प्रकृति शिवाकोटी (संस्थापक–निर्देशक, सोमा वेलनेस स्टुडियो)
पेसाले वातावरण अधिवक्ता तथा अनुसन्धानकर्ता हुन्, प्रकृति शिवाकोटी । उनले काठमाडौं स्कुल अफ लबाट एलएलबीसम्मको अध्ययन पूरा गरेकी छन् । कुनै पनि व्यक्ति शारीरिक र मानसिक तन्दुरुस्ती मात्रै नभई आध्यात्मिक रूपमा पनि स्वस्थ हुनुपर्छ भन्ने मान्यता राख्छिन्, उनी । हालै ‘सोमा वेलनेस स्टुडियो’ सञ्चालनमा ल्याएकी उनी छिट्टै ‘नेचुरल सुपर फुड’ उत्पादनको तयारीमा छिन् ।
वातावरणसँग मानिसको स्वास्थ्यलाई जोडेर काम गर्ने विचार कसरी आयो ?
वातावरण अत्यन्तै रुचिको विषय भएकाले ‘इन्भाइरोमेन्टल ल’ पढें । स्वस्थ वातावरणले मात्रै सफा पानी, सफा माटो, स्वच्छ र स्वस्थ खाना प्रदान गर्छ । फोहोर व्यवस्थापन कसरी गर्ने ? विषादी कसरी घटाउने ? भन्ने यसैमा पर्छ । अहिले मैले सोमा वेलनेस स्टुडियोमा प्रयोग गर्ने हरेक प्रसाधन नेपाली उत्पादन हुन् । नेपालका विभिन्न ग्रामीण क्षेत्रबाट ल्याइएका जडीबुटीको प्रयोगद्वारा सेवा प्रदान गरिन्छ । यी सबै केमिकल, प्लास्टिकरहित छन् ।
सोमा वेलनेस स्टुडियो कस्तो अवधारणा हो ?
यो क्षेत्रमा पहिलेदेखि रुचि थियो । केही समय यही क्षेत्रमा काम पनि गरें, स्वदेशी–विदेशीहरूसँग । वातावरण संरक्षण–संवर्द्धनका लागि पनि गतवर्षको कोप–२८ मा यही विषयलाई लिएर भाग लिएकी थिएँ । शारीरिक, मानसिक र भावनात्मकका साथसाथै आध्यात्मिक स्वास्थ्यलाई चौतर्फी रूपमा समेट्ने गरी सुरुवात भएको पहल नै सोमा वेलनेसको अवधारणा हो ।
यहाँ के–कस्ता सेवा उपलब्ध छन् ?
यहाँ स्वास्थ्यसँग सम्बन्धित विविध सेवा उपलब्ध छन् । जस्तै, अक्युपंचर, मसाज थेरापी, कपिङ, मोक्जिबिसन, म्युजिकल प्राक्टिसेस, इभेन्ट, वर्कसपलगायतका क्रियाकलाप हुन्छन् । विशेषतः महिलालाई प्राथमिकतामा राखेर आयुर्वेदिक तथा न्याचुरोपेथिक कार्यशाला चलाइन्छ ।
यो सेवा कत्तिको महँगो छ ?
सेवाको गुणस्तरको हिसाबले यो निकै सुलभ सेवा हो । हामीकहाँ कार्यरत थेरापिस्ट, डाक्टर, न्युट्रिसियन काउन्सलर सबै आफ्नो क्षेत्रमा दक्ष हुनुहुन्छ ।
यसले मानिसको मानसिक, शारीरिक, आध्यात्मिक स्वास्थ्यमा कस्तो फाइदा हुन्छ ?
लामो समयदेखि नै यही क्षेत्रमा शोध–अनुसन्धान गरेरै हामीले सुरु गरेका हौं । क्लासिकल म्युजिङ, तिब्बेतियन सिङगिङ बलद्वारा साउन्ड हिलिङ, साउन्ड बाथलगायतका क्रियाकलाप गराउँछौं, जुन वैज्ञानिक रूपमै प्रमाणित छ कि यसले हाम्रो भावनात्मक हिलिङ गराउँछ । इमोसन रिलिज नहुँदा एन्जाइटी, डिप्रेसन, इन्सोमनिया आदि समस्या आउँछन्, जसमा यो प्रभावकारी उपचार साबित भएको छ ।
हालसम्म कस्तो परिणाम आइरहेको छ ?
हामीले जति मानिसलाई सेवा प्रदान गर्यौं, त्यसको रिभ्यु अत्यन्त राम्रो छ । सबैले हाम्रो सेवा प्रभावकारी भएको प्रतिक्रिया दिइरहेका छन् ।