Successfully Copied

ड्राइफ्रुट्सको स्वास्थ्य रहस्य

एउटा छोकडाबाट २३ क्यालोरी पाउन सकिन्छ । नियमित रूपमा छोकडा खाए शरीरमा रगतको मात्रा कमी हुँदैन । 

तिहारमा दिदीबहिनीले दाजुभाइलाई ड्राइफ्रुट्स दिन्छन् । यो एक प्रकारको फल हो । अधिकांश प्राकृतिक वा कृत्रिम प्रविधिबाट निकास गरी उत्पादन गरिन्छ । यसमा विभिन्न पोषण तत्व जस्तै भिटामिन, खनिज, प्रोटिन, याटी एसिड, एन्टिअक्सिडेन्ट पूर्णरूपमा प्राप्त हुने भएकाले यसलाई ‘सुपर फुड’ का साथै पोषणको ‘शक्ति भण्डार’ पनि भनिन्छ । ड्राइफ्रुट्सको उद्गमस्थत प्राचीन कालमा मेसोपोटामियाको सभ्यतासँगै विकास भएको पाइन्छ । ओखर, पेस्ता, काजु, किसमिस, बदाम, आलमोन्ड, एप्रिकोट, छोकडा आदि ड्राइफ्रुट्स हुन् । सन्तुलित मात्रामा सबै ड्राइफ्रुट्सलाई समावेश गरे स्वास्थ्य निकै राम्रो हुन्छ । 

कतिपयले ड्राइफ्रुट्सलाई स्न्याक्सका रूपमा पनि प्रयोग गर्छन् । यसले शरीरमा फुर्ती प्रदान गर्नुका साथै ऊर्जा एवं सहनशक्ति प्रदान पर्छ । पाचन प्रणालीमा पनि महत्वपूर्ण टेवा पुर्‍याउँछ । ड्राइफ्रुट्समा क्याल्सियम, कपर, आइरन, पोटासियम, फस्फोरस, जिंक आदि महत्वपूर्ण खनिज पाइन्छन् । यिनले दाँत, हाडजोर्नी, नसा, छालालाई स्वस्थ राख्नुका साथै रक्तअल्पता (एनिमिया), मुटु रोग, कोलस्टेरोलजस्ता समस्या समाधान गर्न मद्दत पुर्‍याउँछन् । 

आल्मोन्ड (मधिसे बदाम) : यसलाई ड्राइफ्रुट्सको राजा मानिन्छ । यसमा फाइबर तथा एन्टिअक्सिडेन्ट पर्याप्त मात्रामा पाइने हुनाले स्वास्थ्यको दृष्टिले छाला, केश, मुटुर अन्य रोगका लागि फाइदाजनक हुन्छ । सय ग्राम बदाममा ६ सय ५५ क्यालोरी, २० ग्राम प्रोटिन, ५८ ग्राम याट र २३० मिलिग्राम क्याल्सियम हुन्छ । 

काजु : बदामपछि सबैभन्दा धेरै खाइने ड्राइफ्रुट्स काजु हो । यसमा मोनोसेचुरेटेड याट (राम्रो याट), भिटामिन ‘इ’‘बी ६’, पोटासियम, फाइबर पाइन्छ । मुटु र रक्तचापका बिरामीका लागि यो लाभदायक हुन्छ । काजुमा स्वस्थ प्रोटिन, क्याल्सियम तथा आइरन प्रशस्त मात्रामा पाइन्छ । सय ग्राम काजुमा ५९६ क्यालोरी, २१ ग्राम प्रोटिन र ४६ ग्राम याट पाइन्छ । 

ओखर : भाइटीकाका दिन ओखर नभै हुँदैन । ‘ओमेगा ३’ याटी एसिड, प्रोटिन, फाइबर, भिटामिन, खनिज, एन्टिअक्सिडेन्ट अधिक मात्रामा पाइने ओखर स्वास्थ्यका दृष्टिले महत्वपूर्ण मानिन्छ । ओखरमा पाइने भिटामिन ‘इ’ ले दिमाग तेज राख्न सहयोग पुर्‍याउँछ । त्यसैले यसलाई मस्तिष्क फुड (ब्रेन फुड) पनि भनिन्छ । यसको नियमित सेवनले डिप्रेसन तथा तनाव कम गर्छ । यसमा पाइने एन्टिअक्सिडेन्टले रोग प्रतिरोधक क्षमता बढाउँछ । सय ग्राम ओखरमा ६८७ क्यालोरी, १५ ग्राम प्रोटिन, १ सय मिलिग्राम क्याल्सिय तथा ५४ ग्राम याट पाइन्छ । 

