Successfully Copied

टिनएजरलाई पकेट मनी

पकेट मनी अभिभावकले महिनावारी खर्चका लागि आफ्ना बालबालिकाहरूलाई दिने रकम हो। पकेट मनी कहिलेदेखि दिने, के कारणले दिने तथा कति दिने

पकेट मनी अभिभावकले महिनावारी खर्चका लागि आफ्ना बालबालिकाहरूलाई दिने रकम हो। पकेट मनी कहिलेदेखि दिने, के कारणले दिने तथा कति दिने यो अभिभावकमै भर पर्छ। आफ्ना बालबालिकालाई आत्मनिर्भर बनाउने तथा उनीहरूमा स्वनिर्णय क्षमताको विकास गराउने हो भने पैसाको भोग चलन गर्न दिनुपर्ने एक शोधले बताएको छ। खर्च गर्न दिइएको उक्त रकम खर्चमा मात्र सीमित हुँदैन। त्यसले बालबालिकाहरूमा बजेटिङ, बचत तथा कारोवार गर्ने कलाको विकास पनि गर्छ। यो आफ्ना आमाबुबाले विश्वास गरेर आफ्ना सन्ततिलाई उत्प्रेरित गर्ने हिसाबले दिएको उपहार पनि हो। त्यसैले अभिभावकले बालबालिकाको उमेरअनुसार उनीहरूलाई दिइने पकेट खर्चको तालमेल मिलाउनुपर्छ। ११ वर्षीय बालक तथा १९ वर्षीया युवतीको आवश्यकता तथा खर्च फरक-फरक प्रकृतिका हुन्छन्। साना बालबालिकाका लागि ठूलालाई भन्दा कम रकम छुट्याउनुपर्छ। १५ देखि माथिका केटाकेटीहरूका लागि यातायात र खाजाका लागि मात्र पैसा छुट्याएर पुग्दैन। सानातिना किनमेल तथा साथीभाइसँगको घुमघामका लागि पनि केही रकम दिनुपर्ने हुन्छ।

डली तामाङ

ड्याफोडिल पब्लिक स्कुलमा कक्षा १० मा अध्ययनरत डली तामाङले हरेक अंग्रेजी महिनाको पहिलो तारिखमा आमाबुबाबाट ३ हजार रुपैयाँ पकेट मनी प्राप्त गर्छिन्। त्यसैले उनी क्यान्टिनमा मज्जाले खाजा खान्छिन्, मन खोलेर घुम्न जान्छिन्, जन्म दिनका उपहार पनि खरिद गर्छिन्। तामाङ भन्छिन्, 'हामीले राम्रोसँग पढ्न त्यसलाई आफ्नो जीवनमा प्रयोग गर्न हरेक तर्फबाट तनाव मुक्त हुनुपर्छ। कतै जाँदा, कुनै सामान खरिद गर्दा पैसाको अभाव भए नरमाइलो महसुस हुन्छ। यसले हामीमा एक प्रकारको नकारात्मक भावना विकास गर्छ।' तामाङ दिनमा १ सय ५० रुपैंयाँ खर्च गर्छिन्। बाबुआमाले दिने पकेट मनीबाट बचत गरेर उनले पहिलो पटक मेकअप किट खरिद गरिन्। डली भन्छिन्, 'यसले मलाई आर्थिक रूपले स्वतन्त्र मात्र बनाएको छैन आफूप्रति जिम्मेवार हुन पनि सिकाएको छ। कमाउन जाऊँ भने पढाइमा असर गर्छ। त्यसैले दिनहुँ पैसाका लागि किचकिच गर्नुभन्दा बुद्धिमान् अभिभावकले आफ्ना सन्तानका लागि महिनाभरका लागि केही रकम छुट्याउनुपर्छ।'

