Successfully Copied

चिठीमा तस्बिर चाहियो

म नारी म्यागजिनमा नियमित पत्र पठाउँछु, छापिन्छ पनि। तैपनि खल्लो लाग्छ। कारण उक्त पेजमा तस्बिर हुँदैन। मेरो बुझाइअनुसार म्यागजिन तस्बिरका कारणले नै आकर्षक देखिने हो। रंगीन पेज र आकर्षक कागज भएर पनि तस्बिर नहुनु यो पेजको दुर्गुण हो। मजस्ता पाठकको पत्रमा तस्बिर प्रकाशन

म नारी म्यागजिनमा नियमित पत्र पठाउँछु, छापिन्छ पनि। तैपनि खल्लो लाग्छ। कारण उक्त पेजमा तस्बिर हुँदैन। मेरो बुझाइअनुसार म्यागजिन तस्बिरका कारणले नै आकर्षक देखिने हो। रंगीन पेज र आकर्षक कागज भएर पनि तस्बिर नहुनु यो पेजको दुर्गुण हो। मजस्ता पाठकको पत्रमा तस्बिर प्रकाशन गरे लेख्नेहरूलाई पनि हौसला मिल्ने थियो भने पेज पनि राम्रो हुने थियो। यसतर्फ विचार गर्नुहुनेछ भन्ने आशा राखेकी छु। समाचार पेजमा पनि तस्बिरले स्थान पाउनुपर्‍यो।

सम्झना निरौला, सप्तरी

हाम्रा नारी थोरै छैनन्

नारीका राम्रा स्तम्भमध्ये 'हाम्रो समाज हाम्रा नारी' पनि हो। यो स्तम्भमा धेरैजसो काठमाडौंका महिला नै देखापर्छन्। काठमाडौंमा धेरै मानिसको बसोबास हुनु, काठमाडौंमै पत्रिका धेरै बिक्री हुनु र गाउँको तुलनामा काठमाडौंका महिला अघि भएका कारण पनि यो स्तम्भले काठमाडौंका महिला बढी समेटेको हुन सक्छ। यद्यपि उपत्यकाबाहिरका महिलाहरू कम छन् भन्ने होइन। अहिले काठमाडौंजस्तै उपत्यकाबाहिरका महिलाहरूले पनि हरेक क्षेत्रमा निकै प्रगति गरेका छन्। स्तम्भको शीर्षकअनुसार हाम्रो समाजमा काठमाडौं मात्र पर्दैन। त्यसैले काठमाडौंमा बसोबास गर्नेबाहेकका महिलाका लागि अर्को एक पेज छुट्याउनु उपयुक्त होला। एक पेजमा दुई-तीन महिलालाई समेट्दा एक वर्षमा बढीमा ३०-३५ नारी समेटिन्छन्। थप एक पेज थप्दा नारीले यस्ता सयौं महिलालाई सम्मान गर्न सक्छ।

दीप्ति राई, खोटाङ

नियमित होस्

म नारी मासिक नियमित अध्ययन गर्छु। म सानी छँदा मेरी आमा यसको नियमित ग्राहक हुनुहुन्थ्यो। त्यो बेला मलाई परीक्षण, व्यक्तित्व विकास, करिअर एवं रोजगारीजस्ता पेज मन पर्थे। यसरी आमाले किनेको पत्रिका हेर्दाहेर्दै ममा पनि यो पत्रिका पढ्ने बानी भयो। अहिले म क्याम्पस पढ्ने भैसकें। तैपनि ती स्तम्भ मलाई अझै पनि मन पर्छन्। मेरो गुनासो के हो भने ती स्तम्भहरू नियमित छैनन्। जुन स्तम्भ मलाई मन पर्छन्, ती स्तम्भ नहुँदा मेरो पैसा खेर गएको महसुस हुन्छ।

रेजिता पाण्डे, काठमाडौं

खुसी लाग्यो

म राजनीतिमा रुचि राख्ने महिला हुँ। महिलावादी पत्रिकामा राजनीति निकै कम देख्दा मलाई खल्लो लाग्थ्यो। महिला भनेको सौन्दर्य प्रसाधन प्रयोग गर्ने वा कोरा अधिकारवादी मात्र हुँदैनन् भन्ने कुरा बल्ल यो पत्रिकाले बुझेको छ। गत महिना प्रकाशित चर्चित महिला राजनीतिकर्मी, संविधानसभामा जित्ने र हार्ने चर्चित व्यक्ति एवं उनीहरूका बारेमा थोरै भए पनि चर्चा गरिएको देखेर खुसी लाग्यो। मेरो विचारमा आजका महिला राजनीतिमा निकै रुचि राख्न थालेका छन्। विचार पृष्ठमा महिला अधिकारका कुरा मात्र नसमेटेर राजनीतिका विषयमा चर्चा गरिएका लेख पनि पढ्न पाइयोस्। यसले राजनीतिक चेतना बढाउन पनि सहयोग गर्छ। अरू पत्रिका नपढ्ने महिलाहरूले समेत राजनीतिक ज्ञान हासिल गर्नेछन्।

शिल्पी पाठक, पद्मकन्या कलेज

निराश बनायो

म अर्थशास्त्रकी विद्यार्थी हुँ। नारीको नियमित पाठक भए पनि मेरो ध्यान घरेलु अर्थशास्त्रमा जान्छ। पहिले यसमा घरभित्रका अर्थशास्त्रका कुरा समेटिएका हुन्थे। बैंक, वित्तीय संस्थाका कुरा र त्यसले महिलामा पार्ने प्रभावलाई पनि थोरै भए पनि छुने प्रयास गरिन्थ्यो। प्रारम्भ भएकाले त्यो ठीकै पनि थियो र पछि त्यसमा सुधार हुने अपेक्षा गरिएको थियो। समय बित्दै गएपछि उक्त स्तम्भ व्यापारिक संस्थाहरूको प्रचार गर्ने माध्यम मात्र भएजस्तो लाग्छ। यसले बजारशास्त्रमा रुचि राख्ने मजस्ता महिलालाई निराश बनाएको छ।

राशि क्षेत्री, काठमाडौं

मनोरञ्जन समाचार कम भए

नारीलाई तपाईंहरूले सूचना र मनोरञ्जनमूलक पत्रिका भन्दै आउनुभएको छ। यसमा सूचना त राम्रै पाइन्छ तर मनोरञ्जक समाचार भने निकै कम प्रकाशित हुन्छन्। मनोरञ्जन समाचारमा पनि संगीत र सिनेमाका एक-दुई टुक्रा मात्र हुन्छन्। मेरो विचारमा नेपाली, हिन्दी, अग्रेजी, कोरियन चलचित्र र संगीत, कला र साहित्यलाई जोडेर एउटा प्याकेज बनाए यो पत्रिका मनोरञ्जक हुने थियो। महिलालाई मनपर्ने पुरुष सेलिब्रेटीका समाचार बढी प्रभावकारी हुन्छन् न कि महिला सेलिब्रेटीका। मेरो विचारमा महिला सेलिब्रेटी पुरुषलाई मन पर्छन् भने पुरुष सेलिब्रेटीहरू महिलालाई मन पर्छन्। महिला प्रधान पत्रिकामा महिलाका मात्र कुरा राख्नुपर्छ र ?

मीरा खवास, ललितपुर

 Image