Successfully Copied

गर्भमै मार्न खोजिएकी छोरी मन्त्री बनिन

भारतको दिल्ली, मंगोलपुरीका भूपेन्द्र तथा शिलाले तीन छोराछोरीपछि अर्को सन्तानको चाहना राखेका थिएनन्।

भारतको दिल्ली, मंगोलपुरीका भूपेन्द्र तथा शिलाले तीन छोराछोरीपछि अर्को सन्तानको चाहना राखेका थिएनन्। घरको आर्थिक अवस्था डामाडोल भएकाले उनीहरूलाई थप सन्तान पाल्न कठिन थियो। सिंह दम्पतीले गर्भपतनका लागि भरमग्दुर प्रयास गरे। चिकित्सकको सल्लाहअनुरूप भूपेन्द्रले पत्नी शिलालाई गर्भपतनको औषधि पनि ख्वाए तैपनि गर्भको उक्त सन्तान जीवित रह्यो। आमाको पेटमै ती शिशुले बाँच्ने इच्छा शक्ति प्रस्तुत गरिसकेकी थिइन्।

बुबाआमाको अवाञ्छित सन्तानका रूपमा एउटी बालिका जन्मिइन्। तिनै बालिका राखी बिडलाले अहिले प्रजातान्त्रिक मुलुक भारतमा छुट्टै पहिचान बनाएकी छिन्। उनी बुबाआमा, परिवार र मुलुककै लागि गौरव भएकी छिन्। राखीकै कारणले परिवारले छुट्टै सम्मान र ख्याति कमाएको छ। स्वयंलाई क्रान्तिकारी भन्न मन पराउनेे राखीको प्रजातन्त्रवादी स्वरूपको प्रशंसा विश्वले गरिरहेको छ।

राजनीतिमा आएको केही महिनामै विधायक र मन्त्री बनेकी राखीले पुरानो ढर्राको राजनीति गर्ने र त्यसलाई पछ्याउने वर्गलाई एक क्षण भए पनि सोच्न बाध्य पारिन्। आखिर सभासद, मन्त्री वा नेता-नेतृ बन्न के चाहिन्छ ? धेरैले भन्लान्, 'पाको उमेर, कार्यगत अनुभव, बलियो राजनीतिक, आर्थिक एवं पारिवारिक पृष्ठभूमि।' सन् २०१३ मा दिल्ली राज्यको विधानसभा निर्वाचनमा बहुमतले निर्वाचित २७ वर्षीया राखीसँग तीमध्ये कुनै पनि खुबी थिएन। विपन्न परिवारमा हुर्के-बढेकी हुनाले उनीसँग दुई पाङ्ग्रे र कार हुने कुरै थिएन। उनको विजय जुलुसका लागि गाडीको प्रबन्ध कार्यकर्ताले नै गरेका थिए। जनताको मन जित्ने खुबी र जोस भए यौन, रक्सी र रकम नबाँडे पनि निर्वाचन जित्न सकिने कुरा उनले सिद्ध गरिन्। बेदाग चरित्रकी रेखा आमा, बुबा, दुई भाइ र दुई बहिनीका साथ साँघुरो पुख्र्यौली घरमा बस्छिन्। उनी बस्दै आएको घर मुस्किलले २५ गजको मात्र छ। उनले मात्र असल नियत राखेर जनताका लागि काम गर्न जानेकी छिन्। यो एक मात्र गुणले पत्रकार राखीलाई मन्त्री पदसम्म मात्र पुर्‍याएन, संसारभर चिनायो।

राखीले सरकारी विद्यालयबाट १२ कक्षा उत्तीर्ण गरिन् भने जैन टिभीको शैक्षिक अभियानका रूपमा सञ्चालित एनबीए स्कुलबाट मास कम्युनिकेसनमा स्नातकोत्तर गरिन्। राखीले जैन टिभीमा संवाददाताका रूपमा काम गर्दै शिक्षा पूरा गरेकी थिइन्। दिल्लीमा भएको दुई आन्दोलनले उनको जीवनको लक्ष्य फेरिदियो। अन्ना आन्दोलन र निर्भया बलात्कार काण्डको रिपोर्टिङका क्रममा उनले 'सिस्टम' बदल्ने संघर्ष जारी राख्ने विचार गरिन्।