अमीशा महतो

१६ वर्षीया अमीशा महतोले आमाबुबाबाट हप्ताको ५ सय रुपैंयाँ पाउँछिन्। उक्त रकमले कलेज आउने-जाने र खाने व्यवस्था मिलाउनुपर्छ। महिनामा एकपटक १ हजार रुपैंयाँ खर्च गर्ने महतोले त्यसबाट केही आवश्यक सामग्री किन्ने र केही रकम जम्मा गर्ने बताइन्। यसरी अभिभावकले दिएको केही पैसा बचत गरी उनी साथीहरू तथा आमाबुबाको बर्थ डेमा उपहार किन्छिन्। साइन्स पढेकीले त्यति धेरै समय घुमघाम वा सपिङ गरेर हिँड्न नपाउने हुँदा लामो बिदा पारेर साथीहरूसँग घुमघाम गर्ने र मलतिर गएर फिल्म हेर्ने अमीशाले बताइन्। उनी आफ्नो बर्थ डेका दिन साथीहरूलाई क्यान्टिनमै लगेर ख्वाउँछिन् जसले गर्दा अतिरिक्त पैसा खर्च हुँदैन। यसरी हप्ता दिनका लागि बजेट छुट्याएर पकेट मनी दिँदा सधैं पैसा मागिरहनु पर्दैन र आफूमा पनि सोचेर पैसा खर्च गर्ने राम्रो बानी बस्ने महतोको धारणा छ।

स्वस्ती वैद्य

लिबर्टी कलेजमा बी.बी.ए. चौथो सेमेस्टरमा अध्ययनरत २१ वर्षीया स्वस्ती वैद्य आफ्ना आवश्यकताका सानातिना सामान आफै खरिद गर्छिन्। स्वस्ती पकेट मनीका लागि मासिक २ हजार प्राप्त गर्छिन्। उनी भन्छिन्, 'पकेट मनी भनेको हाम्रो मौलिक अधिकार हो। किनभने हरेक कुराका लागि रिपिटेसनले टेन्सनलाई जन्म दिन्छ, भनाइको अर्थ दिनहुँ कलेज जाने बेलामा पैसाको माग गर्दा कहिलेकाहीँ गाली पनि खानुपर्छ।' समय हेरेर उनको दैनिक सय बढीमा डेढ सयसम्म खर्च हुन्छ। स्वस्ती महिनामा चार पटक साथीहरूसँग घुमघाम गर्छिन्। एकपटक उनले त्यही पकेट मनी जम्मा गरी आमाबुबाको म्यारिज एनिबर्सरीमा उपहार पनि दिएकी थिइन्। उक्त उपहार प्राप्त गरेपछि आमाबुबालाई गर्वको अनुभव भएको थियो। स्वस्ती भन्छिन्, 'उहाँहरूले दिएको स्वतन्त्रताले गर्दा ममा सकारात्मक संस्कार पलाएको हो।'

फिन्जो लामा

चेल्सीमा ए लेबल पढिरहेकी फिन्जो लामालाई अभिभावकले खर्चका लागि महिनाको ३ हजार पकेट मनी दिन्छन्। जुन पैसा उनी बिदामा साथीहरूसँग घुम्न, खान  र फिल्म हेर्न खर्च गर्छिन्। बाँकी भएको पैसा जम्मा गरेर राख्छिन्। लामा भन्छिन्, 'नेपालमा पनि पकेट मनीको सिस्टम बसाउनुपर्छ। महिनामा यति दिने भनेर बैंकमा राखेर खर्च गर्न दिइयो भने खर्च गर्ने तरिका थाहा हुन्छ।' कक्षा ८ देखि नै मोबाइल प्रयोग गर्न थालेकी फिन्जोले आफ्नो केही रकम रिचार्ज कार्डमा जाने कुरा बताइन्। लामा मोबाइलमा इन्टरनेट बढी चलाउँछिन् जसमा उनी गेम खेल्ने, फेसबुक हेर्ने कामका साथै अध्ययनसँग सम्बन्धित साइडहरू पनि सर्फ गर्छिन्। फिन्जो भन्छिन्, 'अहिले हरेकले सानैदेखि आत्मनिर्भर हुने चाहना राख्ने हुँदा अभिभावकले पकेट मनी दिन कन्जुस्याइँ गर्नु हुँदैन अन्यथा टिनएजरहरूले हीनताबोध गर्न सक्छन्।'

