अहिलेको व्यस्त जीवनमा सबै नातागोताकहाँ भ्याउन महिना दिनअघिदेखि नै दिदी–बहिनीहरू राताम्यै भएर दर खान थालिसक्छन् । दरमा प्रोटिनयुक्त खानेकुरा खाने चलन छ । दर अन्न, फलफूल, तरकारी तथा सम्पूर्ण खाद्यपदार्थलाई मानिन्छ तर समयको परिवर्तनसँगै दर खाने चलनमा पनि परिवर्तन आएको छ । तीजमा रातो पहिरनमा सजिएर हातभरि चुरा लगाउने, शिवालयहरूको दर्शन गर्ने, नाचगान गर्ने आदि त छँदैछ ।
महिलाहरूले निकै महत्व, श्रद्धा अनि उत्साहका साथ मनाउने पर्व हो तीज । तीजको मुख्य रमाइलो भनेको विभिन्न परिकार समाविष्ट दरका साथै दिदी–बहिनी, साथी एवं माइतीेसँगको भेटघाट पनि हो । अहिले तीज मनाउने शैलीमा समेत तुलनात्मक रूपमा केही परिवर्तन आएको छ । अहिलेको व्यस्त जीवनमा सबै नातागोताकहाँ भ्याउन महिना दिनअघिदेखि नै दिदी–बहिनीहरू राताम्यै भएर दर खान थालिसक्छन् । दरमा प्रोटिनयुक्त खानेकुरा खाने चलन छ । दर अन्न, फलफूल, तरकारी तथा सम्पूर्ण खाद्यपदार्थलाई मानिन्छ तर समयको परिवर्तनसँगै दर खाने चलनमा पनि परिवर्तन आएको छ । तीजमा रातो पहिरनमा सजिएर हातभरि चुरा लगाउने, शिवालयहरूको दर्शन गर्ने, नाचगान गर्ने आदि त छँदैछ । कतिपय महिला अहिले पनि तीजका दिन पानी नपिई निराहार व्रत बस्छन् । यसले स्वास्थ्यमा नकारात्मक असर पार्छ । वैज्ञानिकभन्दा धार्मिक विश्वासलाई बढी प्राथमिकता दिँदा शारीरिक कठिनाइका साथै अल्पकालीन तथा दीर्घकालीन रोग निम्तिन बेर लाग्दैन । लामो समय भोकै बस्दा टाउको दुख्छ, रिंगटा लाग्छ भने कमजोरी महसुस हुन्छ । यसका साथै दीर्घकालीन रूपमा ग्यास्ट्राइटिस तथा अल्सर हुने सम्भावना पनि उत्तिकै रहन्छ ।
त्यसैले व्रतका बेला सबैले आफ्नो तौल तथा उमेरअनुसार खानेकुरा खानुपर्छ । शरीरमा डाइजेस्टिभ इन्जाइम उत्पादन हुन्छ । यसले गर्दा हामीले खाएको पदार्थ फाचन क्रियामा सत्रिय हुन्छ । अत्यधिक मात्रामा खाँदा प्रयोग नभएको क्यालोरी हाम्रो शरीरमा भण्डारण हुन्छ । फलस्वरूप असजिलो महसुस हुन्छ, अपच हुन्छ भने त्यसले दीर्घकालीन रूपमा रक्तचाप तथा मधुमेह आदि रोगलाई प्रोत्साहन गर्छ । व्रत बस्दा उमेर, समूह, रोग आदिलाई ध्यान दिँदै त्यसैअनुरूप सावधानी अपनाउनु आवश्यक हुन्छ ।
रोग र व्रत
ग्यास्ट्राइटिसको समस्या भएकाले व्रत बस्दा समस्या उत्पन्न हुनसक्छ । हामीले खाएको खाना ३ देखि ४ घन्टामा पेटबाट सानो आन्द्रामा गएर पेट खाली हुन्छ । यस्तो अवस्थामा निराहार व्रत बस्नु हुँदैन । पेट खाली नराखी समय–समयमा चोखोनितो केही खाएर व्रत बस्नुपर्छ ।
