Successfully Copied

स्तन क्यान्सर उपचारमा सुधार

पहिले स्तन क्यान्सर भयो भन्नासाथ ट्युमरको आकार जत्रो र जुन स्टेजको भएपनि स्तन नै फाल्ने गरिन्थ्यो । अहिले स्टेज तीनको क्यान्सरमा पनि स्तन फाल्नैपर्छ भन्ने हुँदैन ।


डा. बानिरा कार्की, स्तन क्यान्सर विशेषज्ञ
नेपालकै प्रथम महिला स्तन क्यान्सर विशेषज्ञ डा.बानिरा कार्कीको जन्म काठमाडौंस्थित पुरानो बानेश्वरमा भएको थियो । उनले सन् १९९९ मा सेन्ट मेरिजबाट एसएलसी र धरानको दिल्ली पब्लिक स्कुलबाट सन् २००१ मा ‘प्लस टु’ गरेकी हुन् । उनी प्लस टु सकेपछि डाक्टर बन्ने रुचिका कारण पाकिस्तानबाट एमबीबीएस अध्ययनका लागि काइदे–इ–आजम मेडिकल कलेज भावलपुर गइन् । उनले पाकिस्तानमा अध्ययनसँगै इन्टर्नसीप गरेर छ वर्ष बिताइन् । कार्कीले धेरै बिरामीको स्तन क्यान्सर, ‘ल्याप्रोस्कोपी सर्जरी’, पित्तथैली, हर्निया, एपेन्डिक्सलगायतका सर्जरी गरिसकेकी छिन् । हाल उनी बिएण्डबी अस्पतालमा स्तन क्यान्सर विशेषज्ञका रूपमा कार्यरत छिन् । उनै डा. कार्कीसँग अध्ययन, रोग र उपचारका बारेमा गरिएको कुराकानी ः

