Successfully Copied

‘परिश्रम गरेपछि बाँच्ने गरी पारिश्रमिक पाउनुपर्छ’

नेतृत्वमा भएका महिलाले पनि महिलालाई कसरी अगाडि बढाउने र टिकाउने भन्ने कुरा नीतिगत रूपमा हेर्नुपर्छ ।


रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधि मन्त्री

दाङ घोराहीमा ५४ वर्षअघि जन्मिएकी रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री हुन् । उनले दाङबाटै स्कुले शिक्षा र स्नातकसम्मको अध्ययन पूरा गरिन् । त्यसपछित्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरिन् । अनेरास्ववियुको स्कुल इकाइ कमिटीबाट ०४३ मा विद्यार्थी राजनीतिमा प्रवेश गरेकी उनी अखिलको जिल्ला उपाध्यक्ष, ०४८ मा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को दाङ अध्यक्ष, ०५० मा केन्द्रीय सदस्य, ०५१ मा ‘वाइसीएल’को केन्द्रीय सदस्य, ०५३ देखि ०५७सम्म अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को केन्द्रीय अध्यक्ष भएकी थिइन् । ०५८ मा शर्मालाई उनका श्रीमान् कृष्णध्वज खड्कासहित पक्राउ गरिएको थियो । ०७० र ०७४ मा प्रतिनिधिसभामा समानुपातिक सदस्यका रूपमा निर्वाचित उनी ०७२ कात्तिकदेखि ०७३ कात्तिकसम्म सामान्य प्रशासनमन्त्रीको जिम्मेवारीमा रहेकी थिइन् । आफ्ना जीवनका ३८ वर्ष राजनीतिमा बिताएकी मन्त्री रेखासँग उनको राजनीतिक यात्रा र अनुभवबारेमा केन्द्रित रही गरिएको संवाद -


प्रस्तुति  -उपासना घिमिरे


राजनीतिमा कसरी झुकाव बढ्यो ?

मेरो बुवा शिक्षक र सामाजिक काममा पनि सक्रिय हुनुहुन्थ्यो । विभिन्न ठाउँमा स्कुल स्थापना गर्नुहुन्थ्यो । घरमै पत्रपत्रिका आउँथे । बुवाका साथी पनि घरमै आउँथे र राजनीतिका कुरा पनि हुन्थे । उहाँको राजनीतिमा झुकाव थियो । त्यसैले स्कुल पढ्दापढ्दै अनेरास्ववियुमा संलग्न भएँ । ०४४–४५ बाट पञ्चायतविरुद्धको आन्दोलनले तीव्रता लियो । राजनीतिमा सक्रिय हुँदाहुँदै कृष्णध्वज खड्कासँग विवाह भयो । विवाहको समयमा श्रीमान् विद्यार्थीको केन्द्रीय उपाध्यक्ष र म महिला संघको केन्द्रीय सदस्य थिएँ ।

राजनीति गर्दा जेल पर्नुभयो ? त्यतिबेला बेकारमा राजनीति गरिएछ भन्ने लागेन ?

राजनीतिका सिलसिलामा बेलाबेलामा जेल पर्दै–छुट्दै गएँ । संकटकालको बेलामा नेपाली सेनाले काठमाडौंबाटै श्रीमान् र मलाई पक्राउ गरेको थियो । एकवर्ष जेलमा राख्यो । पार्टीमाथि प्रतिबन्ध लागेको थियो । हामी दुवै पार्टीका केन्द्रीय सदस्य थियौं । त्यतिबेला चरम शारीरिक र मानसिक यातना दिइएको थियो । आस्था र निष्ठाको राजनीति हावी भएकाले कहिल्यै राजनीतिप्रति वितृष्णा भएन ।

राजनीतिमा लाग्न राजनीतिशास्त्र नै पढ्नुपर्छ ? महिला राजनीतिमा किन कम आएका होलान् ?