मस्तिष्क तथा नसासम्बन्धी रोग माइग्रेन तथा छारे रोगका बिरामीले पनि निराहार व्रत बस्नु हुँदैन । खाना राम्रोसँग नखाँदा ग्लुकोज तथा नुनको माक्रा नमिलेर रत्तचापमा घटबढ भै रिंगटा लाग्न, बेहोस हुन तथा माइग्रेन एट्याक आउन सक्छ । यसैगरी मधुमेहका बिरामीका लागि व्रत उपयुक्त होइन । इन्सुलिन लिइरहेको अवस्थामा त व्रत बस्नै हुँदैन, ग्लुकोजको मात्रा घटेर अप्ठ्यारो पर्न सक्छ । मुटु रोग सामान्य अवस्थामा भएका बिरामीले व्रत लिन सक्छन् । यसमा व्रत बस्नुअघि चिकित्सकको परामर्श लिन सकिन्छ । गम्भीर मुटु रोग भएका तथा केही समयअघि मुटुको शल्यक्रिया गराएका बिरामीले पनि निराहार व्रत बस्नु हुँदैन । धेरै समय भोकै बस्दा रक्तचाप घटबढ हुनुका साथै मुटुको चाल पनि अनियमित हुन्छ । मिर्गौलाका बिरामीले व्रत बस्नुअघि चिकित्सक तथा डाइटिसियनसँग सल्लाह लिनुपर्छ ।
ट्रान्सप्लान्ट तथा डायलोसिसको चरणमा पुगेकाहरूले पनि व्रत बस्नु हुँदैन । मिर्गौला स्वस्थ राख्न सोडियम, पोटासियम तथा फस्फोरसको महत्वपूर्ण भूमिका हुन्छ । यस्ता बिरामीले गुलियो र चिल्लो पदार्थलाई आफ्नो खानामा कमै मात्रामा समावेश गर्नुपर्छ । मिर्गौलाका बिरामीले रोगको अवस्थाअनुसार विशेषज्ञसँगको सल्लाहमा सन्तुलित खाना खानुपर्छ । थाइराइड पुरुषको तुलनामा महिलालाई बढी हुन्छ । थाइराइडका बिरामीले व्रत बस्नुपरे प्रशस्त मात्रामा पानी पिउनुपर्छ भने फलफूल पनि उत्तिकै खानुपर्छ । तीजको अघिल्लो दिन फाइबरयुक्त तरकारी, फलफूल तथा होलग्रेन खानुपर्छ भने कोल्ड ड्रिङ्स सेवन गर्नुहुँदैन । क्याफिनयुक्त खानेकुरा पनि खानु हुँदैन । उच्च रक्तचाप भएकाले दर खाँदा चिल्ला खानेकुरा खानु हुँदैन । पानी पर्याप्त मात्रामा पिउनुपर्छ । रक्तचापको मात्रा कम भए व्रतका दिन ग्लुकोज पानी समय–समयमा सेवन गरिरहनुपर्छ ।
गर्भावस्था र तीज
गर्भावस्था नारीत्व झल्काउने जीवनको महत्वपूर्ण अवस्था हो । गर्भावस्थामा आफ्ना लागि मात्र सोचेर अनि रमाइलो गरेर हुँदैन । यो अवस्थामा आफ्नो गर्भमा हुर्किरहेको भ्रूणको स्वास्थ्य अझ बढी महत्वपूर्ण हुन्छ । एकातिर श्रीमान्को स्वास्थ्य र दीर्घायुका लागि व्रत अनि अर्कातिर आफ्नो गर्भ, त्यसैगरी दिदी–बहिनीसँगको रमाइलो । गर्भवती महिलाले यी कुराहरूमा सन्तुलन राख्नुपर्ने हुन्छ । स्वास्थ्यका दृष्टिले एकदिनको व्रतभन्दा पनि आफ्नो स्वास्थ्यमा ध्यान दिनु उपयुक्त हुन्छ । गर्भवती महिलाले एउटी स्वस्थ महिलाले जसरी व्रत बस्नु हुँदैन । विशेषगरी पहिलो तीन तथा अन्तिम तीन महिनामा एकदिनको उपवासले पनि गार्हो पार्नसक्छ ।