स्तन क्यान्सर सर्जन बन्ने प्रेरणा कहाँबाट प्राप्त भयो ?
पाकिस्तानमा एमबीबीएस अध्ययन गर्दा सबै रोगका बारेमा पढ्नुपर्थ्यो । त्यो समयमा ल्याप्रोस्कोपी सर्जरी हुन थालेको थियो । डा. इकवालसँग काम गर्ने अवसर पाएसँगै ल्याप्रोस्कोपी सर्जरीमा रुचि बढ्दै गयो । त्यतिबेला सर्जरीको पढाइ र साँझ वार्डमा बिरामी हेर्न मसहित केही साथी जान्थ्यौं । त्यहींबाट प्रेरित भएर ल्याप्रोस्कोपी सर्जन बन्न मन लाग्यो । यसैगरी धुलिखेल अस्पतालमा कार्यरत हुँदा युवावस्थामै स्तन क्यान्सर भएका धेरै महिला देखें । बिरामीलाई महिला चिकित्सकसँग नै सहज अनुभव हुने तर त्यतिबेला नेपालमा महिला स्तन क्यान्सर सर्जन थिएनन् । यी र यस्तै घटनाका कारण म ‘ब्रेस्ट अंकोसर्जरी’ तर्फ आकर्षित भएँ ।
पाकिस्तानमा पढ्दा र काम गर्दाको अनुभव बताइदिनुहोस् न ।
पाकिस्तानमा पढ्दा रेसिडेन्सी एक्ली महिला थिएँ । एमबीबीएस गरेर नेपाल आएपछि पनि सर्जरीमै पढ्न पाए भने उतै फर्किन्छु भन्ने थियो । उडवार्ड मेडिकल युनिभर्सिटीमा पोस्ट ग्रयाजुएसन सर्जरी चार वर्ष रेसिडेन्सका रूपमा काम गरें । वार्डमा बिरामी हेर्ने एक्ली महिला थिएँ । महिला एक्लै हुँदा कामका हिसाबले कुनै कुरामा फाइदा हुन्थ्यो । धेरै महिला बिरामी पुरुष चिकित्सकलाई देखाउन अप्ठ्यारो मान्ने भएकाले मैले नै हेर्थें । उनीहरू स्तन र मलद्वारको समस्या लिएर आउँथे । जति पनि स्तन क्यान्सरको अप्रेसन हुन्थ्यो, सिनियर प्रोफेसरसँगै मैले नै हेर्थें । त्यो समयमा लेप्रोस्कोपिक, हर्नियाको सर्जरी पनि गरें ।
स्तन रोग विशेषज्ञमै रुचि किन भयो ?
महिलालाई स्तनमा समस्या परेमा देखाउन सहज महिला सर्जनसँगै हुँदो रहेछ । अल्ट्रासाउन्ड गर्दा पनि बिरामीलाई महिलासँग सहज हुने रहेछ । । आफ्नो साइडबाट केही गर्न सकिन्छ र रुचिको क्षेत्र पनि भयो । मैले हर्निया, पित्तथैलीको पत्थरीको अप्रेसन गरिसकेकी छु । यो सर्जरी गरेर मात्र भएन नयाँ केही गर्नुपर्छ भनेर इन्डियाको कलकत्तास्थित टाटा मेडिकल कलेजबाट सन् २०१९ मा स्तन क्यान्सर सर्जरीमा १ वर्ष ‘सुपर स्पेसलाइजेसन’ गरें । त्यसपछि अहिले म स्तन क्यान्सरसम्बन्धी बिरामी हेर्छु ।
स्तन क्यान्सर हुने कारण के होला ? पुरुषलाई स्तन क्यान्सर हुन्छ वा हुँदैन ?
ठ्याक्कै यही कारणले स्तन क्यान्सर हुन्छ भन्ने छैन । तर यसका विभिन्न जोखिम छन् । हाल विश्वमै यो क्यान्सर वृद्धि भइरहेको छ । अहिले विश्वमा दुई दशमलव तीन मिलियन यसका रोगी छन् भने सन् २०४० सम्म तीन मिलियन पुग्ने अनुमान गरिएको छ । जीवनशैली परिवर्तन र खानपानमा रसायनको प्रयोगका कारण यो क्यान्सर हुन्छ। अहिले युवापुस्तामा स्मोकिङ र अल्कोहलको लत बढ्दो छ । अहिले मानिसहरूलेविवाह पनि ३०–४० वर्षमा गर्छन् । स्तनपान कम गराउँदा र नगराउँदा पनि स्तन क्यान्सर हुन्छ । अविवाहित, स्तनपान नगराएका महिलामा पनि क्यान्सर हुने सम्भावना हुन्छ । साथै वंशानुगत परिवारमा स्तन,ओभरीजस्ता क्यान्सर छन् भने क्यान्सर हुनसक्छ । पुरुषमा पनि स्तन क्यान्सर हुन्छ । तर तुलनात्मक रूपमा कम हुन्छ । ६० वर्षमाथिका पुरुषमा पनि क्यान्सर देखिएको छ ।

