Successfully Copied

गर्भावस्थामा उच्चरक्तचापको खतरा

गर्भावस्थामा ‘इक्लेम्पसिया’ देखिनु सबैभन्दा जोखिम अवस्था हो । यस्तो बेला मातृमृत्यु हुने सम्भावना १० प्रतिशत रहेको हुन्छ ।


डा.बालकृष्ण साह

उच्चरक्तचाप भन्नेबित्तिकै बुढेसकाल वा चालीस वर्षपछिको रोगलाई सम्झन्छौं । गर्भावस्थामा पनि उच्चरक्तचाप हुन्छ र ? धेरैलाई त्यस्तो लाग्न सक्छ । तर गर्भावस्थामा पनि उच्चरक्तचाप हुन सक्छ र महिलाको मृत्युको कारण पनि बन्न सक्छ । अचम्म के छ भने यसरी बढेको रक्तचाप गर्भको बच्चा जन्मेको केही घण्टादेखि १२ हप्तासम्ममा पुनः सामान्य हुने हुन्छ । गर्भको अवधि २० हप्ता अर्थात् करिब ५ महिना भएपछि रक्तचाप बढ्नु अनि प्रसव भएको १२ हप्तामा फेरि सामान्य हुने अवस्थालाई गर्भावस्थाको रक्तचाप वा ‘प्रिग्नेन्सी इन्डुस्ड हाइपरटेन्सन’ भनिन्छ । यस अवस्थामाशिशु जन्मिएको २४ घण्टाभित्र लगातार रक्तचाप १४०/९० वा सो भन्दा बढी हुन्छ । तर एकै पटकको रक्तचाप नापेर उच्चरक्तचाप भन्न सकिँदैन । रक्तचाप बढेमा कम्तीमा ४ घण्टाको फरक पारेर दुई पटक रक्तचाप नाप्दा १४०/९० वा सो भन्दा बढी (पहिले रक्तचाप सामान्य रहेको अवस्थामा) भएमा प्रिग्नेन्सी इन्डुस्ड हाइपरटेन्सन नै हो भन्ने पक्का गरिन्छ । यस्तो अवस्थामा गर्भको शिशु तथा आमाको मृत्यु हुने खतरा हुन्छ । यस किसिमको उच्चरक्तचाप गर्भको कारणले वा शालनाल (प्लासेन्टा)को कारणले भएको हुन्छ, जुन प्रसव भएको १३ हप्ताभित्र फेरि रक्तचाप सामान्य हुन्छ । यस अवस्थामा रक्तचाप मात्र बढेको छ र अन्य जटिलता थपिएको छैन भने ‘जेस्टेसनल हाइपरटेन्सन’ भनिन्छ । उच्च रक्तचापसँगै पिसाबमा प्रोटिन देखियो भने ठूलो समस्या ल्याउन सक्छ । यस्तो अवस्थालाई ‘प्रि–इक्लेम्पसिया’ भनिन्छ । यसैका कारणगर्भवती महिलालाई कम्पन आउने वा बेहोस हुने भएमा ‘इक्लेम्पसिया’ भनिन्छ । यो सबैभन्दा जोखिम अवस्था हो ।
यो अवस्थामा आमा र बच्चा दुवै जोखिममा हुन्छन् । इक्लेम्पसिया भएको अवस्थामा मातृमृत्यु हुने सम्भावना १० प्रतिशत रहेको हुन्छ । अझ गर्भको अवधि ३४ हप्ताभन्दा कम भएमा यो सम्भावना अझ बढी हुन हुन्छ । यो अवस्थामा एकातिर रक्तचाप घटाएर आमालाई जोगाउनुपर्ने हुन्छ भने अर्कातिर सम्भव भएसम्म बच्चालाई पनि जोगाउनुपर्ने हुन्छ ।विश्वमा इक्लेम्पसिया र प्रि–इक्लेम्पसियाका कारण बर्सेनि लगभग ६३ हजार मातृमृत्यु हुने गरेको छ । अमेरिका र बेलायतमा इक्लेम्पसियाबाट हुने मातृमृत्यु क्रमशः ५ दशमलव ६ प्रतिशत र ११ दशमलव ८ प्रतिशत रहेको छ । भारतमा पनि इक्लेम्पसियाका कारण २३ प्रतिशतसम्म मातृमृत्यु हुने देखिएको छ । नेपालमा मातृमृत्यु अध्ययन प्रतिवेदन २०७८ ले कुल मातृमृत्युको १२ प्रतिशत मृत्युको कारण उच्चरक्तचाप तथा यसका जटिलता (इक्लेम्पसिया) रहेको देखाएको छ । हुनत २०७८ ताका नेपालमा कोभिड १९ को महामारीथियो । सो समयमा ठूलो संख्यामा यसका कारणले मातृमृत्यु देखिएकाले इक्लेम्पसियालगायत रक्तस्राव आदि कारण मृत्युको अनुपात कम देखिएको हो । मातृमृत्युका कारणहरूमा अत्यधिक रक्तस्राव प्रथम हो भने इक्लेम्पसिया दोस्रो भन्दा फरक नपर्ला ।
यस्तो अवस्थामा गर्भको शिशु तथा आमाको मृत्यु हुने खतरा हुन्छ । उच्च रक्तचापसँगै पिसाबमा प्रोटिन देखनुले ठूलो समस्या ल्याउन सक्छ । यसबाट आमा बेहोस हुने, रक्तचाप बढ्ने, अचेत हुने, संक्रमित हुने तथा आमाको मुत्युसमेत हुनसक्छ । गर्भावस्थामा यस्तो समस्या आउँदा शिशु कम तौलको हुने, महिना नपुग्दै जन्मिने र गर्भमै मृत्यु हुनसक्छ । पहिलो पटकको गर्भमा यस्ता उच्चरक्तचाप र यसका जटिलताहरू (इक्लेम्पसिया) देखा पर्ने सम्भावना बढी हुन्छ र बढी जोखिमपूर्ण साबित हुने गरेको पाइन्छ । शरीरका सम्पूर्ण रक्तनली, विशेषगरी पाठेघर, मृगौला र मस्तिष्कमा रक्तनलीआवश्यकभन्दा बढी संकुचित भएका कारण उच्च रक्तचाप, प्रि–इक्लेम्पसिया तथा इक्लेम्पसिया हुन्छन् । प्रि–इक्लेम्पसिया वा इक्लेम्पसिया भएमा गर्भवती महिला तथा गर्भमा रहेको शिशु दुवैका लागि खतरा बढेर जान्छ । यो अवस्थामा औषधिले रक्तचाप घटाउने प्रयास गरिन्छ । तर औषधिले तत्काल वा तुरुन्तै रक्तचापलाई नियन्त्रण गर्न नसकेको अवस्थामा तथा इक्लेम्पसिया भएपछि गर्भको बच्चाको अवधि नपुगे पनि जन्माउनुपर्ने हुनसक्छ । उच्चरक्तचाप हुनुको मुख्य कारण शालनाल (प्लासेन्टा) भएको र बच्चा नजन्माई शालनाल निकाल्न सम्भव नभएकाले पनि बच्चा जन्माउनुपर्ने हुन्छ । गर्भको अवधि नपुगेको, व्यथा नलागेको अवस्थामा शल्यक्रिया (सिजरियन) गरेर भए पनि प्रसव गराउनुपर्ने हुन्छ ।


