Successfully Copied

कसरी चिन्ने उपभोग्य वस्तु  ?

आजको विज्ञानको युगमा परिस्कृत वस्तु र सेवाको उत्पादन एवं उपभोगको माग बढ्दो छ । साक्षरताको प्रतिशत कम रहेको हाम्रो जस्तो मुलुकमा ठूलो संख्याका उपभोक्तामा सचेतना र जागरणको अभाव छ । उपभोक्ताले होसियार हुने पर्याप्त क्षमता राख्न सक्ने अवस्था छैन ।

घरायसी खाद्यसामग्री खरिदका लागि ग्रोसरी मार्ट पुगेकी निलिमा त्यतिबेला झसङ्ग भइन् जब काउन्टरका क्यासियरले सय रुपैंयाँ मूल्य राखिएको सामानको १ सय २० रुपैंयाँको बिल थमाए । आफूसँग भएको निश्चित बजेटअनुसार सामान रोजेकी उनलाई त्यतिबेला असहज मात्र भएन उनको आत्मसम्मानमै ठेस पुग्यो । 

एउटा किन्दा अर्को नि:शुल्क अफरबाट सोनुले उठाएको एक दर्जन बिस्कुटका कारण घरका सबैजसो सदस्य झाडापखालाबाट ग्रसित हुन पुगे । म्याद गुज्रिएका सामग्री किन्दा ध्यान नपुर्‍याउनु उनको गल्ती थियो ।

एक्कासि ज्वरो बढेर अस्पताल पुगेका दिनेश हतारमै भर्ना भैहाले । सम्पूर्ण जाँचपछि सबै कुरा ठीकठाक रहेको र सामान्य भाइरलका कारण ज्वरो आएको पत्ता लाग्यो । उनी दुई दिनमै एउटा निजी अस्पताललाई २५ हजार रुपैंयाँ बुझाएर घर फर्किए ।

माथिका सबै पात्र उपभोक्ता हुन् । कुनै उपभोग्य वस्तु, सेवा वा भौतिक पूर्वाधार वा प्राकृतिक स्रोतलाई मूल्य तिरी वा नतिरी उपभोग तथा प्रयोग गर्ने व्यक्ति वा संस्था उपभोक्ता मानिन्छन् । अधिवक्ता तथा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ भन्छन्–‘बजारमा कोही कुनै वस्तु वा सेवा प्रदायक भए पनि अर्को वस्तु वा सेवाको उपभोक्ता हुन्छ । त्यसैले वस्तु, सेवा वा भौतिक पूर्वाधार वा प्राकृतिक स्रोत उपभोग गर्ने सबै व्यक्ति उपभोक्ता हुन् । अधिवक्ता ऋषि काफ्लेका अनुसार कुनै शुल्क लिई वा नलिई वस्तु, सेवा, भौतिक पूर्वाधार वा प्राकृतिक स्रोतको उत्पादन वा बिक्री–वितरण गर्ने स्थान विशेष वा कार्यलाई बजार भनिन्छ भने उपभोक्ताले उपभोग वा प्रयोग गर्ने वस्तु वा वस्तुहरूको सम्मिश्रणबाट बनेको स्वास्थ्यलाई हानी–नोक्सानी वा कुनै किसिमको साइड इफेक्ट नगर्ने पदार्थ सम्झनुपर्छ । उक्त शब्दले उपभोग्य वस्तुको निर्माणमा प्रयोग हुने कच्चापदार्थ, रंग, सुगन्ध वा रसायनलाई समेत जनाउँछ । 