स्तन क्यान्सरका लक्षण कस्ता हुन्छन् ?
स्तनमा कुनै प्रकारका दुख्ने वा नदुख्ने गाँठागुँठी छन् भने स्तन क्यान्सर हुनसक्छ । सामान्यतया गाँठागुँठी देखिएपनि दुखेको छैन भनी धेरैले लाज मानेर उपचार गराउँदैनन् । यसले आकार बढ्ने र फैलने सम्भावना रहन्छ । स्तनमा, काखीमा गिर्खा देखिनु र स्तन निचोर्दा पानी निस्कन्छ । यस्तो भएमा उपचार गराउनुपर्छ ।
कुन स्टेजको क्यान्सर भए स्तन फाल्नुपर्छ ?
स्तन क्यान्सरको उपचारमा अहिले सुधार भएको छ । पहिले स्तन क्यान्सर भयो भन्नासाथ ट्युमरको आकार जत्रो र जुन स्टेजको भएपनि स्तन नै फाल्ने गरिन्थ्यो । अहिले स्टेज तीनको क्यान्सरमा पनि स्तन फाल्नैपर्छ भन्ने हुँदैन । ठूलो साइजको ट्युमर भएपनि पहिले किमोथेरापी (नसाबाट औषधि दिने) दिई सानो गरेर मात्र सानो सर्जरीपछि स्तन बचाउने गरिन्छ । स्टेज चार (लास्ट स्टेज) मा भने यो सम्भव हुँदैन । पुरुषलाई स्तन क्यान्सर भए ठूलो टिस्यु हुँदैन । क्यान्सर भएपछि स्तन नै फाल्ने गरिन्छ ।
स्तन र महिलाको सौन्दर्य एक–अर्कासँग सम्बन्धित छन् ?
स्तन शरीरको भाग हो । एउटा स्तन नहुँदा महिलालाई सामाजिक रूपमा अघि बढ्न अप्ठ्यारो महसुस हुनसक्छ । कतिपय महिलामा निको भएर अघि बढ्दा मेरो एउटा अङ्ग छैन भन्ने लाग्न सक्छ । मनोवैज्ञानिक आघात धेरै महिलामा देखिन सक्छ । सुरुमा क्यान्सर हुँदा फालौंजस्तो लागेपनि पछिको लागि सोचिँदैन । तर निको भएपछि बाहिर जाँदा, पहिरन लगाउँदा आत्मविश्वास नहुन सक्छ । कतिपय अवस्थामा स्तन बचाउन सकिँदैन र फाल्नैपर्ने हुन्छ । त्यसमा पछाडिको मसल्स अगाडि ल्याएर स्तनको आकार दिई सौन्दर्य कायम राखिन्छ । कहिलेकाहीँ पेटको बेली फ्याट लिएर प्लास्टिक सर्जनको सहयोगमा नयाँ स्तन रिकन्स्ट्रक्ट गरिन्छ । सौन्दर्य कायम राख्न कृत्रिम सिलिकन इम्प्लान्ट पनि राख्न सकिन्छ ।
अहिले कुन उमेरका महिलामा स्तन क्यान्सर देखा परेको छ ? कम उमेरमा कति वर्षमा यो क्यान्सर देखिएको छ ?
साधारणतया ४० देखि ५० वर्ष उमेरका महिलामा स्तन क्यान्सर देखिने गरेपनि हाल ३० वर्षकामा पनि देखिएको छ । २० वर्षीया युवतीकोपनि स्तन क्यान्सर भएर एउटा स्तन फालिएको छ ।

स्तन क्यान्सर हुन नदिने उपाय के होला ?
सधै फिट रही स्वस्थ जीवन शैली अपनाउनुपर्छ । मोटोपन कम गर्नुपर्छ । जंकफुड, प्रोसेस्ड मिट खानुहुँदैन र स्मोकिङ तथा अल्कोहल पनि सेवन गर्नुहुँदैन । ३० वर्ष नपुग्दै गर्भधारण गरीपर्याप्त मात्रामा स्तनपान गराउनुपर्छ । परिवारमा कसैलाई क्यान्सर भएको छ भने २५ वर्षकै उमेरबाट विशेषज्ञलाई देखाएर स्क्रिनिङ गराउनुपर्छ । औसतमा ४० वर्ष पुगेका हरेक महिलाले वर्षको एकपटक स्तन रोग विशेषज्ञलाई देखाउनुपर्छ । महिलाले घरमै ‘सेल्फ ब्रेस्ट इक्जामिनेसन’ गर्न सक्छन् । यसका लागि महिनावारी भएको सातदेखि १० दिनभित्र दुवै स्तन नुहाउने बेला वा सुत्ने बेलामा दाहिने हातले देब्रे स्तन र देब्रे हातले दाहिने स्तन सर्कुलर मोसनमा छाम्नुपर्छ । यसो गर्दा स्तनमा गाँठागुँठी भएनभएको पत्ता लाग्छ ।
क्यान्सर उपचारमा खर्च कति लाग्छ ?
सरकारी र निजी अस्पतालमा रकम फरक पर्छ । किमोथेरापी, रेडिएसन र सर्जरी तीनदेखि पाँच लाख रुपैयाँसम्म लाग्छ ।
भविष्यको योजना के छ ?
धेरै बिरामीको उपचारमा लागिरहन्छु । क्यान्सरमा आउने विविध विषयमा अपडेट भइरहन्छु ।

तस्बिरहरुः महेश प्रधान

 Image