Successfully Copied

जिमवेयरमा आकर्षण

विशेषगरी जाडो मौसममा जिम वा व्यायामका लागि हुडी उपयुक्त पहिरन हो । व्यायाम गर्दा शरीरमा प्रशस्त मात्रामा पसिना आउँछ । चिसो मौसममा हुडीले शरीरमा भएको पसिनालाई सोस्ने काम गर्छ ।

फिटनेस ट्रेनर शवाना खातुन जिम वेयरप्रति सचेत छिन् । वर्कआउटमा उनलाई सहज पहिरन लगाउन मन पर्छ । स्पोर्टी ड्रेसहरूमा ‘नाइक’ र ‘एडिडास’ उनलाई मन पर्ने ब्रान्ड हुन् । यी दुई ब्रान्डका ब्रा, ट्राउजर, स्वेटर, हुडी आदि उनी लगाउँछिन् । जिममा आउँदा होस् वा वर्कआउट गर्दा होस् पहिरन सहज हुनुपर्ने उनको भनाइ छ । महिला जिम सेन्टर संचालन गरिरहेकी उनले पछिल्लो समय महिलाहरू जिमवेयरप्रति सचेत हुन थालेको बताइन् । उनका अनुसार जिमका लागि महिलाहरूले स्पोर्टी ब्रान्ड पछ्याउन थालेका छन् । ब्रान्डका पहिरन विशेष गरी वर्कआउटका लागि बलिया र टिकाउ हुने भएकाले पनि बजारमा यसको बिस्तार हुँदै गइरहेको उनको भनाइ छ । 

बडिबिल्डर निर्मला महर्जन नियमित वर्कआउट गर्छिन् । उनी जिम ट्रेनर पनि हुन् । जिम वेयरमा उनी ‘एडिडास’ ब्रान्डसँगै पछिल्लो समय नेपाली ब्रान्ड पनि प्रयोग गर्छिन् । स्पोर्ट्स ब्रान्डमा नेपाली पनि निकै अगाडि आइसकेको उनको भनाइ छ । उनले भनिन्, ‘अहिले स्पोर्ट्समा नेपाली ब्रान्डहरू गुणस्तरीय छन् ।’ जिम वेयर वा वर्कआउटका लागि जस्तोसुकै पहिरन प्रयोग नगर्न उनी सुझाव दिन्छिन् । कम गुणस्तरको पहिरनले शरीरमा हानि गर्न सक्ने हुँदा यसमा विशेष ख्याल गर्नुपर्ने उनको सुझाव छ । 

पछिल्लो समय महिला र पुरुष दुवै जिम सेन्टरमा जानेहरूको संख्या बढ््दो छ । जिम जाँदा पनि आफ्नो लुक्समा बढी ध्यान दिन थालिएको छ । नेपालमा स्पोर्ट ब्रान्डहरूमा पुमा, एडिडास, नाइक आदि ब्रान्डहरू चल्तीमा छन् । स्पोर्ट स्टाइल, पर्फमेन्स स्टाइललगायतका पहिरनहरू स्पोर्टी पहिरनका रूपमा परिचित छन् । ललितपुरको लबिम मलस्थित पुमाका स्टोर म्यानेजर सन्तोष घिमिरेले यी ब्रान्डहरूप्रति पछिल्लो समय आकर्षण बढ्दै गएको बताए । पुमाले स्पोर्ट ब्रा, हुडी, जुत्ता, मोजा, पञ्जा एवं ट्रयाकसम्म नेपालमा उपलब्ध गराएको छ । महिला र पुरुषका लागि बजारमा कम्पनीका फरक–फरक पहिरन र साइज उपलब्ध छन् । चलेका ब्रान्डहरूको मूल्य नेपाली बजारमा केही बढी नै छ । जावलाखेलस्थित एडिडासका स्टोर म्यानेजर मञ्जु खड्कीले नेपालीमा अहिले ब्रान्डका कारण पहिरनहरू महँगो भएको बताइन् । 