तीजको एउटा प्रमुख र रमाइलो पक्ष भनेको दर खानु हो । दरमा धेरै थरीका परिकार समावेश गरिएको हुन्छ । यसरी तयार गरिएका परिकार बनाउन प्रयोग गरिएको तेल, मसला आदिको गुणस्तरमा ध्यान पुर्याउनुपर्छ । घरमै तयार पारिएका परिकार ताजा तथा स्वस्थकर हुन्छन् तर घरमा यस्ता परिकार बनाउन बढी समय लाग्ने तथा झन्झटिलो हुने भएकाले बजारबाट मिठाईं तथा परिकारहरू खरिद गर्ने प्रचलन छ । बजारमा सजाइएका मिठार्इंहरू हेर्दा आकर्षक तथा लोभलाग्दा भए पनि स्वास्थ्यका हिसाबले त्यति उपयुक्त हुँदैनन् । यस्ता मिठाईंलाई आकर्षक बनाउन तथा बिग्रिन नदिन केही रंग तथा प्रिजभेटिभ्स प्रयोग गरिएको हुन्छ । राम्रा तथा विश्वासिला मिठाईं पसलहरूले समेत कम गुणस्तरका खाद्य रंग प्रयोग गरेका हुनसक्छन् । यस्ता खाद्य रंगले कसैकसैलाई पेट दुखाउने, बान्ता आउने, पखाला लाग्नेदेखि लिएर फुड प्वाइजनिङसम्म गराउन सक्छन् । खाद्यपदार्थलाई बिग्रिनबाट जोगाउने पदार्थ अर्थात् प्रिजभेटिभ्सको एलर्जी धेरैलाई हुन्छ जसले गर्दा मुख तथा जिब्रोमा घाउ–खटिरा आउन सक्छन् । दरमा विभिन्न किसिमका अचार पनि समावेश हुन्छ । यस्ता अचारले खानामा रुचि बढाए पनि धेरै चिल्लो तथा मसालेदार भए अपच हुने, एसिडिटी बढ्ने समस्या उत्पन्न हुन सक्छ । गर्भावस्थामा एसिडिटी तथा बान्ताले त्यसै पनि दुःख दिइरहेको हुन्छ । यस्तो अवस्थामा त्यस्ता खानेकुरा खाँदा थप जटिलता उत्पन्न हुनसक्छ । त्यसैले गर्भवती महिलाले घरमै तयार गरिएका सादा तथा पोषिला खानेकुरा नै खानुपर्छ । दरमा दही, फलफूल, हरियो सलाद आदि समावेश गर्नु उपयुक्त हुन्छ । दरमा मासु पनि समावेश गरिन्छ । खसी, कुखुरा वा अन्य मासुमा प्रोटिन, चिल्लो पदार्थ (बोसो), खनिज पदार्थ (मिनरल), पानी तथा भिटामिन पाइन्छ । मासुको किसिमले यी पदार्थको मात्रामा केही फरक पर्नसक्छ । हरेक मासुमा पोषक तत्व पाइने हुनाले यसलाई स्वास्थ्यका हिसाबले राम्रो तथा पोषिलो मानिन्छ । राम्रोसँग पकाइएको मासु सजिलै पचाउन सकिने हुनाले गर्भवतीहरूले पनि मासु खान सक्छन् ।
एउटा स्वस्थ मानिस एक दिन निराहार भएर व्रत बस्न नसक्ने होइन । हाम्रो शरीरलाई दैनिक करिब २२ सय ७० किलो जुल शक्ति चाहिन्छ भने गर्भावस्थामा गर्भको अवधिअनुसार बढ्दै जान्छ र ५५ सय किलो जुल अर्थात् ३ गुणासम्म पुग्छ । सामान्यतया गर्भवतीले उक्त शक्ति खानाबाट प्राप्त गनुपर्ने हुन्छ । खाना नखाएको अवस्थामा यो शक्ति नचाहिने वा कम चाहिने भन्ने हुँदैन । यस्तो अवस्थामा यो शक्ति हाम्रो शरीरमा सञ्चित रहेको बोसोबाट प्राप्त हुन्छ । यतिबेला प्रोटिन र केही भिटामिनको कमी हुनसक्छ तर त्यसले एकैदिनमा कुनै गम्भीर असर गर्ने सम्भावना कम हुन्छ । नियमित व्रत बस्दा गर्भस्थ शिशुको तौल कम हुने, बुद्धि कम हुने जस्ता समस्या देखापर्न सक्छन् । एक दिनको तीजको व्रतले त्यस्तो नभए पनि गर्भावस्थामा समस्या उत्पन्न गर्नसक्छ । विशेषगरी गर्भको पहिलो तीन महिना खाना नरुच्ने, बान्ता हुने समस्या भएको अवस्थामा एक दिनको व्रतले पनि गार्हो बनाउन सक्छ । अन्तिम महिना चलिरहेको अवस्थामा पनि बढी शक्तिको आवश्यकता पर्छ । त्यस्तो अवस्थामा समय–समयमा खानाको जरुरत पर्छ । खाना नभए शक्तिबर्द्धक जुस, ग्लुकोज पानी सेवन गर्नुपर्ने हुन्छ । शक्ति अपुग भए आमा तथा गर्भस्थ शिशु दुवैलाई खतरा हुनुका साथै व्यथा सुरु हुनसक्छ ।