राजनीतिमा प्रोफेसनल बन्नलाई राजनीतिशास्त्र पढ्नु ठीक हो । पहिले राजनीतिमा लागेर आन्दोलन गरी समाज बदल्ने हो भन्ने थियो, कुन पदमा पुग्छु भन्ने थिएन । अहिले आउँदा राजनीतिशास्त्र पढ्दा विषय बुझ्न सबै कुराले सहज हुन्थ्यो भन्ने लाग्छ । पहिलेको राजनीति भोगाइले बुझायो । महिला राजनीतिमा कम हुनुका पछाडि सामाजिक बनावट, ठूली भएकी छोरी घरबाट निस्कन हुँदैन भन्ने मानसिकता थियो । घरबाट निस्केका महिला राम्रा आचरणका हुँदैनन् भन्ने सामाजिक धारणा थियो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ताका रूपमा काम गरिरहँदाको अनुभव सुनाइदिनुस् न ?

खुल्ला राजनीतिमा आएपछि ०७० मा पहिलोपटक समानुपातिकबाट सांसद भएँ । त्यसपछि संसद्सम्बन्धी गतिविधि सिक्न पाएँ । कानुन बनाउने कुरामा पनि सक्रिय भएँ । यसले गर्दा ०७४ मा फेरि समानुपातिकले दोहो¥यायो । प्रत्यक्ष चुनाव लड्न चाहन्थें । एमालेसँग गठबन्धन भएकाले ठाउँ पुगेन र फेरि पार्टीले दोहो¥यायो । त्यसपछि सामान्य प्रशासन मन्त्री पनि भएँ । काम गरेर देखाउने अवसर पनि प्राप्त भयो । हाल मेरा लागि सूचना र प्रविधिको क्षेत्र नौलो हो । पा“च महिनाको अवधिमा यसको महत्व गहिराइका साथ बुझेकी छु । हिजोको दिनमा प्रविधि अलि बढी मनोरञ्जनका रूपमा लिए पनि कोभिडपछि नेपालमा सूचना प्रविधिको महत्व अझ बढ्यो । दैनिक जीवनमा अत्यावश्यक काम गर्न सूचना प्रविधि चाहिन्छ भन्ने आम बुझाइ भएको छ । त्यसैले यो क्षेत्रको विकास गरेर जानु आवश्यक भएको छ । व्यवस्था बदलियो, जनताको अवस्था बदलिएन भन्ने जनताको अवस्था बदल्न सूचना प्रविधि अत्यावश्यक छ । मेसिनले काम गर्न थाले, सुशासन कायम भए भ्रष्टाचार कम हुन्छ । राजस्वको कुरामा पनि धेरै राजस्व प्राप्त हुन्छ । प्रिन्टिङलगायत धेरै बाहिर छपाइ हुँदा लाग्ने रकम बाहिरिन पाउँदैन । देशभित्रै गर्न सकिन्छ । आइटीका सक्षम सरकारी सेवामा छैनन् र देशमै छैनन् । देशमै भएका पनि बाहिरको काम गर्छन् । तिनलाई सरकारी सेवामा कसरी आकर्षित गर्न सकिन्छ भन्ने कुरामा पनि विचार गरिरहेका छौं ।

महिला यो भूमिकामा रहँदाका कठिनाइ, समस्या र चुनौतीहरू के–के रहेछन् ?

यो स्तरमा आइपुग्दा खासै समस्या छैन । महिला हुँदा केही न केही भइहाल्छ । पहिले सामान्य प्रशासनमा हुँदा म केही गर्न सक्छु भनेर देखाउन पनि संघर्ष गर्नुपरेको थियो । नपत्याइदिने समस्या थियो । हाल सहज रूपमा सबैले स्वीकार गरेको महसुस गरेकी छु । महिलाले सहज ढंगले नजानेका कुरा सम्बन्धित विज्ञसँग सल्लाह लिन सक्छन् । आफू सिक्ने, एक्सपर्टसँग सिक्ने कुरा अप्ठ्यारो मान्नुहुँदैन । चुनौती समग्र मन्त्रालय र देशकै चुनौती हुन् । महिला भएकैले यो चुनौती हो भन्ने महसुस भएको छैन ।

संवैधानिक व्यवस्थाअनुरूप राज्य, प्रशासन र सरकारी निकायलगायतमा महिलाको समावेशिता किन हुन नसकेको हो ?