स्पोर्ट्स ब्रा 

सन् १९७७ तिर सुरुवात भएको स्पोर्ट्स ब्रा पछिल्लो समय फेसनका रूपमा विकसित हुँदै गएको छ । नेपालमा विश्वप्रसिद्ध ब्रान्डका ब्रा पाइने गरेका छन् । जिम जाने महिलादेखि टिनएजरका लागि पछिल्लो समय स्पोर्ट्स ब्रा बढी रुचाइएका छन् । स्पोर्ट्समा मात्र नभई क्याजुअलका लागि पनि ब्राहरूको माग बढ्दो छ । ब्रामा विशेष गरी हाई, मिडल र लो प्वाइन्टमा उपलब्ध छन् । रनिङ र हेभी किसिमका एक्सरसाइजका लागि हाई ब्रा उपयुक्त हुन्छ । यसले शारीरिक गतिविधिमा सपोर्ट गर्छ । साथै यसले शरीरलाई बढी हल्लिन र चल्न दिँदैन । सामान्य किसिमका योग र व्यायामका लागि मिडिल र लो ब्राको प्रयोग हुने गरेको छ । यसले ड्राइ सेल र पोस्चरको काम गर्छ । यस्ता ब्रा लगाउँदा पसिना उडेर जान्छ । यसले शरीरको पसिनालाई चाँडै सोच्ने भएकाले पनि स्पोर्ट ब्राहरू प्रयोगकर्ताहरूले रुचाउन थालेका छन् । जगर्स पाइन्ट’, ‘योग पाइन्ट एन्ड जिन्स’, ‘लङ एन्ड सर्ट लेगिङ एन्ड जेगिङ’, ‘स्पोर्टस् पाइन्ट’ मात्र नभई आजभोलि यो ‘फर्मल’ र अन्य ‘क्याजुयल वेयर’ सित पनि सुहाउँदो र सहज देखिन थालेको छ । नेपाली बजारमा पाँच सयदेखि १२ हजारसम्मका ब्राहरू पाइन्छन् । यी ब्राहरू प्लेन, ब्ल्याक, अरेन्ज कलरमा उपलब्ध छन् । नेपालमा मिडियम र लार्ज नै बढी बिक्री हुने गरेका छन् । 

हुडी ज्याकेट 

विशेषगरी जाडो मौसममा जिम वा व्यायामका लागि हुडी उपयुक्त पहिरन हो । व्यायाम गर्दा शरीरमा प्रशस्त मात्रामा पसिना आउँछ । चिसो मौसममा हुडीले शरीरमा भएको पसिनालाई सोस्ने काम गर्छ । यसका लागि राम्रो गुणस्तरको हुडी छनोट गर्नुपर्छ । हुडी सँगसँगै जिमका लागि ज्याकेट, डाउन ज्याकेटहरू पनि नेपाली बजारमा उपलब्ध छन् । ज्याकेटहरूको मूल्य छ हजारदेखि माथि पर्न आउँछ । विशेषगरी हुडी ज्याकेट ग्रिन, कालो, नीलो, खैरो रंगमा पाउन सकिन्छ । पुमामा यारेन्ट ज्याकेटको मूल्य १४ हजारजतिछ । यी ज्याकेटहरू विशेषगरी जाडोका लागि उपयुक्त मानिन्छ । डाउन ज्याकेटको मूल्य भने ३० हजार पर्छ । पुमाले मोटर स्पोर्ट्सका ज्याकेटहरू उपलब्ध गराउँछ । यो रातो–कालो हरेक रंगमा पाउन सकिन्छ । मोटर स्पोर्टमा इको लाइट ज्याकेट हल्का र तातो हुन्छ । यसले शरीरलाई न्यानो बनाउने र भित्रको तातोलाई बाहिर ल्याउन दिँदैन । 

जुत्ता 

पुमाले तीन थरिका जुत्ता बजारमा उपलब्ध गराएको छ । क्याजुअल, स्निकर्स, स्पोर्ट जुत्ता र अर्को रनिङ, टेनिङ, फिटनेस जुत्ता एक्सरसाइज गर्न र जगिङ गर्नका लागि स्पोर्ट जुत्ता सहज हुन्छ । यसमा लेससहित र लेसबिनाका जुत्ताहरू पाउन सकिन्छ । पछिल्लो समय जुत्ताहरू विभिन्न उपकरणसहित आउन थालेका छन् । यी जुत्ताहरू लगाउन सहज र हाई पुसिनिङ हुन्छन् । लामो समयसम्म लगाउँदा पनि थाकेको महसुस नहुने जुत्ताहरू पनि पाउन थालेका छन् । शरीरमा तत्काल शक्ति आर्जन गर्नका लागि यी जुत्ताहरू उपयोगी छन् । यी जुत्ताहरूको मूल्य भने नेपाली बजारमा आठ हजारदेखि २० हजारसम्म पर्छ । त्यस्तै, एडिडासले पनि महिला–पुरुष दुवैलाई लक्षित गर्दै जुत्ताहरू उपलब्ध गराएको छ । ब्राउन रबर, मिक्स सोललगायतका कारण पनि जुत्ताहरू महँगो हुने गरेको व्यवसायीहरू बताउँछन् । एडिडासहरूका महिला लक्षित जुत्ताहरूको मूल्य आठ हजार रुपैयाँभन्दा माथि रहेको छ । 