राखीको परिवार पनि चार पुस्तादेखि सामाजिक सेवामा सक्रिय छ। उनका जिजुबुबा र हजुरबुबा भारतको स्वतन्त्रता आन्दोलनमा सक्रिय थिए। भ्रष्टाचार विरोधी जनलोकपाल बिल आन्दोलनको बेला उनी सरकारको राजस्व विभागका पूर्व वरिष्ठ अधिकारी अरविन्द केजरीवालको सम्पर्कमा आएकी थिइन्। उनी केजरीवालको संयोजकत्वमा गठित आम आदमी पार्टी (आप) मा पनि सामेल भइन् र सामान्य नागरिकको शक्तिलाई कहिल्यै कम मान्न नहुने प्रमाणित गरिदिइन्। 'जसले त्यस्तो सोच राख्छ, ऊ जनताबाट फालिन्छ,' भन्ने कथन उनको पक्षमा आएको परिणामले सत्य साबित गरिदियो। दिनरात बिजुली, पानी, शिक्षा र आवासका लागि संघर्षरत जनताको शक्तिको उनलाई सदैव हेक्का रह्यो।

आपको तर्फबाट दिल्लीको मंगोलपुरी सिटबाट १० हजारभन्दा बढी मत अन्तरले उनले यसअघि सत्ताधारी कांग्रेसका तर्फबाट चार पटक विजयी भएका प्रभावशाली नेता राजकुमार चौहानलाई पराजित गरिन्। जनताले कहिल्यै चर्चामा नआएकी एक अपरिचित एवं कलिली महिलालाई मत देलान् भन्ने कल्पना कसैले गरेका थिएनन्। सत्ता परिवर्तन गर्ने क्षमता राख्ने र ठूल्ठूला विश्लेषण गर्ने सञ्चारमाध्यमले पनि उनले जित्ने आशा गरेका थिएनन्। खस्रो अनुहार र शक्तिको पछि नकुद्ने दिल्लीका सर्वसाधारणले राखीमा आफ्नो छवि देखेका थिए। उनीहरूजस्तै दैनिक समस्याको सामना राखीले पनि गर्दै आएकी थिइन्। आम जनताले सहज संवादका लागि राखीलाई नै सबैभन्दा उत्तम उम्मेदवार ठहराए।

गत वर्षको २९ डिसेम्बरमा दिल्लीको वसन्त विहारमा बसभित्र भएको सामूहिक बलात्कारमा निर्भया (ज्योति) को मृत्यु भएको थियो। मन्त्री पद सम्हालेको भोलिपल्ट उनले निर्भयाको पहिलो पुण्यतिथिलाई फरक ढंगले सम्झिइन्। उनी ज्योति र उनका साथी बस चढेको बिसौनीमा पुगिन्। उनले उक्त पीडादायक घटनाको सूत्रपात भएको बस बिसौनीमा पुगेपछि स्वयं पनि असुरक्षित महसुस गरिरहेको बताइन्। उनले सार्वजनिक बसमा चढेर सुरक्षा अवस्थाको निरीक्षण गरिन्। उक्त बसमा कुनै होमगार्ड थिएन। उनले चालकसँग महिलालाई हेर्ने दृष्टिकोणका बारेमा बुझिन्।

बसबाट ओर्लनेबित्तिकै मन्त्री आएको थाहा पाएर उक्त क्षेत्रका प्रहरीहरू दौडदै आए। उनले प्रहरीसँग सोधपुछ गरिन्। बस कुरेर बसिरहेका महिलाहरूले आफूसँगै बस चढ्न मन्त्री आएको देखेर निकै सुरक्षित महसुस भएको बताए। 'दिल्लीमा सुरक्षित महसुस गर्दिन, यद्यपि कुनै पनि मन्त्री पहिलो पटक सडकमा आएर भेटेको हुनाले मनबाट डर हरायो,' एक महिलाले राखीसँग भनेकी थिइन्। उनी वसन्त विहार प्रहरी चौकीको निरीक्षण गर्न पुग्दा ड्युटीमा तैनाथ महिला प्रहरीले चिनेनन्। उनले प्रहरी शैली प्रदर्शन गर्न थालेपछि राखी आक्रोशित भएकी थिइन्। उनले बस र अटो चालकसँग महिला यात्रुप्रतिको धारणा र सुरक्षाका बारेमा अन्तक्रिर्या गरिन्। उनले सडक बालबालिकाको बिजोग देखेर तत्काल उनीहरूको हितमा कदम चालिन्।