रोजिना आचार्य

लिबर्टी कलेज अनामनगरमा बी.बी.ए. चौथो वर्षमा अध्यननरत रोजिना कलेज आउन-जान मासिक २ हजार रुपैंयाँ पाउँछिन्। उक्त रकम मात्र कलेज जान, आउन र खान हो। स्कुटी चलाउने भएकीले सधैं ५ सय रुपैंयाँ ब्याकअप राख्छिन्। ३ महिनाको एकपटक सपिङका लागि उनले अतिरिक्त ५ हजारसम्म पाउँछिन्। उनी पिगी ब्यागमा चानचुन पैसा जम्मा गर्छिन्। जसले गर्दा पैसा जम्मा गर्ने बानी बस्ने आचार्यको धारणा छ। यसरी आमाबुबाले विश्वास गरेर पैसा दिनु राम्रो हो तर अभिभावकलाई ठगेर उक्त पैसाको मिसयुज गर्नु वा गलत बाटोमा लाग्न नहुने आचार्यले बताइन्। टिनएजर भएकीले राम्री देखिने चाहना उनमा पनि छ तर मेकअपका सामानहरू भने अमेरिकाबाट दिदीले नै पठाइदिने हुँदा त्यसमा खर्च हुँदैन। आचार्य भन्छिन्, 'टिनएजरहरूलाई पकेट मनी दिइएन भने उनीहरू पैसा नभएर डिप्रेसनतिर लाग्छन् वा गलत बाटोबाट पैसा आर्जन गर्ने उपाय खोज्न सक्छन्।'

अश्लेषा पण्डित

टि्रनिटी कलेजमा कक्षा १२ मा अध्ययनरत १६ वर्षीया अश्लेषा पण्डित पकेट मनी पढ्ने तथा घुमघाममा रमाउने किशोर-किशोरीका लागि निकै आवश्यक भएको बताउँछिन्। पकेट मनी दिने प्रथा नेपालमा कम देखिए पनि विश्वका हरेक देशका अभिभावकले आफ्ना सन्ततिले पैसा व्यवस्थापन गर्न सक्छन् भन्ने लागेपछि पकेट मनी दिन थाल्छन्। उमेर पुगेपछि सधैं हात थाप्दा अप्ठ्यारो महसुस हुन्छ। त्यसैले अभिभावकहरूले बुझेर नै आफ्ना बालबालिकाको आवश्यकता हेरी पकेट मनी दिने व्यवस्था मिलाउनुपर्छ। पण्डित भन्छिन्, 'मेरो महिनामा १ हजारदेखि १ हजार ५ सयसम्म खर्च हुन्छ।' उनी यातायात खर्च, खाजा खर्चबाहेक साथीहरूसँगको घुमघाम पनि त्यही पैसाबाट म्यानेज गर्छिन्।

पकेट मनीका फाइदा

यसले मितव्ययी भएर सामान खरिद गर्न सिकाउँछ। व्यस्त जीवनशैलीमा अभिभावकले समय नदिँदा पनि आफैले खरिद गर्ने स्वतन्त्रता प्रदान गर्छ। बचत गरी लगानी गर्न उत्साही बनाउँछ। बजारको ट्रेन्ड तथा मूल्य बुझ्न सहयोगी हुन्छ। पारिवारिक सम्बन्ध पनि सुमधुर रहन्छ।

बेफाइदा

आर्थिक अवस्था कमजोर भएका अभिभावकका लागि यो एउटा ठूलो बोझ हो। यसले बालबालिकालाई अनावश्यक तथा देखासिकीमा सामान खरिद गर्न उक्साउँछ। बालबालिकाहरूमा पैसा खेलाउने लतको विकास हुन्छ।

 

 

 

 

 

 

 Image