Successfully Copied

‘स्वस्थ महिला’ पुस्तक लोकार्पण

प्रा.डा. सुमनराज ताम्राकारद्वारा लिखित महिला स्वास्थ्यसम्बन्धी जानकारीमूलक पुस्तक ‘स्वस्थ महिला’ सार्वजनिक भएको छ ।


प्रा.डा. सुमनराज ताम्राकारद्वारा लिखित महिला स्वास्थ्यसम्बन्धी जानकारीमूलक पुस्तक ‘स्वस्थ महिला’ सार्वजनिक भएको छ । उक्त पुस्तक वी रिडले बजारमा ल्याएको हो । राजधानीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा ताम्राकारको ‘स्वस्थ महिला’ पुस्तक मेडिकल क्षेत्रका अग्रज चिकित्सकले सामूहिक रूपमा विमोचन गरेका थिए ।
डा. सरोजा पाण्डे, प्रा.डा. सानुमैया दली, प्रा.डा. प्रमिला प्रधान, प्रा.डा. आश्मा राना, प्रा.डा. लता बज्राचार्य, प्राज्ञ तथा लेखक अमर न्यौपाने, लेखककी श्रीमती चण्डेश्वरी श्रेष्ठ ताम्राकारसहित लेखक ताम्राकारले ‘स्वस्थ महिला’ पुस्तक संयुक्त रूपमा विमोचन गरेका थिए ।
बाल्यकालबाट किशोरावस्थामा प्रवेश गर्दाका शारीरिक परिवर्तन, किशोरावस्थाका जटिलता, जिज्ञासा, महिनावारी, पाठेघर र डिम्बाशयबारे जानकारी, यौनजन्य संक्रमण, बाँझोपन, रजोनिवृत्तिलगायत महत्वपूर्ण विषयलाई पुस्तकले समेटेको छ । पाठेघरको मुखको संक्रमणका साथै विभिन्न अंगमा हुने क्यान्सर, तिनको रोकथाम र शल्यक्रिया अघि÷पछिको हेरचाहका बारेमा समेत पुस्तकले जानकारी दिनेछ ।
साधारण जानकारीको अभावमा महिलाहरूले कष्ट बेहोर्नुपरेको अनुभवका आधारमा उनीहरूको समस्यामा केन्द्रित रही पुस्तक तयार गरिएको लेखक ताम्राकारले बताए । सन् २०१५ देखि नै स्वस्थ महिला पुस्तक लेख्न सुरु गरेको उनको भनाइ छ ।
पुस्तकमाथि चर्चा गर्दै डा. सपना अमात्यले किशोरावस्थामा देखिने शारीरिक परिवर्तनदेखि रजोनिवृित्तसम्मका बारेमा सरल किसिमले लेखिएको मेडिकल बुकजस्तै रहेको बताइन् । एउटा महिलाको शरीरमा देखिने र आइपर्ने रोगका बारेमा विस्तृत रूपमा लेखिएको हु“दा हरेक महिलाले यो पुस्तक पढ्नुपर्ने उनको भनाइ छ । यसैगरी प्रा.डा. आभा श्रेष्ठले सरल भाषामा लेखिएको यो पुस्तक पढ्न मेडिकल पर्सन नै हुनु नपर्ने बताइन् । ‘पुस्तकका ५९ वटा च्याप्टर हरेक महिलाको शरीरमा आउने परिवर्तन र रोगका बारेमा लेख्नुभएको छ,’ उनले भनिन्, ‘सरल रूपमा लेख्नुभएकाले यो पुस्तक बुझ्न मेडिकल पर्सन नै हुनुपर्दैन । हरेकले सहजै बुझ्न सक्छन् ।’
नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य तथा लेखक अमर न्यौपानेले किशोरावस्थामा शरीरमा आउने परिवर्तनदेखि महिनावारी, रजोनिवृतिसम्म र महिलाको शरीरमा आउने रोगसम्म पुस्तकमा लेखिएको बताए । सहरदेखि दूरदराजका हरेक महिलाका लागि आवश्यकीय पुस्तक रहेकाले स्वास्थ्य मन्त्रालय तथा स्थानीय तहहरूले स्वास्थ्य चौकीमा आउने महिलाको उपचार गरेपछि ‘स्वस्थ महिला’ पुस्तक वितरण गर्नुपर्ने उनको जोड छ । ‘स्वास्थ्य चौकीमा आउने हरेक महिलालाई सरकार तथा पालिकाले यो पुस्तक वितरण गर्नुपर्छ, सरकारका लागि ठूलो कुरा होइन । ‘समाजमा महिलाको विषयमा बोल्न अझै संकोच मान्छन्,’ उनले भने ।

पाठेघरमा हुने पानीको फोका, सिस्टदेखि परिवार नियोजनसम्बन्धी लेखिएकाले यो पुस्तक पढ्दा यस्ता रोगबाट जोगिन सक्ने प्रा.डा. पदमराज पन्तले बताए । सर्वसाधारणका लागि धेरै उपयोगी पुस्तक रहेको उनको भनाइ छ । इन्टरनेट, विकिपेडियाबाट स्वास्थ्यसम्बन्धी विभिन्न जानकारी पाउन सकिए पनि अंग्रेजी र जटिल मेडिकल शब्दावलीका कारण बुझाइमा समस्या हुन सक्ने भएकाले आम नेपालीले बुझ्ने गरी नेपाली भाषामा पुस्तक ल्याइएको प्रकाशन संस्थाले जनाएको छ । पुस्तकमा महिला स्वास्थ्यमा आइपर्ने विभिन्न समस्याको सरल तरिकाले व्याख्या गरिएको छ । महिला स्वास्थ्यका कतिपय कुरा, जुन अरुलाई सोध्न र बुझ्न असजिलो हुन्छ, त्यस्ता समस्यालाई पुस्तकले सहज बनाइदिएको छ ।

 Image