राखी दिल्लीका सामान्य व्यापारी भूपेन्द्र तथा राजकीय सर्वोच्च कन्या विद्यालयकी सफाइ कर्मचारी शिलाको घरमा जन्मिएकी थिइन्। त्यसैले ठूलाबडाको मात्र पहुँच हुने सरकारमा पुगिएला भन्ने उनले कल्पना पनि गरेकी थिइनन्। चुच्चे गान्धी टोपी लगाएर जनतामाझ रहने राखी जनताको बोली बोल्छिन् र उनीहरूकै भाषा बुझ्छिन्। राजनीतिमा आउनुअघि उनको आबद्धता एउटा निजी टिभी च्यानलका साथै थुप्रै सामाजिक संघसंस्थासँग रह्यो। उनी सधैं समाजको हितमा सक्रिय रहिन्। दलित आन्दोलनमा उनको अग्रणी भूमिका रह्यो। उनका बुबा लामो समयसम्म कांग्रेसमा रहे पनि सन् २०११ को जनलोकपाल आन्दोलनका क्रममा पार्टीबाट अलग्गिए। उनीहरू पनि छोरी लागूपदार्थ कारोबारी र अन्यायका सिकार महिलाका लागि लडून् भन्ने चाहना राख्छन्। उनका बुबाआमा पनि स्कुले बालबालिका लागूपदार्थको सिकार भएको देख्दा मन दुख्ने बताउँछन्। अभिभावकले दिएको संस्कारले गर्दा सत्तामा पुगेर पनि राखी आफ्नो सानो घर छाडेर राज्यले प्रदान गरेको कुलीन वर्गको बसोबास भएको क्षेत्रको सुविधा सम्पन्न सरकारी निवासमा सरिनन्। उनले कहिल्यै आडम्बर देखाउन चाहिनन्। उनले एक टिभी कार्यक्रममा अधैर्य हुँदै भनेकी थिइन्, 'बंगला लिएर के गर्नु ? म कुनै पनि अवस्थामा त्यहाँ बसेर सहरको समस्या सम्बोधन गर्न सक्दिन।'

उनको थर परिवर्तनको घटना पनि कम रोचक छैन। कक्षा-९ सम्म उनको थर 'बिडलान' थियो। कक्षा-१० को चारित्रिक प्रमाण पत्रमा विद्यालयका प्रशासकले भूलवश 'बिरला' लेखिदिएका थिए। चार छोरीमा सबैभन्दा कान्छी राखी त्यसपछि दुवै थरले सम्बोधन हुन थालिन् तर उनले बिडलान थर नै मन पराउँछिन्। उनी हिन्दू धर्म मान्ने दलित वाल्मीकि समुदायकी हुन्। श्रमजीवीको बसोबास स्थल उत्तर-पश्चिम दिल्लीको मंगोलपुरी नै उनको स्थायी ठेगाना हो।

राजनीतिमा जाति, समुदाय र धर्मको वर्चस्व रहेको भारतजस्तो मुलुकमा राखीले डटेर आफ्नो उपस्थिति देखाइन्। आफ्नो कारमा आक्रमण हुँदा पनि उनले न त प्रहरीको स्कर्टिङ लिइन्, न त आफू दलित भएका कारणले अपहेलित भएको राग अलापिन्। एक वर्षको आन्दोलनमा परम्परागत राजनीतिक शक्तिमाझबाट उदाएको आपलाई राखीजस्ती निःस्वार्थ व्यक्तित्वहरूले माथि उठाएको हो। उनीजस्तै काम गर्ने चाहनाका साथ देशभरका लाखौं युवाले आपको सदस्यता लिनु यसकै उदाहरण हो। राखीजस्ता व्यक्तित्वकै पहलमा त्यहाँ जनतासँग नयाँ राजनीतिक संवाद सुरु भएको छ। उनले प्रजातन्त्र भनेको मात्र जनताको शासन हो भन्ने कुरा आफ्नो गतिविधिबाट साबित गर्न खोजिरहेकी छिन्।

 Image