पर्याप्त उपस्थिति हुन नसक्नुका पछाडि मन–मष्तिष्क अझै पनि पितृसत्तात्मक छ । जहाँनेर बाध्यात्मक व्यवस्था छ त्यहाँ लागू भएको छ । नेतृत्वले विवेक नपु¥याउँदा लागू हुन सकेको छैन । अझ केही वर्ष सबै क्षेत्रमा बाध्यात्मक व्यवस्था जरुरी छ । एउटा वडामा दुईजना महिला अनिवार्य हुनुपर्छ । वडामा प्रमुख र उप–प्रमुखमध्ये एक जना महिला हुनुपर्छ । वडासम्म महिला र दलितमा गएर जुन ढोका खोल्यौं त्यसले राजनीतिक नेतृत्वको विकास भएको छ । राजनीतिक रूपमा यत्रो परिवर्तन आउँदा पनि कता–कता सामाजिक रूपमा समान हो भन्ने अझ हुन सकेको छैन । राजनीतिक आन्दोलनले प्राप्त गरेका उपलब्धिलाई सामाजिक रूपले जुन खाले अवेयर गर्ने हो त्यो हुन सकेको छैन । हरेक कानुन र उपलब्धिलाई कार्यान्वयन र लागू गर्नुपर्छ । समग्रमा हरेक क्षेत्रमा महिलाको सहभागिता सन्तोषजनक नै छ ।

महिला अझै पछाडि पर्नुका कारणहरू के–के हुन् ?

लामो समयदेखिको पितृसत्तात्मक सोच नै मूल कारण हो । अंश र वंशको अधिकार बल्ल नयाँ संविधानले दियो । सामाजिक सम्बन्ध र बनावटमा आर्थिक अधिकार नभएपछि सबै कुरामा पछाडि पर्नु स्वाभाविक थियो । बाध्यात्मक नीतिगत कानुनी व्यवस्था पनि थिएन । त्यसैले महिला अघि आउन सकेनन् । यिनै व्यवस्था लागू गर्दै एकताबद्ध ढंगले अगाडि बढ्नुपर्छ । पहुँचमा भएकाले महिलाका विषयमा पनि ध्यान दिनुपर्छ । नेतृत्वमा भएका महिलाले पनि महिलालाई कसरी अगाडि बढाउने र टिकाउने भन्ने कुरा नीतिगत रूपमा हेर्नुपर्छ । भएका ऐन–कानुनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ । महिला पनि प्रो एक्टिभ भएर अघि बढ्नुपर्छ ।

महिला नेतृत्वमा कसरी पुग्ने ?

कुनै पनि क्षेत्रमा पहिला इन्ट्री हुनुप¥यो । विभिन्न संवैधानिक व्यवस्थाले सहज पनि बनाएका छन् । सचेतता पूर्वक लाग्नुपर्छ । इन्ट्री भइसकेकाले पनि एकदमै मेहनत गर्नुपर्छ । धेरै जिम्मेवारी छन् । पुरुषभन्दा अब्बल भएमा मात्र समाजले मूल्यांकन गर्छ । सबै क्षेत्रमा महिलाले दोहोरो, तेहोरो मेहनत, दुःख गरेर मोडल बन्ने प्रयास गर्नुुपर्छ । त्यसो गरेमा अरु पनि प्रोत्साहित हुन्छन् । मैले राम्रो गरेमा मेरा क्षेत्रका मानिस प्रोत्साहित हुन्छन्, नराम्रो गरेमा निरुत्साहित हुन्छन् भन्ने कुरा मनमा लिएर आफूले आफैलाई खबरदारी गर्दै अगाडि बढ्नुपर्छ । एकपटक इन्ट्री गरेपछि अर्कोपटक प्रतिस्पर्धात्मक रूपमा अगाडि बढ्छु भन्ने सोच राख्नुपर्छ ।

तपाईंको कार्यकालका कुनै पाँचवटा उपलब्धिहरू भन्नुपर्दा के–के हुन् ?