हरेक गर्भ आफैमा जोखिमपूर्ण रहेकाले परिपक्व वा २० वर्ष पार गरेपछि मात्र विवाह गर्नुपर्छ । परिवार नियोजनका साधन प्रयोग गर्ने, नियमित गर्भ परीक्षण र स्वास्थ्य संस्थामा मात्र प्रसव गराउने कुराको विकास हुँदै गएपछि मातृमृत्यु दरमा कमी आएको भन्दा फरक नपर्ला । मातृमृत्यु हुनुका पछाडि धेरै कारण हुन सक्छन् । कम उमेरमा विवाह गर्नु, कम उमेरमा नै बच्चा पाउनु, तुरुन्त–तुरुन्त गर्भवती हुनु, खानपिनमा ध्यान नदिनु, गर्भावस्थामा स्वास्थ्य परीक्षण नगर्नु आदि कारणले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मातृमृत्यु हुनुमा सहयोगी भूमिका खेलेका हुन्छन् । मानिसहरूको सचेतना बढ्दै गएको छ, सामाजिक परिवर्तन, स्वास्थ्य सेवाको विस्तार, तत्कालै रगतसमेत दिन सक्ने व्यवस्था अनि असुरक्षित गर्भपतनमा कमी आदिले मातृमृत्यु दरमा सुधार भएको छ । तर अझ पनि हाम्रो देशमा यो उच्च नै छ । त्यसैले गर्भावस्थामा रक्तचापसँगै नियमित परीक्षण गर्नुपर्छ, उच्च देखिएको अवस्थामा थप सतर्कता अपनाउनुपर्छ । यस्तो अवस्थामा नियमित औषधि सेवन गर्ने तथा बच्चाको तौल राम्रो हुनेबित्तिकै वा गर्भको अवधि ३७ हप्ता पार गर्नेबित्तिकै थप जटिलता देखापर्नु अगाडि नै बच्चा जन्माउने तयारी गर्नु बुद्धिमानी हुन्छ ।


(साह मोरङ सहकारी अस्पताल, विराटनगरमा कार्यरत छन् ।)

 Image