Successfully Copied

चल्तीका बेडसिट र कुसन

बजारमा सादा कपास, पोलिस्टरदेखि फेन्सी डिजाइनसम्मका बेडसिट उपलब्ध छन् । सुती कटन, खादीमा जयपुरी तन्ना उपलब्ध छन् ।

बेडसिट किन्न खोज्दै हुनुहुन्छ ? कहाँ किनौं भन्ने अलमलमा हुनुहुन्छ ? यसका लागि थुप्रै विकल्प आइसकेका छन् । बजारदेखि अनलाइनसम्म पनि किन्न सकिन्छ । बजारमा आफ्नो बजेट र रोजाइअनुसारका बेडसिट उपलब्ध छन् । आफ्नो बजेट र गुणस्तरअनुसार यसलाई छनोट गरेर किन्न सकिन्छ ।
बानेश्वरमा करिब १२ वर्षदेखि बेडसिट र कुसनको व्यापार गर्दै आएका राजु महर्जनका अनुसार बेडसिटहरू मूल्य र ब्रान्डअनुसार ग्राहकहरूको रोजाइमा पर्ने गरेका छन् । उनका अनुसार बजारमा सादा कपास, पोलिस्टरदेखि फेन्सी डिजाइनसम्मका बेडसिट उपलब्ध छन् । सुती कटन, खादीमा जयपुरी तन्ना उपलब्ध छन् । ‘फ्लोर प्रिन्ट’ ‘स्टार प्रिन्टेड’, ‘टिकटक प्रिन्टेट’ बेडसिटहरू नयाँ ट्रेन्डमा आउन थालेका छन् ।
गुणस्तरअनुसारका बेडसिट
सादा कपासका बेडसिट

नेपाली बजारमा धेरै बिक्री बेडसिटमध्ये हो सादा कपासबाट निर्मित बेडसिट । यो नरम र दीर्घकालीन टिकाउ हुने भएकाले पनि धेरै ग्राहकको रोजाइ रहेको व्यापारीहरू बताउँछन् । यो लामो समयसम्म टिक्छ र यसको मूल्य बजारमा ८ सयदेखि ३ हजार रुपैयाँसम्म पर्छ । सिंगल र डब्बल प्रयोग हुने यी तन्नाहरू प्रायः चीनबाट आयात हुने गरेका छन् ।
पोलिस्टर वा मिक्स बेडसिट
पोलिस्टरबाट निर्मित बेडसिटहरू कम मूल्यमा पाउन सकिन्छ । यसको मूल्य ४ सयदेखि १२ सम्म पर्छ । यस्तो तन्ना विशेषगरी चिसो मौसममा प्रयोग गरिन्छ । यसले पसिना सोच्ने भएकाले पनि गर्मी हुनबाट बचाउँछ । बजारमा यसको मूल्य ५ सयदेखि १ हजार ५ सयसम्म पाउन सकिन्छ ।
फेन्सी बेडसिट
यसका बेडसिटहरू डिजाइनयुक्त हुन्छन् । आकर्षक डिजाइनिङ हुने यी बेडसिट विशेषगरी सजावटमा प्रयोग हुने गरेका छन् । विशेष अवसर र पाहुनाका लागि यी तन्नाहरू खरिद गरिन्छ । यिनीहरूको मूल्य ४ हजारसम्म पर्छ ।
प्रिन्टेड डिजाइन बेडसिट
पछिल्लो समय बेडसिटहरू विभिन्न रङ र प्रिन्टमा उपलब्ध हुन थालेका छन् । आधुनिक लुक दिन चाहनेका लागि यस्ता बेडसिट रोजाइमा पर्ने गरेका छन् । कपास र पोलिस्टरदेखि स्थानीय लुक्समा यी बेडसिट उपलब्ध छन् ।

नेपाली बेडसिट
नेपालमा पनि मौलिकता झल्काउने किसिमका बेडसिट उत्पादन भइरहेका छन् । विशेषगरी शतप्रतिशत कपासद्वारा निर्मित बेडसिट बजारमा पाइन्छन् । यी बेडसिटमा रङ नजाने, भुवा नआउने जस्ता विशेषता छन् । यी बेडसिटहरूको साइजअनुसार मूल्य फरक छ । यिनीहरूको मूल्य ९ सयदेखि ३ हजारसम्म पर्छ ।
राजस्थानी बेडसिट
नेपाली बजारमा राजस्थानी जयपुरी, बक्बई बेडसिट चल्तीका बेडसिट हुन् । यी प्रख्यात ब्रान्डहरूले स्थापित बेडसिटहरूको लोकप्रियता कम भएको छैन । ग्राहकहरूले यी बेडसिटखोजिरहने व्यापारीहरू बताउँछन् । कटनबाट निर्मित यस्ता बेडसिटहरूको मूल्य २ हजारभन्दा माथि पर्छ । सिंगल वा डब्बल दुवैलाई उत्तम हुने यी बेडसिटको साइजअनुसार मूल्य निर्धारण गरिएको छ ।

सजावटका लागि कुसन
कुसन विशेषगरी सजावटका लागि प्रयोग गरिन्छ । कुसन कुर्सी–टेबल एवं सोफादेखि ओछ्यान सजाउनका लागि उपयुक्त हुन्छ । कपडाभित्र फाइबर, रुवा, स्पञ्ज राखेर बाहिर विभिन्न रङ र डिजाइनमा कुसन निर्माण गरिन्छ । कुसनले कोठाको सौन्दर्यलाई बढाउनुका साथै लामो समय बस्दा शरीरको पोस्चर सुधार्न पनि सहयोग गरेको हुन्छ ।
बजारमा उपलब्ध कुसनहरू
डेकोरेटिभ कुसन
सोफा वा ओछ्यान सजाउनका लागि विशेषगरी यो कुसनको प्रयोग गरिन्छ । यो विशेष आकर्षणकभर र डिजाइनसहित उपलब्ध हुन्छ । यो कुसनको मूल्य ४ सय ४० देखि ७ सयसम्म पर्छ ।
फ्लोरल कुसन
यस्ता कुसन भुइँमा बस्न प्रयोग गरिन्छ । यी कुसनहरू बाक्ला र ठूला साइजका हुन्छन् । लामो समयका लागि प्रयोग गर्न यी कुसनहरू ग्राहकहरूले किन्ने गरेका छन् । ३ सयदेखि सुरु हुने यी कुसनको मूल्य १ हजार ५ सयसम्म पर्छ ।
ब्याक सपोर्ट कुसन
यस्ता किसिमका कुसन ढाड टेकेर बस्न सहज हुने डिजाइनमा निर्माण भएको हुन्छ । शरीरको पोस्चर मिलाउन यी कुसनहरू प्रयोग गरिन्छ ।
बेडसिट किन्दा के कुरामा ध्यान दिने ?
बेडसिट शतप्रतिशत कटनको किन्नुपर्छ । यो नरम हुनाले गर्मीका लागि उपयुक्त र प्रयोग गर्न सहज हुन्छ ।
चिसो मौसमका लागि माइक्रो फाइबरयुक्त तन्ना रोज्नुपर्छ, जुन नरम र न्यानो हुन्छ ।
कम मूल्य र चाँडो सुक्नका लागि पोलिस्टोरका तन्ना छनोट गर्नुपर्छ ।
साइजअनुसारका बेडसिट हेर्ने ।
कोठाको रङ र सजावटलाई ध्यान दिने ।
गाढा रङको बेडसिट किन्ने जुन सहजै फोहोर देख्न सकिन्छ र सफा गर्न सहज हुन्छ ।
मूल्य र गुणस्तरमा ध्यान दिने ।

 Image