Successfully Copied

घरमै बनाउन सकिने स्वस्थ खाना

गेडागुडी र दलहन प्रोटिनयुक्त खानेकुरा हुन् । करिब ८ घण्टासम्म गेडागुडीलाई पानीमा भिजाइसकेपछि पानी निथारेर राख्नुपर्छ । यसरी भिजाएका गेडागुडी गर्मी मौसममा दुई दिनमै  उम्रन्छन् । यसरी उम्रिएका गेडागुडीलाई पकाएर झोलिलो बनाएर सेवन गर्न सकिन्छ ।

अहिले कोरोना भाइरसको महामारीका कारण लकडाउन गरिएकाले बाध्यतावश सबैजना घरमै बसेका छन् । यस्तो अवस्थामा अधिकांश मानिसले शारीरिक तथा मानसिक रुपले सक्रिय भएर काम गरेका छैनन् । यो समयमा स्वस्थकर खानेकुरा खान जरुरी हुन्छ । घरकै भान्सामा भएका खानेकुरा पनि निम्नानुसार बनाएर खान सकिन्छ ।

गेडागुडी– गेडागुडी र दलहन प्रोटिनयुक्त खानेकुरा हुन् । करिब ८ घण्टासम्म गेडागुडीलाई पानीमा भिजाइसकेपछि पानी निथारेर राख्नुपर्छ । यसरी भिजाएका गेडागुडी गर्मी मौसममा दुई दिनमै  उम्रन्छन् । यसरी उम्रिएका गेडागुडीलाई पकाएर झोलिलो बनाएर सेवन गर्न सकिन्छ ।

क्वाँटी– क्वाँटी बनाउनका लागि करिब ११ थरीका गेडागुडी मिश्रण गरेर भिजाइन्छ । त्यस्तै आलु, तामा र बोडी मिसाएर पकाउन सकिन्छ । विभिन्न प्रकारका तरकारी एकै ठाउँमा मिसाएर ‘जोगी तरकारी’ बनाएर खाँदा स्वास्थ्यका लागि उपयुक्त हुन्छन् । यसको झोल  चिउरा वा भुजासँग पनि खान सकिन्छ ।

मिश्रणयुक्त दाल– गेडागुडीबाट झोल बनाएर पिएमा शरीरलाई निकै फाइदा गर्छ । भिटामिन तथा प्रोटिनयुक्त गेडागुडी तथा मिश्रण दाल खाँदा पाचन प्रक्रिया बलियो बनाउँछ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदा ज्वरो आउने, रुघाखोकी, झाडापखाला लाग्ने, आऊ पर्ने सम्भावना बढी हुन्छ । साथै यस्तो अवस्थामा विभिन्न रोगका किटाणुले सजिलै आक्रमण गर्छ । त्यसैले स्वस्थ  रहनका लागि सन्तुलित र नियमित रुपमा टुसा उम्रिएका गेडागुडी र मिश्रण दलहन खानुपर्छ ।

                                                                डा. अरुणा उप्रेती

दहीमोही– दहीमोही सेवन गर्नुपर्छ । दहीमा पानी राखेर पिउनाले पाचन प्रक्रिया सहज तथा बलियो हुन्छ । दही र चिउरा पनि खान सकिन्छ । यस्तै मकैको च्याख्ला, भुटेको मकै, भटमास तथा मोही खानु  स्वास्थ्यका हिसाबले राम्रो हुन्छ ।

मासुको झोल– मासुको झोल पौष्टिकयुक्त हुन्छ । यसको झोल भात, कोदो, मकै, गहुँ , फापरको ढिडोसँग स्वादिष्ट बनाएर खान सकिन्छ ।

अण्डा करी – अण्डाकरीलाई तरकारी बनाएर खान सकिन्छ । फाँडो–कोदो र गहुँको पिठोमा साग तथा विभिन्न किसिमका हरियो तरकारी, टमाटर, गाँजर मिसाएर फाँडो बनाउन सकिन्छ । फाँडोलाई भात, रोटी, ढिडोसँग खान सकिन्छ ।

जाउलो– सामान्यतया: जाउलो बिरामीले खाने भन्ने गरिए पनि स्वस्थ रहनका लागि जसले पनि खान सकिन्छ । जाउलो बनाउँदा चामल, मिश्रण दाल, हरियो तरकारी तथा सागसब्जी मिसाएर बनाउन सकिन्छ ।

ज्वानो, मेथीको झोल तथा जाउलो– ज्वानो, मेथीले गेडागुडी र दाल झानेर खान सकिन्छ । मेथीको गेडालाई भिजाएर त्यसको अचार साँधेर खान सकिन्छ । मेथी र ज्वानोलाई तरकारी, सागसब्जीमा फुराएर खान सकिन्छ । मेथी र ज्वानोको मात्रै झोल बनाएर खान पनि सकिन्छ । यसरी ज्वानो र मेथी खाएको खण्डमा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

मस्यौरा र गुन्द्रुक– विभिन्नथरीका गेडागुडीको पिठो बनाएर पिँडालु, तरुल आदि मिसाएर मस्यौरा बनाइन्छ । मस्यौराको झोल बनाएर खान पनि सकिन्छ । गुन्दु्रक र भट्मास मिसाएर झोलिलो बनाएर खाँदा स्वस्थकर हुनुका साथै स्वादिष्ट हुन्छ ।

 Image