पेस्ता : मधुमेहका बिरामीका लागि फाइदाजनक हुनुका साथै इम्युनिटी बुस्ट गर्न मद्दत पुर्‍याउँछ । ड्राइफ्रुट्समा फाइबर समावेश हुने भएकाले तौल घटाउन पनि निकै प्रभावकारी मानिन्छ ।

 

अन्जिर : तिहारका बेला भाइमसलाका रूपमा अन्जिरको विशेष महत्व रहन्छ । अन्जिर लाभदायक ड्राइफ्रुट्स हो । यसमा क्याल्सियम, भिटामिन ‘ए’, ‘बी’, ‘सी’ तथा फाइबर पाइन्छ । एउटा अन्जिरमा लगभग ३० क्यालोरी हुन्छ । यसले एसिडिटीको समस्या ठीक गर्छ । कब्जियत, खोकी, टाउको दुखाइ पनि कम गर्छ । मधुमेहका बिरामीका लागि पनि यो लाभदायक हुन्छ । यो पोटासियमको राम्रो स्रोत हो । यसले रक्तचाप नियन्त्रण गर्न पनि सहयोग पुर्‍याउँछ । 

छोकडा : छोकडामा आइरन, मिनरल्स, क्याल्सियम, एमिनो एसिड, फस्फोरस, भिटामिन प्रशस्त मात्रामा पाइन्छ । एउटा छोकडाबाट २३ क्यालोरी पाउन सकिन्छ । नियमित रूपमा छोकडा खाए शरीरमा रगतको मात्रा कमी हुँदैन । 

किसमिस : किसमिसको सेवनले धेरै शक्ति प्राप्त हुन्छ । यसमा एन्टिलेमेटरी तथा एन्टिअक्सिटेन्ड प्राप्त हुन्छ । यसमा आइरन, क्याल्सियम, फाइबर, पोटासियम, म्याग्नेसियम प्रशस्त मात्रामा पाइन्छ । किसमिस प्रयोग गर्दा एसिडिटीलाई न्यूनीकरण गर्नुका साथै पाचन प्रणालीलाई मद्दत पुर्‍याउँछ । सय ग्राम किसमिसमा ३०८ क्यालोरी, १ दशमलव ८ ग्राम प्रोटिन, ८७ मिलिग्राम क्याल्सियम तथा ७ दशमलव ७ मिलिग्राम आइरन पाइन्छ । 

दैनिक रूपमा सबै प्रकारका ड्राइफ्रुट्स बढीमा २० ग्रामसम्म खान सकिन्छ । ड्राइफ्रुट्समा बढी क्यालोरी हुने भएकाले तोकिएको भन्दा बढी खानाले तौल बढ्नुका साथै अन्य समस्या निम्तिन सक्छ । 

यसमा बेफाइदा 

- आवश्यकताभन्दा बढी मात्रामा ड्राइफ्रुट्स खाँदा पाचन प्रणाली खराब हुन जान्छ । यसमा फाइबरको मात्रा बढी पाइने भएकाले शरीरमा आवश्यकताभन्दा बढी फाइबर प्राप्त हुँदा कब्जियत पनि हुन सक्छ ।

- यसमा कार्बोहाइड्रेड बढी पाइने भएकाले शरीरमा ब्लड ग्लुकोजको मात्रा बढ्छ । यसमा भएको ग्लुकोजले शरीरमा शक्ति दिनुका साथै ब्लड सुगरको मात्रा कम गराइदिन्छ । यसले गर्दा थकान महसुस हुन थाल्छ । 

- ड्राइफ्रुट्स ओस पर्नबाट बचाउन यसमा चिनीको कोटिङ गरिएको हुन्छ । यस्तो चिनी दाँतमा टाँसिएर दाँत खराब हुने सम्भावना रहन्छ । 

- बढी मात्रामा यसको सेवन गरे तौल बढ्न सक्छ । 

- ड्राइफ्रुट्स सुरक्षित राख्नका लागि सल्फर डाइअक्साइडको प्रयोग गरिएको हुन्छ । जुन बाथ रोगीका लागि हानिकारक हुन्छ । 

(कार्की डाइटिसियन हुन्) 

 Image