हाम्रो मन्त्रालयअन्तर्गत दूरसञ्चार, आमसञ्चार, हुलाक, चलचित्र आदि पर्छन् । सबै क्षेत्रमा काम गर्दैछौं । दूरसञ्चारको प्रविधिसँग सम्बन्धित नियम–कानुन धेरै पुराना छन् । नियम–कानुनमा अगाडि बढेका छौं । यसैगरी हुलाक अतिरिक्त छन् । त्यसलाई नीतिगत रूपमै खारेज गरी हरेक पालिकामा हुलाक लाने र सुधार गर्ने कार्यक्रम बनाएका छौं । आमसञ्चारको क्षेत्रमा पनि रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एक–आपसमा मर्ज गरेर ब्रोडकास्टका रूपमा विकास गर्ने कुरा अघि बढाएका छौं । आमसञ्चारको क्षेत्रको कानुनी व्यवस्था, समस्या कसरी हल गर्ने भन्ने विषयमा छलफल गरिएको छ । सबै सरकारी निकायको एकै डिजाइनको वेभ साइट बनाऔं भनेर त्यो लन्च भएको छ । गणतन्त्र दिवसका दिन महत्वपूर्ण पुस्तिका पनि निकाल्यौं ।ठ्याक्कै यही ग¥यौं भन्ने भन्दा पनि प्रविधिसँग जोडिएको हुनाले केही काम गरेका छौं, धेरै कुरा प्रक्रियामै छन् ।

तपाईंले आफ्नो कार्यकालमा गर्न नसक्ने कामहरू के–के हुन् ? ती कामहरू गर्न नसक्नुको कारण पाठकहरूलाई बताइदिनुस् न ।

इन्टरनेटको पहुँच कसैलाई हुने कसैलाई नहुने भएको छ । यसको अन्त्य हुनुपर्छ । सबैमा यसको पहुँच पु¥याउनैपर्छ । यसलाई कसरीसुलभ बनाउने भन्ने विषयमा काम गरिरहेका छांै । असाध्यै गर्न मन लागेको परिणाममा पुग्न नसकेको यही हो ।

संचार क्षेत्रमा कोरोनाकालपछि देखिएका आर्थिक मन्दीलाई कसरी लिनुभएको छ ? आर्थिक मन्दीले गिजोलिएको संचार क्षेत्रलाई माथि उकास्न सरकारका के–कस्ता योजनाहरू छन् त ?


आइटी क्षेत्र कोरोना कालपछि फस्टायो । संचार क्षेत्रमा होस् वा अन्य परिश्रम गरेपछि बाँच्ने गरी पारिश्रमिक पाउनुपर्छ । अहिले अनलाइन मिडिया धेरै छन् । अनलाइनमा गहिरो अध्ययन गर्न पत्रिका पढ्नैपर्छ भन्ने किसिमको कन्टेन्ट आउनुप¥यो । कन्टेन्टमा नयाँ–नयाँ आइडिया सोच्न सकियो भने कुनै पनि चीज फेज आउट हुँदैन । हिजोको भन्दा प्रविधिको विकासले पुराना प्रविधि लोप हुने र नयाँले ठाउँ लिने भएको छ । हरेक प्रिन्ट मिडियाले अनलाइन चलाएका छन् ।

संचार तथा सूचना प्रविधि क्षेत्रका चुनौतीहरू तपाईंलाई के–के हुन् जस्तो लाग्छ ?

यसलाई ठीक ढंगले प्रयोग गर्न नसक्नु र सदुपयोग नगर्नु हो । अहिले दिनानुदिन परिवर्तन हुन्छ । परिवर्तित सन्दर्भलाई आत्मसात् गर्न नसक्नु पनि चुनौती नै हो ।  नयाँ - नयाँ शिक्षा प्राप्त युवा देशमा छन्, तिनलाई उपयोग गर्नुपर्छ । विकासलाई ठीक समयमा ठीक ढंगले चलाउन नसक्नु चुनौती हो । यसलाई सही ढंगमा उपयोग गरेमा द्रुततर विकास हुन्छ ।अर्को कुरा पोलिसी लेवलमा नीतिगत रूपमा यति लामो समयसम्म कानुन बनाउन र परिमार्जन गर्न नसक्नु पनि हो । समय क्रममा बदलिएको परिवेश समात्न नसक्नु पनि चुनौती नै हो ।

तपाईंका व्यक्तिगत योजना र आकांक्षाहरू केही छन् कि ?

प्राप्त जिम्मेवारीमा अब्बलता हासिल गर्न निरन्तरमेहनत गरें । निरन्तर र इमानका साथ लाग्ने हो । जतिन्जेल सक्रिय राजनीतिमा रहन सकिन्छ जनसेवा गर्न सकू र निष्ठाको राजनीति जोगाउन सकू ।

भावी योजना के छ ?

सकुन्जेल सक्रिय राजनीतिमा लागिरहनेछु । बाँकी जीवन सामाजिक सेवामा लाग्नेछु ।

 Image