चाडको चटारोसँगै बजारमा भीड बढेको छ । यो आर्थिक कारोवार आकासिने बेला हो, उपभोक्ताहरू सक्रिय हुने बेला हो । यतिबेला खरिददारीका साथै आर्थिक कारोबार चुलिने हुनाले विभिन्न छुट–सेल आदि पनि लागिरहेका हुन्छन् । यस्तो समय र अवसरमा उपभोक्ताहरू ठगिने सम्भावना बढी हुने अधिवक्ता बानियाँ बताउँछन् । बानियाँ भन्छन्–‘विशेष चाडवाडका बखत छुट, सेल तथा अफरहरू खुल्ने हुनाले ग्राहक–उपभोक्ता लोभिने सम्भावना बढी हुन्छ । यतिबेला बिक्री–वितरणका लागि राखिएका सामग्री म्याद नाघेका, बिग्रिएका, कमसल र नाजुकसमेत हुनसक्छन् । यिनै कारणले उपभोक्ताहरू ठगिन्छन् ।’ यस्तो अवस्थामा ग्राहक–उपभोक्ता स्वयं सजग हुनुपर्ने बानियाँको धारणा छ । यसका लागि सम्बन्धित विषयमा सुसूचित र चनाखो रहनुपर्ने, सामान खरिद गर्दा सामानमा प्रयोग भएका तत्वहरू, उत्पादन मिति, म्याद हेर्नुपर्ने एवं ठगिएको खण्डमा कहाँ उजुरी गर्ने भन्ने विषयमा जानकारी राख्नुपर्ने बानियाँले बताए । 

बजारमा देखिएका चुनौतीहरू 

नेपालको वस्तु र सेवा बजारमा एकाधिकारपूर्ण, अनुचित एवं निषेधित व्यापारिक क्रियाकलाप व्याप्त छ । प्रदायकहरूबाट कार्टेलिङ, सिन्डिकेट, गुणस्तरहीन वस्तु एवं सेवाको बिक्री, नापतौलमा ठगी, झूटो विज्ञापन, बिलबिजक जारी नगर्ने, दर्ता अनुमतिबिना उत्पादन, आयात, सञ्चय तथा बिक्री कार्य गर्ने, उत्पादनसम्बन्धी विवरण (लेबल) रीतपूर्वक उल्लेख नगर्नेे, म्याद गुज्रिएका सामानहरू बिक्री गर्ने प्रवृत्ति बढी छ । 

प्रदायकहरूबाट व्यावसायिक आचारको स्वघोषणा र त्यसको पालना हुन सकेको छैन । बजारमा भवन निर्माण आचारसंहिता विपरीत सार्वजनिक भवनहरूको निर्माण तथा प्रयोग, निर्माण सामग्रीहरूमा कम गुणस्तर, बजारमा अवैध रूपमा विषादी, अखाद्य रंग तथा प्रिजरभेटिभ प्रयोग भएका खाद्यपदार्थ बिक्री, अवैध रूपमा मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री तथा व्यापार, कृत्रिम अभाव, कृत्रिम मूल्यवृद्धि, बिचौलिया र कालोबजारीहरूको बिगबिगीजस्ता अनेकौं समस्या व्याप्त छन् ।

निजी क्षेत्रका प्रदायकहरूमा संगठित र नाफामुखी प्रवृत्ति छ । सरकारी क्षेत्रका अधिकांश प्रदायक अनुचित राजनीतिक दबाब, स्वायत्तताको अभाव, कमजोर व्यवस्थापन एवं कार्यदक्षताको अभावका कारण संकटग्रस्त अवस्थामा रहँदै आएका छन् । तिनका कतिपय व्यवस्थापक/सञ्चालकहरूमा जागिरे प्रवृत्ति हाबी छ । अनुगमन एवं नियमन गर्ने निकायहरूमा साधनस्रोत र प्रभावकारिताको अभाव छ ।

दैनिक घरायसी उपभोग्य वस्तु चामल, दाल, नुन, तेल, ग्यास, मटीतेल, डिजेल, पेट्रोल आदि, हवाई, जलविद्युत्, यातायात, खानेपानी, दूर सञ्चार, अस्पतालका साथै वैदेशिक रोजगारी आदि सेवाका क्षेत्रमा भैरहेको अनियमितता र ठगीबाट उपभोक्ताहरू आक्रान्त छन् । चिकित्सक, कानुन व्यवसायी, प्राध्यापक, इन्जिनियरिङजस्ता पेसाकर्मीमा आचारसंहिताको पालनामा र्‍हास आउँदै गएको छ । व्यावसायिक आचरण र नैतिकवान् व्यवसायीहरू अल्पमतमा पर्दै गएको पाइन्छ । बजारमा सेवा वा वस्तु खरिद गर्दा खुसी हुनुपर्ने उपभोक्ता ठगिएको महसुुुस गर्दै सधंै खिन्न मन लिएर बस्नुपर्ने अवस्था छ ।

