लेखक सुमन वर्षाको कथा संग्रह ‘अभ्यन्तर’ हालै प्रकाशित छ । यसअघि उनका दुई उपन्यास ‘ढुकुटी’ र ‘अन्ततः यन्त्रणा’ प्रकाशित भइसकेका छन् । उनीसँग गरिएको आख्यान वार्ता :
‘अभ्यन्तर’ का कथाहरूका भावभूमि के हुन् ?
‘अभ्यन्तर’ का कथामा समसामयिक सामाजिक पृष्ठभूमिका साथसाथै विज्ञान–प्रविधिले भविष्यमा पार्न सक्ने प्रभावको परिकल्पना छ । मान्छेहरूको अन्तर्घुलित र अव्यक्त संशयहरू छन् । मान्छे र प्रकृतिको अन्तर्सम्बन्ध छ । वातावरण क्षयीकरणले पार्ने प्रभाव र त्यसको समाधानतर्फ उन्मुख तर्कहरू यसै कथामा निहित स्वरहरू नै यस संग्रहका कथाहरूका भावभूमि हुन् ।
‘अभ्यन्तर’ पुस्तक आफ्ना कथाका पात्रहरूलाई समर्पण गर्नुभएको छ । लेखकले पात्रहरूलाई कति प्रेम गर्छन् ? पात्रबिना लेखकको अस्तित्व रहन्छ वा रहँदैन ?
मैले मेरो पुस्तक मेरा कथाका पात्रहरूलाई समर्पण गरेको छु । कथा लेख्ने क्रममा म वास्तवमा पात्रसँगै सुत्छु, पात्रसँगै उठ्छु । कहिलेकाहीँ पात्रहरू यति ठूलो दुःखको भुमरीमा भासिँदै जान्छन्, त्यसरी मैले किन पीडा थोपरिदिएको हुँला ? कतै ती पात्रलाई मैले धेरै पीडा त दिइनँ भन्ने सोचेर आत्मग्लानि हुन्छ । कहिलेकाहीँ पात्रलाई मैले अन्याय पो गरें कि भनेर आफैँलाई प्रश्न सोध्न मन लाग्छ । कथा लेख्दा पात्रहरूको मनोदशाले एकदम डिस्टर्ब पनि हुन्छ । कहिले पात्रहरूले स्वतन्त्र हुन गरेको संघर्ष र त्यसका लागि लिएको निर्णयले समेत मलाई खुसी र दुःखी दुवै बनाउँछ ।
पात्रबिना लेखकको अस्तित्व नै रहन्न । पात्र छन् र कथा छ । यदि पात्र नै नहुँदा हुन् त कथाको उत्पत्तिको सम्भावना नै रहँदैन । पात्रहरूले नै कथालाई जीवन दिन्छन् । कथालाई सजीव बनाउँछन् ।
कथा के हो तपाईंका लागि ?
वास्तवमा महाकवि देवकोटाले भनेजस्तै एउटा सानो झ्यालबाट बाहिर हेर्दा देखिने संसार नै कथाको मूलभाव हुने गर्छ भन्ने लाग्छ । जस्तो एउटा कथा जीवनको द्योतक बन्न सक्छ । तपाईं त्यस कथाबाट जीवनको एउटा झिल्को भेट्याउन सक्नुहुन्छ, जसबाट तपाईंले मानिसको मनोभाव बुझ्नेदेखि लिएर उसले पार्ने प्रभावको समेत मूल्यांकन गर्न सक्नुहुनेछ ।कथाएउटा संसारको भिन्नभिन्न रूप, स्वभाव, पहिचान र संस्कृतिलाई नियाल्न सकिने माध्यम हो । त्यसैले मेरा लागि कथा भनेको जीवन–जगत्, दर्शन र मानिसको प्रकृति एवं मनोभावको चित्र बुझ्ने विचित्रको माध्यम हो ।
नेपाली आख्यानमा कुन पुस्तक सर्वाधिक महत्त्वको छ ? किन ?
घामका पाइलाहरू, एक पालुवा अनेकौं याम, अविरल बग्छ इन्द्रावती, माधवी, अलिखित, कारागार हुन्, अन्य पनि थुप्रै छन्, किनकि यी पुस्तकहरूमा घटना, परिवेश, इतिहासलाई वर्तमानसँग समन्वय गरेर मूल प्रवाहमा रही लेखिएको छ ।
नेपाली आख्यानका शक्ति र सीमा के–के हुन् ?
नेपाली आख्यानका शक्ति भनेकै तत्तत् समयका देशकाल–परिस्थितिलाई व्यक्त गर्न सक्ने मूल प्रवाहको आख्यान लेखन हो । यिनै मूल प्रवाहका आख्यानहरू इतिहास र भविष्यको विलयन गरी सिर्जित हुन सक्ने भएकाले यसको शक्तिका रूपमा लिन सकिन्छ ।
नेपाली आख्यानमा लेखिन बाँकी विषय के हुन् ?
बाँकी विषयहरू कति छन् कति । एउटा उदाहरण–कोरोनामाथि थुप्रै सिर्जना भए । कसलाई थाहा थियो यसरी कोरोना कहर र यसको प्रभावमाथि पनि यसरी लेखिन्छ होला भनेर । तर पनि नेपाली समाज र यसको विविधताको पक्षमा नेपाली साहित्यको ऊर्वर र लेख्न बाँकी विषयहरू हुन सक्छन् ।
सामाजिक तथा राजनीतिक विडम्बनाहरूलाई बदल्न आख्यानको भूमिका कत्तिको प्रभावकारी हुन्छ ?
साहित्य समाज परिवर्तनको द्योतक हो भन्दा फरक पर्दैन । सामाजिक र राजनीतिक विडम्बनाहरूलाई बदल्न आख्यानको प्रभावकारी भूमिका हुनुपर्छ । समाजमा व्याप्त स्टेरियोटाइप सोचलाई परिवर्तन गर्न साहित्य माध्यमका रूपमा आउनुपर्छ, न कि साहित्य यथास्थितिमा बस्नुपर्छ । हामी पाश्चात्य साहित्यका एक–दुई उदाहरण लिन सक्छौं । जस्तै भिक्टोरियन पिरियडसम्म आइपुग्दासम्म पनि महिलामाथि विभेदको अवस्थाथियो । केट चोपिनको ‘द एवाकेनिङ’ तत् समयमा महिलाको मुद्दालाई लिएर लेखिएको उपन्यास थियो । त्यतिबेला तत्काल यसको खास प्रभाव नपरे पनि कालान्तरमा यो पुस्तकले महिलाहरूलाई ‘हामी संकुचित अवस्थाबाट माथि उठेर हामी हाम्रो अस्तित्वका लागि आफैंबाट सुरु गर्नुपर्छ’ भन्ने चेतनाको बोध गरायो । यो सर्वाधिक बिक्री भएको पुस्तक बन्यो । त्यसैले यस्ता कतिपय सामाजिक र राजनीतिक विकृतिमाथि अग्रगमनतर्फ उन्मुख गराएर केही नयाँपन दिने खालको साहित्य लेखिनुपर्छ ।