सुहाउँदो हुनुपर्छ। छलफल, प्रयोगशाला विधि, समस्या समाधान, समूह कार्य, प्रोजेक्ट वर्क, खोजबिन, प्रतिवेदन लेखन, प्रस्तुतीकरण, समसामयिक अध्ययन आदिको आधार नै कक्षा कोठा हो। धेरै कुरा सिक्ने, जान्ने, बहस गर्ने, छलफल गर्ने, बुझ्ने, अन्तक्रिर्या गर्ने ठाउँ नै कक्षा कोठा हो। त्यसैले विद्यालय जहिले पनि विद्यार्थीहरूको मनस्थिति बुझेर विद्यार्थी एवं शिक्षकको अनुभव साटासाट गर्ने उपयुक्त ठाउँ बन्नुपर्छ।

हामीकहाँ बालबालिकाहरूलाई सुधार्न वा सही मार्गमा ल्याउन सजाय दिनुपर्ने र कहिलेकाहीँ कडा रूपमा प्रस्तुत हुनुपर्ने शिक्षक एवं विद्यालयहरूको तर्क हुन्छ। त्यसो गर्दा बालबालिका अझ उद्दण्ड र बदमास हुन्छन्। कुनै पनि समस्याको सही समाधान पिटाइ वा डर-त्रास हुनै सक्दैन। समस्याको सही पहिचाहन गरी विद्यार्थीहरूलाई भयमुक्त वातावरणमा सिक्ने वातावरण तयार पार्नु आजको मुख्य आवश्यकता हो। कतिपय विद्यार्थी एकै पटक सिकाउँदा टिप्ने, बुझ्ने र गर्न सक्ने हुन्छन् भने कतिपय बारम्बार सिकाउँदा पनि सजिलै गर्न नसक्ने, हिचकिचाउने, मन नलगाउने तथा नगर्ने खालका हुन्छन्। विद्यार्थीहरूलाई दबाब दिइयो भने उनीहरूमा जिद्दीपनको विकास हुन्छ र उनीहरू कुमार्गमा लाग्न सक्छन्। लामो समयदेखि रिस, राग, झगडा आदि दबाउँदै आएका विद्यार्थीहरू अन्ततः मानसिक एवं शारीरिक दुवै प्रकारका रोगी बन्न पुग्छन्। मनोविज्ञ डा. अम्बिका श्रेष्ठ भन्छिन्-जो अरु (अभिभावक, शिक्षक आदि) को दबाब र डरका कारण मात्र होम वर्क गर्छन्, त्यस्ता बालबालिकाको मानसिकतामा असर परी झस्कने, आधा टाउको दुख्ने, डराउने आदि समस्या देखा पर्छन्। डा. श्रेष्ठका अनुसार डर-त्रासको वातावरणमा सिकाउने काम अघि बढाउन सकिँदैन र बढाउनु पनि हुँदैन।

विश्वासिलो वातावरण

शिक्षकले विद्यार्थीहरूलाई आफूतर्फ आकषिर्त गर्ने कला जान्नुपर्छ। आखिर पढाउने त सबैले ज्ञान दिनकै लागि हो तर पढाउँदा वा सिकाउँदा पट्यार लाग्यो भने जोसुकैको ध्यान अन्त मोडिन्छ। त्यसैले शिक्षकहरूले विद्यार्थीलाई त्यसमा समावेश गराउनुपर्छ। बीचबीचमा विद्यार्थीहरूसँग सोध्ने, प्रश्नको उत्तर दिने, अन्तक्रिर्या गराउनुका साथै गहिराइमा पुगेर विषयवस्तुको अध्यापन गराउनुपर्छ। स-साना विद्यार्थीलाई पढाउँदा आफूलाई नै उनीहरूअनुरूप ढाल्नुपर्छ अर्थात् शिशुको मनोविज्ञान बुझेर बालमनोविज्ञानअनुरूप रोचक कथा, नाटक, घटना तथा खेलमार्फत सिकाउन र बुझाउन सक्नुपर्छ भने क्याम्पस पढ्ने विद्यार्थीलाई पढाउँदा आफू उनीहरूको साथीजस्तो हुनुपर्छ र सहयोगी भावनाका साथ अघि बढ्न हौसला दिनुपर्छ। कुनै विद्यार्थीले सोचेअनुरूप गर्न सकेन भने वा आशा गरेको भन्दा कम प्रगति गर्‍यो वा कम अंक हासिल गर्‍यो भने उसलाई सकारात्मक तरिकाले सिकाउनुपर्छ। शिक्षकले जहिले पनि अर्को पटक यो भन्दा राम्रो गर्न सकिन्छ, आत्तिनु पर्दैन भनेर निरन्तर संघर्ष गर्न सिकाउनुपर्छ। जहिले पनि शिक्षक असल साथीका रूपमा प्रस्तुत हुनुपर्छ र विद्यार्थीको सिर्जनात्मक पक्षलाई समेत प्रस्ट पार्नुपर्छ। शिक्षक र विद्यार्थीबीच दूरी राख्नु हुँदैन जसले गर्दा दुई पक्षबीच अन्तक्रिर्या हुन सक्दैन र गुणात्मक एवं व्यावहारिक शिक्षा हासिल हुन सक्दैन। अभिभावकहरूले पनि आफ्ना बालबालिकाहरूले कतै डर, त्रास र धम्कीको वातावरणमा शिक्षा हासिल गरिरहेका छन् कि विचार पुर्‍याउनु जरुरी छ। विद्यालयले विद्यार्थीका लागि कस्तो वातावरण सिर्जना गरेको छ त्यो पनि अभिभावकहरूले बुझ्नुपर्छ।

विद्यार्थीहरूले आफ्ना शिक्षक एवं आमाबाबुबाट धेरै कुरा सिक्छन्, जान्दछन् र बुझ्छन्। कतिपयले त आफ्ना शिक्षकलाई प्रेरणाको स्रोतका रूपमा हेरेका हुन्छन्। त्यसैले जहिले पनि विद्यार्थी असफल हुँदा ऊ एक्लै असफल भएको हुँदैन, शिक्षण संस्थाले नै सही रूपमा नसिकाएको स्पष्ट हुन्छ।

आलोचनामा हुकिर्एको बालकले भत्र्सना गर्न सिक्छ। अमर्यादाबीच हुर्किएको बालकले लज्जित हुन सिक्छ, शान्त वातावरणमा हुर्किएको बालकले धैर्यशील हुन सिक्छ, आदर-सम्मानमा हुर्किएको बालकले माया र स्नेह गर्न सिक्छ, तनाव र विवादमा हुकिर्एको बालकले झगडा गर्न सिक्छ। लाज र सरममा हुर्किएको बालकले पछुताउन सिक्छ, सुरक्षित रूपमा हुकिर्एको बालकले विश्वास गर्न सिक्छ, प्रशंसामा हुर्किएको बालकले कदर गर्न सिक्छ भने अध्ययनमा परिश्रम गर्ने बालक जीवनमा सफल हुन सक्छ।

- नम्रता भण्डारी

 Image