आजको विज्ञानको युगमा परिस्कृत वस्तु र सेवाको उत्पादन एवं उपभोगको माग बढ्दो छ । साक्षरताको प्रतिशत कम रहेको हाम्रो जस्तो मुलुकमा ठूलो संख्याका उपभोक्तामा सचेतना र जागरणको अभाव छ । उपभोक्ताले होसियार हुने पर्याप्त क्षमता राख्न सक्ने अवस्था छैन । यसरी वस्तु वा सेवामा सेवा प्रदायकबाट हुने दर्ता, आपूर्ति, मूल्य, गुणस्तर, नापतौल, भ्रमपूर्ण विज्ञापनबाट हुने गरेका अनियमितता, शोषण, अत्याचार एवं ठगीको मारमा पिल्सिनुपर्दा उपभोक्ताहरू पीडित छन् । 

समयअनुसार उपभोक्ता हित संरक्षणसम्बन्धी कानुनको तर्जुमा एवं परिमार्जनसमेत हुन सकेको छैन । भएका कानुन पनि अधिकार प्राप्त निकायहरूको इच्छाशक्ति र आवश्यक साधनस्रोतको अभावमा प्रभावहीन छ । आवश्यक नीति तथा कानुनहरूको तर्जुमा गरी उपभोक्ताको सचेतना, वकालत र पैरवीको माध्यमबाट प्रदायक र नियामक निकायलाई जिम्मेवार तुल्याई उपभोक्ता माथि परेको मर्काका विरुद्ध क्षतिपूर्ति प्राप्त गर्न सक्षम बनाउँदै स्वच्छ बजार कायम गरी आम उपभोक्ताको अधिकारको संरक्षणमा योगदान गर्नुपर्ने कुरा नै संघ, प्रदेश तथा स्थानीय तहका लागि चुनौती भएको छ ।

उपभोक्ता सचेत र जागरूक हुनुपर्ने प्रमुख विषय

दर्ता : दर्ताबिनाका वस्तु, सेवा एवं प्रदायक पहिचान गर्न कठिन हुने हुँदा उपभोक्ता ठगिने सम्भावना बढी हुन्छ । त्यस्ता वस्तु, सेवा तथा प्रदायकहरूलाई बहिष्कार गर्नुपर्छ । दर्ता भएका मालवस्तु, सेवा र प्रदायक कहाँ मात्र खरिद गर्ने र बिलबिजक लिने बानी बसाल्नुपर्छ ।

आपूर्ति : बजारमा वस्तु र सेवाको आपूर्तिको अवस्था आम उपभोक्ताका लागि सहज र पहुँच योग्य हुनुपर्छ । सिन्डिकेट वा कार्टेलिङ गरी कृत्रिम अभाव सिर्जना गरेको, जम्माखोरी तथा अपचलन गरेको पाइए तत्काल नियामक निकाय वा उपभोक्ता संस्थामा उजुरी गर्नुपर्छ । 

गुणस्तर : लेबलिङ नभएका, म्याद गुज्रिएका सामग्री उपभोग गर्नु हुँदैन । विषादीयुक्त, बासी, सडेको, मिसावट एवं कमसल वस्तु वा सेवा भएको शंका लागे त्यस्ता वस्तु र सेवा लिन इन्कार गर्नुपर्छ । गुणस्तरहीन वस्तु वा सेवाले उपभोक्ताको स्वास्थ्य र सम्पत्ति दुवैको नोक्सान गर्छ । 

