असुरक्षित गर्भपतन हुन नदिन गर्भपतनलाई सुरक्षित बनाउनु अर्को विकल्प हुन सक्छ । गर्भपतनलाई सुरक्षित बनाउन नेपालमा गर्भपतनलाई कानुनी मान्यता दिएर सुरक्षित गर्भपतन सेवा सुरु गरिएको पनि १५ वर्ष बितिसक्यो ।
अबको गन्तव्य असुरक्षित गर्भपतनको अन्त्य’ नाराका साथ विगत दुई वर्षदेखि सुरक्षित गर्भपतन दिवस नेपालमा मनाउँदै आए तापनि असुरक्षित गर्भपतन रोकिएको भने छैन । विश्व स्वास्थ्य संघ (डब्लूएचओ) ले २०१८ फेब्रुअरीमा प्रकाशित गरेको तथ्यांकअनुसार हरेक वर्ष ५ करोड ६० लाख महिलाले गर्भपतन गर्छन्, जुन कुल गर्भको २५ प्रतिशत हुन्छ । विश्व स्वास्थ्य संघले गर्भपतनका कारण करिब ८० लाख महिलाको ज्यान जोखिममा रहने गरेको र २ करोड ५० लाख महिलाले असुरक्षित गर्भपतन रोज्ने गरेको तथ्यांक सार्वजनिक गरेको छ ।
असुरक्षित गर्भपतनले गर्भपतन राम्ररी नहुने जसका कारण अत्यधिक रक्तश्राव हुने सम्भावना हुन्छ । अत्यधिक रक्तश्रावका कारण महिलाको मृत्युसमेत हुने गरेको पाइन्छ । त्यस्तै असुरक्षित गर्भपतनले पाठेघरमा घाउ लाग्ने, फुट्ने तथा यौनअंगहरू नै बिग्रिने हुनसक्छ । यसले गर्दा तत्कालै महिलाको ज्यान जान सक्ने वा दीर्घकालीन रूपमा बाँझोपन हुन सक्ने सम्भावना रहन्छ ।
असुरक्षित गर्भपतनका कारणले पाठेघरमा संक्रमण हुने र बेलैमा संक्रमणलाई नियन्त्रण गर्न नसकेको अवस्थामा महिलाको ज्यान जाने खतरा रहन्छ । असुरक्षित गर्भपतनका कारणले आएका जटिलताहरूका थप उपचारका लागि हरेक वर्ष ७० लाख महिलालाई अस्पतालमा भर्ना गर्नुपरेको विश्व स्वास्थ्य संघको सो तथ्यांकले देखाएको छ । असुरक्षित गर्भपतनकै कारण४ दशमलव ७ देखि १३ दशमलव २ प्रतिशत मातृमृत्यु हुने गरेको सो तथ्यांकमा उल्लेख गरिएको छ । यिनै कारणहरूले गर्दा असुरक्षित गर्भपतनलाई चुनौतीका रूपमा स्वीकार गर्नुपर्ने र यसलाई रोक्नु आवश्यक देखिन्छ । त्यसैले होला, यस वर्षको नारा पनि ‘अबको गन्तव्य असुरक्षित गर्भपतनको अन्त्य’ दिएको हुनुपर्छ ।
मानिसको आवश्यकता बढ्दो छ । गाँस, बास र कपासमा मात्र हामी सीमित रहँदैनौं । गाँस, बास र कपाससँगै ‘सहवास’ पनि आजको आवश्यकता हो, अनि सहवास पछि त गर्भ स्वाभाविक हो, तर गर्भ आवश्यकता नहुन सक्छ र गर्भपतन रोज्नुपर्ने हुनसक्छ । गर्भपतन रोक्न सहवासलाई प्रतिबन्धित गर्न सकिन्न र व्यावहारिक पनि हुन्न । तर, गर्भपतनलाई सुरक्षित बनाउन सकिन्छ ।
गर्भपतन र यसका जटिलता कम गर्न सबैभन्दा उत्तम उपाय परिवार नियोजनका साधनको प्रयोग गर्नु नै हो भन्दा फरक नपर्ला । परिवार नियोजनका साधनले गर्भ रहन नदिने भएकाले गर्भपतन रोज्नुपर्ने बाध्यतालाई अन्त्य गरिदिन्छ । आवश्यक परामर्श लिएर आफूलाई मन परेको प्रभावकारी परिवार नियोजनका साधन प्रयोग गर्नु बुद्धिमानी सावित हुन्छ । अहिले बजारमा आकस्मिक गर्भनिरोधक चक्की पनि उपलब्ध हुने भएकाले संयोगवश रहन गएको असुरक्षित यौनसम्पर्कपछि पनि गर्भ रोक्न सकिने भएकाले अलिक सजिलो पक्कै भएको हुनुपर्छ ।
असुरक्षित गर्भपतन हुन नदिन गर्भपतनलाई सुरक्षित बनाउनु अर्को विकल्प हुन सक्छ । गर्भपतनलाई सुरक्षित बनाउन नेपालमा गर्भपतनलाई कानुनी मान्यता दिएर सुरक्षित गर्भपतन सेवा सुरु गरिएको पनि १५ वर्ष बितिसक्यो । नेपालमा १८ वर्ष पार गरेकी, मानसिक सन्तुलन ठीक रहेको हरेक गर्भवतीले आफ्नै मञ्जुरीमा तथा १८ वर्ष पार नगरेको (नाबालक) वा मानसिक अवस्था ठीक नभएको अवस्थामा नातेदारको मञ्जुरीमा गर्भपतन गर्न पाउने कानुनी व्यवस्था छ । गर्भपतनले कानुनी मान्यता पाएकाले लुकिछिपी, असुरक्षित स्थानमा र अयोग्य व्यक्तिबाट गर्भपतन गराउनुपर्ने बाध्यतालाई अन्त्य भएको छ ।