ट्राउजर 

जिम जानका लागि सहज बनाउने पहिरन हो–ट्राउजर । ट्राउजरले शरीरलाई चलायमान गराउन सहज बनाउँछ । विशेषगरी ट्राउजरहरू लो कर्टमा मिड वेस्टमा आउँछन् । मिड वेस्टले नाइटोसम्मको भागलाई कभर गर्छ र पेटलाई पनि थिच्ने काम गर्छ । यसमा ‘क्याइमा कुल टेक्नोलोजी’प्रयोग गरिएको हुन्छ । त्यसकारण पसिना छिटो सुक्छ । यसमा लाइट कटनहरू मिसाइएको हुन्छ । महिलाहरूका लागि यी टाउजरहरूको साइज स्माल, मिडियम आउँछ । यिनीहरूको मूल्य बजारमा पाँच हजारभन्दा माथि छ । 

प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

स्पोर्ट्स पहिरनहरू नेपाली बजारमा महँगा छन् । नेपालीहरूमा भने ब्रान्डका कारण मूल्य बढी परेकै कारण टिकाउ हुन्छ भन्ने सोचाइ रहेको व्यवसायी बताउँछन् । स्पोर्ट्स पहिरनहरू केयर र धुलाइमा विशेष ध्यान दिनुपर्छ । स्पोर्ट्स पहिरन वा जुत्ता वासिङ मेसिनमा धुन उनीहरू सल्लाह दिन्छन् । जुत्ता र पहिरनहरूलाई रातभर भिजाएर राख्दा पनि पहिरनको गुणस्तर र टिकाउ घट्दै जान्छ । 

 

उचित पहिरनको छनोट कसरी गर्ने ?

जिम जानका लागि पहिरन छनोट गर्नु आवश्यक छ । जस्तोसुकै पहिरन लगाउँदा पनि उचित रूपमा एक्सरसाइज गर्न सकिँदैन । एक्सरसाइज गर्दा शरीरमा प्रशस्त पसिना आउँछ । सास बढ्ने भएकाले सास फेर्न सहज हुने खुकुला टिसर्ट लगाउनुपर्छ । पहिरनको डिजाइनका साथै फेब्रिकमा पनि ध्यान दिनु आवश्यक हुन्छ । वर्कआउटको समयमा पसिना धेरै आउने भएकाले पसिना छिटो सुक्ने किसिमको फेब्रिक छनोट गर्नुपर्छ । कटन, लाइक्राजस्ता फेब्रिक वर्कआउटका लागि उपयुक्त मानिन्छ । महिलाले हेभी एक्सरसाइज गर्ने हो भने कसरत गर्ने बेलामा खुकुला तथा लोअर टिसर्ट लगाउनुपर्छ । योगका लागि स्ट्रेचेबल तथा फिटिङ आउटफिट लगाउनुपर्छ । यसका अतिरिक्त जिम पाइन्ट तथा योग पाइन्ट पनि प्रयोग गर्न सकिन्छ । जगिङ, साइक्लिङ आदि एक्सरसाइजका लागि टाइट सर्ट्स लगाउनुपर्छ । गुणस्तरीय स्पोर्ट्स ब्रा ट्रयाक पाइन्ट लगाउँदा सहज हुन्छ । पुरुषले भने फुल साइजका पहिरन छनोट गर्नु उपयुक्त हुन्छ । पहिरनसँग जुत्ता–मोजाको पनि कम्बिनेसन मिल्नुपर्ने हुन्छ । जगिङ, रनिङमा गुणस्तरीय जुत्ता छनोट गर्नुपर्छ । यसो भए खुट्टा एवं घुँडा दुख्ने समस्या नहुन सक्छ । 

 Image