नापतौल : वस्तु वा सेवा खरिद गर्दा त्यसको नापतौल ठीक भए–नभएको यकिन गर्नुपर्छ । झुक्याएर कम नापतौल बिक्री–वितरण गरेको पाइए तत्काल उजुरी गरी त्यस्ता बिक्रेतालाई सजाय गराई नापतौलमा हुने ठगीबाट जोगिन र अरूलाई पनि जोगाउन सकिन्छ ।

मूल्य : वस्तु र सेवा खरिद गर्दा मूल्य हेरी खरिद गर्नुपर्छ । तोकिएको भन्दा बढी तथा अनुचित मूल्य लिए बिक्रेताका विरुद्ध उजुरी गरी कालोबजारी, नाफाखोरी तथा ठगीमा सजाय गराउन सकिन्छ । त्यस्ता बिक्रेतालाई भएको जरिवानाको २५ प्रतिशत रकम उजुरीकर्तालाई कमिसनका रूपमा प्राप्त हुन्छ ।

विज्ञापन : विज्ञापनको विश्वासमा परी वस्तु एवं सेवा खरिद गर्न हुँदैन । विज्ञापनमा उल्लेख भएबमोजिम वस्तु र सेवा नपाइए त्यस्तो प्रदायकलाई झुक्याएर बिक्री–वितरण गरेको तथा ठगी गरेको कसुरमा सजाय हुनसक्छ । त्यस्तो विज्ञापनबाट उपभोक्तामा पुग्न गएको हानी–नोक्सानी प्रदायकबाट क्षतिपूर्ति भराई लिन सकिन्छ । 

कर : रीतपूर्वकको बिलबिजक जारी नगर्ने बिक्रेताको मालवस्तु एवं सेवा कारोवार अवैध हुन्छ । त्यस्ताका विरुद्ध उजुरी गरी सजाय गराउनुपर्छ । करबाट नै राज्यले विकास निर्माणका काम एवं सामाजिक सुरक्षा प्रदान गर्ने भएकाले कर छली गर्ने बिक्रेतालाई बहिष्कार गर्नुपर्छ । 

नियमन : वस्तु र सेवासम्बन्धी अधिकार प्राप्त नियमन निकायबाट नियमित अनुगमन–नियमन भए– नभएको निगरानी राख्नुपर्छ । आवश्यक सूचना दिएर अनुगमन–नियमनमा सहयोग पुर्‍याउनु उपभोक्ताको कर्तव्य हो । अनुगमन–नियमनका क्रममा हुन सक्ने अनियमितताका सम्बन्धमा 

चनाखो रहनुपर्छ ।

 उपभोक्ताले ध्यान दिनुपर्ने अन्य कुरा 

    विज्ञापनको भर नपरौं, गुणस्तर र मूल्य हेरी–बुझी मात्र वस्तु एवं सेवा खरिद गरौं ।

    औषधि तथा खाद्यपदार्थ किन्दा उत्पादकको नाम, ठेगाना, दर्ता, मिश्रण, परिमाण, तौल, करसहितको अधिकतम खुद्रा मूल्य, ब्याच नम्बर, उपभोगको म्याद सकिने मिति हेरी उपयुक्त लागे मात्र खरिद गर्नुपर्छ । 

    मूल्य तिरेपछि बिल पाउनु उपभोक्ताको अधिकार हो । सामान खरिद गरेपछि बिल लिई सुरक्षित हुनुपर्छ ।

    दर्ता नगरी भएका उत्पादन, बिक्रीका मालवस्तु तथा सेवा अवैध भै उपभोक्ता ठगिन सक्ने भएकाले तिनको 

बहिष्कार गर्नुपर्छ ।

    कम नापतौल, कालोबजारी, नाफाखोरी, जम्माखोरी, कृत्रिम अभाव र मूल्यवृद्धि, काटेलिङ, सिन्डिकेट बन्धनयुक्त बिक्रीजस्ता उपभोक्ता माथिको ठगी र शोषणको प्रतिकार गर्नुपर्छ । यस्ता घटनामा उजुरी गरी दोषीलाई दण्डित गराउनुपर्छ ।