पानी पनि नपिई तीजको व्रत होस् वा अन्य व्रत बस्नु स्वास्थ्यका हिसाबले राम्रो मानिँदैन । हाम्रो शरीरलाई दैनिक २ लिटरभन्दा बढी पानीको आवश्यकता हुन्छ । निराहार व्रत बसेका बेला अझ बढी पानी चाहिन्छ । नाच्दा तथा काम गरेको अवस्थामा पसिनाको माध्यमबाट शरीरको पानी एवं लवण खेर जान्छ । त्यसैले यतिबेला शरीरलाई अझ बढी पानीको आवश्यकता पर्छ । मन्दिरमा लाम बसेका व्रतालु महिला हुन् वा नृत्यमा सहभागी महिला तीजमा ढल्ने वा मूर्छा पर्ने घटना आम हुने गरेका छन् । हाइपोग्लाइसेमिया (ग्लुकोजको मात्रा कम हुनु) वा हिट सिन्कोपका कारणले त्यस्तो भएको हुनसक्छ । यस्तो अवस्थामा पनि पानी, ग्लुकोज पानी तथा जीवनजल फाइदाजनक हुन्छ । गर्भवती महिलाले व्रतका बेला अन्न नखाए पनि चोखा खानेकुरा, पानी, ग्लुकोज पानी, फलफूल आदि सेवन गर्नुपर्छ । तीजमा साथी, दिदी–बहिनी तथा नातेदारसँग भेटघाट हुने भएकाले नाचगानमा सरिक हुन मन लाग्छ । नाचगान तथा रमाइलो गर्दा लड्ने, चिप्लिने हुनसक्छ । त्यसैले सचेत भएर केही समय मात्र रमाइलोमा सरिक हुनुपर्छ । सम्भव भए यस्ता महिलाले शक्ति सञ्चित गर्नुपर्ने भएकाले पनि नाच्ने अनि धेरै थकाइ लाग्ने गतिविधिमा सरिक नहुँदा पनि हुन्छ ।
अन्य महिलाको हकमा व्रत वस्ने प्रक्रिया धार्मिक परम्पराअनुसार फरक–फरक हुन्छ । कोही पानी पनि नपिउने, कोही फलफूल तथा तरकारी खाने तथा कोही केही मात्रामा अन्न ग्रहण गर्ने वा नगर्ने व्रतालु हुन्छन् । केही नखानुभन्दा पानी वा थोरै मात्रामा फलफूल खानु स्वास्थ्यका हिसाबले राम्रो हुन्छ ।
धार्मिक आस्थाका कारण व्रत बस्ने महिलाले आफ्नो स्वास्थ्यको ख्याल गर्दै बेला–बेलामा पानी वा ग्लुकोज पानी पिइरहनुपर्छ । शरीरमा शारीरिक प्रक्रियाहरू निरन्तर चलिरहेका हुन्छन् । हाम्रा विभिन्न अङ्गले जुस तथा इन्जाइमहरू उत्पादन गरिरहेका हुन्छन् । त्यसैले व्रतका बेला पनि समय–समयमा फलफूल, जुस, लस्सी, मोहीजस्ता पेयपदार्थ दुई–दुई घन्टाको फरकमा सेवन गरिरहनुपर्छ । जसले गर्दा शरीरमा थकान महसुस हुन पाउँदैन भने चाडपर्वको मज्जा लिँदै रमाउन समेत सकिन्छ ।
(इन्डोक्राइनोलोजिस्ट डा. ज्योति भट्टराई, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. बालकृष्ण शाह तथा
न्युट्रिसनिस्ट भारती अधिकारीसँगको कुराकानीमा आधारित)