सरकारले लकडाउन १२ दिन बढाएर वैशाख १५ गतेसम्म पुर्याउने निर्णय गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमण रोकथामका लागि चैत ११ गतेबाट थालिएको लकडाउनको अवधि तेस्रो पटक थपिएको हो ।
अहिलेको विषम परिस्थितिलाई ध्यानमा राखेर चिकित्सकले हटलाइन, फोन तथा अनलाइन मार्फत उपचार परामर्श दिइरहेका छन् । यस्तो अवस्थामा मुटु रोग लागेकाले घरमै कसरी आफ्नो स्वास्थ्यको ख्याल राख्ने भन्ने विषयमा मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिलको सुझाव :
मुटुरोगीको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । विभिन्न अध्ययनका अनुसार मुटुका बिरामीलाई कोरोना हुने संभावना पनि रहन्छ । र कोरोना लागिसकेपछि हुने जटिलता पनि बढी नै हुन्छ । यसले गर्दा मृत्यु पनि धेरै हुने गरेको छ । यसो भन्दैमा सबै मुटुरोगीलाई कोरोना भाइरसले संक्रमण गर्छ भन्ने होइन । कोरोना भाइरसले संक्रमण गर्दा फोक्सोमा समस्या हुन्छ । यसले मुटुरोगीलाई झन अप्ठ्यारो पार्छ ।
सामान्य मानिसको तुलनामा मुटुरोगीलाई कोरोना लागेमा फेस गर्न गाह्रो हुन्छ । कोरोना भाइरसको त्रासबाट जोगिन लकडाउनमा संयमित भएर घरमै बस्नु उपयुक्त हुन्छ । यस्तो बेला मुटुरोगीले सामान्य सावधानी अपनाउनुपर्छ । आफूले लिइरहेको औषधी नियमित रुपमा सेवन गर्नुपर्छ । कतिपय बिरामीको फलोअपको समय भएको हुन्छ यस्तो अवस्थामा ओपिडी बन्द भएकाले पहिले चिकित्सकले दिएको औषधी नछुटाई नियमित रुपमा सेवन गर्नुपर्छ । छोटो समयको औषधी प्रेस्क्रिप्सनमै यति समयमात्र प्रयोग गर्नु भनेर उल्लेख हुन्छ ।
त्यसैले फलो अपको समय भएपनि पहिलेकै औषधीलाई निरन्तरता दिनुपर्छ । रक्तचाप, कोलस्टेरोलका औषधी नियमित रुपमा खानु उपयुक्त हुन्छ । समय–समयमा घरमै रक्तचाप तथा मधुमेह जाँच गर्नुपर्छ । धेरै चिल्लो तथा मसालेदारभन्दा पनि सामान्य खाना खानुपर्छ । मुटुरोगीले घरको वरिपरि छतमा यताउता हिड्डुल गर्नुपर्छ । वृद्धा मुटुरोगीलाई तलमाथि हिड्न असजिलो हुने भएकाले छत तथा कौसीमा हिड्न सकिन्छ । अहिले त्रासका कारण स्यास्या हुने, मुटु ढुकढुक हुने, रक्तचाप थपघट भए, रिंगटा लागेमा चिकित्सकसँग फोनबाटै सम्पर्क गर्न सकिन्छ । साथै उमेर पुगेका मानिसमा धेरै नै छाती दुखे, चिटचिट पसिना आए, मुटुको धड्कन अप डाउन भए, अचानक स्यास्या भएमा भने तत्काल अस्पताल जानुपर्छ ।