Successfully Copied

पुरुषले मात्र गर्न सक्छन् भन्ने पुरातन मान्यता तोडिएको छ

मेरो लक्ष्य सफल भएको छ । टिमवर्कमा विश्वास गर्ने मेरो स्वभावका कारण कसरी सबैलाई मिलाएर लाने त्यसमा विशेष ध्यान दिइरहेकी छु । टिमलाई बलियो र अझ परिणाममुखी बनाउन सबैलाई उत्साहितसमेत गरिरहेकी छु । 

राष्ट्रिय महिला फुटबल टिमकी क्याप्टेन निरु थापासँग महिला र खेलकुदका विषयमा गरिएको कुराकानी :  

   

पुरुषप्रधान मानिने फुटबल खेलमा महिला टिमको नेतृत्व गर्दा कस्तो अनुभूति हुन्छ ?

पुरुषले मात्र गर्न सक्छन् भन्ने पुरातन मान्यता तोडिएको छ, खुसी लाग्छ । अब आफूमा भएको सीप एवं क्षमता प्रमाणित गर्नु छ । 

महिला फुटबल टिमलाई अझ बलियो बनाउन र नयाँ ढंगले अघि बढाउन के गर्नुपर्ला ?

लामो तालिम, एन्फाको उत्प्रेरक भूमिका, सरकारको सहयोगका साथै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी हुनुको विकल्प छैन । 

महिला फुटबलको चुनौतीलाई कसरी सामना गर्ने योजनामा हुनुहुन्छ ?

मेरो लक्ष्य सफल भएको छ । टिमवर्कमा विश्वास गर्ने मेरो स्वभावका कारण कसरी सबैलाई मिलाएर लाने त्यसमा विशेष ध्यान दिइरहेकी छु । टिमलाई बलियो र अझ परिणाममुखी बनाउन सबैलाई उत्साहितसमेत गरिरहेकी छु । 

आफ्नो क्षेत्रमार्फत नेपाली युवतीहरूका लागि के गर्न सक्नुहुन्छ ?

उत्प्रेरक कार्यक्रमलगायत बढीभन्दा बढी खेलकुदमा सहभागी गराउने कार्यमा सक्रिय छु । रोल मोडल हुने गरी आफूलाई प्रमाणित गर्ने इच्छा छ । त्यसका लागि उत्तिकै कडा परिश्रम पनि गरिरहेकी छु । 

सबै नेपाली छोरी कसरी तपाईंजस्तै आत्मविश्वासी, सफल र सक्षम हुनसक्छन् ?

आफ्नो लक्ष्यमा दृढ एवं परिश्रमी हुनुका साथै आफूभित्रको क्षमता चिन्न सके जोकोही सफल हुन त्यति कठिन छैन । 

तपाईंको जर्सी नम्बरको कुनै अर्थ छ ? किन यही नम्बर रोज्नुभयो ?

मेरो जर्सी नम्बर १४ हो । मेरो जन्मदिन भदौ १४ गते हो । त्यसैले मैले यही नम्बर रोजेकी हुँ  । यो नम्बर मेरा लागि लक्की साबित हुँदै आएको छ । 

मानिसहरूलाई अचम्मित तुल्याउने कुनै चीज, जुन तपाईंको जिम ब्यागमा सधैं रहन्छ ?

बुट र जर्सी ।

टिमलाई एकत्रित र ऐक्यबद्ध गर्न कस्तो रणनीति अपनाउनुहुन्छ ?

म सबैलाई मोटिभेट गर्छु । सबैसँग मिलेर, सबैलाई माया गरेर, सम्झाएर अगाडि लाँदैछु । धेरैले भन्ने गरेको महिलाहरू आपसमा आपसमा मिल्दैनन् भन्ने पुरानो उक्तिलाई गलत प्रमाणित गरी नारी नै नारीका असल साथी र सहयोगी हुन्छन् भन्ने कुरा स्थापित गर्न लागिपरेकी छु । 

दर्शकको ठूलो भीडमा आफ्नो परफर्मेन्स स्ट्ेरसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?

विदेशमा खेल्दा आफ्नो देश सम्झिन्छु । अन्य गेम खेल्दा जित सम्झिन्छु । 

जब रेफ्रीको निर्णय आफ्नो पक्षमा हुँदैन तब मनमा आउने निराशालाई कसरी नियन्त्रित गर्नुहुन्छ ?

आत्मालोचना गर्दै हामी मानव भएका कारण मानवबाटै गल्ती हुन्छ भन्ने महसुस गरी आफूलाई नियन्त्रणमा राख्नुपर्छ । आक्रोशमा आएर झैझगडा गर्न थालियो भने करियरमै धक्का पुग्छ भने देशकै समेत बदनामी हुनसक्छ । 

तपाईं खेल मैदानमा जानुअघि कुनै पूजापाठ गर्नुहुन्छ ?

 सम्पूर्ण देवी–देवतालाई सम्झिन्छु । खासगरी गणेश एवं शिव–पार्वतीको मनैदेखि आराधना गर्छु । 

 Image