    डाक्टरको सल्लाहबिना औषधिजन्य पदार्थ प्रयोग एवं सेवन गर्नु हुँदैन ।

    विषादीहरू विष हुन् औषधि होइनन् । विषादीको हानिकारक प्रयोग भै अवशेष रहेका खाद्यवस्तु उपभोग गर्नु हुँदैन ।

    उत्पादक, आयातकर्ता तथा बिक्रेताबाट वस्तु र सेवाको आपूर्ति, मूल्य, गुणस्तर, नापतौल, विज्ञापन करमा हुन सक्ने 

ठगी एवं शोषणका विरुद्ध सचेत र जागरुक रहनुपर्छ ।

    सिसाको मात्रा अधिक भएका, आकर्षक रंगरोगन गरिएका सौन्दर्य सामग्री 

प्रयोग गर्नुहुँदैन ।

    सार्वजनिक स्थानमा सुर्ती एवं मदिराको बिक्री तथा उपभोग गर्नु–गराउनु हुँदैन । 

    वातावरण मैत्री वस्तु तथा सेवा नै उपयोग गर्नुपर्छ ।

    सूचना नदिने, गलत सूचना दिने, ढिलासुस्ती, असमान व्यवहार, अनियमितता एवं भ्रष्टाचार गर्नेहरूका विरुद्ध आवाज उठाई उनीहरूलाई 

दण्डित गराउनुपर्छ ।

    गुणस्तरहीन वस्तु एवं सेवाका विरुद्ध आवाज उठाउनुपर्छ । उपभोक्तामा पर्न गएको मर्काका विरुद्ध उजुर गरी क्षतिपूर्ति प्राप्त गर्न सकिन्छ । 

ज्योति बानियाँ

अधिवक्ता तथा अध्यक्ष उपभोक्ता हित संरक्षण मञ्च

उपभोक्ता अधिकारभित्र के–के पर्छन् ?

उपभोक्ता अधिकारभित्र ९ वटा अधिकार छन् । सुरक्षाको अधिकार, सुसूचित हुने अधिकार, छनोटको अधिकार, सुनुवाइको अधिकार, उपभोक्ता शिक्षाको अधिकार, वातावरणको अधिकार, पहुँचको अधिकार, क्षतिपूर्तिको अधिकार, प्रतिनिधित्वको अधिकार आदिलाई नेपालको कानुनले सुनिश्चित गरेको छ । 

अन्याय परे कहाँ उजुरी गर्ने ?

पहिलो चरणको उजुरीका लागि वडा कार्यालय, गाउँपालिका, नगरपालिका, प्रहरी एवं सरोकारवाला संघसंस्था आदिमा जान सकिन्छ ।

मुद्दा कहाँ हाल्ने ?

प्रथम चरणको उजुरीपछि जिल्ला अदालतमा क्षतिपूर्तिको दावीसहित मुद्दा दायर गर्न सकिन्छ । 

यसमा सजाय तथा क्षतिपूर्तिको व्यवस्था कस्तो छ ?

ठगिएको ६ महिनाभित्र क्षतिपूर्तिको मुद्दा दर्ता गराउनुपर्छ । वस्तुको हकमा सामान किनेको हप्ता दिन भित्र साटफेर वा फिर्ता गर्न पाउने व्यवस्था छ तर बिल भने हराउनु हुँदैन । प्रमाणित भएको खण्डमा माग दावीअनुसारको क्षतिपूर्ति पाइने व्यवस्था छ । 

पछिल्लो समय उपभोक्ता अधिकारसम्बन्धी बढी देखिएका समस्या के–के हुन् ?

अहिले उपभोक्ता आफू स्वयं पनि सजग देखिँदैनन् । अर्कातिर नापतौल, गुणस्तरलगायत अस्पताल र शिक्षा आदि सेवामूलक क्षेत्रमा बढी समस्या देखिएका छन् । यातायातका क्षेत्रमा पनि उपभोक्ताहरू मारमा छन् ।

 

 Image